शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा चुनाव जितेलगत्तै नेपालीको पक्षमा बोले भण्डारीले

मङ्गलबार, २७ कात्तिक २०७५, १४ : २१
मङ्गलबार, २७ कात्तिक २०७५

–मधुकर अधिकारी 

बाल्टिमोर– डेमोक्र्याट पार्टीबाट संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर काउन्टीको डिस्ट्रिक ८ बाट हाउस अफ डेलिगेट्समा निर्वाचित ह्यारी भण्डारीले आफ्नो जीतमा अमेरिकाका हरेक राज्यमा बस्दै आएका नेपालीको महत्वपूर्ण योगदान रहेको बताएका छन् । 

राजनीतिमा १० वर्षदेखि क्रियाशील नेपाली मूलका भण्डारी गत नोभेम्बर ६ मा सम्पन्न निर्वाचनमा विजय हासिल गरेर पहिलो नेपाली अमेरिकी बनेका छन् । भण्डारी अमेरिका आएर नागरिकता लिएको सात वर्षमा नै उक्त पदमा पुग्न सफल भएका छन् । 

कुराकानीका क्रममा भण्डारीले आगामी दिनमा आप्रवासी नेपालीका चासो र सरोकारका विषयमा आवाज उठाइने बताए ।  भण्डारीको जीत सम्भव हुनुमा उनको निरन्तरको लगाव, कर्मशील छवि र मतदातासँग घुलमिल नै कारक रहेको डा उत्तम गौली बताउँछन् । 

उक्त डिस्ट्रिकका ८० हजार मतदातामध्ये नेपाली मूलका करिब १०० जनाले मात्र मतदानमा भाग लिएका थिए । गौलीले अगाडि थपे, ‘अमेरिकाको विविधताको मजबुत आधारशिलाका कारण भण्डारीले हाउसमा विधायक भएर सेवा गर्ने मौका पाउनुभएको छ ।’ 

मेरिल्याण्डमा रहेका राजनीतिक पर्यवेक्षकले नेपालीले गरेको ‘फर्सीको मुन्टाको डिप्लोमेसी’ले पनि काम गरेको बताउँछन् । आफ्ना छिमेकीलाई आफ्नो करेसाबारीमा फलेको तरकारी र फलफूल दिएर आफ्नो बनाउन नेपाली निकै सिपालु देखिएका छन् । 

भण्डारी जिताउ अभियानमा सहभागी तरुण पौडेलले भण्डारीको जीतले अमेरिकामा रहेका नेपालीका लागि एउटा अलग्गै इतिहास रच्न सफल भएको बताए । मेरिल्याण्डमा नै बसोबास गर्दै आएका नेपाल–अमेरिका पत्रकार सङ्घका पूर्वअध्यक्ष गौतम दाहालले भण्डारीको जीतले डायस्पोरामा रहेका नेपालीको धार नै परिवर्तन भएको बताए । 

पर्वत जिल्लाको थापाथानामा पिता अम्मरबहादुर र आमा कान्तिकुमारीका कोखबाट वि.सं २०३४ मा जन्मिएका भण्डारी अमेरिकामा सन् २००५ देखि बसोबास गर्दै आएका छन् । उनले मतदानको अधिकार सन् २०११ मा पाएका थिए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप