बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दैलेखको बुलबुले झरना– पर्यटकका लागि आकर्षक

बुधबार, २१ कात्तिक २०७५, ०८ : ३४
बुधबार, २१ कात्तिक २०७५

दैलेख — दैलेख र कालिकोटको सिमानामा पर्ने समुन्द्र सतहदेखि करीब पाँच हजार मिटर अग्लो भू–भागमा तीनचुले लेक छ । 

उक्त लेकको फेदीमा ६२ मिटर अग्लो पहाडैपहाडको बीचबाट झरना खसेको छ । दैलेखस्थित द्वारीखोलाको यो बुलबुले झरनामा यतिखेर आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । जेठ, असार र साउन तीन महिना यहाँ पुग्न कठिन हुने भए पनि अन्य समयमा सहजै पुग्न सकिन्छ । 

प्राकृतिक रुपमा आनन्दको अनुभूति लिन यो झरनामा आउने पर्यटकलाई स्थानीयवासीले कोदो र मकैको रोटी, टिमुरको अचार, सिस्नोका परिकार, पाटन चरेका भैँसीको शुद्ध दुध, कात्तिके मह जस्ता परिकारबाट स्वागत गर्ने गर्छन् । 

मगर समुदायको बसोबास रहेकाले त्यहाँ पुग्ने पर्यटकलाई मारुनी नाँच देखाउने गरिन्छ । पर्यटकको आकर्षणका लागि यहाँ सञ्चालित होमस्टे ९घरबास० मा स्थानीय क्लबले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिने तयारीसमेत भएको नौमूले गाउँपालिका वडा नं ३ का वडाध्यक्ष गगनबहादुर रोकामगरले बताए । 

कर्णाली प्रदेशकै महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र मानिएको चार हजार २०० मिटरको अग्लो भू–भागमा रहेको महाबु धामलाई पर्यटकीय गन्तब्यका रुपमा बिस्तार गरेपछि महाबु घुम्न आउने पर्यटकसमेत अहिले नौमूले क्षेत्रका तीन वटा महत्वपूर्ण झरनामा पुग्न थालेका छन् ।

बुलबुले झरना हेर्न पर्यटक बढेसँगै नौमूले गाउँपालिका वडा नं ३ ले पर्यटकको सहजताका लागि भित्रिखोलामा घरबास सञ्चालनमा ल्याएको छ । त्यहाँबाट तीनचुले लेकको फेदीमा ढुङ्गाको पहाडभित्रबाट निस्किएको झरना देखिन्छ । तीनतिर ढुङ्गाको ठूलो चट्टान छ । झरनाको सिधै तह फोहोरामा पुग्न अहिले पनि कठिन छ । केही नजिकसम्म पुगेका पर्यटक झरनाको चिसो पानीसँग रमाउने गरेको फेदीमै पुगेका हिमालध्वज मल्लले बताए ।

दैलेख सदरमुकामबाट यातायातका साधन सहजै नौमूले गाउँपालिकासम्म पुग्ने भएपछि यतिखेर यहाँ आउने पर्यटक बढेका हुन् । भित्रिखोलाबाट झरनासम्म पुग्नका लागि पदमार्ग निर्माण गरिएको छ ।

दुई घण्टासम्म पहाडको उकालो हिँड्दा लागेको थकान मनमोहक बुलबुले झरनामा पुगेपछि मेटिने नौमूले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए । खत्रीसँगै गएको नौमूले गाउँपालिकाको टोलीले झरनाको थप व्यवस्थापनमा चासो दिने बताएका छन् । 

गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले झरना हेर्न जाने सबै पर्यटकलाई स्थानीय परिकार खुवाउनका लागि व्यवस्थापन गरिएको बताए । 

घरबासमा स्थानीय उत्पादन, कोदो, मकै, सिस्नो र आटोको परिकार पाइन्छ । मारुनी नाँच, अन्य स्थानीय संस्कृति जगेर्ना गर्न गाउँपालिकाले सहयोग गरेको अध्यक्षको भनाइ छ । 

जनजाति बस्ती भएकाले घरबासबाट स्थानीयले राम्रो रोजगारी पाउने देखिएकोे नौमूले गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष गगनबहादुर रोका मगरले बताउनुभयो । घरबासका लागि आवश्यक पर्ने अन्य काम शुरु भइसकेको बताइएको छ । पर्यटक बढेसँगै स्थानीयले रोजगारी पाउने अवसर प्राप्त भएको रोकाले बताए । 

दैलेख सदरमुकामबाट नौमूले गाउँपालिका कार्यालयसम्म पुग्न सडक यातायात सहज भइसकेको छ भने त्यहाँबाट भित्रीखोलासम्म पुग्न यातायात सहज बनाउनका लागि गाउँपालिका र वडा कार्यालय लाग्नुपर्ने स्थानीयवासीको माग छ ।

नौमूलेदेखि भित्रीखोलासम्मको सडकको स्तरोन्नति गरेर साना सवारीसाधन सञ्चालन गर्न सकेपनि त्यहाँबाट दुई घण्टाको पदमार्गको यात्रा गरेर द्वारी झरना पुग्न सकिने छ । द्वारी झरना निकै मनमोहक रहेको नौमूले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए । 

झरना पुगेका पर्यटकका लागि तस्बीर खिच्ने ठाउँको उचित व्यवस्थापन गर्नुपर्ने देखिन्छ भने झरना नजिकै विश्रामस्थल निर्माण गर्नुपर्ने आवश्यकता पनि त्यतिकै जरुरी छ । नौमूले गाउँपालिकामा पर्यटकलाई आकर्षित गर्न सक्ने महत्वपूर्ण तीन वटा झरना छन् । ती झरनाको झरनाको उचित व्यवस्थापन र प्रचारप्रसार गर्न सके यो गाउँपालिका पर्यटकका लागि आकर्षणका केन्द्रबिन्दु बन्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप