शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँदिल्ली वायू प्रदुषणका कारण संकटमा, ३ दिन विद्यालय बन्दको घोषणा

मङ्गलबार, २० कात्तिक २०७५, १८ : ११
मङ्गलबार, २० कात्तिक २०७५

नयाँ दिल्ली– भारतको नयाँ दिल्लीमा विश्व स्वास्थ्य सङ्गठनले तोकेभन्दा प्रदूषणको स्तर २० गुणा बढेपछि अधिकारीहरूले स्थानीयवासीलाई सकेसम्म केही दिन घरभित्रै रहन र प्रदुषणका स्रोत मानिने गतिविधिलाई कम गर्न सहयोगी भूमिका खेल्न आग्रह गरेका छन् । 

दीपावलीअघि नै शहरमा बाक्लो तुवाँलोले ढाकिएपछि त्यहाँका बासिन्दाहरूमा त्रास फैलिएको छ । दीपावली मनाउँदा पटाका पड्काइने भएकाले वायुको गुणस्तर झनै खस्किने ठानिएको भन्दै विज्ञहरूले पूर्वचेतावनी दिएका छन् । 

प्रदुषण कम गर्न शहरभित्र भइरहेका निमार्णकार्यलाई नियन्त्रण गरिएको छ । सबै विद्यालयहरूमा तीन दिन विदा दिइएको छ ।  भारतको सर्वोच्च अदालतले दुई घण्टा मात्र पटाका पड्काउन आदेश दिएको छ । तर धार्मिक आस्थाका कारण हुने गतिविधिमा त्यस प्रतिबन्ध लागु गर्न निकै कठिन हुने उनीहरूको विश्वास छ । भारतीयहरूले दीपावलीलाई ‘असत्यमाथि सत्यको विजय’ हुने सङ्केतका रूपमा मनाउने गर्छन् । 

विश्व स्वास्थ्य संगठनले १४ भारतीय सहरलाई अतिप्रदूषित सूचीमा राखेको छ । दिल्ली विश्वकै अतिप्रदूषित स्थानमध्ये छैटौँ स्थानमा पर्छ । भारतीय शहरहरूमा पछिल्ला केही बर्ष यता वायु प्रदुषणको मात्रा निकै बढेको बताइने गरेको छ । 

भारतीय राजधानी दिल्लीमा छिमेकी राज्यहरू पन्जाब तथा हरियाणाका किसानहरूले जमिनको उर्बराशक्ति बढ्ने विश्वासका साथ खेत सफा गर्ने क्रममा हरेक वर्ष नोभेम्बर तथा डिसेम्बरमा वायुको गुणस्तर खस्कने गरेको भारतीय अधिकारीहरूको बुझाई छ । 

राजधानी दिल्लीमा बढेको प्रदुषणमा कमी गर्न भारत सरकारले पटक–पटक नियन्त्रणका योजना सार्वजनिक गरेपनि सवारी साधनको अत्यधिक चाप र अव्यवस्थित शहरीकरण साथै औद्योगिकिकरणले यस कार्यमा चुनौति दिने गरेको छ । 


प्रदुषण कमी गर्न र प्रदुषणमुक्त समाज निर्माणका लागि सरकार, स्थानीय संघसंस्था, नागरिकहरूले जनचेतना सिर्जना गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् ।  –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप