शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको छत्तीसगढमा मतदान हुँदै, १ लाख सुरक्षाकर्मी परिचालन

सोमबार, २६ कात्तिक २०७५, १४ : २८
सोमबार, २६ कात्तिक २०७५

रायपुर–  भारतको छत्तीसगढमा मतदानको सुरक्षार्थ करिब एक लाख सुरक्षाकर्मी तैनाथ गरिएको समाचार छ । सोमबारको सो मतदानका लागि यति ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको हो । 

छत्तीसगढ भारतमा माओवादीहरुको हिंसाबाट सबैभन्दा बढी प्रभावित राज्य हो । सो राज्यमा भारतीय माओवादीहरुले सशस्त्र हिंसात्मक गतिविधि गरिरहेका छन् । 

यसै निर्वाचनलाई केन्द्रित गरेर माओवादीहरुले पनि यस हप्ता ठाउँठाउँमा हिंसात्मक हमला जारी राखेका छन् । ती हमलाहरुमा परी पछिल्लो हप्तामात्र १३ जनाको हत्या भएको छ । 

मतदानको केही घन्टामात्र अघि आइतबार माओवादी सशस्त्र हतियारधारीहरुले गरेको सशस्त्र आक्रमणमा परी कम्तीमा एकजना प्रहरी अधिकृतको ज्यान गएको थियो भने अरु केही घाइते भएका थिए । 

छत्तीसगढ राज्यको कन्कार जिल्लामा यस्तो हमला गरेका थिए । उनीहरुको यस्तो हमलापछि सो जिल्लामा पनि सुरक्षाको कडा प्रबन्ध अपनाइएको प्रहरीले जानकारी दिएको छ । 

यहाँका माओवादीहरुले स्थानीय गरिब नागरिकको भूमिको अधिकार र जातीय अधिकारका लागि सशस्त्र विद्रोह गरिरहेको बताउने गरेका छन् । उनीहरुले सोमबारको मतदान बहिस्कार गर्न यस राज्यका मतदाताहरुलाई आग्रह पनि गरेका छन् । 

आगामी वर्ष सन् २०१९ मा भारतमा आमनिर्वाचन हुँदैछ । तर त्यस अगाडिको भारतको स्थानीय स्तरको यो निर्वाचन यस महिनामात्र पाँच राज्यमा हुँदैछ ।  दोस्रो चरणको निर्वाचन यही नोभेम्बर २० मा हुँदैछ । यो दोस्रो चरणको निर्वाचन अघि पनि माओवादीहरुले हिंसा मच्चाउन सक्ने प्रहरीको अनुमान छ । 

यो पहिलो चरणको निर्वाचनमा आवश्यक मात्रामा सुरक्षाको प्रबन्ध गर्नलाई करिब एकलाख जना सुरक्षाकर्मी खटाइएको छ– यहाँका एकजना वरिष्ट प्रहरी अधिकारी डि एम अवस्थीले बताए । उनका अनुसार यसरी खटाइएका सुरक्षाकर्मीहरुमा भारतीय केन्द्रीय सेना पनि रहेका छन् । 

ती मतदान क्षेत्रमा माओवादीहरुले वारुदी सुरङ बिछ्याउने गरेका छन् । यस राज्यका केही प्रभावित क्षेत्रमा यस्ता सुरुङहरु बिछ्याउने काम सामान्यजस्तै हो । त्यसैले कतिपय निर्वाचन अधिकारीहरुलाई हेलिकोप्टरबाट मतदानस्थलमा पुर्याउने गरिएको पनि प्रहरी अधिकारीहरुको भनाई छ । 

यस राज्यको सरकारमा गएको १५ वर्षदेखि भारतीय जनता पार्टीको नेतृत्व रहेको छ ।  भारतीय जनता पार्टीका यस राज्यका मुख्यमन्त्री रमन सिंह तीन कार्यकालसम्म मुख्यमन्त्रीमै रही आएका छन् उनले अबको कार्यकाल अथवा चौथो कार्यकालका लागि पनि आफू नै मुख्यमन्त्री हुने दाबी गरेका छन् । 

तर माओवादीहरुले भने उनको विरोध गरेका छन् । उनीहरुले मुख्यमन्त्री सिंहलाई राज्यको विकास गर्न नसकेको आरोप विगत लामो समयदेखि लगाउँदै आएका छन् । 

भारतमा सशस्त्र विद्रोह गरिरहेका माओवादीहरु त्यहाँका १० भन्दा बढी जिल्लामा रहेको मानिएको छ । तर पनि उनीहरु छत्तीसगढ, उडिसा, बिहार, झारखण्ड र महाराष्ट्रमा पनि ठूलो संख्यामा छन् । झारखण्डमा मात्र करिब एक करोड ५० लाख जनसंख्या रहेको छ । 

भारतका अरु राज्यको तुलनामा यी राज्यहरुमा बढी मात्रामा गरिबी रहेको मानिन्छ । तर माओवादीहरुले भने करिब पाँच दशक अघिदेखि भारतको बंगालबाट विद्रोह शुरु गरेका हुन् ।  यस विद्रोहका कारण कम्तीमा पनि दश हजार नागरिकको ज्यान गइसकेको बताइन्छ । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप