शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा यसरी मनाउँदैछन् नेपालीहरुले छठ पर्व

आइतबार, २५ कात्तिक २०७५, १५ : ४२
आइतबार, २५ कात्तिक २०७५

काठमाडौं– तराई मधेशको महान पर्व छठ राष्ट्रिय रुपमा मनाउन थालिएको छ । छठप्रति आस्था राख्ने पहाडी समुदायदेखि कतिपय मुस्लिम समुदायले पनि छठ मनाउन थालेपछि यसले राष्ट्रिय रुप लिएको हो । 
यसरी देशका कुना कुनासम्म छठ पर्वको चहलपहल बढिरहेका बेला अमेरिकामा पनि नेपालीहरुले छठ मनाउने अन्तिम तयारी गरिरहेका छन् । 

अमेरिकामा पनि मधेशी समुदाय मात्र होइन, पहाडी समुदायले पनि छठ पर्व मनाउने तयारी गरिरहेका छन् । अमेरिकामा छठ पर्वको आयोजना गर्ने मध्येका एक सुवास वैठा भन्छन्, ‘हामी चार–पाँच वर्षदेखि अमेरिकामा बस्ने मधेशी समुदायले छठ मनाउन थालेका छौं, सुरु–सुरुमा पहाडी समुदायले वास्ता गर्दैनथ्यो तर अहिले उनीहरु पनि सहभागी हुन थालेका छन् ।’  अमेरिकामा पूर्ण रुपमा छठ पर्वको प्रक्रिया पुरा नगरेपनि वर्त बस्ने र आस्थाका साथ पूजापाठ गर्ने गरेको बैठा बताउँछन् । 

‘जहाँ भएपनि आफ्नो मातृभूमि, पहिचान, एवं धर्म–संस्कृति नबिर्सिने र त्यसका लागि छठ लगायत अन्य पर्वहरु पनि गर्ने गरेका छौं, त्यसमध्ये छठ विशेष रुपले मनाउने गरेका छौं,’ बैठाले भने, ‘अमेरिकामा करिब २० हजार मधेशी होलान्, लगभग सबैले कुनै नकुनै किसिमले छठ मनाउँछन् ।’

‘छठ पर्वले गर्दा आफ्नो सँस्कृति र पहिचानलाई जगेर्ना गर्ने कार्य त भयोनै त्यसबाहेक अमेरिकामा व्यस्त रहेका मधेशीहरुबीच एकआपसमा भेटघाट गर्ने र चिनजान गर्ने राम्रो थलो बनेको छ’ उनी बताउँछन् ।  यसपटक अमेरिकाको पेन्सलभानिया राज्यका वरिपरि रहेका मधेशीहरुले हरेक वर्षझैं यसपाली पनि छठ पर्व धुमधामका साथ मनाउने तयारी गरिरहेका छन् ।  

अमेरिकास्थित मधेशी अगुवा एवम् समाजसेवी अरविन्द सिंहका अनुसार ‘महापर्व छठको महिमा अपरम्पार छ, जो जहाँ रहे पनि बिर्सन चाहदैंन र बिर्सिदैन पनि । त्यसैले हामीहरूले ४–५ वर्षदेखि आफ्नो संस्कृति, संस्कार जगेर्ना एवं आफ्नो भावी पुस्तालाई सिकाउने उद्देश्यका साथ यस्ता कार्यहरू गर्दै आइरहेका छौ र यसको निरन्तरता पनि दिँदै रहन्छौं ।’ 

यो वर्ष पनि १३ नोभेम्बर मंगलवारको दिन साँझ (सँझिया घाट ) र १४ नोभेम्बर बुधवार बिहान (भोरवा घाट) मा छठ पर्व मनाउन लागिएको छ । जसमा न्यूयोर्क, न्यूजर्सी, पेन्सलभानिया राज्यका मधेशी बुद्धिजीवी, समाजसेवी, विद्यार्थी, यूवा सबैको बाक्लो उपस्थिति हुने आयोजक बैठाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप