बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जापान जाने विद्यार्थीको करोडौ रुपैया ठगि प्रकरणमा मुछिएका पत्रकार मल्लको यस्तो प्रष्टोक्ति

आइतबार, ०८ साउन २०७४, १९ : ५५
आइतबार, ०८ साउन २०७४

टोकियो – पत्रकार तिलक मल्लले  ‘दुई करोड ठगी प्रकरणका मुख्य मतियार’ शीर्षकमा केही अनलाईन मिडियामा आएको समाचारको खण्डन गर्दै आरोपित पोखराका गोबिन्दप्रसाद तिवारीको ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । 

पत्रकार मल्लले शनिबार टोकियोमा पत्रकार सम्मेलन गर्दै उक्त ठगी प्रकरणमा आफ्नो समेत नाम जोडेर आफुलाई ’इमोशनल ब्ल्याकमेलिङ’ गरी जबरजस्ती फसाउन खोजिएको आरोप लगाए ।  

फरक सन्दर्भमा तिवारीसंग भएको लेनदेन कारोवार र तिवारीको ठगी धन्दा फरक फरक प्रसंग भएकोले एउटै घटनाकारुपमा नलिन उनले आग्रह गरे । आफुले मिलाउनुपर्ने हिसाब तिवारीले पीडितहरुलाई बुझाउन लगाएर आफुलाई झुक्याएको मल्लले पत्रकार सम्मेलनमा स्पष्ट पारे । 

जापान बस्दै आएका तिवारीलाई आकर्षक रोजगारीका लागि जापान ल्याउने प्रलोभन देखाएर करोडौको ठगी गरेको आरोप लागिरहेको छ ।  

यसै बिषयलाई लिएर वास्तविक कुरा नबुझी केही अनलाईनले मिडियाले आतंक मच्चाएको र सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गरेकोले आफुमाथि ठूलो अन्याय भएको उनले बताए । मल्लले भने, ‘सत्य तथ्यको गहिराईमा पुग्दै नपुगी सटही र छिपछिपे बुझाईबाट धारणा बनाईहाल्ने सँस्कारले समाजको कहिलै भलो गर्दैन ।’ 

पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष समेत रहेका मल्लले पीडितले न्याय पाउनुपर्ने र दोषीले हदैसम्मको सजायँ पाउनुपर्नेमा जोड दिए । उनले भने, ‘जस्तोसुकै समस्या झेल्नुपरे पनि सत्य र न्यायको पक्षमा निर्भिक भएर उभिनेछु, अन्तमा सत्य साबित भएरै छोड्ने छ । तिवारीको ठगी धन्दामा संलग्नता रहेको स–प्रमाण दोषी करार गरियोस् तपाईहरुकै अगाडि सेरिएर मर्न तयार छु ।’ 

पत्रकार सम्मेलनमा तिवारीको ठगी धन्दामा कुनै संलग्नता नरहेको भन्ने तिवारी परिवारले गरेको लिखत कागज, सोही ब्यहोराको भिडियो क्लिप र तिवारीसंग भएगरेका हिसाबकिताबको फेहरिष्ट पनि मल्लले प्रस्तुत गरेका थिए ।


यसरी भयो चिनजान


सन् २०१६को फेब्रुअरीतिर पत्रकार मल्ल र आरोपित तिवारीबीच चिनजान भयो । त्यत्तिबेला मल्ल टोकियोको शिनओकुबो बस्थे भने तिवारी योकोहामा बस्दै आएका थिए ।  

चिनजान राम्रो हुँदै गएपछि भटघाट पनि बाक्लिँदै गयो । अनि बिस्तारै मल्ल र तिवारीबीच लेनदेनको कारोबार पनि हुन थाल्यो । लगत्तै तिवारीले आफु लोक दोहोरको फ्यान भएको मल्ललार्य बताउछन् र टोकियो रोधि क्लबमा आफुले पनि शेयर हाल्ने कुरा राख्छन् । अनि मल्लले आफ्ना पार्टनरहरुसँग यस बिषयमा कुरा अगाडी बढाउँछन् । 

यता रोधि क्लवमा शेयर हालेपछि बिस्तारै मल्ललाई तिर्न पर्ने रकमको भार तिवारीमाथि थपिदै जान्छ । अनि तिवारीले मल्ललाई आफुहरुबीचको कारोबार नेपालमा मिलाउने भन्दै मल्लको आफन्तको बैङ्कको खाता माग्छन् । पछि मल्लले आफ्नो छोराको बैङ्क खाता दिन्छन् । यता तिवारीले भान्जा, मामा र आफ्ना आफन्तबाट रकम आउने भन्दै मल्ललाई आश्वासन दिन्छन् । 

तर अहिले आएर तिवारी ठगी प्रकरणबारे समाचार भाइरल भयो । अनि बल्ल थाहा हुन्छ मल्ललाई आफ्नो छोराको खातामा आएको रकम सबै पिडितको रहेछ । 

यसरी फिर्ता हुँदै छ पिडितको रकम


तिवारीको निर्देशनमा एक वर्ष अगाडि पीडितहरुले पत्रकार मल्लका छोरा सुदर्शन मल्लको बैंक खातामा पैसा जम्मा गरेका थिए । जम्मा हुन आएको रकमको जबाफदेही तिवारी हुने भएकोले तिवारी परिवारबाटै उक्त रकम फिर्ता दिलाउन गरिएको लामो प्रयासबाट पहिलो किस्ता रकम नेपाल पठाईसकिएको मल्लले जानकारी दिए । 

रकम जम्मा गर्ने पक्ष र बैंकको खाता नंबर उपलब्ध गराउने पक्षबीच तत्कालिन अवस्थामा कुनै संवाद र सम्झौता नभएकोले दुवैपक्षको मिस अण्डर–स्ट्याण्डिङबाट बल्झिन आएको समस्यालाई सहमतिबाटै सल्टाउन भईरहेको प्रयास अनुसार पीडितहरुको रकम फिर्ता दिलाउन आफु लागिपरेको उनले बताए । उनले भने, ‘अबको केही दिनभित्र पीडितहरुले पहिलो किस्ता रकम फिर्ता पाउने छन् ।’ 
  
काम गर्दै किस्ताबन्दीमा तिर्दै जाने सर्तमा तिवारी परिवारले केही रकमको जोहो गरी नेपाल पठाएको र अरु पनि क्रमशः तिर्दै जान तिवारी परिवार तयार रहेको कुरा पत्रकार सम्मेलनमा मल्लले जानकारी दिए । 

गोविन्द तिवारीलाई जापान प्रहरीले कुनै पनि बेला नेपाल पठाउन सक्ने भएकोले जापानमै रहेका उनका श्रीमती, भाइ लगायतका परिवारका सदस्यहरुले काम गर्दै पीडितहरुको रकम क्रमशः फिर्ता गर्दै जाने भएका छन् ।

मल्ल र उनको छोराको कुनै दोष छैन ः तिवारी
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको एक भिडियो फुटेजमा आरोपित तिवारीले यस ठगी प्रकरणमा पत्रकार मल्ल र उनको छोरा सुदर्शन मल्लको कुनै संलग्नता रहेको बताएका छन् । उनले मल्लको छोराको खातामा पैसा जम्मा गर्न आफुले लगाएको पनि स्वकार्यका छन् ।

तिवारीले जापानमा रहँदा पत्रकार मल्लसँग आफुले लेनदेनको कारेबार गरेको समेत उक्त भिडियो फुटेजमा बताएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप