घर भत्काएर स्थानीयले नै बनाए फराकिलो सडक
म्याग्दी- धेरै ठाउँमा सडक विस्तारका लागि बल प्रयोग गरेर संरचना हटाउनुपरेको अवस्थामा जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दाले आफैं घर भत्काएर सडक फराकिलो बनाएका छन् ।
मिलनचोकदेखि लेकफाँट र शालीजा जोड्ने सडक स्तरोन्नति योजना कार्यान्वयनका लागि सडक छेउछाउका ११ घर पूर्ण र करीब ६० घर आंशिक रूपमा भत्काएर सडक फराकिलो बनाउन सहयोग गरेको स्थानीयवासी रामकृष्ण आचार्यले बताए ।
साढे दुई मिटर मात्र फराकिलो र साँघुरो सडकलाई संरचना हटाएर हाल आठ मिटरको फराकिलो बनाइएको छ । पहिला दुईतर्फबाट गाडी आउँदा जाम हुने सडक अहिले दुईतर्फ सहज रूपमा सवारी आवतजावत गर्न सक्ने र धुलो पनि नउड्ने भएको स्थानीयवासी बाबुराम कार्कीले बताए ।
सडक ढलान र नाली बनाउन पाँच÷पाँच दिनका दरले श्रमदानसमेत गरेको कार्कीले बताए ।
गाउँपालिकाले रु २० लाख विनियोजन गरेको २०० मिटर सडक ढलान गर्ने र नाली बनाउने योजना पूरा गर्न आर्थिक सङ्कलनको तयारी भएको स्थानीय देवबहादुर पुनको भनाइ छ ।
सडकको दुवैतर्फ नाली बनाइएको छ । ७० प्रतिशतभन्दा बढी काम सकिएको छ । उपभोक्ताले रु दुई लाख ३७ हजार ७८० बराबरको श्रमदान गर्नुपर्ने लागत अनुमानमा उल्लेख छ । सडक फराकिलो बनाएपछि मिलनचोकको सुन्दरता नै फेरिएको छ ।
उपभोक्ता समितिका अध्यक्ष लालवीर पुनले २०७५ असोज ५ गते सम्झौता भएको योजना उपभोक्ताको सहयोग र सक्रियताका कारण लक्ष्यअघि नै सकिने बताए । २०७६ वैशाख १५ गतेभित्र योजना सम्पन्न गर्ने गाउँपालिकासँग सम्झौता भएको छ ।
जनसहभागिता र समुदायको सहयोगका कारण मिलनचोकको सडक ढलान योजना नमूना र उदाहरणीय भएको वडाध्यक्ष टुङ्गनाथ शर्माले बताए ।
फराकिलो बनाउने, नाली र ढलान गर्ने काम सकिएपछि यसलाई न्यूरोड नामाकरण गर्ने मिलनचोकवासीको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा किचलो : मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा उल्झन
-
भिक्षु बन्न ३ करोड ४० लाख डलरको सम्पत्ति दान दिँदै भारतीय दम्पती
-
बालबालिकाका लागि भिटामिन ‘ए’ राष्ट्रिय अभियान, तस्बिरमा हेर्नुहोस्
-
गण्डकीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिन पाउँछन् ?
-
एमालेले भन्यो– मुख्यमन्त्रीलाई संविधानको धारा १८८ बाट भाग्ने ठाउँ छैन
-
अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी