बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुलहीझैं सिँगारिदै जनकपुर, व्रतालुसँग करोडौं रुपैयाँ असुलिँदै (फोटोफिचर)

आइतबार, २५ कात्तिक २०७५, १९ : ०८
आइतबार, २५ कात्तिक २०७५

धनुषा– धनुषामा छठ पर्वको तयारी तिव्र गतिमा अघि बढिरहेको छ ।  छठ पर्वका ब्रतालु, व्यापारी–व्यवसायी तथा छठ पूजाको व्यवस्थापनमा लागेकाहरु तिव्र रुपमा त्यसको तयारीमा लागेका हुन् । यसबेला जनकपुरका दर्जनौं पोखरीलाई दुल्हीझैँ सिंगार्नका लागि सबै व्यस्त छन् । त्यसका लागि स्थानीय क्लब तथा समितिहरुले लाखौं रुपैयाँ खर्चेर ब्रतालुसँग समेत करोडौ रकम असुल्ने गरेका छन् ।  उक्त रकम पण्डाल, झिलिमिली बिजुली बत्ती, टेन्ट, मूर्ति, मजदूर लगायत अन्य निर्माण सामाग्रीहरुमा खर्च हुने गरेको आयोजकहरुको भनाई छ ।

उठेको रकमबाट छठ पूजाका लागि तयारी व्यवस्थापन समितिले लाखौं रुपैयाँ खर्चिने गरेका छन् । व्यवस्थापन समितिको नाममा स्थानीय यूवा क्लबहरुले एउटा पोखरीमा ५ देखि १० लाख रुपैयाँसम्म लगानी गर्ने गरेका छन् भने प्रत्येक ब्रतालुसँग ४ सय देखि ५ सय रुपैयाँसम्म असुल्ने गरेका छन् ।

जनकपुरको गंगासागर, धनुषसागर, अंगराजसर सागर, रुकमिणी तलाउ, दशरथ तलाउ, अग्निकुण्ड, बाल्मिकी सागर, रत्नसागर, लवकी पोखरी लगायत दर्जनौ पोखरी र तलाउहरुलाई छठ पूजा व्यवस्थापन समितिले तिव्ररुपमा दुल्हीझैँ सिंगार पटार गरी सजाउने काम गरिरहेको छ ।

गंगासगार पोखरीमा ४ वटा समितिले छठ पूजाको व्यवस्थापन गरिरहेका छन् । त्यसका लागि अन्दाजी ८ लाख रुपैयाँ खर्च भएको बताइएको छ । गंगासागर पोखरीमा प्रति ब्रतालुसँग साढे ४ सय रुपैयाँ शुल्क बुझाउनु पर्दछ । सो पोखरीमा अन्दाजी १ हजारभन्दा बढी ब्रतालुले पूजा गर्ने गर्छन् ।

त्यस्तै, धनुषसागर तलाउमा २ वटा क्लबले छठ पूजाको व्यवस्थापन गर्दैछन् । उक्त पोखरीमा पनि प्रत्येक ब्रतालुसँग साढे ४ सय रुपैयाँ उठाइएको बताइएको छ । उक्त रकम गणेश यूवा क्लब र जनक यूवा क्लबले असुल्ने गरेका छन् । सो पोखरीमा वर्षेनी ६ सयभन्दा बढी ब्रतालुहरु सहभागी हुने गरेका छन् तर यो वर्ष भने व्रतालुको संख्या बढ्ने सम्भावना रहेको अनुमान गरिएको छ ।

यस पोखरीको व्यवस्थापनमा पनि ७ लाख रुपैयाँभन्दा बढी खर्च हुने व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै रुकमिणी तलाउमा प्रत्येक ब्रतालुसँग ४ सय रुपैयाँ शुल्क लिई घाटमा बस्न दिइने गरेको रुकमिणि विकास मञ्चका अध्यक्ष प्रमोदकुमार साहले बताए । उनका अनुसार यस पोखरीमा साढे ३ सय ब्रतालुहरु सहभागी हुने गरेका छन् ।

त्यस्तै, भैरव यूवा कमिटीले आयोजना गर्ने लवकी पोखरीको घाटमा प्रत्येक ब्रतालुसँग ५ सय रुपैयाँ शुल्क लिइने गरिन्छ । यस पोखरीमा गत वर्ष ३ सयभन्दा बढी रसिद काटिए पनि यसवर्ष सहभागी हुने व्रतालुहरुको संख्या बढ्न सक्ने कमिटीका पूर्वमहासचिव विकास साह बताउँछन् ।

उनका अनुसार छठ पूजाको तयारी व्यवस्थापनमा २ लाख २५ हजार रुपैयाँ भन्दा बढी खर्च हुने उनको भनाई छ । त्यस्तै, अंगराजसर सागरमा प्रत्येक वर्ष ब्रतालुसँग २ सय ५० रुपैया लिइने गरिएता पनि यो वर्ष भने स्थानीय यूवाहरुको विरोधका कारण व्रतालुहरुले निःशुल्क छठ पूजा  गर्ने भएका छन् । यूवा अभियन्ता सुशील कर्णका अनुसार छठ पर्वको लागि ब्रतालुसँग शुल्क वृद्धि गरि रकम असुल्ने कुरा आएपछि यूवाहरुको विरोधका कारण यस वर्ष शुल्क नलिने भएको हो ।

त्यस्तै लक्ष्मणसर सागर पोखरीमा छठ मनाउनका लागि स्थानीयवासीहले चन्दा उठाउन लागिएको स्थानीयवासी राजेश साहले जानकारी दिए । उता, गंगासागरमा ४ वटा समितिले प्रत्येक ब्रतालुसँग ४ सय ५० रुपैयाँ असुलिरहेका छन् । त्यहाँ एउटा समितिले २ लाख रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको गंगासागर छठ पूजा समितिका पूजा कार्यक्रम संयोजक हरिनारायण गुप्ताले बताए ।

त्यसैगरी अन्य तलाउ तथा पोखरीमा पनि यसरी नै व्रतालुहरुसँग रकम उठाउने गुनासो सुनिएको छ । 

जनकपुरमा बढ्यो चहलपहल 

मिथिलाञ्चलको महान् पर्व छठ पुजाको तयारीलाई लिएर जनकपुर बजारमा चहलपहल बढेको छ । छठ पुजामा चाहिने आवश्यक सामग्रीहरु केरा, दउरा, सुप्पा, ढकीया, धुप, उखु, भन्टा, बेसार, अदुवाको बोट आदि सामान खरिद एवम् बिक्री गर्नेहरुको बजारमा चहलपहल बढेको हो ।

छठ पर्वका लागि चाहिने अधिकांश सामग्रीहरु पाउने भएका कारण सब्जी बजारहरुमा सर्वसाधारणहरुको भिड बढेको हो । जनकपुरको बजारमा प्रत्येक वर्षझै यस वर्षपनि भारतीय केरा ट्रकका ट्रक भित्रिएको छ ।
भारतको हाजिपुर, पटना तथा सिलिगुडी र नेपालको सप्तरी स्थित ईनर्वा र भण्टाबारीबाट आएका केराहरु जनकपुर क्षेत्रमा ट्रकका ट्रक बिक्री हुँदै आएको छ । भारतीय व्यापारीहरु प्रत्येक वर्ष जनकपुरमा केरा लिएर व्यापार गर्न आउँछन् ।

यसैगरी बासबाट बनेको बाँसका डाला, नाङ्गलो, ढकिया, कनसुप्ती र माटोको सामग्री लगायत छठमा आवश्यक पर्ने नारिवल, सख्खर किनमेल गर्न सर्वसाधारण व्यस्त रहेका देखिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप