केन्द्रीय संस्करण

समृद्धिका लागि सांस्कृतिक क्रान्ति

person explore access_timeकात्तिक २५, २०७५ chat_bubble_outline0

मुलुकमा अहिलेसम्म  भएका परिवर्तन शासकका लागि मात्र भयो, शोषित वर्गका लागि भएन । अहिले मुलुकमा समृद्धिको कुरा चर्को रूपमा उठिरहेको छ । तर समृद्धिको नाममा व्यापक भ्रष्टाचार र कालोबजारी मौलाएको छ । 

जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विविधता मुलुकको मौलिक विशेषता हो । सम्मानपूर्ण सहअस्तित्व स्वीकार गर्ने संस्कृतिको अहिले सर्वत्र खाँचो छ । एकले अर्काको अस्तित्व नस्वीकार्दा र निषेधपूर्ण व्यवहारले मुलुकमा द्वन्द्व बढाइरहेको छ । अहिले सबैले खोजेको भनेको सम्मानपूर्ण अस्तित्व, पहिचानसहितको उपस्थिति हो ।

पृथ्वीनारायण शाहले इतिहासको शैशव कालखण्डमा बाइसे चौबीसे राज्यलाई आक्रमण गरी बनाएको नेपाललाई चार वर्ण छतीस जातको साझा फूलबारीको उपमा दिए । उनको त्यही उपमाको साङ्ग्लोमा बाँधिन विवश नागरिकले शाह वंशीय शासनको अन्त्य हुँदा पनि चुँडाल्न सकेको छैनन् । अहिले त्यही विरासतको दास बन्न बाध्य पारिँदै छ । 

शाह वंशको उत्तराधिकारी बन्न चाहने मुठ्ठीभरका खस ब्राह्मणवादी शासकले वर्षौंदेखिको निषेधकारी व्यवस्थालाई फेरि पुनर्जीवित गराउन लागिपरेको देखिन्छ । यस्तो प्रवृत्तिले पृथ्वीनारायण शाहको ‘साझा फूलबारी’को उपमालाई समेत निषेध गर्न खोजेको देखिन्छ । कथित महेन्द्रीय राष्ट्रवादको जामा पहिरिएर विभेदकारी राज्य व्यवस्थालाई यथावत कायम राख्न चाहन्छ ।

अहिलेसम्म भएका विभिन्न आन्दोलनले परिवर्तन ल्याउन नसक्नुको प्रमुख कारण हाम्रो समाजमा रहेका पौराणिक तथा सांस्कृतिक विकृति र विसङ्गति जिम्मेवार छन् । यिनै विकृति र विसङ्गतिले आन्दोलनपछि पनि हाम्रो समाज फेरिएन । बरू हामीलाई नै विकृत बनायो । हामी आफ्नो संस्कार र संस्कृतिप्रति अन्धभक्त भयौं । त्यसलाई अपरिवर्तनीय सोच्न थाल्यौं । इतिहासमा आस्थाका रूपमा राख्न सकेनौँ । हामी लड्दालड्दै थाक्यौं । बलिदानको चाङ लगायौं । 

अन्ततः हामी त्यही वरिपरि आएर पुरानै सामन्तवादी संस्कार र संस्कृतिमा विलय भयौं । पुरानै सत्ता र व्यवस्थाले लादेको धर्म, संस्कृति, रीतिरिवाज, परम्परामा अलमलियौँ, अल्झियौं र बाटो बिराउन पुग्यौं । अधिकारका निम्ति लड्ने उत्पीडित वर्ग र समुदायका निम्ति शाह वंशले हामीमाथि थुपारेको सांस्कृतिक मान्यता, संस्कार र परम्परालाई तोडेर अगाडि बढ्ने प्रयास नगर्ने हो भने मुलुकमा उत्पीडित वर्ग र समुदाय कहिल्यै मुक्त हुन सक्दैनन् । यो अहिलेको सांस्कृतिक क्रान्तिको ज्वलन्त सवाल पनि हो ।

हामीले आमूल परिवर्तनका निम्ति ठूलठूला राजनीतिक दल, नेता कार्यकर्ता र विद्वान जन्मायौं । तर समाज परिवर्तनका लागि कोही पनि काम लागेनन् । सबै निजी राजनीतिक स्वार्थमा रूपान्तरित भए । यसरी देश र जनताका सामूहिक स्वार्थ र समयसापेक्ष वैज्ञानिक परिवर्तन धरापमा पर्दै गयो । 

हामीले भौतिक रूपमा थुप्रै आन्दोलन र क्रान्ति गर्यौं तर आफैभित्र क्रान्ति र आन्दोलन गर्न सकेनौँ । फलतः इतिहासले यथास्थितिमै गोलचक्कर मारिरह्यो ।  हाम्रो गलत संस्कार र संस्कृति हामीमाथि हाबी हुँदै आयो । हामी त्यसैमा रमायौं, हरायौं । इतिहास बिर्सियौँ । फेरि विगतलाई नै आत्मसात गर्यौँ, सम्झियौं । यसरी हामी पछि पर्यौं र हाम्रो समाज यथास्थितिमै अल्झियो । 

हाम्रो देशमा फरक खालको सांस्कृतिक समस्या छन् । ती समस्या मुलुकका हरेक क्षेत्रमा सांस्कृतिक जडका रूपमा रहेका छन । यी समस्या अरू देशकाभन्दा फरक तर भारतीय प्रभावका छन् । खासगरी, जातीय विभेद र छुवाछूत प्रथाले प्रत्यक्ष परोक्ष रूपमा अलि धेरै नै प्रभाव पारेको छ । 

क्रान्ति र आन्दोलन अस्थिरताको परिणाम हुन् । निरङ्कुश राज्यसत्ताको अन्त्य र लोकतान्त्रिक राज्यसताको उदयसँगै जन्मिएको अराजकता स्वभाविक हुन् । तर त्यसको सही सामाधान नै वैकल्पिक समाधानको विधि हो । हाम्रो मुलुकमा २००७ सालदेखि थुप्रै परिवर्तनमुखी आन्दोलनको इतिहास दोहोरिएका छन् । तर सांस्कृतिक परिवर्तन र रूपान्तरणको विषय कहिल्यै पनि उठेनन् । जसले हामीलाई परिवर्तनमा बाधा, अवरोध खडा गरेका छन् । आज मुलुक जातीय, क्षेत्रीय विभेदको धेरै ठूलो सङ्कटमा फसेको छ । यतिसम्म कि देश टुक्रिने आवाजसमेत गुन्जिन थालेको छ ।

हाम्रो देशमा फरक खालको सांस्कृतिक समस्या छन् । ती समस्या मुलुकका हरेक क्षेत्रमा सांस्कृतिक जडका रूपमा रहेका छन । यी समस्या अरू देशकाभन्दा फरक तर भारतीय प्रभावका छन् । खासगरी, जातीय विभेद र छुवाछूत प्रथाले प्रत्यक्ष परोक्ष रूपमा अलि धेरै नै प्रभाव पारेको छ । 

अहिले लोकतन्त्रमा पनि बालविवाह, दाइजोप्रथा, धार्मिक समस्या, अन्तरजातीय विवाहसम्बन्धी समस्या, पहाडी मधेशीबीचको समस्या, लवाई खवाई र पहिरनको समस्या, बालात्कार र हिंसाको समस्या त्यति नै बढिरहेका छन् । विभिन्न खालका दमन, शोषण, विभेद र उत्पीडनका समस्या सबै क्षेत्रगत सांस्कृतिक विकृति र विसंगति बढिरहेका छन् । यी सबै समस्या मुलुक परिवर्तन र समृद्धिको बाधकका रूपमा रहेका छन् । यी विकृतिबाट समाजलाई मुक्त पार्न सांस्कृतिक क्रान्तिको अपरिहार्य छ ।

मुलुकमा अब धेरैवटा पार्टीको औचित्य समाप्त हुँदै गएको छ । विभिन्न विचार र दृष्टिकोण भएका राजनीतिक दल छन् । पटक पटक जनताले वैकल्पिक राजनीतिलाई अवसर दिँदै आएका छन् । यो जनताको कर्तव्य बन्न पुगेको छ । यतिबेला मुलुकमा डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको वैकल्पिक राजनीतिको सूत्रधार नयाँ शक्ति पार्टीलाई पनि जनताले नजिकबाट नियालिरहेका छन् । अब देशमा सामाजिक रूपान्तरणको खाँचो छ । यसका लागि मुलुकमा सांस्कृतिक आन्दोलन र क्रान्तिको खाँचो छ । क्रान्ति भनेको हिंसाबाट हुने परिवर्तन मात्र होइन । अहिंसाको माध्यमबाट हुने परिवर्तन पनि हो । त्यसको खाँचो मुलुकमा छ । नयाँ राजनीतिक अभियानलाई साथ दिनुपर्छ । 

पुराना संस्कार र संस्कृतिविरूद्ध नयाँ र वैज्ञानिक संस्कार र संस्कृति भित्र्याउनुपर्छ । मुलुक समृद्धिका लागि समावेशी विकासमा जोड दिनुपर्छ । आफ्नै जीवनकालमा परिवर्तनलाई संस्थागत गर्ने, जीवन उपयोगी बनाउँदै वैज्ञानिक समाजवाद र साम्यवाद उन्मुख सांकृतिक क्रान्ति र रूपान्तरण अहिले खाँचो छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...