बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिजीमा राबुकामाथि संसदीय चुनावका लागि बाटो खुल्यो

सोमबार, २६ कात्तिक २०७५, १३ : ०५
सोमबार, २६ कात्तिक २०७५

सुभा– फिजीको एक उच्च अदालतले मुलुकको मुख्य विपक्षी पार्टीका नेता सिटीभेनी राबुकामाथि लागेको भ्रष्टाचारको मुद्दा खारेज गरेको छ । अदालतको आदेशसँगै उनलाई आगामी संसदीय चुनाव लड्न पाउने बाटो खुलेको छ । 

सोडेल्पा पार्टीका अध्यक्ष राबुकाले आफूमाथि राजनीतिक प्रेरित भ्रष्टाचार मुद्दा लगाएर चुनावमा उठ्न नदिने षडयन्त्र भएको बताउँदै आएका थिए ।  पूर्वप्रधानमन्त्री समेत रहेका राबुकामाथिको भ्रष्टाचारको मुद्दामा सुभास्थित उच्च अदालतले सफाई दिएको हो । उनीविरुद्ध फिजी स्वतन्त्र भ्रष्टाचार नियन्त्रण आयोगले मुद्दा चलाएको थियो । 

सोमबार फैसला सुनाउँदै मुख्य न्यायाधीश एन्थोनी गेट्सले राबुकामाथिका आरोपमा तथ्य र प्रमाणको अभाव रहेको बताए । अदालत परिसर बाहिर भेला भएका सोडेल्पा समर्थकहरु खुशीले नाचगान गरेका थिए । त्यस अवसरमा अध्यक्ष राबुकाले आफ्ना समर्थकहरु सबैलाई धन्यवाद दिए । 

राबुकाको नेतृत्वमा सन् १९८० को दशकमा दुईपटक सत्ता विद्रोह भएको थियो भने सन् १९९२ देखि १९९९ सम्म फिजीको प्रधानमन्त्री भएका थिए । 

उनले सत्तारुढ फिजीफस्र्ट पार्टीलाई चुनौती दिइरहेका छन् । फिजीफस्र्ट पार्टीका नेता प्रधानमन्त्री फ्रान्क बैनीमारामाले सन् २००६ मा रक्तपातविहीन सत्ता विद्रोह  गरेका थिए । सन् २०१४ को निर्वाचनमा विजयी हुनुअघि उनले स्वेच्छाचारी रुपमा सरकार सञ्चालन गरेका थिए । 

हालैका सर्वेक्षणमा बैनीमारामाले नै चुनाव जित्ने अनुमान गरेका छन् । –एएफपी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप