शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वीर गणेशमान   !

शनिबार, २४ कात्तिक २०७५, ०९ : २८
शनिबार, २४ कात्तिक २०७५

आजभन्दा एक सय चार वर्षअघि नेपालको लोकतान्त्रिक आन्दोलनका सङ्घर्ष पुरुष गणेशमानले आँखा खोलेको पावन दिन हो आज । वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौं यट्खा टोलमा जन्मिएर त्रियासी वसन्तसम्म क्रान्तिकारी, जुझारु र रोमहर्षक बनेका उनको दुःखद  अवसान भने २०५४ असोज २ गते हुन पुग्यो ।  हरिमान सिंहका नाति सुब्बा  ज्ञानमान र सुभद्रा कुमारीका जेठा छोरा  गणेशमान  नेपालका  क्रान्ति पुरुष, लोकतान्त्रिक  आन्दोलनका शीर्षस्थ  व्यक्तित्व एवम् सर्वोच्च नेता, राष्ट्रियता–लोकतन्त्र  समाजवादका स्तम्भ र लौह पुरुषको रूपमा  परिचित  नाम  हो ।

‘उल्टो  मन्त्र जपेर ईश्वरको दर्शन  चैं  पाइँदैन, यो शरीरमा  रगतको एक  थोपा  रहुन्जेलसम्म  कसैलाई  धोका दिन्न, एक पटक   बाघलाई  चढिसकेपछि त्यो  बाघबाट  आजसम्म कोही  तानाशाहहरू  उत्रेको छैन  फेरि सदाको  निम्ति  बाघको  पिठ्युँमा बसौँभन्दा त्यो पनि सम्भव हुँदैन ।’ भारतीय स्वतन्त्रता सङ्ग्रामदेखि नेपालको लोकतान्त्रिक आन्दोलनको केन्द्रमा रहेर खली खाएका यी बलीका कालजयी व्यवहारसहितका उद्गार कलि कालका विरलै पुरुषमा पाइन्छ । ईश्वर चिनेका, छलछाम अवसरवादलाई कोर्रा हान्न हरदम तयार रहने  सङ्ग्राम  पुरुषले विश्वासको जनराजनीति गर्ने संस्कार बसाले ।  अनि तानाशाही  चिन्तनले  गाँजेको   अदूरदर्शी  सोचका तन्तु–तन्तु  केलाउने गणेशमानको  खुबी  स्वतन्त्र  बौद्धिक चिन्तकहरूका लागि समेत ऊर्जा नै बन्न  पुगेको  छ । 

छ वर्षको कलिलो उमेरमै  पितृवियोग  सहन  बाध्य ‘गणेशमान’ सिंहपरिवारमा लामो अन्तरालपछि  जन्मिएका  नाति भएकै कारण सबैको  खुसी र आशाका पात्र  ‘हिरा’ समान ठानिएरै घरायसी नाम हिरा र काजी खानदानका हुँदा ‘हिराकाजी’ बोलाउने  नाम हुन पुग्यो । ‘हुने बिरुवाको चिल्ला पात’ भनेझैँ गणेशमान सानैदेखि नै मेधावी, साहसी र स्वाभिमानी  थिए । तत्कालीन राणाशासनमा हुने हैकमवादी  तथा  चाकडी  प्रवृत्ति देखेर उनको मनमस्तिष्कमा  विद्रोही भावना झाँगिएको थियो । उनका  आफ्ना बडाबाजे काजी रत्नमानको त्योताक विशेष धाक–रवाफ थियो ।

सम्भ्रान्त  परिवारमा  जन्मिएका कारण उनको  प्रारम्भिक  शिक्षा घरमै  भयो ।  समयक्रममा उनलाई दरबार हाइस्कुलको कक्षा पाँचमा  भर्ना  गरियो । कक्षा छको  अध्ययन बेला गणेशमानले आफ्नो अल्लारेपनबारे  निष्कपट भाव यसरी  व्यक्त गरेका छन् ‘छ कक्षामा हुँदा म अलि मापा खालको थिएँ, त्यसैले कक्षामा म  जसलाई  पायो त्यसलाई पिट्दथेँ । एक दिन त्यही  कक्षामा पढ्ने  राणाजीलाई  पिटिदिएँछु, त्यस कारण मलाई  हेडमास्टरले बोलाएर  बेतको  लठ्ठीले ठोक्नसम्म ठोके, लगत्तै म स्कुलबाट भागेर  घर  आएँ । त्यसपछि त विद्यालय  नै  जान  छाडिदिएँ ।’ यो घटनाले  उनलाई  झन् राणाविरोधी  बनायो । 

राणाजीको छोरोलाई कुटेको  हुँदा माफी माग्नु  अनिवार्य  थियो तर गणेशमानले– ‘विद्यार्थी–विद्यार्थीबीच  सानो र ठूलो  भन्ने हुँदैन, सबै विद्यार्थी बराबर हुनुपर्छ, म माफी माग्दिनँ’ भनेर जिद्दी गरेँ । वि.सं. १९९३ तिर उनी कलकत्तातर्फ लागे । त्यहाँको विद्यासागर कलेजबाट  प्राइभेट  परीक्षा  दिएर म्याट्रिकुलेसन गरे र लगत्तै कलकत्ता प्रेसिडेन्स  कलेजमा  आईएस्सीमा  भर्ना भए । भारतमा त्यो बेला अङ्ग्रेज साम्राज्यविरुद्ध  भारतीय  जनताको आन्दोलनले क्रमशः  आकार ग्रहण गर्दै  थियो । यो क्रान्तिकारी  परिवेशले  गणेशमानको युवा मष्तिष्कमा  हलचल पैदा गरायो । भारतका राष्ट्रपिता मोहनदास करमचन्द गान्धी, योद्धाहरू महमद अली  जिन्ना, सुभासचन्द्र बोस, बल्लभ भाइ पटेल र जवहारलाल नेहरूहरूबाट उनको क्रान्तिचेतले उन्नयन ग्रहण  गर्न लाग्यो । यसै सिलसिलामा गणेशमान नेपाल  फर्किए ।

महात्मा गान्धीलाई प्रेरणास्रोत बनाएकैले भावुक हुँदै भन्थे– ‘म महात्मा गान्धीझैँ देवता  बन्न राजनीतिमा  लागेँ’ यो प्रण राजनीतिलाई  समाजसेवाको उदात्त कर्मका रूपमा  चित्रण  गर्न सामथ्र्य राख्छ । यसरी  गणेशमान राजनीतिलाई  देवत्व कर्मका रूपमा ठम्याउँथे । त्यसै भएर त उनको दरो मान्यता थियो– ‘राजनीतिबाट  नैतिकता  झिकिदियो भने व्यापार हुन्छ ।’ हो, निश्चय नै  आज नेपालको राजनीति निकृष्ट खाले व्यापारिक  दल दलमा  फसेर दुर्गन्धित  बन्न पुगेको छ, चाहे प्रणालीमा जस्तोसुकै झिल्के खोल हालून् । जननायक बीपीले पनि गणेशमानको मन, वचन र कर्मको एक रूपता देखेर नतमस्तक हुँदै भनेका थिए, ‘गणेशमान साहसका  प्रतिमूर्ति र  राष्ट्रियताका अटल पुजारी हुन् । उनको राष्ट्रियताप्रतिको दृढ मान्यता कुनै पनि तागतले  हल्लाएर हल्लिनेवाला  छैन । काङ्ग्रेसीहरूले साहस र स्वाभिमानको पाठ गण्ेशमानबाट नै ग्रहण गर्न सक्छन् ।’ 

वास्तवमा प्रतिबन्धित कालमा ‘दल’ भनेको जनहितका लागि परिवर्तन चाहने शक्ति हो । ‘नेता’ भनेका त्याग तपस्याका  प्रतिमूर्ति हुन् भन्ने  आदर्श मान्यताले जनहृदयमा घर गरेको थियो । त्यसैले तत्कालीन त्यागीहरूमा मान्यता  थियो– ‘‘क्रान्तिपुत्र  भै नेपाल आमाको मुहार हँसाऊँ, जीवन  बलिदानका लागि  हो ।’’ विडम्बना ! नेपालमा आज दलहरू भ्रष्ट, विचारहीन, स्वार्थी, अवसरवादी, दलीय मूल्यमान्यताबाट च्यूत हुँदै गुटीय गञ्जकमा जकडिएका छन् । नेताहरू चिन्तनहीन, राम्रोलाईभन्दा हाम्रोलाई प्राथमिकता दिने, पराक्रमीभन्दा परिक्रमापन्थीलाई दलको ग्रन्थी सोच्ने  रागी, दागी तथा महापापी  ठग, तस्कर डनहरू प्यारा छन् ।   

कलकत्ताबाट नेपाल आएछि सहिद गङ्गालालसित राजनीतिक  पार्टी खोल्ने सल्लाह गणेशमानले गर्दा  गङ्गालालले भनेछन् ‘त्यो प्रजापरिषद् भन्ने पार्टी खुलेकै छ, त्यसैलाई खोजौं’ यसै सिलसिलामा गणेशमान सिंह र गङ्गालालले काठमाडौंको शोभा भगवती मन्दिरमा धर्मभक्तसमेत  भएर सो दलको पार्टी सदस्यता लिएको रोचक कथा छ ।  प्रजापरिषद्का मुख्य हस्तीहरू– टङ्कप्रसाद आचार्य, दशरथ चन्द, रामहरि शर्मा, चूडाप्रसाद आदिसितको बसउठ बढेको पत्ता लागेर ९७ साल कात्तिक २ गते गणेशमान पक्राउ परे । त्यस क्रममा गिरफ्तारमा परेका सबैलाई  निर्मम यातना दिन्थे । गणेशमान भने अंश सर्वस्वसहित  आजीवन कारावास परे । जेलमा उहाँलाई राणाहरूकै उपस्थितिमा उल्टो झुण्ड्याएर पिट्थे, रगत वान्ता गर्दा पनि निर्ममतापूर्वक यातना दिइरहिन्थ्यो ।

राजनीतिज्ञ होराप्रसाद जोशीले शब्दमा— ‘प्रजातन्त्रका लागि गणेशमानजीले जति दुःख सहनुभएको छ, त्याग र तपस्या गर्नुभएको छ, त्यति गर्ने मान्छे मैले  नेपालमा अर्को पाएको छैन । क्रान्ति  युवकबाट  मात्र हुन सक्छ भन्ने मान्यता उहाँमा थियो ।’ राजनीतिज्ञ स्व. श्रीभद्र उनको दृढ र साहसी दिचर्यासित पानीपानी भएर बोले– ‘गणेशमानजी लौह पुरुष नै हुनुहुन्थ्यो । लौह पुरुष भनेको फलामजत्तिकै, जति गर्दा पनि  नभाँचिने स्वभाव भएको व्यक्ति  हो । जुन उहाँको जीवनको हरेक  मोडमा  पुष्टि र प्रमाणित भएको छ । जनताले  सहज रूपमा दिएका ‘सर्वमान्य ! सर्वोच्च नेता ! फादर अफ डिमोक्र्यासी !’ भन्ने उपाधिहरू  सार्थक छन् । गणेशमानलाई  शब्दचित्रमा  प्रस्तुत  गर्दै शेषराज दली– ‘अथक शब्दको मर्मसित अथक नेता गणेशमानको  जीवनले  मेल खान्छ ।’ नेपालका प्रसिद्ध इतिहासविद् चित्तरञ्जन नेपालीको दृष्टिमा ‘उहॉ साँच्चैको सच्चा  राजनेता हुनुहुन्थ्यो । १९९७ देखि जीवन रहेसम्म पछाडि फर्केर नहेरी निरन्तर हिँडिरहनु राजनेताको गुण हो । लौह पुरुष त उहाँ पक्कै हुनुहुन्थ्यो ।’ 

त्यसैले त  स्वरमा स्वर थपेर भन्न सकिन्छ— गणेशमान  मानिसभन्दा  धेरै  एउटा विचार हो, आम मानिसहरूको  संयुक्त इच्छाको एउटा  प्राकृत  प्रकट हो । स्वतन्त्र वातावरण र स्वतन्त्र रहने विचार हो । उनी  कहिल्यै  पनि  नमर्ने विचार हुन् । कुनै बेला कहीँ कतै  नेपालीले कुनै अन्यायको विद्रोह  गर्दै सत्य तथ्यका लागि सङ्घर्ष  गर्छ भने त्यो व्यक्ति नै गणेशमान हो ।’’ यही गम्भीर आत्मविश्वासको भावना मुखर छ सर्वोच्च नेता गणेशमानप्रति आम जनताको । गणेशमान सत्य बोल्न कहिल्यै  कसैसित  डराएनन् । न राणा, न सर्वसत्तावादी राजा न त आफ्नो पार्टी हाइकमानसित नै । त्यसैले त उत्तरार्ध वयमा नेपालका दलमा देखिएका विसङ्गतिसित बोले– ‘पार्टीभित्र हिजोआज पद र शक्तिको  सङ्घर्ष  बढी छ तर विचारको सङ्घर्ष भने एकदमै कम छ । पार्टीमा नीतिको राज नभएर  नेताको हैकम चल्ने प्रवृत्ति बढेको छ । सबैले समान अवसर पाएनन् भने  जातीय असन्तोष बढेर जान्छ । साम्प्रदायिकताले  देशमा अस्थिरता ल्याउँछ ।’ गणेशमानका कालजयी  यी  विचार कति दूरवर्ती रहेछन् भन्ने कुरा आज सबैको घैँटामा छर्लङ्ग  छ । त्यसै भएर उनले पार्टीभन्दा माथि उठेर यस्ता सूत्र निर्देश गरे– ‘दलहरूले  हमेसा  सरकारको मूल्याङ्कन र त्यसको जानाकारी जनसमक्ष  गराउनु, पार्टीले आन्तरिक एवम् बाह्य संवादलाई चलाइरहनु, राजनीतिक स्थिरताका लागि राज्यका तीन प्रमुख अङ्ग स्वतन्त्र हुनुपर्छ । मानव अधिकार अकुण्ठित रहनुुपर्छ  तथा देश हाँक्नेहरूको  नैतिक मापदण्ड नेताले अपनाउनु पर्छ । जहाँ संसदीय व्यवस्था–प्रजातन्त्र–राष्ट्रियता र जनताको सबाल हुन्छ त्यहाँ  राष्ट्रिय सहमति हुनुपर्छ । प्रजातान्त्रिक समाजवाद अनुसार काङ्ग्रेसले ठूला कार्यक्रम ल्याउन  भौतिक  पूर्वाधारमा सुधार गर्नु जरुरी छ । शान्तिसम्झौता गर्दा जनता र देशलाई  अगाडि राखी राष्ट्रिय पुँजी तथा उद्योगको संरक्षण गर्नु पर्छ । अनि  जनआन्दोलनका शक्तिहरू  कम्तीमा तीन पटकसम्मको निर्वाचनमा सँगै जानु अनिवार्य हुन्छ ।’’

माथिका यी यथार्थ कथनले साँच्चै गणेशमान कस्तो राष्ट्रिय स्वाभिमानको धरहरा हो ? कस्तो लोकतान्त्रिक राजमार्गको वास्तु–कार हो ? कस्तो न्यायपूर्ण समाजको निर्माण  चाहने समाजशास्त्री हो ? कस्तो आर्थिक  प्रणालीको  व्यूहकार  हो ? उनीमाथि गम्भीर  शोध र उत्खननको जरुरी छ । एक दलीय सर्वसत्तावादको वकालत गर्ने उग्र कम्युनिस्टलाई  आफ्नो नेतृत्वको छातामुनि ल्याएर संयुक्त  आन्दोलनद्वारा निरङ्कुश पञ्चायतलाई  फाल्ने  पुरुषार्थ उनको चानचुने  व्यवस्थापन क्षमता होइन । आदर्शबाट खस्किएको देखेर अन्त्यमा उनी रछ्याने काङ्ग्रेस हुन रुचाएनन् । उनले प्राप्त  गरेका अन्तर्राष्ट्रिय पुरस्कारहरूले  पनि  गणेशमान  को हो ? नेपालका राजनीतिक अभिकर्ताले बुभ्mनुपर्ने हो ।

‘अवसरवादी तत्व जहिले पनि शब्दको मीठो  खेल खेलेर आफ्नो कुकार्य लुकाउन  खप्पिस हुन्छन्’ भन्ने क्रान्तिकारी उद्गारलाई दुत्कार नगर्ने उनको लौह व्यक्तित्वले कहिल्यै राजामहाराजको दर्शनभेटलाई  बिन्ती  बिसाएनन् । सरदार बल्लभ भाइ पटेल, लेलिन र महाभारत पात्र भीष्मसित तादात्म्य  राख्ने उनको साहसी र स्वाभिमानी छवि सच्चा  कविहरूको वर्णनीय  विषय बन्न सक्छ । यो कुनै निर्वस्त्र स्तुति नभएर  इतिहास पुरुषको स्वाभिमान, सम्मान, राष्ट्रप्रतिको प्रेम र बहादुरीको उत्खनन हो  ।  गणेशमान नेपालीको शान, मान र स्वाभिमानका तीन आयाम हुन् । एक सय चारौँ जन्मजयन्तीको पावन तिथिमा उहाँप्रति शब्द श्रद्धा । 

अस्तु !
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बद्रीप्रसाद  दाहाल
बद्रीप्रसाद दाहाल
लेखकबाट थप