बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तिहार : सामाजिक न्यायको आधार

बिहीबार, २२ कात्तिक २०७५, ११ : ०९
बिहीबार, २२ कात्तिक २०७५

 निर्मला न्यौपाने 

रसिलो तिहारले हावामा सङ्गीत भरियो । भेटघाट र फूलसितको सान्निध्यले मनमा ऊर्जा थपियो । गाउँमा आएर फूल टिप्न पाखोमा उक्लेँ । वनको सुगन्ध पहिले जस्तै छ । तितेपाती र उन्युँको वासले मुग्ध बनाउँछ । गाउँ जन्मथलो, कर्मथलो त सहरै हो । सहरमा जहर मात्रै छ भन्नु वस्तुवादी सोच होइन । 

सहरमा मलाई एकजना पत्रकार दाइको सौजन्य प्राप्त छ । मेरा सिकारु अक्षरहरूले प्रकाशनको मौका पाएका छन् । जिम्मेवारी बोध हुँदैछ । हाम्रो समाजमा आमापछि सबभन्दा बढी सम्मान बैनीलाई दिइँदो रहेछ । बैनी भइदिँदा दाइ भेटिँदो रहेछ । मान्छे मायाको भोको हुन्छ । यसलाई श्लील र सभ्य बनाउनुपर्छ । 
एसपीका छोरोले निर्मला पन्तलाई बैनी–बैनी सम्बोधन गर्दै लेखेका छन् । निर्मला जिउँदै छँदा त्यो भाव प्रदर्शन गर्न सकिएको भए निर्मलाको बलत्कार र हत्या हुने थिएन । तिहारले हामीलाई त्यही पाठ सिकाउँछ । 

दसैंको राम्रो पक्ष थिए । सहरको हाम्रो टोलमा परार ठूलो साहू र कान्छा साहूको झगडा परेर बोलचाल बन्द भयो । अजीको खातामा पैसा थियो । बूढी चेकमा सही गर्न नजान्ने । सामान्य उपचार खर्चका लागि दाइले भाइको, भाइले दाइको मुख ताक्ने । बूढी अजी राम्रो उपचार नपाएरै बितिन् । 

पछि सम्पत्तिको बाँडचुँडमा झन् झगडा चक्र्यो । पोहोर दसैं कहाँ मान्ने भन्ने समस्या भयो । दाइको घरमा भाइ, भाइको घरमा दाइ नजाने । भाउजूहरूले आगोमा घिउ थानेकै थिए । दिदी (ती दुईका दिदी) ले आफ्नै सानो घरमा दुवै भाइहरूलाई डाकेर टीका लगाइदिइन् । बोलचाल खुल्यो । हाल राम्रै छ । तिहारै, मनोमालिन्यको बीउ मास्ने चाड थियो । सामाजिक न्यायको आधार थियो । 
...द्वन्द्व व्यवस्थापनको जिम्मा पहाडिया नेतामा बढी छ किनभने पहाडलाई हाडै हाडको खोक्रो पार्ने छन् । ...

हाम्रो समाज अड्बाङ्गे छ । उही घरमा अर्को आएर मालिक्ने हुन्छे । छोरी धपिन्छे । छोरीका सन्तानलाई बाबुआमा छोरोको सन्तान जस्तो मान्दैनन् । ‘दाइ तिमी अंशको धनी, म छोरी बर्खाको बलेनी !’ छोरीले अझै रुनु परेकै छ । 
एक चम्चा कुरौनी बा कामले सिके राउतलाई सहयोग पुर्याउँछन् । सङ्घीयतालाई लगभग स्वाहा पारिसके । विश्वकै उत्कृष्ट संविधानलाई यिनैले जलाए । संयोग यसपालिको भाइटीका कात्तिक २३ मै परेछ । 

पारदर्शी कपडाको होड घटउनुपर्छ । दाजुबैनी र दिदीभाइको सम्बोधन र सम्बन्धलाई प्रगाढ पारेरै मान्छेभित्रको मनुष्यता जगाउन सकिन्छ । 

रातथिरातमा महिलाले अतिरिक्त होसियारी अपनाउनै राम्रो हुन्छ । महँगो रक्सी घुट्क्याउँदै तासको खालमा बसिँदा आधुनिक भइने भ्रमको पर्दा ध्यार्रै च्यात्नुपर्छ । आत्मरक्षाको तालिम पनि साह्रै भरपर्दो छैन । निर्मला पन्तलाई एकैजनाले बलत्कार गर्न नसक्ने प्रतिवेदनको ठहर छ । यसैले अब तिहारलाई सामाजिक न्यायको आधार बनाउनुपर्छ । दीपावली छिमेकीको होला, तिहार हाम्रै हो । आफ्नोपन मासेर कहीँ पुगिँदैन । 


हिजो सामन्ती युगमा हाम्रा सबै सांस्कृतिक चाडपर्वलाई धर्मको खोल ओडाइयो । जनतामा व्यापक विभेद बढाइयो । आहुति भन्छन्, ‘हिन्दू वर्ण व्यवस्थामा उपाध्यायले जैसीलाई, अरू क्षेत्रीले जनजातिलाई, जनजातिले दलितलाई हेप्छ दलितले कसलाई हेप्ने भनेर झनै तल हेर्छ !’ यस्तै महिला दगल्च्याइँका अनन्त कथा छन् । हाम्रा प्रगतिशील अग्रजहरू नै तल–तल, सह्रै तल झर्छन् । मुन्तिरभन्दा मास्तिर त फर्कनै सक्दैनन् । 

‘चरित्र हत्याको आरोपले सबैभन्दा पीडित त वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली छन् !’ विमल पोख्रेलले भन्छन्– भनिरहनु परेन, जेठा दाइको भाङ्राको धोती, कान्छा भाइको कुन गति ? श्रम गरेर खानुपर्ने महिलालाई सानै सनकमा लोग्नेमान्छेले लोहोरोले हानेर मार्छ । श्रेया विकको बलत्कारी हत्यारो त एउटा प्रतिनिधि पात्र मात्रै हो । टाउकाभरि जाँड र गाँजाको मात बोकेर हिँड्ने विद्वान–बुद्धिजीवीहरू समाजमा छयास्छ्यास्ती छन् । ती दसैंको रूपान्तरणबारे लेख्छन् । आफूलाई सम्मानित ठान्छन् । 

    ‘नेपाली फिरङ्गीओ ने हमको लुटा !’ मधेसमा भनिँदैछ । विगतका दिनहरूमा भन्दा यसपालिको दसैंताका हाम्रो समाज निकै भाँडिएको छ । दसैं स्वीकार र बहिष्कारको मुद्दा चर्को गरी उठेको छ । सन्तान्धहरू दसैंपछि लगत्तै मन्त्रीहरू फेरबदल गर्ने कसरतमा जुटेका छन् । टाउकोको औषधी नाइटोमा लगाइँदैछ । आयो दसैं ढोल बजाई, गयो दसैं द्वन्द्व बढाई । द्वन्द्व व्यवस्थापनको कला सत्तासीनहरूले देखाउनै पर्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निर्मला न्यौपाने
निर्मला न्यौपाने
लेखकबाट थप