बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संस्कृतिविद् सत्यमोहन जोशीको जीवन : एक पेग खाएपछि निद्रा लागिहाल्छ

शनिबार, २४ कात्तिक २०७५, १२ : २१
शनिबार, २४ कात्तिक २०७५

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी १०० वर्ष टेक्दै छन् । जोशी संवत् २०७६ वैशाख ३० गते सय वर्ष पुग्दै छन् । सय वर्षमा हिँड्दै गरेका उनी स्वस्थ छन् । मानिस कसरी स्वस्थ रहन सकिएला ? ‘चिन्तन मनन गर्ने,’ उनको तर्क छ, ‘तर, चिन्ता गर्नुहुँदैन । त्यसो मात्रै गर्न सके स्वस्थ रहन सकिन्छ ।’

सय वर्षमा हिँडिरहेका उनी हिजोआज फुर्सदिला नै छन् । घरमा आएकासँग कुराकानी गर्नु छँदै छ । सभा–समारोहमा पनि पुगेकै छन् । त्यसबाहेक घरमै लेखपढ गरेर समय सदुपयोग गर्छन् । कहिलेकाहीं टेलिभिजन हेर्छन् । टेलिभिजनमा समाचार प्राथमिकतासाथ हेर्छन् । यो उमेरमा केहीले छुँदैन । आफूलाई चाहिएको, परिपक्व, उमेरसुहाउँदो केही प्रकाशन तथा प्रसारण हुँदैनन् भन्ने संस्कृतिविद् सत्यमोहन जोशीसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना
पहिल्यैदेखि दालभात, तरकारी खाँदै आएको हुँ । त्यही मन पर्छ । यो वा त्यो खाना मन पर्दैन भन्ने छैन । भान्छामा त्यस्तो पाक्दा पनि पाक्दैन । खानकै लागि होटल तथा रेष्टुरेन्ट कहिल्यै जान्न । तर, घरबाट पर (विदेश) जाँदा खानुपर्ने बाध्यता आइलाग्छ । कहिलेकाहीं भान्छामा पसेको छु । 

मेरो पोसाक
विशेषतः लबेदा सुरुवाल लगाउने गर्छु । अमेरिका, क्यानडालगायत मुलुक पुग्दा पनि त्यही पोसाक लगाएको थिएँ । पोसाकको रङ यस्तै हुनुपर्छ भन्ने रोजाइ छैन । जुन पायो त्यही रङ प्रिय लाग्छ । पहिले–पहिले कपडा किनेर सिलाउँथें, हिजोआज तयारी पोसाक लगाउनुपर्ने बाध्यता छ । टोपीचाहिँ सिलाउनैपर्यो ।  

मेरो फिटनेस
घरपरिसरमै दुबो रोपेको थिएँ । बिहानीपख दुबोको शीतमा हिँड्ने गर्थें । । यो तीन–चार वर्षअघिको कुरा हो । त्यो पनि छुटेको छ । डाइटिङ गर्दिनँ । सादा खाना खान्छु । ठिक्कले खान्छु । 

मेरो अध्ययन
हिजोआज आफैंले लेखेको ‘महर्षि याज्ञवाल्क्य’ नामक नाटक किताब पढ्दै छु । पढ्न मन लागे पनि आँखाले दिँदैन । लेख्न पनि सक्दिनँ । मेरो घरको निजी पुस्तकालयमा कति किताब होलान्, लेखाजोखा गरेको छैन । 

मेरो घुमफिर
घुमफिरमा रुचि नभएको भए, त्यतिबेला सिञ्जा पुग्ने आँट गर्न सक्दिनथें । नेपालको धेरै ठाउँ घुमेको छैन । तर, सिञ्जा घुम्दामात्रै पाँच पुस्तक निकाल्न सकें । धेरै घुमेरमात्रै हुँदैन नि । स्वदेशमात्रै होइन, अमेरिका, क्यानडा, रूस, चीनलगायत देश पुगेको छु । 

मेरो फुर्सद
२०७६ वैशाख ३० गते १०० वर्ष पुग्दै छु । हिजोआज फुर्सदै फुर्सद छ । दैनिकजसो तपाईंहरूजस्ता कोही न कोही आइरहेका हुन्छन् । कुराकानी हुन्छ । त्यसबाहके सामान्य लेखपढ गर्छु । वर्ष दिन लगाएर ‘नेपाली कलाको विकास’ भन्ने किताब लेखिसकें । प्रकाशित पनि भइसक्यो ।

मेरो खेलकुद
अरू नभएपछि केटाकेटीमा भोगटेको फुटबल खेलेर तिर्सना मेटेको थिएँ । 

मेरो मोबाइल
ललितपुर महानगरपालिकाले सिमकार्डसहित मोबाइल उपलब्ध गराएको थियो । मैले नमागी वर्ष दिनअघि उपलब्ध गराइएको मोबाइल प्रयोगमा ल्याएको छैन । प्रयोग नगरेकाले मलाई आफ्नो नम्बर थाहा छैन । 

मेरो टीभी
कहिलेकाहीं टेलिभिजन हेर्छु । समाचार प्राथमिकतासाथ हेर्छु । हेर्ने निश्चित समयतालिका छैन । यो उमेरमा केहीले पनि छुँदैन । नाचगानले छुँदैन । सानातिना कुराले छुँदैन । आफूलाई चाहिएको, परिपक्व, उमेरसुहाउँदो केही प्रकाशन तथा प्रसारण हुँदैनन् ।

मेरो चलचित्र
जीवनमा यहाँसम्म आइपुग्दा धेरै चलचित्र हेरें । तर, पछिल्लो समय हेरेको चलचित्रको नाम सम्झना छैन । दुई वर्षअघि क्यानडा पुगेको थिएँ । छोरीज्वाईंले चलचित्र हेर्न जाऊँ भने । गएँ । तर, चलचित्रको नाम सम्झना छैन । 

मेरो रोग
सय वर्ष पुग्न लाग्दासमेत स्वस्थ छु । औषधि सेवन गर्नैपर्ने गरी दीर्घरोगले समातेको छैन । मानिस स्वस्थ रहन चिन्तामुक्त हुनुपर्छ । तर, चिन्तन मननचाहिँ गर्नुपर्छ । 

मेरो भाषणशैली
नेवारको छोरो भएकाले प्रस्ट बोल्न त सक्दिनँ होला तर भाषण गर्दा भन्न खोजेको विषयवस्तु प्रस्ट पार्न सक्छु । भाषण गर्दा थेगो प्रयोग गर्दिनँ । भाषण गरेकै आधारमा विवादमा तानिएको छैन । 

मेरो मापसे
पहिले नियमित खान्थें । हिजोआज त्यति लिन्न । लिँदा एक पेगसम्म लिन्छु । त्यति लिएपछि निद्रा लागिहाल्छ । 

मेरो संगीत
गीत–संगीत सुन्ने कम हुँदै गएको छ । गीत–संगीत त्यति नसुने पनि कहिलेकाहीं गुनगुनाउँछु । गुनगुनाए पनि लेख्न सक्दिनँ । 

मेरो भूल
जान–अञ्जानमा गल्ती गर्नु मानवीय स्वभाव हो । मैले पनि सानातिना गल्ती गरें हुँला तर पश्चाताप लाग्नेगरी गल्ती गरेजस्तो लाग्दैन । 

मेरो घर
म बस्दै आएको घर मल्लकालमा बनेको हो । यसको बनावट अर्कै छ । यहाँ पहिले बौद्ध विहार थियो रे । बौद्ध विहार पूरा नगर्दै राजाको निधन भएपछि यो जग्गा बिक्री गर्दा मेरो पिताजीले किन्नुभएको रहेछ । 

मेरो राशी
मेरो राशी कुम्भ हो । ग्रहदशा हेराउने, ग्रहशान्ति गराउने चलन छैन । ग्रह र नक्षत्रको फलप्रति धेर–थोर विश्वास लाग्छ । दाहिने हातमा नक्कली मोतीजडित औंठी लगाएको हुँ ।  

मेरो सौन्दर्यचेत
कपालमा जेल, तेल, मेहेन्दी केही लगाउँदिनँ । अनुहारमा क्रिम पनि लगाउँदिनँ । 

मेरो प्रेम
हाम्रो मागीबिहे हो । परम्परागत रूपमा बिहे गरेका थियौं । 

मेरो सपना
नेपाललाई नेपालजस्तै बनाउन ‘माई कन्ट्री, माई मिसन’ जस्ता किताब लेखिनुपर्छ । पढिनुपर्छ । विभिन्न विधाका एकसे एक किताब लेखिए पनि ‘माई कन्ट्री, माई मिसन’ जस्तो किताब आजसम्म कसैले लेखेका छैनन् । विभिन्न विधामा जे–जे लेखिए पनि लेख्नेले ‘माई कन्ट्री, माई मिसन’ त सोचिदिनुस्, लेखिदिनुस् ।

तपाईंलाई एउटा उदाहरण दिन्छु, ‘आर्या मेर नाम गरेका इरानका वादशाहले राजकाज सम्हाल्नुअघि इरानी महिलाले बुर्का लगाउँथे । पुरुषलाई हेर्नै हँुदैनथ्यो । दाइजो दिनुपर्छ भन्ने दुःखले छोरी जन्मे अभिशापजस्तै हुन्थ्यो । आर्य मेर सम्राट भएपछि कन्जर्भेटिभको भागाभाग भयो । उनले तेल बेचेको पैसा खेलाएर मुलुक उकासे । त्यतिबेला कतिपयले देश डुबाए, धर्म नष्ट गर्यो भनेर आरोप लगाए । देशबाहिर रहेका कन्जर्भेटिभहरू आन्दोलित थिए । 

त्यहीबीच इरानमा राजतन्त्रको २५०० वर्षगाँठ मनाइँदै थियो । सोही उत्सवमा उनलाई राज्याभिषेक गर्न अनुरोध गरियो । तर, उनले मानेनन् । किन भनेर सोधियो ? वादशाहको उत्तर थियो, ‘जबसम्म इरानमा बसोबास गर्ने तल्लोदेखि माथिल्लो तहका इरानी छोरीचेली जोकोहीको बिहे हुँदा सरकारले उसलाई पुग्दो (इज्जत रहनेगरी) दाइजो दिन सक्दैन, तबसम्म म राज्याभिषेक गर्दिनँ । सरकारले दाइजो दिन सक्ने भएपछि मात्रै राज्याभिषेक गर्छु ।’ 

इरानी मनकारी वादशाहजस्ताले नेपाल सरकारको नेतृत्व गरे मुलुक बन्न कत्ति समय लाग्दैन । नेतृत्व गर्ने त त्यस्ता पो हो त । 

इरानी राजतन्त्रको २५०० वर्षको उत्सवमा नेपालालाई समेत निम्ता गरिएको थियो । नेपाल पनि राजतन्त्रात्मक मुलुक भएकाले निम्ता गरिएको हो । त्यसताका नेपालका राजा महेन्द्र थिए । सो उत्सवमा भाग लिन जाँदा मैले लेखेको ‘गुलाब र गुराँस’ नामक किताब इरानी वादशाहलाई उपहार दिइएको थियो ।   

मेरो मृत्यु
मृत्यु अवश्यम्भावी हो । नियमित आकस्मिकता हो । मृत्युदेखि डर लाग्दैन । दर्शनमा विश्वास गर्नेले मृत्युदेखि डराउँदैन । मृत्यु सहज होस् । सजिलो होस् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप