शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा सफ्टबैंक मोबाइल : २१ अर्ब डलरको आइपीओ जारी

सोमबार, २६ कात्तिक २०७५, १५ : ३४
सोमबार, २६ कात्तिक २०७५

टोकियो– जापानमा टेलिकम क्षेत्रको विशाल कम्पनी सफ्टबैंकले अर्को महिना जापानमा २१ अर्ब डलरको प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । वर्षौंपछि जापानमा यति ठूलो परिमाणको सेयर निष्कासन गर्ने यो प्रविधि क्षेत्रको पहिलो कम्पनी हो । 

आइपीओ मार्फत सङ्कलन हुने रकमलाई सफ्टबैंकले विश्वभर फैलिएका आफ्ना कम्पनी र परियोजनामा लगानी गर्ने सफ्टबैंकले जनाएको छ । यो आइपीओ डिसेम्बर १९ मा खुल्नेछ र प्रति सेयर मूल्य १३ डलर तोकिएको छ । यो सेयर सफ्टबैंकको मोबाइल युनिटको मात्र हो । 

स्थानीय सञ्चार माध्यमका अनुसार सेयर जारी गरेपश्चात सफ्टबैंकको मोबाइल युनिटको मूल्य ७१ खर्ब ८० अर्ब जापानी येन पुग्नेछ । गत फेब्रुअरीमा नै कम्पनीले आइपीओ निष्कासन गर्ने घोषणा गरेको थियो । उक्त घोषणामा आइपीओ जारी गरेपश्चात मोबाइल युनिटमा ‘व्यापक व्यवस्थापकीय स्वतन्त्रता’ प्राप्त हुने बताइएको थियो । 

सफ्टबैंकले सोमबार गरेको घोषणामा सेयर सूचीकरणले मुख्य संस्थापक कम्पनी एसबीजी र यसको जापानी मोबाइल युनिटको भूमिकालाई स्पष्ट गर्नेछ । ‘एसबीजीले विश्वभर छरिएर रहेका कम्पनीमा लगानी विस्तार गरिरहेको छ, र समूहको दूरसंचार व्यवसायका क्षेत्रमा सफ्टबैंक मुख्य कम्पनी हो,’ वक्तव्यमा भनिएको छ । 

सेयर सूचीकरण पश्चात सफ्टबैंकले मोबाइल युनिटका क्षेत्रमा ६३ दशमलब १४ प्रतिशत हिस्सा ओगट्नेछ । 

प्रमुख कार्यकारी अधिकृत मासायोशी सोनको नेतृत्वमा सफ्टबैंकले शुरुआती दिनहरुमा सफ्टवेयरका क्षेत्रमा कार्य गरेपनि हाल लगानी कम्पनीको रुपमा अगाडि बढेको छ । सफ्टबैंकको १०० अर्ब डलरको भिजन फन्डको प्रयोग गरी सोनले हाल चल्तीका प्रविधि कम्पनीहरु उबेर, स्लाक, वीवर्क र एनभिडियामा लगानी गरेका छन् । 

यो रकमको झण्डै आधा हिस्सा साउदी अरेबियाबाट प्राप्त भएको छ, तर पत्रकार जमाल खशोग्जीको हत्या पश्चात सफ्टबैंकसँग साउदी अरेबियाको सम्बन्ध र लगानीका बारेमा प्रश्न उठ्न थालेको छ । 

यही महिनाको शुरुमा सोनले पत्रकार खशोग्जीको हत्याको भत्र्सना गरेका थिए तर उनले साउदी अरेबियासँगको व्यावसायिक सम्बन्ध यथावत राख्ने बताएका छन् । –एएफपी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप