बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

किन भाँडियो राप्रपा एकता, राणाले लगाए कमल थापालाई यस्तो आरोप

मङ्गलबार, २७ कात्तिक २०७५, १२ : २१
मङ्गलबार, २७ कात्तिक २०७५

काठमाडौं– राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया रोकिएको आरोप लगाएका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा राणाले परिपक्व तरिकाले एकता गर्नका लागि ४–५ दिनको समय माग्दा थापाले नमानेको जिकिर गरेका हुन् ।

एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनी र आफूले केही समय गम्भीर छलफल गरेर एकता घोषणा गरौँ भन्दा थापा नमानेको राणाले बताए ।
 राणाले कमल थापाको ‘तातै खाउँ जल्दै मरौँ’ प्रवृत्तिका कारण एकता प्रक्रिया तत्कालका लागि रोकिएको बताए ।

तीनवटै राप्रपा एकताका लागि आफू अझै पनि तयार रहेको भन्दै राणाले हतारमा एकता गरेर प्रभावकारी नहुने बताए । एकताका लागि भएको छलफलमा महत्वपूर्ण विषयमा सहमति जुटिसके पनि पार्टीको झण्डा, चिन्ह र नाम टुङ्गो नलागेको राणाले जानकारी दिए ।

कमल थापाले पार्टीको नाम, चुनाव चिन्ह र झण्डा राप्रपा नेपालकै कायम राख्नुपर्ने अडान राखेकाले पनि एकतामा असर परेको राणाले बताए ।

“तीनवटा पार्टी मिल्दा सबैले सम्झौता गर्नुपर्छ । नाम, झण्डा र चुनाव चिन्ह सबै एउटै पार्टीको कायम राख्न सकिदैन । गाईलाई चुनाव चिन्ह मान्न म सक्दिन ” राणाले भने ।

 एकीकृत पार्टीले गणतन्त्र मान्ने कि नमान्ने विषयमा पनि फर्मुला तयार भइसकेको भन्दै राणाले उक्त फर्मुला भने अहिले सार्वजनिक नगर्ने बताए ।

धर्मनिरपेक्षका विषयमा भने सहमति भइसकेको उनले बताए । तीनवटै राप्रपा हिन्दुराष्ट्रको पक्षमा रहेको राणाको भनाई थियो ।

नेपाली कांग्रेस तत्कालिन नेकपा एमाले र माओवादीले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएर देशका लागि अन्याय गरेको राणाको आरोप थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप