शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विकासको पर्खाइमा स्वगद्वारी आश्रम

बुधबार, २१ कात्तिक २०७५, ०८ : ५४
बुधबार, २१ कात्तिक २०७५

गलेश्वर —  प्राकृतिक सुन्दरता र जैविक विविधतायुक्त म्याग्दी टोड्केस्थित प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी आश्रम विकासको पर्खाइमा छ । 

मालिका, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित टोड्केको स्वर्गद्वारी आश्रम आध्यात्मिक चिन्तनको उपयुक्त स्थान मानिन्छ । प्यूठानमा रहेको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारीको शाखा मानिने यस आश्रममा स्वर्गद्वारी महाप्रभुले तपस्या गर्नुभएको धार्मिक विश्वास छ । 

प्राचीनकालमा विभिन्न ऋषि महर्षिले तपस्या गरेको यस स्थानमा १९३५ सालमा त्रिशूली बाबाले तपस्या गरेर यहाँ शिव मन्दिर र धर्मशालालगायतका केही संरचना निर्माण गर्नुभएको र अहिलेसम्म पनि ती संरचना रहेका स्वर्गद्वारी आश्रम शिव मन्दिरका पुजारी शिवप्रसाद पन्थीले बताउनुभयो । 

पुजारी पन्थीका अनुसार प्यूठान स्वर्गद्वारी आश्रमका महन्त भागवतानन्द गिरीले यहाँ आएर सात दिनसम्म एउटा खुट्टाले मात्र टेकेर श्रीमद्भागवत् सप्ताहा पाठ गर्नुभएको थियो । त्यसैगरी जन्मेको छैठौँ दिनदेखि आमाको स्तनपान नगर्नुभएका हंशानन्द गिरीले तपस्या गर्नुभएको र त्यसैबेलादेखि यो क्षेत्रलाई स्वर्गाश्रम क्षेत्र भनिन थालिएको पुजारी पन्थीले बताए । 

विसं १९१६ श्रावण पुत्रदा एकादशीका दिन जन्मनुभएका स्वर्गद्वारी महाप्रभुले लामो समय यहाँ बसेर तपस्या गर्नुभएको थियो । त्यसपछि यस क्षेत्रलाई स्र्वद्वारी क्षेत्र भनिन थालिएको हो । स्वर्गद्वारी महाप्रभु पछि यहाँ अन्य धेरै ऋषि महात्माले तपस्या गरेका थिए ।

अठार रोपनी क्षेत्रफलमा फैलिएको स्वर्गाश्रम क्षेत्र धार्मिक र आध्यात्मिक दृष्टिकोणबाट मात्रै होइन, प्राकृतिक र जैविक महत्वका दृष्टिले पनि अत्यन्त सम्भावनायुक्त क्षेत्र मानिन्छ ।

पहाडको टुप्पोमा घना जङ्गलको बीचमा अवस्थित स्वर्गद्वारी क्षेत्रबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथीलगायतका हिमाल, दुई दर्जन बढी गाउँ देख्न सकिन्छ । यहाँसम्म पुग्नका लागि सडकका पहुँच भएकाले यातायातका साधनबाट पनि जान सकिन्छ । 

यहाँ रहेको शिव मन्दिरमा स्वर्गद्वारी महाप्रभुले लगाएको खराउ काठका चप्पल, शिवलिङ्ग, शिवजीको स्वेतशुभ्र मूर्ति, बसाहा, शालिग्राम आदि रहेका छन् । शिवजीको मन्दिरलाई हालसालै मात्र पुरानै संरचनामा पुनःनिर्माण गरिएको छ ।

यहाँ एउटा धर्मशाला छ भने सात वटा गाई पालिएको छ । मन्दिरमा बिहान बेलुका गाईको दूधले अभिषेक हुने गर्दछ । पुजारीलाई तलब प्यूठानको स्वर्गद्वारी आश्रमले नै दिने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप