शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल संवत् साङ्गठनिक आन्दोलनमा पद्मरत्न

आइतबार, २५ कात्तिक २०७५, १३ : ३७
आइतबार, २५ कात्तिक २०७५

“मेरो जन्म मृत्युको विरुद्ध युद्धको एक घोषणा हो । आजसम्म म यही न्याय र सत्यताका लागि गरिरहेको युद्धमा व्यस्त छु ।”

नेपालको राजनीतिक, सामाजिक सांस्कृतिक, मानवाधिकार, आदिवासी जनजाति, नेपाल भाषा, नेपाल संवत् र  नेवार आन्दोलनका एक ‘रत्न’ पद्मरत्न तुलाधरले आफ्नो पुस्तकमा यो वाक्य कोर्नुभएको छ । ‘रत्न’–  अर्थ हीरा, मोती, मुगा, नीर, मणि, सुन, चाँदी आदि । यस्तो ‘रत्न’को खानी कमै व्यक्तिमा मात्र हुने गर्छ । 

नेपालका यस्ता ‘रत्न’– पद्मरत्नको उक्त पुस्तकमा लेखिएका अधिकांश अभिव्यक्त दर्शनशास्त्रलाई वैज्ञानिक रूपले विश्लेषण गर्ने हो भने संसारका एक  ‘रत्न’को रूपमा उहाँ पर्नुहुने छ । 

नेपालभाषाबाट लेख्नुभएकाले सो कृति त्यति चर्चामा आउन नसकेको हुनसक्छ । यदि अङ्गे्रजी भाषामा अनुवाद गरी सो कृति संसारका पाठक सामु पुर्याउन सके पद्मरत्न ‘संसारका रत्न’को रूपमा स्थापित हुने विश्वास गर्न सकिन्छ । 

पद्मरत्न अधिकारमुखी आन्दोलनबाट संसारका अधिकांश राष्ट्रमा प्रख्यात नै छन् । तर उनका अधिकांश लेख, पुस्तक अभिव्यक्त, मौनता, रोदन, सङ्घर्षको नेतृत्व आदिका पाइलाहरूलाई विज्ञहरूबाट स्वतन्त्र रूपमा विश्लेषण गर्नुभयो भने यथार्थमा सार रूपमा “संसारका मानवको जन्म मृत्युको विरुद्ध युद्धको एक घोषणा हो ।”

पद्मरत्न तुलाधरले आफ्नो कृतिमा कोर्नुभएको अभिव्यक्त उहाँको ६० वर्षभन्दा बढी अधिकारमुखी आन्दोलनको अनुभव हो । उहाँले गर्नुभएको आन्दोलनमध्ये एउटा आन्दोलन– नेपाल संवत् आन्दोलन पनि हो । नेपालमा राणा शासनविरुद्ध भएको भाषिक आन्दोलन आजसम्म पनि जारी नै छन् । नेपाल भाषालाई राणाकालमा व्यापक दमन गर्यो भने पञ्चायतकाल पनि त्यसले निरन्ता पायो ।

जुन दमनको विरोधमा आजसम्म पनि नेवार समुदायले आन्दोलन जारी नै राखेका छन् । त्यसताका पञ्चायती सरकारले नेपालभाषाको आन्दोलनलाई व्यापक गरेको थियो । नेपालभाषाको अधिकारमुखी आन्दोलनलाई व्यापक दमन भएपछि आन्दोलनलाई व्यापक बनाउन पद्मरत्नलगायत नेवार नेताहरूले नेपाल संवत्को नयाँ वर्षमा शुभकामना (‘भिन्तुना’)को माध्यमबाट नेपाल संवत् ११०० मा आन्दोलनको उद्घोष गर्नुभएको थियो । 

पञ्चायतकालमा राजनीतिक दलहरू प्रतिबन्ध भएको कारण साङ्गठनिक रूपमा भेला, सभा सम्मेलन आदि अधिकारको आवाज उठाउन सम्भव थिएन । त्यस्तो दमन बाबजुद पद्मरत्न तुलाधर उनका शिक्षक भाषासेवी प्रेमबहादुर कंसाकारलगायत नेताहरूले ‘भिन्तुना’ आन्दोलन सुरुवात गर्नुभयो । 

आजभन्दा ११३७ वर्ष अगाडि शंखधर साख्वाःले नेपालमा ऋणमा डुबेका नेपालीहरूको ऋणमोचन गरी नेपाल संवत् स्थापना गर्नुभएको थियो । नेपाल संवत् मल्लकालमा व्यापक प्रयोग भए पनि राणाकालमा यस संवत्लाई विस्थापन गर्न भारतका विक्रमाद्वित्यले स्थापना गरेको विक्रम संवतलाई प्रचलनमा ल्यायो । उक्त कदमप्रति चित्त बुझाउन नसेकेर त्यसताका पनि अग्रजहरूले राणाकालमा पनि नेपाल संवतलाई प्रतिस्थापन गर्न आन्दोलन गर्नुभएको थियो ।

यो आन्दोलन विशेषगरी उपत्यकामा केन्द्रित भएकाले यसको नेतृत्व नेवारहरूले नै गरे । नेपालमा राणाविरोधी आन्दोलन २००७ सालमा सफल भई प्रजातन्त्र आयो । तर नेपाल संवत्लाई अङ्गीकार गर्ने सवालमा राजनीतिक नेतृत्वले चासो दिनुभएन । 

२०१७ सालमा राजा महेन्द्रले पञ्चायत व्यवस्था लागू गरेपछि राजनीतिक, भाषिक, सामाजिक, सांस्कृतिक आन्दोलनयात व्यापक दमन सुरु भयो । दमनको विरोधमा पद्मरत्न तुलाधरलगायतका नेताहरूले नेपाल संवत्को नयाँ वर्ष सुरु हुने कछलाथ्व पारुका दिन नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न नेपाल संवत् ११०० मा सार्वजनिक रूपमा ‘भिन्तुना’ जुलुसको आयोजना गर्ने ऐतिहासिक निर्णय नेपालभाषा मंकाः खलः काठमाडौबाट घोषणा गरियो । त्यस बेला खलःका अध्यक्ष पद्मरत्न त्ुलाधर नै हुनुहुन्थ्यो । नेपाल संवतका साङ्गठनिक आन्दोलनको सुरुवात सोही दिनदेखि सुरु भयो र आन्दोलनको नेतृत्व पनि पद्मरत्नले नै गर्नुभयो । 

नेवार समुदायको अधिकारमुखी आन्दोलनलाई सांस्कृतिक रूपबाट चेतनास्तर माथि उठाउन आह्वान गरेको शुभकामना आदानप्रदान र्याली काठमाडौँको थःहितिस्थित श्रीघः विहारबाट शुभारम्भ गरी सोही स्थानमा नै समापनि गर्ने योजना बनाएको थियो । तर न्हूदँको ‘भिन्तुना’ आदानप्रदानको सांस्कृतिक जुलुसमा व्यापक रूपमा नेवार नेता कार्यकर्ताहरू सहभागी हुँदा सोही स्थान सानो महसुस भयो । साथै नेपाल भाषा मंकाः खलः काठमाडौको ‘भिन्तुना’  आदान प्रदानको प्रभाव काठमाडौंका साथै ललितपुर, भक्तपुर, थिमिसम्म पनि विस्तार भई सांस्कृतिक अभियानको सुरुवात भयो । 

नेपाल संवत्को नयाँ वर्ष मनाउन उपत्यका तीन जिल्लामाा विभिन्न सङ्घसंस्था, खलः पुचः र क्लब स्थापना गरी नेपाल संवत्लाई राष्ट्रिय मान्यता मान्यता दिलाउन पञ्चायत सरकारलाई व्यापक दबाब दिने कार्य भयो । पञ्चायती सरकारलाई व्यापक दबाब महसुस भएपछि सरकारले नेपाल संवतका नाममा हुने सांस्कृतिक आन्दोलन र कार्यक्रममा समेत प्रतिबन्ध गर्ने प्रयास भयो । तर पटक पटकको दमन बाबजुद पनि नेपाल संवत्को आन्दोलन उपत्यकालगायत उपत्यका बाहिर विराटनगर, वीरगञ्ज, पोखरा आदि स्थानमा विस्तार र सशक्त हुँदै गयो । सोही नेपाल संवत्को साङ्गठनिक आन्दोलनको नेतृत्व पनि पद्मरत्न तुलाधरले गर्नुभयो ।

शंखधर साख्वाः कसरी सार्वजनिक भयो
नेपाल संवत्को साङ्गठनिक आन्दोलनको सुरुवात ने. संं ११०० सुरु भए पनि नेपाल संवत्का प्रवर्तक को हो भन्ने चर्चा पनि सुरु भयो । नेपालमा प्रयोगमा रहेको विक्रम संवत् भारतका विक्रमादित्यले स्थापना गरेको प्रचलनमा ल्याउनु भनेको राष्ट्रियतामाथिको हस्तक्षेप हो । त्यसकारण नेपालमा प्रादुर्भाव भएको नेपाल संवत् नै व्यवहारमा प्रयोगमा ल्याउन सकेमा राष्ट्रियता बलियो हुने बहस सुरुभयो । सो बहसबीच नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःको  तथ्यबाहिर आउन थालियो । तर शंखधर साख्वाः को हुन्, उनी कहाँका हुन् ? उनको अनुहार कस्तो थियो भन्ने चर्चाका बीच अन्वेषक एवम् इतिहासविद् भुवनलाल प्रधानले नेपाल संवत् प्रवर्तक शंखधर साख्वाः नै हुनुहुन्थ्यो । उनको ऐतिहासिक प्रतिमा पशुपति मन्दिरको दक्षिणपट्टि रहेको छ भन्ने तथ्य प्रमाण फेला पार्नुभयो । सो प्रमाण  शंखधरको प्रतिमा कसरी सार्वजनिक गर्ने विषयमा पनि पद्मरत्न तुलाधर अध्यक्ष रहनुभएको नेपालभाषा मंकाः खःल काठमाडौंभित्र बहस सुरु भयो । 

त्यसबेला नेता तुलाधर र खलःका सचिव मल्ल के. सुन्दरबाट साङ्गठनिक रूपमा एउटा निर्णय गरी नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाः हो र उनको प्रतिमा तस्बिर राखेर नेपाल संवतको क्यालेन्डर प्रकाशन गर्ने  जिम्मेवारी ल्याय्म्ह पुचः थिमिलाई दिइयो । 

ल्याय्म्ह पुचः थिमिलाई शंखधर साख्वाःको तस्बिर राखेर क्यालेन्डर प्रकाशन गर्ने जिम्मेवारी पाए पनि शंखधर साख्वाःको तस्बिर पशुपतिभित्रमा पुगेर कसरी खिच्ने भनी थप चुनौती थपियो । 

नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाः पशुपति मन्दिरको दक्षिणमा छ भनी थाहा पाए पनि फोटो खिच्ने सम्भावना भएन । त्यसताका सार्वजनिक रूपमा समूह समूह भई भेला हुन पाउने प्रतिबन्धको

अवस्था थियो । तर पुचःका साथीहरूले पञ्चायती दमनको बाबजुद चुनौतीलाई सामना गरी कलाकार वत्सगोपाल वैद्यबाट शंखधर साख्वाःको तस्बिर स्केच गर्ने कार्य सम्पन्न भयो । 

पुलिस दमनको पनि सामना गरी शंखधर साख्वाःको स्केचलाई नेपाल संवत् ११०८ (२०४५) को क्यालेन्डर मार्फत सार्वजनिक भयो । 

पञ्चायत व्यवस्था परिवर्तनमा नेपाल संवत्
पद्मरत्न तुलाधरले अभिव्यक्त गर्नुभएको छ कि– “मानिसलाई आवश्यक थयार्थ, न्याय, अधिकार र स्वतन्त्रता खातिरका लागि मैले युद्धको परिचालन गरिरहेको छु ।”

पञ्चायत कालमा राजनीतिक पार्टी प्रतिबन्धित भएको अवस्थामा प्रतिबन्धित पार्टीको सङ्गठन विस्तार र कार्यकर्ता परिचालन साह्रै कठिन कार्य थियो । नेपाल संवत्को सांस्कृतिक अभियानले नेपालका

प्रमुख राजनीतिक पार्टीहरूले ‘भिन्तुना’ आदान प्रदानमार्फत भेला हुने, सङ्गठन विस्तार र राजनीतिक चेतनास्तरमाथि उठाउने कार्य गरेका थिए । 

नेपाल संवत्को  सांस्कृतिक आन्दोलन देशभर विस्तार र विकास हुँदै आखिर पञ्चायती व्यवस्था परिवर्तनमा समेत नेपाल संवत् आन्दोलनको प्रभावले भूमिका खेल्यो । राजनीतिक दलका नेताहरूले पनि नेपाल संवतको नयाँ वर्षको सांस्कृतिक जुलुस मार्फत पार्टीको सन्देश जनतासामु पुर्याउने काम भयो । अन्ततः २०४६ सालमा पञ्चायती व्यवस्था अवसान भई बहुदलीय प्रजातन्त्र प्रादुर्भाव भयो । 

नेपाल संवत् अभियानमा प्रधानमन्त्री
२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाल संवत्को साङ्गठनिक आन्दोलनमा नेपाल सरकार पनि क्रमबद्ध रूपमा सहभागी गराउन नेता पद्मरत्नले भूमिका खेल्नुभयो । २०४६ सालमा प्रजातन्त्र आए पनि नेपाल संवत्को विकास र विस्तार भई नसकेको अवस्थामा नेपाल संवत्को साङ्ठगनिक आन्दोलनका नेता तुलाधरले सरकारका प्रधानमन्त्रीलाई नेपालभाषा मंकाः खलः काठमाडौँको आह्वानमा नेपाल संवत्को नयाँ वर्षको अवसरमा वसन्तपुरमा आयोजना हुने सार्वजनिक कार्यक्रममा प्रमुख आतिथ्यता गराउने नीति अङ्गीकार गरियो । सोही नीतिकै आधारमा प्रजातन्त्रपछि बनेको सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रमुख आतिथ्यका रूपमा आमन्त्रण गरी नेपाल संवतको अवसरमा ‘भिन्तुना’ आदानप्रदान कार्यभयो । 

प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईबाट सुरु भएको यो अभियान प्रधामन्त्री गिरिजाप्रसाद कोइराला, प्रधानमन्त्री मनमोहन अधिकारी, शेरबहादुर देउवा, मानवकुमार नेपाल, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई, सुशील कोइराला, केपी शर्मा ओलीले निरन्तरता दिइरहनु भएको छ । शुभकामना दिने परम्पराका थालनी नेपाल संवत्लाई सरकारले राष्ट्रिय मान्यता भने दिनु भएन । संयोगवश नेपाल संवत् ११२० (२०५६) मा ल्याय्म्ह पुचः थिमिको १५औं स्थापना दिवसको अवसरमा प्रकाशित “ल्याय्म्ह” मध्यपुर थिमि चिनारी पुस्तकको विमोचन समारोहमा पाल्नुभएका नेपाली काँगे्रसया सभापति गिरिजाप्रसाद कोइरालाले समारोहमा बोल्दै भन्नु भएको थियो– मैले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन पहल गर्ने छु । उहाँले बोल्नु भएको केही दिनमा नेपाल संवत् ११२० कछलाथ्व दशमी (२०५६)मा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मन्त्रिपरिषदले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई “राष्ट्रिय विभूति” घोषणा गर्नुभयो । 

सक्रमणकालमा शंखधरको प्रतिमा 
त्यसताका नेपालमा २०५१ सालदेखि माओवादी द्वन्द्व चलिरहेको ६ वर्ष पुगेको थियो । द्वन्द्वबीच पनि नेपाल संवत्को आन्दोलनले भने आफ्नो गति लिइरह्यो । सरकारले शंखधर साख्वाःलाई ‘राष्ट्रिय विभूति’ घोषणा गरेपछि  मध्यपुर थिमि नगरपालिकाको बोर्ड बैठकले साख्वाःको प्रतिमा स्थापना गर्ने निर्णय गरी बजेट व्यवस्था गरियो । उक्त निर्णयअनुसार प्रतिमा स्थापना गर्न नगरपालिकाले जनस्तरलाई जिम्मेवारी दिइयो । जनस्तरलाई जिम्मेवारी दिइपछि नेपाल संवत् ११२१ (२०५८) मा राष्ट्रिय विभूति शंखधर प्रतिमा स्थापना गर्न जग राख्ने कार्य भयो । जुन समय भनेको माओवादी द्वन्द्वका कारण देशमा सङ्क्रमण काल घोषणा भइरहेको थियो । त्यसबेलाका प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो । तर पनि नेपाल संवत्को आन्दोलनले द्वन्द्वको परवाह नगरी तीन महिनाभित्र जनस्तरबाट नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमा नेपाल संवत् ११२२ कछलाथ्व पारु (२०५८ मङ्सिर २)का दिन प्रधानमन्त्री शेरबहादुर देउवाले अनावरण गर्नुभयो भने शंखधर साख्वाःको प्रतिमामा माल्यार्पणको सुरुवात भयो ।

सङ्क्रमणकालमा राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमा स्थापना गर्ने कार्यमा मात्र सीमित भएन २०६० सालमा सरकारबाट राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमा अङ्कित हुलाक टिकट पनि प्रकाशन भयो । त्यसबेला नेता तुलाधरले भन्नुभएको थियो– अब हरेक वर्ष नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःको प्रतिमामा मल्यार्पण गरी नेपाल संवतको नयाँ वर्ष शुभारम्भ भएको सन्देश दिनुपर्दछ । त्यस माल्यार्पण कार्यक्रमको सुरुवात भने ने.संं ११२४ मा  नेपालभाषा मंकाः खलःको अध्यक्ष रूपमा तुलाधरले नै गर्नुभयो । जनस्तरबाट थिमिमा प्रतिमा स्थापना गर्न गठित प्रतिमा निर्माण समिति भने ने. संं ११२५ (२०६२) देखि राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, थिमि भक्तपुरको नामबाट नेपाल संवत् र शंखधर साख्वाःको योगदानको बारे प्रचार प्रसार गर्ने कार्य गरिरहनु भएको छ । हाल यस प्रतिष्ठानका सल्लाहकारका रूपमा पद्मरत्न तुलाधर रहनुभएको छ । 

नेता तुलाधरले नेपाल संवत् आन्दोलनको साङ्गठनिक नेतुत्व गर्नुभएकाले योगदानको कदर गरी ने. सं. ११३२ (२०६८) मा प्रतिष्ठानबाट ‘शंखधर सम्मान’ प्रदान गर्ने निर्णय भयो । तर उक्त सम्मान उहाँले स्वीकार गर्नुहुन्छ या गर्नुहुन्न भने एउटा चिन्ता सुरु भयो । २०६२÷६३ को दोस्रो जनआन्दोलनपछि गठित गणतान्त्रिक सरकारले २०६७ सालमा राष्ट्रपतिबाट प्रदान गरिने नेपालरत्न र राष्ट्र गौरव पछिको सबैभन्दा अग्रपङ्क्तिको मानपदवीसमेत तुलाधरले बहिष्कार गर्नुभएको थियो । तर राष्ट्रपतिबाट प्रदान गरिने मानपदवी बहिष्कार गर्नुभए पनि प्रतिष्ठानको ‘शंखधर सम्मान’ भने तुलाधरले स्वीकार गर्नुभयो । सो सम्मान प्रतिष्ठानद्वारा आयोजित ने.संं ११३२ (२०६८)मा समारोहमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदान गर्नुभयो । 

नेपाल संवत्लाई राष्ट्रिय मान्यता
पद्मरत्न तुलाधरले पटक पटक भन्नुहुन्थ्यो–  “नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिनुपर्दछ भनी हामीले आवाज उठाएको वर्षौं भइसक्यो । सरकारले शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा त गर्यो तर नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिएको छैन ।” कतिपयले शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्नु नै नेपाल संवत्लाई मान्यता दिइको सरह हो भनी व्याख्या गरे । नेता तुलाधर भने त्यस कुरामा सन्तुष्ट हुनुहुन्न । 

त्यही क्रममा राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरी शासन सत्ता आफैले सम्हाले । नेपालमा माओवादी जनयुद्धसँगै राजनीतिक दलहरूले राज्य पुनर्संरचनासहितको समावेशी लोकतन्त्र माग गरी दोस्रो  जनआन्दोलन सुरु गरियो । २०६२÷६३ नाममा चर्चित दोस्रो जनआन्दोलन चरम उत्कर्षमा पुग्यो, देशमा लामो समय कफ्र्यु जारी भयो । उक्त कफ्र्यु तोड्ने कार्यमा मानव अधिकारीवादी र नागरिक आन्दोलनका नेताका रूपमा तुलाधरले नेतृत्व गर्नुभयो । उहाँ लगायत नेवाः देय् दबूका अध्यक्ष मल्ल के. सुन्दरसँगै धेरै मानव अधिकारीवादी र नागरिक अगुवालाई महाराजगञ्जबाट गिरप्mतार गरी भक्तपुरको दुवाकोटस्थित सशस्त्र प्रहरी क्याम्पमा बन्दी बनाइयो । 

उपत्यकामा नेवार नेता कार्यकर्ताहरू पनि आन्दोलनमा व्यापक सहभागिता जनाउँदै सडकमा प्रदर्शन गर्ने कार्यभयो । जेलमा नेपालभाषा मंका खलःका अध्यक्ष पद्मरत्न तुलाधर र नेवाः देय् दबूका अध्यक्ष मल्ल के सुन्दरले भेट गर्ने जिम्मेवारी नेपाल संवत्का अभियन्ताका रूपमा मैले निर्वाह गर्नुपर्ने भयो । त्यसबेला नेता तुलाधार र नेता मल्ल के. सुन्दरले राज्य पुनर्संरचनासहितको समावेशी लोकतन्त्र सफल बनाउन जारी गर्नुभएको प्रेस विज्ञप्ति लिएर म बाहिर आएँ । पत्रपत्रिकमा प्रेस विज्ञप्ति पुर्याउन गएँ । अन्ततः जनआन्दोलन सफल भई लोकतन्त्र पनि आयो, अन्तरिम संविधान जारी भयो, गणतन्त्र स्थापना भयो । 

गणतन्त्रका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत् ११२८ (२०६५) माा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता प्राप्त भयो । यस कार्यमा पनि पद्मरत्नको भूमिका महत्वपूर्ण  रह्यो ।    

प्रमको लेटर प्याडमा र पाठ्यक्रममा नेपाल संवत्
गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीको हैसियतबाट सार्वजनिक रूपमा प्रधानमन्त्रीको लेटर प्याडमा नेपाल संवत् प्रचलनमा ल्याउने भनी घोषणा गर्नुभयो । पाठ्यक्रममा पनि समावेश गर्ने घोषणा गर्नुभयो । घोषणा कार्यान्वयन नभएपछि व्यापक रूपमा तुलाधरले प्रधानमन्त्री कोइरालाको आलोचना गर्नुभयो । 

अन्ततः ने. सं. ११३१ (२०६७) मा नेपाल संवत् र शंखधर साख्वाःको बारेमा पाठ्यक्रममा समावेश भयो । देशका प्रधानमन्त्रीहरूले पनि नेपाल संवत्को नयाँ वर्षको उपलक्ष्यमा दिइने शुभकामना सन्देशमा नेपाल संवत्को तिथि प्रचलन सुरु भयो । यस अभियानमा पनि पद्मरत्नको योगदान बिर्सन नसकिने भयो । त्यसकारण नेपाल संवत्को साङ्गठनिक आन्दोलनमा उहाँको योगदान भनेको उहाँले अनुभवको आधारमा ने. संं ११३२ मा लेख्नुभएको पुस्तकमा जस्तै– “मेरो जन्म मृत्युको विरुद्ध युद्धको एक घोषणा हो । आजसम्म म यही न्याय र सत्यताका लागि गरिरहेको युद्धमा व्यस्त छु । यस युद्धमा अवश्य पनि म नै जितिने छ– यही आशामा हो म बाँचिरहेको छु ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानराम श्रेष्ठ
ज्ञानराम श्रेष्ठ

(श्रेष्ठ राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका सचिव हुन् ।)
 

लेखकबाट थप