शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजपाका महामन्त्रीमाथि विशेष अदालतमा मुद्दा, अख्तियारबाट बच्न राजनीतिको आड

बुधबार, २१ कात्तिक २०७५, १३ : २८
बुधबार, २१ कात्तिक २०७५

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री विनोद सिंहले करोडौ रुपियाँको अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा परेको छ । 

वन मन्त्रालय अन्तर्गत सहायक अधिकृतमा काम गरेका सिंह दुई करोडभन्दा बढी रकम अवैधानिक रुपमा आर्जन गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग आयोगले उनीमाथि कात्तिक १९ गते मुद्दा दायर गरिएको हो । 

एक वर्षअघि आयोगले उनीमाथि छानविन गर्न थालेपछि त्यसबाट बच्नका लागि आफ्नो पदबाट राजीनामा दिएर राजपा नेपालमा सक्रिय भएका थिए । पदमा हुँदा नै अकुत सम्पत्ति कमाएको भन्दै उनीमाथि आयोगमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा उनीमाथि छानविन शुरु भएको थियो । 

राजनीतिको आड
छानविन शुरु भएपछि एकजना आयोगकै कर्मचारीकै सल्लाहमा उनले आफ्नो पदबाट राजीनामा दिएको स्रोत बताउँछ थिए । ‘पदबाट राजीनामा दिएपछि मुद्दा कमजोर हुन्छ र फाइल बन्द हुन्छ भन्दै आयोगका ती कर्मचारीको सल्लाहमा राजीनामा दिएका उनी त्यसबाट बच्नका लागि राजनीतिलाई हतियार बनाए,’ स्रोतको भनाई छ ।

यसो त उनी जागिरमा रहेको बेला पनि राजपा नेपालको सहयोगी नै थिए । तत्कालिन तमलोपालाई आर्थिक सहयोग गर्नुदेखि लिएर विभिन्न नेताहरुलाई पनि आफ्नो प्रभावमा पारेका थिए ।

राजपालाई भवन उपहार 

नेपाल मधेशी निजामती कर्मचारी मञ्चको अध्यक्ष रहेको बेला उनी आफ्नो पदको दुरुपयोग गर्दै कार्यालयको काम छाडेर सरुवा बढुवामा बढी सक्रिय रहेर काम गरेका नेता सिंहले मञ्चको भवन निर्माण तत्कालिन तमलोपाका अध्यक्ष महन्थ ठाकुरबाट शिल्यानाश गराएका थिए । 

जब अख्तियारले सिंहलाई छानविनको दायरामा ल्यायो अनि उनले राजपा नेपालमा सक्रिय मात्र भएनन् बबरमहलस्थित रहेको मञ्चको कार्यालय भवनमा राजपा नेपाललाई नै बसाए । 

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र महन्थ ठाकुरलाई पटक–पटक भनेर उनले मञ्चको भवनमा राजपा नेपाललाई सार्न लगाएका थिए । जब कि भवन बनाउने जमिन नेपाल सरकारले उपलब्ध गराएको हो । त्यो भवन कसैलाई भाडामा लगाउन पाइँदैन । तर उनले पार्टीमा आफ्नो पकड देखाउनका लागि मञ्चकै कार्यालय भवनमा राजपा नेपालको कार्यालय स्थापना गर्न लगाए । जसको त्यतिबेला निकै आलोचना भएको थियो । 

राजपा नेपालमा महासचिव मनिष सुमनले मञ्चको कार्यालय भवनमा पार्टी कार्यालय राख्न नहुने भनि विरोध गरेका थिए । तर, विनोद सिंहले ठूला नेताहरुलाई प्रभावमा परेका कारण मनिष सुमनको त्यतिबेला केही चलेन ।

चुनावमा सहभागी 

एउटा पार्टीको ठूलै नेताको नजिक भएपछि अख्तियारले पनि हत्तपत्त हात लगाउन सक्दैन भन्ने बुझेर उनी मधेशवादी दलको आड लिए । तैपनि अख्तियारले उनको पिछा नछाडेपछि उनले राजीनामा नै दिए । र, लगत्तै उनले राजपा नेपालबाट चुनाव लड्न टिकटको लागि प्रयास गरे । यसका लागि उनले विभिन्न नेताको घरदैलो चहार्न शुरु गरेका थिए । 

तर, भर्खर पार्टी एकीकरण भएको कारण कर्मचारीबाट आएकालाई टिकट नदिने जवाफ सबैतिरबाट उनले पाइरहेका थिए । त्यसपछि उनले अनिल कुमार झासँग कुरा गरे । उनले अख्तियार दुरुपयोग आयोगले आफूमाथि छानविन गरिरहेको कुरा पनि नेता झालाई सुनाएका थिए । त्यसपछि झाले पनि राजीनामा दिएपछि पार्टीबाट सहयोग गराउन सकिने आश्वासन दिएको मञ्चका एकजना पदाधिकारीले बताए । 

राजपा नेपालमा प्रदेश सांसदमा लड्न टिकटका लागि पनि उनको दौडधुप बाक्लै थियो । फेरि पनि उनलाई पार्टीले टिकट दिएन तर समानुपातिकमा उनको नाम राखि दियो । समानुपातिक उम्मेदवार भएपछि उनी पार्टीमा झन् सक्रिय भए । चुनावमा निकै मेहनत गरे ।

कार्यालय  तोडफोड
तर, पार्टीले उनलाई समानुपातिकमा चयन गरेन । समानुपातिकमा उनी चयन नभएपछि मञ्चका कर्मचारीबाट कार्यालयमा तोडफोड गर्न लगाए । यहाँसम्म कि राजपा नेपाललाई घर खाली गर्न पनि धम्की दिन लगाए । कार्यालयमा तोडफोड भएपछि राजपा नेपालले तीन सदस्यीय छानविन समिति बनाएको थियो । 

सो समितिले तोडफोडमा विनोद सिंह प्रत्यक्ष संलग्न नभएपनि उनकै इशारामा सो घटना भएको निश्कर्षसहितको प्रतिवेदन बुझाएको थियो । तर हालसम्म सो प्रतिवेदन सार्वजनिक गरिएको छैन ।

त्यसपछि राष्ट्रियसभाको सदस्यमा मनोनित हुन पनि उनले निकै प्रयास गरे । तर प्रतिवेदन सिंहको पक्षमा नभएको कारण राजपा नेपालका नेताहरु उनीप्रति सकारात्मक भएनन् । 

त्यसपछि सिंहले मिडिया लबिङ शुरु गरे । उनले मिडियामा राजपा नेपालले आफूलाई जागिर छाड्न लगाएर समानुपातिक सदस्य नबनाएर आफ्नो जीवन बर्बाद गरिदिएको अरोप लगए ।

उनले मधेशभरि मञ्चका कर्मचारीमार्फत कार्यक्रमहरु गर्न लगाएर राजपा नेपालको विरोध गर्न लगाए । 

यसबाट क्रुद्ध बनेका राजपाका नेताहरुले मञ्चको कार्यालय छाड्न र विनोद सिंहलाई कारवाही गर्न माग थालेपछि उनी ब्याक भएका थिए । पछि नेताहरुलाई भनसुन गरेर उनी राजपा नेपालमै सक्रिय भए । 
त्यस लगतै राजपा नेपालका संयोजक महन्थ ठाकुरले उनलाई पार्टीको महामन्त्रीमा मनोनित गरे । 

सिंहलाई पार्टीमा महामन्त्रीमा मनोनित गर्दा महन्थले कसैसँग सल्लाह गरेका थिएनन् । त्यसैले अहिले उनको मनोनयनलाई लिएर विवाद उत्पन्न भएको छ । 

पार्टीमा ३० जनाभन्दा बढी महामन्त्री छन् । पार्टी कार्यालयमा कसैले बस्ने ठाउँ पाएका छैनन् । तर उनले भने एउटा सिंगै कोठा कब्जा गरेर बसेका छन् ।

यता, पार्टीमा आफ्नो भूमिका बढाइ रहेकै बेला अख्तियारले उनीमाथि विशेष अदालतमा मुद्दा नै दायर गर्यो ।

अख्तियारले विनोद सिंहसँग एक करोड ९१ लाख ६१ हजार ६ सय २५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको दाबी गरेको छ । २०४३ सालदेखि निजामती सेवामा प्रवेश गरेका सिंहको सम्पत्तिको छानविन गर्दा उनले कमाएको भन्दा बढी सम्पत्ति भेटिएको र त्यसको स्रोत खुलेको छैन । सिंहले तीन करोड ५१ लख ८२ हजार ६ सय ४४ रुपैयाँ खर्च गरेका छन् तर उनले १ करोड ६० लाख २१ हजार ८ रुपियाँ मात्र आय आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

सिंहले आफ्ना परिवार सदस्यका नामबाट सो रकम खर्च गरेको हुँदा श्रीमती गीतादेवी सिंह, छोराहरु अनुप कुमार सिंह र अचल कुमार सिंहविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । 

अख्तियारले विनोद सिंहसँग अकूत सम्पत्ति आर्जन गरे बराबरको जरिवाना र बिगो समेत असुल उपर हुनुपर्ने दावी गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप