बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकारको तिहार योजना : देउसीभैलो खेल्नेदेखि आमालाई विदेश घुमाउनेसम्म

बिहीबार, २२ कात्तिक २०७५, १० : ५३
बिहीबार, २२ कात्तिक २०७५

दसैंपछिको ठूलो चाडका रूपमा तिहारलाई लिने गरिन्छ । दिदीभाइ तथा दाजुबहिनीको प्रेमको पर्वका रूपमा चिनिने तिहारमा लक्ष्मीको पूजा गर्ने, देउसीभैलोमा रमाउनेदेखि दिदीबहिनीसँग टीका थाप्नेसमेत गरिन्छ । दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता अझ बढाउने पर्वको पनि हो यो । घरमा झिलिमिली बत्ती, सहरमा धेरै थरीका फूल, मिठाई र मसलाले सिँगारिएका हुन्छन् । हरेक नेपालीको तिहारको मनाउने आआफ्नो योजना हुन्छ । सधैँ अरूलाई मनोरञ्जन दिलाउन व्यस्त रहने कलाकारहरूले तिहार कसरी मनाउँदै छन् । यो सबैको चासोको विषय रहने गर्छ । कलाकारको तिहार योजना उनकै शब्दमा ः
 
प्रदीप खड्का (अभिनेता)
अहिले ‘लभ स्टेसन’ चलचित्रको सुटिङ चलिरहेको छ । यसमै व्यस्त छु । तिहार मेरो मनपर्ने चाड हो । घरमा एक बहिनी छिन् । मामाघरमा दुई बहिनी छन् । तिनै जनासँग टिका लगाउँछु । पहिले देउसी भैलो खेलिन्थ्यो । दुई तीन वर्ष देउसी भैलो खेलेको छैन । यो पटक पनि खेल्दिनँ । चलचित्रको सुटिङले गर्दा दसैंमा सिक्किम थिएँ । यो फुर्सदमा आफन्त भेट्नेछु ।

दीपिका प्रसाईं (अभिनेत्री)
तिहारमा चारैतिर झिलिमिली बत्ती बलेको देख्न पाइन्छ । यस्तो वातावरण मलाई सारै मनपर्छ । देउसीभैलो खेल्न पनि मनपर्छ । म अहिले थाइल्यान्ड भ्रमणमा छु । यो पटकको तिहार यतै मनाउँछु । थाइल्यान्डमा रहेका नेपालीले कसरी तिहार मनाउँछन् । त्यो पनि हेर्नुछ । सानोमा देउसीभैलो धेरै खेलिन्थ्यो ।   

शिल्पा पोख्रेल (अभिनेत्री)
त्यस्तो खासै केही योजना छैन । देउसीभैलो खेल्दिनँ होला । तर रमाइलोसँग तिहार मनाउने योजना छ । मेरा दाजुभाइ त छैनन् । निर्देशक विकाश रौनियारलाई दाइ मानेर पहिलेदेखि नै टीका लगाउँदै आएकी छु । यो पटक पनि उहाँलाई नै टीका लगाउँछु । राम्रोसँग लक्ष्मीपूजा गरेर लक्ष्मी भित्र्याउने योजना हो । 

दिनेश काफ्ले (कमेडियन)
विभिन्न मेला महोत्सवले गर्दा हामी कलाकारलाई जहिले पनि देउसीजस्तै हो । रमाइलो भने परिवारसँग गर्न पाइन्छ । गाउँ जाने, दिदीबहिनीको हातबाट टीका थाप्ने, पुराना साथीभाइ भेट्ने यस्तै छ मेरो यो तिहारको योजना । तिहार विशेष कार्यक्रम धेरै आयोजना हँुदैछ । भ्याएसम्म सहभागी हुन्छु । सानोको जस्तो अहिले देउसीभैलो रमाइलो लाग्दैन ।

रजनी केसी (अभिनेत्री)
तिहार सबैभन्दा मनपर्ने पर्व हो । तिहारको देउसीभैलो पनि धेरै मनपर्छ । मेरो आफ्नो भाइ छैन । आफन्त भाइलाई टीका लगाउँछु । देउसीभैलो खेल्ने योजना पनि छ । सानोमा देउसीभैलो भट्याउने, नाच्ने गर्थे । अहिले पनि त्यस्तै गर्छु होला ।
 
अर्जुन पोखरेल 
तिहारमा साङ्गीतिक माहोल बन्छ । सङ्गीतकर्मीको हिसाबले यो मनपर्छ । चाडमा जुवातासमा रमाउन मलाई मन पर्दैन । तिहार सरल र सभ्य तरिकाले मनाउनुपर्छ । आफूले रमाइलो गर्दा अरूलाई असर पर्छ कि पर्दैन ध्यान दिनुपर्छ । देउसी खेल्ने टीका लगाउने रमाइलो गर्ने यस्तै यस्तै योजना छ ।

भूमिका गिरी (गायिका)
मेरो मनपर्ने चाड दसैं र तिहार हो । चाडले हामी कलाकारलाई परिवारसँग भेटाउने अवसर दिन्छ र मेरो मनपर्ने पर्व पनि हो । यसको मनपर्ने पक्ष भनेको देउसीभैलो र भाइटीका हो । देउसी भैलो खेन्न, तिहारमा बनाइने सेलरोटी खान मनपर्छ । म विभिन्न संस्थासँग आबद्ध भएकाले तिहार देउसीभैलो खल्ने योजना पनि छ । मेरा दुईजना भाइहरू छन् । उनीहरूलाई टीका पनि लगाइदिन्छु । सानोमा चङ्गा धेरै उडाउँथे । अहिले देउसीभैलो खेल्ने हो ।

निर्मल शर्मा (कलाकार) 
तिहार सानैदेखि मनपर्छ । सानोमा १ महिना अगाडिदेखि तिहारका लागि तयारी गरिन्थ्यो । देउसीभैलो खेलिन्थ्यो । यो पटक पनि खेल्ने योजना छ । हामी साथीभाइ मिलेर आफ्नै घर वरिपरि १० घरमा देउसीभैलो खेल्ने हो । त्यसरी उठेको पैसाले अनाथ बच्चालाई जाडोको कपडा किनिदिने योजना छ । चाडमा जुवातास खेलने बानी कहिलै लागेन । अहिले पनि खेल्दिनँ । घरभरी बत्ती बाल्ने, दिदीबहिनीलाई कुर्था सुरुवाल किनिदिन्छु ।

ज्योती मगर (गायिका)
दसैंैभन्दा पनि विशेष लाग्छ तिहार । यसको मनपर्ने पक्ष देउसी भैलो, लक्ष्मीपूजा र भाइटीका हो । परिवारसँगै मिलेर लक्ष्मी भित्र्याउने, रमाइलो गर्ने योजना छ । धेरै कार्यक्रमहरू परेकाले भाइटीकाको दिनमा मात्र गाउँपुग्छु । देउसीभैलो खेल्न जाने योजना त छ तर जान पाइएन भने घरमा आउनेसँग मिलेर मज्जाले नाच्छ, गाउँछु ।

खुस्बु खड्का (अभिनेत्री)
तिहार बच्चैदेखि  रमाइलो लाग्छ । तिहारको लक्ष्मीपूजा, भाइटीका विशेष लाग्छ । साथीभाइसँग भैलो खेल्न जाने योजना पनि छ । विभिन्न मिठाइका परिकार बनाएर परिवासँग रमाइलो गर्दै खाने हो । दाजुलाई टीका पनि लगाउँदै दीर्घ आयुको कामना पनि गर्नेछु ।

दुर्गा खरेल (गायिका)
तिहार फूल र बत्तीको चाड पनि हो । सानैदेखि तिहार मनपर्छ । देउसीभैलो खेल्न र हेर्न दुवै मनपर्छ । साथीसङ्गी मिल्यो भने भैलो पनि खेल्छु । भाइलाई टीका लगाएर परिवारसँग रमाइलो गर्दै दसैंै मनाउने हो ।

किशोर भण्डारी (कलाकार)
चाडमध्ये उत्कृष्ट दीपावली लाग्छ । अन्य चाडमा जनावरको बलि दिएर, मासु खाएर मनाइन्छ । यो पर्वमा भने जनावरको पूजा गरिन्छ । देउसी भैलो खेल्ने, दिदीबहिनीको हातबाट टीका थाप्ने यस्तै हो तिहारको योजना ।

साहिमा श्रेष्ठ 
मेरो मनपर्ने चाड तिहार हो । सानोमा देउसीभैलोमा निकै रमाइलो गरिन्थ्यो । अहिले कार्यक्रमतिर बिजी हुने हुनाले अलि फरक हुने गरेको छ । तिहारको विशेष लक्ष्मीपूजा हो । म नेवार भएकाले म्हपूजा एकदमै राम्रो लाग्छ । दाजुभाइलाई टीका लगाउने, परिवारसँग रमाइलो गर्ने यस्तै हो । तिहारको अन्त्यतिर आमालाई लिएर दुबई टुरमा जाने योजना पनि छ । देउसीभैलो खेल्ने कुनै योजना भने छैन ।

जुनु गौतम (गायिका)
तिहारमा चारैतिर झिलिमिली बालेको देख्न सकिन्छ । यो दाजुभाइ दिदीबहिनीको बीचमा आत्मीयताले भरिएको पर्व हो । साथीसँगी मिल्यो भने तिहारमा देउसीभैलो खेल्ने योजना पनि छ । मेरा दाजुभाइ दुवै हुनुहुन्छ । तर यस पटक भाइलाई मात्र लगाउँदैछु । दाजुलाई टीका जुरेन दुःख लागेको छ । धेरैलाई नभए पनि आफू बस्ने कोलोनी नजिकका केही दाजुभाइलाई पनि टीका लगाइदिन्छु । 

पवित्रा आचार्य (अभिनेत्री )
देशमा मनाउने सबै चाडमध्य तिहार मनपर्छ । चारैतिर झिलिमिली बत्ती बालेको देख्दा मन आनन्दले प्रफुल्ल हुन्छ । लक्ष्मीपूजा, देउसीभैलो, सेल रोटी तिहारको अर्काे मनपर्ने पक्ष हो । घर सफा गरेर रङ्गोली बनाई लक्ष्मी भित्र्याउने योजना पनि छ । जुन घर सफा सुन्दर हुन्छ । त्यही घरमा लक्ष्मीको बास हुन्छ भनिन्छ । गत वर्षको तिहारमा चलचित्र छायाङ्कनका लागि युरोप पुगेको थिए । यस पटक मनाउन निकै उत्साहित छु । नवलपरासीस्थित माइत गएर दाजुभाइलाई टीका लगाउने, देउसीभैलो खेल्ने योजना हो ।

भावना गुरुङ (अभिनेत्री)
झिलिमिली बत्तीले सबैको घर सिँगारिएको हुन्छ । जताततै उज्यालो हुन्छ । त्यसैले पनि तिहार राम्रो लाग्छ । एउटा भाइ छ । त्यो पनि अहिले जर्मन बस्छ । त्यसैले टीका लगाउँदिन । साथीसङ्गी मिलेर देउसीभैलो खेल्ने र त्यसबाट उठेको पैसाले पिकनिक गर्ने योजना छ ।

कर्णराज गिरी (गायक)
तिहार धेरै रमाइलो लाग्छ । सानोमा तिहारमा देउसी भट्याउन लगाउँथे । त्यही भएर पनि अहिले गायक भए । यो पटक देउसी भेलन पाउँदिनँ । कार्यक्रममा सहभागी हुनुपर्छ । मरो दुई दिदी छन् । उनीहरूको घरमा गएर टीका पनि लगाउँछु ।   

पूर्णिमा लामा (अभिनेत्री) 
गत वर्ष तिहारमा म गाउँमा थिएँ । यो वर्ष काठमाडौँमै मनाउने हो । मेरा चार दाजुभाइ छन् । तर दादा गाउँ जान नपाउने भएकाले म पनि उहाँलाई टीका लगाउँन यहीँ बस्छु । सेलरोटी पकाउने, झिलिमिली बाल्ने यस्तै हो यस पटकको योजना । सानोमा देउसीभैलो खेलेर केही दिनसम्म घरबाहिर बसिन्थ्यो । अहिले ठुली भएर होला लाज लाग्छ । यस पटक एक संस्थाबाट देउसीभैलो खेल्ने कार्यक्रममा छ । त्यसबाट उठेको रकम अनाथ बनालबालिकाको शिक्षाका लागि खर्च गर्ने योजना छ ।

दुर्गा साउद (गायिका)
यो पटकको तिहार निकै रमाइलो हुन्छ जस्तो छ । किनभने यस पटक देउसीभैलोको बेजोड कार्यक्रममा सहभागी हुनुपर्ने छ । निकै राम्रोसँग लक्ष्मीपूजा गर्ने तयारी गर्दैछु । दाजुभाइलाई भाइटीका पनि लगाउँछु । मेरो गाउँ झापा हो । दसैंैमा गएको थिएँ । तिहारमा जान पाउँदिन । त्यसैले मानेको दाइ काठमाडौँमा हुनुहुन्छ । उहाँलाई भाइटीका लगाउँछु । 

सीताराम पोखरेल (गायक)
तिहार धेरै मनपर्छ । चारैतिर झिलिमिली देख्न पाइने यो पर्व देउसीभैलोले अझ रोमान्टिक बनाउँछ । मेरो ३ जना बहिनीहरू विराटनगरमा छन् । उतै गएर भाइटीका थाप्छु । म देउसीभैलो खेल्दिनँ । घरमा देउसीभैलो खेल्न आउने आफूभन्दा सानासँग रमाइलो गर्ने योजना छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप