मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मिथिलाञ्चलमा छठको रौनक, १२ तस्बिरमा हेर्नुहाेस्

सोमबार, २६ कात्तिक २०७५, १३ : ३०
सोमबार, २६ कात्तिक २०७५

सिरहा-मिथिलाञ्चलमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन आज खरना गरिँदै छ । कात्तिक शुक्लचौथीदेखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन आइतबार ‘नहाय–खाय’ विधि गरिएको छ । बुधबारसम्म मनाइने छठ पर्वको तयारी सिरहासहित तराईका जिल्लाहरूमा जोरतोरले चलिरहेका छन् । मूलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको पहिलो दिन व्रतालुहरूले व्रत सङ्कल्प गरी स्नान गरेर चोखोनितो खाएका छन् । 

पहिलो दिनको यो विधिलाई स्थानीय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ । पर्वको दोस्रो दिन आज ९सोमबार० पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गर्ने गर्छन् । त्यस्तै, मङ्गलबार सन्ध्याकालीन र बुधबार प्रभातकालीन सूर्यको अर्घ दिएपछि चार दिवसीय छठ पर्र्व विधिवत रूपले समापन हुनेछ । पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन बिहानै नुहाइ–धुवाइ गरेर निराहार व्रत बसेका व्रतालुले साँझमा अस्ताउँदै गरेका सूर्यलाई अर्घ दिने गरिन्छ । त्यस्तै, सप्तमीका दिन बिहान उदाउँदै गरेका सूर्यलाई अर्घ दिएपछि यो पर्व विधिवत रूपमा सम्पन्न हुनेछ । 

छठ पर्वका लागि पूजासामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नु पर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहुँ तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्ठान्न परिकार, माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलपूmल, कोसिया कुरवार लगायतका पूजा सामग्रीहरूले सूर्यलाई अर्घ दिने प्रचलन रहेको छ । निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने विश्वास गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । 

आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ । सुरुमा तराईवासीले मात्र मनाउने यो पर्व अब अन्य जाति एवम् राजधानीलगायत पहाडमा पनि मनाउन थालेका छन् । 

मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनिसकेको यो पर्वको तयारीमा अहिले यस क्षेत्रका नदी, तलाउ र कुण्डसहितका जलाशयहरू मनमोहक ढङ्गले सिँगारिने क्रम चलिरहेको छ । जलाशय सजाउनुको साथै घरघरमा पर्वको तयारी चलिरहेको छ । छठ पर्व सुरुवातसँगै टोल टोलमा छठको गीतहरू गुञ्जिरहेकोले मिथिला क्षेत्र छठमय बनेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप