केन्द्रीय संस्करण

‘कस्मेटिकले छाला रोग बढायो’

person access_timeकात्तिक २५, २०७५ chat_bubble_outline0

आधुनिक जीवनशैली, खानपिन र तनावका कारण छालासम्बन्धी रोग दिनानुदिन बढ्दै गइरहेको छ । छालामा हुने सामान्य समस्यालाई प्रायः हेलचेक्र्याइँ गरिन्छ । समस्याले गहिरो रूप नलिएसम्म चिकित्सक कहाँ जाने बानीको कमीले पनि यो समस्या बढेको विज्ञहरू बताउँछन् । शरीरको सबैभन्दा महत्वपूर्ण अङ्ग छालामा हुने सानातिना समस्याबारे बेलैमा सचेत हुने हो भने छालाको सङ्क्रमणबाट जोगिन सकिन्छ । विशेष गरेर छाला र सौन्दर्य एकअर्काका परिपूरक भएकाले पनि यसमा सचेत रहनु अति आवश्यक हुन्छ । छाला रोग र यसको उपचार अनि सौन्दर्यताबारे हामीले वरिष्ठ छाला तथा सौन्दर्य विशेषज्ञ  प्रोफेसर डा. धर्मेन्द्र कर्णसँग छालारोगबारे कुराकानी गरेका छौँ ।

छाला रोग कस्तो रोग हो ?

छाला रोगका सम्बन्धमा जान्नुअघि छालाबारे जान्नु जरुरी हुन्छ । हाम्रो शरीरको सबैभन्दा बाहिरी र महत्वपूर्ण अङ्ग हो छाला । जसले हाम्रो शरीरका सम्पूर्ण अङ्गलाई ढाकेको हुन्छ र भित्री अङ्गलाई सुरक्षा दिने काम पनि गर्छ । हाम्रो शरीरको सबैभन्दा ठूलो अङ्ग पनि हो– छाला । टाउकादेखि पैतालासम्म र यौनाङ्गदेखि आँखाको परेलासम्म देखिने कुनै पनि समस्या छाला रोग अन्तर्गत पर्छन् । 

छालामा हुनसक्ने रोगमा सङ्क्रमण, सुक्खापन आउने, एलर्जी हुने, चिलाउने र छाला फाट्नेजस्ता समस्याहरू मात्र नभई शरीरको भित्री भागमा हुने कुनै पनि रोगको लक्षण छालामा देखिने गर्छ । छालामा हुने समस्यालाई बेवास्ता गरियो भने यसले जटिल समस्या उत्पन्न गराउन सक्छ ।

कस्ता कस्ता समस्या छाला रोगअन्तर्गत पर्छन् ?

छाला रोग कुनै पनि तरिकाको हुनसक्छ जस्तोः दुख्ने, चिलाउने, रङ्गमा परिवर्तन, बिमिरा आदि । अब यसमा पनि कपाल, अनुहार शरीरको कुनै पनि अङ्गमा समस्या हुन सक्छ । छाला रोग मुख्य गरी दुई किसिमको हुन्छन्, सर्ने र नसर्ने । 

सरुवा रोग

फङ्गल इन्फेक्सन, ब्याक्टेरिया इन्फेक्सन, भाइरल इन्फेक्सन, प्रोटोजोवाबाट हुने इन्फेक्सन सरुवा रोगमा पर्छन् । व्याक्टेरियाबाट हुने इन्फेक्सनमा घाउ खटिरा पर्छ । फङ्गल इन्फेक्सन भनेको दाद हो, जुन पसिना आउने ठाउँमा बढी हुन्छ । लुतो, जुम्रा पर्नेजस्ता समस्या पारासाइट इन्फेक्सनबाट हुन्छन् । 

अर्को हो कुष्ट रोग । नेपालबाट उन्मूलन हुँदै गरेको कुष्टरोग छालासम्बन्धी सरुवा रोग हो । बेलैमा उपचार गर्ने हो भने यो रोग पूर्ण रूपमा निको हुन्छ ।

नसर्ने रोग

नसर्ने रोगमा एक्जेमा पर्छ । एक्जेमा भएमा छाला चिलाउँछ । जुन चिलाउँदा चिलाउँदै छालाको सतह नै ड्यामेज भएर घाउँनै हुने र सङ्क्रमण हुने खतरा हुन्छ । त्यसैगरी सोर्राइसिस पनि अर्को समस्या हो । कनेक्टिभ टिस्यु डिजिज अर्को समस्या हो, यो रोग मुख्यतः जाडोमा हुन्छ । हात खुट्टाका औँलाहरू सुन्निने, रातो हुने, डाबर आउने समस्या हुन्छ । त्यसैगरी सुख्खा छालाको समस्या पनि छाला रोगमै पर्छ । त्यसैगरी मुखभित्र आउने समस्या पनि छाला रोगमै पर्छन् ।

छाला रोगभित्रै पर्ने अर्को समस्या हो यौन रोग । यौनाङ्गसम्म छाला फैलिएको हुनाले यस्ता स्थानमा हुने कुनै पनि समस्या छाला रोगअन्तर्गत पर्छन् । 

एस्थेटिक 

अहिलेको आधुनिक जमानामा आएर सबैको समस्या भनेको सुन्दरता हो । एस्थेटिक (कस्मेटोलोजी) ले छालाको सुन्दरतालाई बुझाउँछ । स्वस्थ्य छालालाई सुन्दर कसरी राख्ने भन्नेबारे पनि सचेत हुन जरुरी हुन्छ । स्वस्थ्य र छालालाई अझ सुन्दर बनाउन गरिने उपचार एस्थेटिक डार्माटोलोजी अथवा कस्मेटोलोजी हो । 

छाला रोग पहिलेको तुलनामा अहिले बढ्दै गइरहेको हो ?
होइन, वातावरण, रहनसहन, खानपानले छालाको समस्या बढ्छ र यो पहिले पनि थियो । पहिले छाला रोगबारे चेतना र यसको उपचारको सुविधा थिएन । जब आर्थिक सम्पन्नता बढ्दै गयो अनि मात्र छाला रोगबारे चेतना आउन थालेको पाइन्छ । पहिले सीमितलाई मात्र थाहा थियो । सामान्यतया नेपालीको बानी कुनै पनि रोगले आक्रमण गरेपछि पनि गम्भीर अवस्थामा नपुगेसम्म अस्पताल नजाने बनी भने अझै छ । तर आर्थिक अवस्था केहीमाथि उठेको वर्ग जो सौन्दर्यसँग निकै चिन्ता राख्छ र साना तिना समस्यामा पनि चिकित्सकको सहारा लिन पुग्छ । अहिले वल्र्डको ट्रेन्ड भनेकै ‘बि गुड फिल गुड’ भन्ने छ । त्यसैले सबैलाई सुन्दर देखिन मन पर्छ । चेतना स्तरमा आएको परिवर्तनले गर्दा छाला तथा सौन्दर्यबारे मानिस सचेत हुन थाले, जसले गर्दा यो रोग बढेको भान मात्र भएको हो । वास्तवमै हेर्ने हो भने चाहिँ छालासम्बन्धी रोग घटेको छ तर सौन्दर्यता रहने सोच र चेतनास्तर भने बढेको हो ।

छालामा देखिने मुख्य समस्या के–के हुन् र यसबाट कसरी बच्न सकिन्छ ?

हाम्रो जस्तो मुलुकमा देखिने सबैभन्दा ठूलो समस्या भनेको फङ्गल इन्फेक्सन हो । जसलाई दाद अथवा चिलाउने रोग पनि भनिन्छ । जस्तो शरीरको बढी पसिना आउने ठाउँहरू कास, काखी, खुट्टाका काप, औँलाहरू र कपालमा यो रोग बढी देखिन्छ । पसिनाले छालालाई चिल्लो तथा ओसिलो बनाइदिन्छ र त्यहाँ इन्फेक्सन हुन्छ । 

यसबाट बच्नका लागि मुख्यतः प्रत्येक दिन नुहाउनु पर्छ । नुहाउने वित्तिकै चिसै अन्डर गार्मेन्स लगाइहाल्नु हुँदैन । यसले ओसिलो पना रहिरहन्छ र इन्फेक्सन हुन सक्छ । वर्षा याममा घरको ओसिलो भागमा ढुसी पलाएजस्तै हाम्रो शरीरको ओसिलो भागमा पनि ढुसी पलाउँछ । यही ढुसीलाई मेडिकलको भाषामा फङ्गल भनिन्छ । यो सरुवा रोग भएकाले शरीरको अन्य भागमा पनि सजिलै सर्छ । 

स्विमिङ गर्नेहरू मध्येमा धेरैजसोलाई छालाको समस्या हुने गरेको छ । छालाको समस्या भएका व्यक्तिहरूले पनि स्विमिङ गर्ने भएकाले पानीमा अनेकन किटाणुहरू सक्रिय बनेका हुन्छन र एक अर्कोलाई सजिलै सर्छ । यस्ता समस्या भएको बेला स्विमिङ नगर्दा राम्रो हुन्छ । 

साउना पनि छाला रोगको अर्को कारण बनेको छ । सुन्दरताका लागि साउना गरे पनि त्यसले अर्को रोग निम्त्याइरहेको हुन्छ । टवेल, साबुन अनि पानी सेयर हुने भएकाले पनि साउना अनि स्विमिङबाट छिटै छाला रोग सर्छ । त्यसैले साउना जाँदा आफ्नै टवेल अनि साबुनको प्रयोग उत्तम हुन्छ ।

दिनमा कति मानिस छालाको समस्या लिएर तपाईं कहाँ आउँछन् ?

सामान्यत ७० देखि ८० प्रतिशत छालासम्बन्धी समस्या लिएर आउँछन् भने २० देखि ३० प्रतिशत भने एस्थेटिक (सौन्दर्य)का लागि आउँछन् । कति कस्मेटिक सर्जरीका लागि आउँछन् भने कति कपाल प्रत्यारोपणका लागि आउँछन् । कति चायाको समस्या, डन्डिफोर, स्ट्रेच मार्क, रिङ्कल, डार्क सर्कललगायतका समस्या लिएर आउनेको सङ्ख्या बढी छ । वास्तवमा यो रोग नभएर यो सौन्दर्यसँग सम्बन्धित समस्या मात्र हो । 

छालाको समस्याको पूर्ण समाधान हुन्छ त ?

अवस्य हुन्छ तर यसका लागि पनि अन्य रोग जस्तै नै प्रकृया अपनाउनु पर्ने हुन्छ । छालामा लाग्ने दीर्घ रोगदेखि अन्य सामान्य रोगको उपचार त्यहीअनुसारको हुन्छ । छालाका दीर्घ रोग जस्तोः कुष्ठ रोग, दुबी जस्ता समस्याको सुरुवाती चरणमै उपचार भयो भने निको हुन्छ भने अन्य समस्याको पनि निश्चित समयसम्म निरन्तर उपचार गराउने हो भने समाधान छ ।

छालासम्बन्धी क्यान्सर पनि बढ्दै गएको हो ?

छालाको क्यान्सर नेपालीलाई त्यति हुन सक्दैन । विश्वको परिप्रेक्षमा नेपालमा छालाको क्यान्सर हुने सम्भावना ज्यादै न्यून छ । सामान्यत छालाको क्यान्सर गोरो छाला भएका व्यक्तिमा बढी हुने सम्भावना हुन्छ भने कालो छालामा यो कम हुन्छ । त्यसै गरी हाई अल्टिच्युटमा बस्ने मानिसमा पनि यो समस्या हुन सक्छ । 

छालालाई छ भागमा विभाजन गरिएको छ; जसमा टाइप ४ मा नेपालीको छाला पर्छ, जुन अमेरिकन, युरोपियनको भन्दा डार्क हुन्छ । छालामा रङ्ग दिने कोष हो मेलानुसाइड । यसले मेलानी भन्ने तत्व निकाल्छ, जसले घामबाट निस्किने अन्ट्राभायोलेट किरणलाई छेक्न सक्ने क्षमता राख्छ । त्यसले गर्दा पनि हाम्रो छालामा क्यान्सलको सम्भावना कम हुन्छ । तर गोरो छालाले अन्ट्राभायोलेट किरण छिटो सोस्छ र यसको असर छालामा पर्छ । यसबाट बच्ने मुख्य उपाय भनेको नै घामबाट जोगिनु हो ।

कस्मेटिकहरूको बढ्दो प्रयोगले पनि छालामा धेरै प्रकारका समस्या बढेको हो ?

शत प्रतिशत हो । हामीमा साक्षरता वृद्धि भए पनि पूर्व साक्षरतामा भने कमी छ । जस्तो समस्या आउनुपूर्व अपनाउनुपर्ने सतर्कतामा हामी सचेत भएनौं । के गर्दा राम्रो हुन्छ भनेर अध्ययन गर्नुभन्दा अरूको लहैलहैमा कस्मेटिकको प्रयोग सबैभन्दा खतरनाक हुन्छ । आजको समस्या पनि यही हो । 

सावधानीपूर्वक कस्मेटिकको प्रयोग गर्नु जरुरी हुन्छ । छालामा समस्या आउन दिनुभन्दा पहिले नै छालासम्बन्धी विशेषज्ञ, एस्थेटिसियन, कस्मेटिकसम्बन्धी डाक्टरहरूसँग सल्लाह लिएर र छालाको राम्रो जाँच गरेर मात्र कस्मेटिकको प्रयोग गर्ने हो भने छालामा समस्या आउनबाट जोगिन सकिन्छ । विशेष गरेर कस्मेटिकको प्रयोग गर्दा कुन ब्रान्ड, कहाँ बनेको, एक्सपायरी डेट, मेनिफ्याक्चर डेट पनि राम्रोसँग नहेरी प्रसाधनको प्रयोग गर्नु घातक हुन्छ । कस्मेटिक ब्रान्डमा नाम ठूला ठूला अक्षरमा लेखिएको हुन्छ भने कम्पोजिसन ससाना अक्षरमा लेखिएको हुन्छ । त्यसैले पनि यस्ता प्रसाधनको विश्वास गर्नु उचित हुँदैन । 

विदेशी ब्रान्डहरू नेपालमा विजनेस गर्न अनि प्रयोग गर्न चाहिरहेका हुन्छन् । यसमा सम्बन्धित निकायबाट कुनै रोकतोक र अनुगमन भएको पाइँदैन । यसबारे हामी प्रयोगकर्ता आफै सचेत हुनु जरुरी छ । 
 

टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ