शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साउदी अरबका उर्जा मन्त्रीद्वारा दश लाख ब्यारेल तेल निर्यात घटाउन सुझाब

सोमबार, २६ कात्तिक २०७५, १९ : ४१
सोमबार, २६ कात्तिक २०७५

साउदी । विश्व तेल बजारलाई सन्तुलनमा ल्याउन प्रतिदिन दश लाख ब्यारेल तेल निर्यातलाई घटाउन साउदी अरबका उर्जामन्त्री खालिद अल–फालिहले सोमबार सुझाब दिएका छन् । 

रियादले आगामी डिसेम्बरबाट लागु हुनेगरी प्रतिदिन पाँच लाख ब्यारेल तेल निर्यातमा कमी गर्ने योजना सार्वजनिक गरेको ठीक एक दिन पछि यहाँका विभागीय मन्त्रीको उक्त राय आएको हो । 

‘हामीले आइतबार गरेको प्राबिधिक समीक्षाबाट विश्व बजारलाई नियन्त्रण तथा सन्तुलन गर्न प्रतिदिन झण्डै दश लाख ब्यारेल तेलको निर्यातमा कटौति गर्नुपर्ने आवश्यकता रहेको निष्कर्षमा पुगेका छौँ,’ फालिहले आबुधावीस्थित उर्जा सम्मेलनमा बताए । 

अक्टोबरको उत्पादन अवस्थालाई हेरेर प्रस्तावित कटौति गरिनुपर्ने निष्कर्ष निकालिएको हो । तेलको मूल्यले गत महिनाको तुलनामा पाँच गुना बढी माग देखिएको साउदीको भनाई छ । 

अमेरिकाले इरानी कच्चा तेल तथा अन्य सामान निर्यातमा प्रतिबन्ध लगाएपछि गत महिनामा भएको अत्यधिक आपूर्तिले अपेक्षा गरिएभन्दा कमै प्रभाब पर्ने देखिएको साउदी अरबको बुझाई छ । 

विश्वको सबैभन्दा ठूलो तेल निर्यात राष्ट्र, साउदी अरबले तेलको विश्व बजारलाई सन्तुलनमा राख्न आगामी महिनादेखि प्रतिदिन पाँच लाख ब्यारेल कटौति गरिने योजना आइतबार सार्वजनिक भएको उनले बताए । 

साउदी अरबसमेत सदस्य रहेको तेल आपूर्ति गर्ने विभिन्न १४ राष्ट्रहरूको संगठन (ओपेक) सदस्य राष्ट्रमध्ये साउदी अरबले मात्र विश्वको एक तिहाइ कच्चा तेल बजारमा आपूर्ति गर्दै आएको छ । 

विश्व बजारमा तेलको आपूर्तिलाई कटौति गर्ने औपचारिक निर्णय भने ओपेक सदस्य राष्ट्रहरूको मन्त्रीस्तरीय बैठक र ओपेकमा सम्लग्न नरहेका तर तेल उत्पादनमा हिस्सा राख्ने मुलुकहरूको भियनामा डिसेम्बरको शुरूमा हुने बैठकबाट हुने पनि फालिहले बताए । 

‘भियना सम्मेलनभन्दा पहिले तेल उत्पादक मुलुकहरूले बजारको तथ्याङ्कलाई निरन्तर समीक्षा गर्ने र प्रतिदिन दश लाख ब्यारेल तेल आपूर्तिमा कटौति आवश्यक पर्ने भएमा उक्त निर्णय लिन पछि आपेक पछि हट्ने छैन,’ फालिहले बताए । 

संयुक्त अरब इमिरेट्सका उर्जामन्त्री सुहाइल अल–मजरौयीले तेल बजारलाई सन्तुलनमा राख्न रणनीतिमा परिवर्तन ल्याइनु आवश्यक भएको बताए । 
 
हामीले तेलको मूल्यमा देखिएको कमीप्रति अनावश्यक अभिनय गर्नु पर्दैन भन्दै कच्चा तेलको बजार गतिशिल रहन्छ, मजरौयीले थपे । 

तेल बजारका हस्ती मानिने साउदी अरब र रूसले इरानमाथिको अमेरिकी आर्थिक नाकाबन्दीका कारण आगामी बर्ष तेलको मागमा वृद्धि आउने छ जसलाई सन्तुलन गर्न र बजारलाई स्थिर गर्न सम्मेलनले नयाँ निर्णयको घोषणा गर्नुपर्नेछ, इराकका उर्जामन्त्री आसेम जिहादले बताए । 

साउदी अरबले विश्व बजारमा आफ्नो तेल आपूर्तिमा कटौति गर्ने योजना सार्वजनिक गरे लगत्तै सोमबार कच्चा तेलको मूल्य १.५ प्रतिशतले बढेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप