केन्द्रीय संस्करण

१७ वर्ष अघि मरेको कुकुर सम्झेर जब बिना रोइन् (फोटो/भिडियो)

person access_timeकात्तिक २०, २०७५ chat_bubble_outline0

कुकुर मानिसको नजिकको साथी । मानिसको भावनासँग जोडिएको एउटा इमान्दार घरपालुवा जनावर । मानिसको भान्छाकोठा र सयनकक्षसम्म सहज पहुँच पु¥याउन सफल कुकुर मानिसको मनमा मात्र हैन अन्तरिक्षसम्म पुगेको छ । कुकुरले धरै चलचित्रहरुमा समेत आफ्नो अभिनयकला पस्केको छ । अझ सबैभन्दा महत्वपूर्ण कुरा त जघन्य हत्या जस्ता अपराधमा संलग्न अपराधीहरुलाई पक्रन, विष्फोटक पदार्थ पहिचान गर्न जस्ता सुरक्षा क्षेत्रमा पनि कुकुरको अतुलनीय योगदान छ । 

मानिसको अभिन्न मित्र भएर मानव समाजमा घुलमिल भएर बसेको कुकुरसँग विछोड हुँदा कुकुरप्रेमीहरु भाव विह्वल किन नबनुन् ? सोमबार काठमाडौंको हाक्तिगौडास्थित पशुपंक्षी प्रति निर्दयता रोकावट समाज नेपालको कार्यालयमा संस्थाकी महासचिव बिना पन्त १७ वर्षअघि मृत्यु भइसकेको कुकुरको सम्झना गर्दा भावविह्वल भइन् । 

अघिपछि कुकुर देख्दा तर्साउने, ढुङ्गाले हानेर भगाउने, कुकुरलाई दुःख दिनेहरुले पनि आज कुकुर तिहारको दिन सडकबाट कुकुर खोजेर पूजा गरे, टिका लगाइदिए र मिठा मिठा खानेकुरा खान दिए । तर बिना पन्तले भने झन्डै ५ बर्षदेखि सडकमा बिरामी, घाइते अवस्थामा फेला परेका कुकुरलाई उपचार गरेर, खानेकुरा खुवाएर ममता प्रर्दशन गर्दै आएकी छिन् । 

गएको पुसदेखि उनले पशुपंक्षी प्रति निर्दयता रोकावट समाज नेपाल संस्थाको महासचिवको भूमिकामा काम गर्दै आएकी छिन् । उनको संस्थाबाट सञ्चालन गरिएको सेल्टरमा अहिले घाइते, अपाङ्ग, बिरामी गरी ४१ वटा कुकुर, ७ वटा गाई, एउटा खसी र एउटा बिरोलो संरक्षण गरेर राखिएको छ । यहाँ रहेका अधिकांश जनावर घाइते तथा विरामी अवस्थामा छन् । तिनीहरुको समय सयममा उपचार पनि भइरहेको छ । तिनीहरुका लागि हरेक दिन खाना खुवाउन र उपचारका लागि कर्मचारी पनि राखिएको छ । पशुपंक्षीप्रेमी पन्तले भनिन्–‘अहिले हामीसँग ४१ वटा कुकर छन् । संस्थाको उद्देश्य पशुपंक्षी प्रति माया गर्ने, कुखुरा पनि पंक्षी हो, हाम्रो अध्यक्षले कुकरलाई पनि शाकाहारी खाना दिएर हेरौँ भन्नुभयो, ३ महिना अण्डा, दुध भात तरकारी खान दियौँ, तर कुकुृर मासु खाने प्राणी हो, सडकमा मासुको स्वाद पाइसकेको हुन्छ भन्ने कुरा आएपछि हामीले दिनमा दुईपटक मासुभात खान दिएका छौँ । दिउँसो खाजाका रुपमा कहिलेकाहीँ बिस्कुट पनि दिने गरेका छौँ ।’ 

संस्थाले हात्तिगौडास्थित ३ रोपनी जग्गा भाडामा लिएर सडक कुकुरको उपचार तथा संरक्षण गर्दै आइरहेको छ । सडकमा रहेका कुकुरको पनि स्थलगत रुपमा उपचार गर्ने तथा बन्ध्याकरणको काम पनि गरिहेको उनले बताइन् । 

हरेक दिन सडकमा घाइते भएका कुकुरको उद्धारका लागि फोन आउने गरेको उनले बताईन् । सम्भव भएसम्म उनले त्यहाँ आफै गएर वा कार्यालयका प्राविधिक पठाएर उपचार गराउने गरेकी छिन् । उनी भन्छिन्–‘मलाई काठमाडौँ, भक्तपुर, ललितपुरबाट धेरैजसो फोन आउँछ, आएको फोन सकभर म उठाउँछु, उनीहरुलाई फकाएर यो औषधी गर्नुस् भनेर हुन्छ कि वा उद्धार गरेर यहाँ ल्याउनुपर्ने अवस्था छ कि सोही अनुसार काम गर्ने गरेको छु ।’

उनको संस्थामा अहिले एकजना चिकित्सक, २ जना प्राविधिक, २ जना हेरचाह गर्ने व्यक्ति छन् । कार्यालयमै कुकुरको उपचार गर्ने सानो क्लिनिक र औषधीको पनि व्यवस्था छ । उनका कतिपय साथीहरुले पनि कहिलेकाहीँ कुकुरलाई खानेकुरा ल्याएर सहयोग गर्ने गरेका छन् ।  

जब घरको कुकुर म¥यो

उनको घरमा अहिले तीनवटा कुकर छन् । १७ वर्षअघि उनको घरमा एउटा कुकुर म¥यो । त्यो कुकुर मरेपछि उनले आफ्नो परिवारको एक सदस्य गुमाएको महशुस गरिन । उनले त्यो कुकुर माइतीघरबाट ल्याएकी थिइन् । यी कुरा सुनाउँदै गर्दा उनका आँखा रसाए, एकछिन् गला अवरुद्ध भयो । 

त्यसपछि उनले एक वर्ष कुकुर पालिनन्, तर छोराछोरीहरुले मानेनन् । आर्मीको एकजना मेजरले अर्को कुकुर ल्याइदिए । फेरी एउटा अर्को कुकुर गेटको प्वालबाट छिरेर उनको घरमा आइपुग्यो ।

उनले सडकमा बिरामी, घाइते कुकुर देख्नुहुँदैन् । त्यस्ता कुकुर देखेपछि तुरुन्तै सेल्टरमा उपचार गराउन ल्याउँछिन् । सोमबार उनको सेल्टरमा एउटा घाइते कुकुरको उपचार हुँदै थियो । त्यसका लागि आवश्यक पर्ने औषधी तुरुन्तै ल्याइदिन उनी भेटेनरी पसलमा फोन गरिरहेकी थिइन् । सहकारी, महिला बिद्यालय लगायतका अन्य संस्था सञ्चालनमा समेत सक्रिय रहेकी बिना पन्त हरेक दिन समय निकालेर कुकुरको रेखदेख गर्छिन् ।  

हप्तामा चार पाँच वठा सडक कुकुरको बन्ध्याकरण पनि गर्दै आएको पनि उनले बताइन् । बन्ध्याकरणपछि अर्को कुकुर फेरी सडकमा नआओस भन्ने संस्थाको उद्देश्य रहेको उनी बताँउछिन् । सडकमा रहने तथा घरमा रहने पशुपंक्षीप्रति प्रति अमानवीय क्रुर व्यवहार नहोस् भन्ने उद्देश्य रहेको उनको संस्थाले काठमाडौंका सडकमा अलपत्र परेका बिरामी रोगी गाइबस्तुको उपचार तथा व्यवस्थापनका लागि काभ्रको पाँचखालमा एक परियोजना शुरु गर्दैैछ । 

त्यहाँको स्थानीय तहको सहयोगमा २५ रोपनी सार्वजनिक जग्गाको सम्झौता भएर भौतिक संरचना निर्माणको काम शूरु भएको उनले बताइन् । जहाँ डेढ देखि दुई सय गाई राख्न सकिनेछ । ३ महिनाभित्र बृहत गौ आश्रम बनाइसक्ने योजना रहेको उनले बताइन् । 

हाक्तिगौडामा कुकुर संरक्षण सेल्टरलाई आर्थिक अभावका कारण व्यस्थित बनाँउन नसकिएको उनले बताइन् । बाटोमा हिँड्दा घाइते रोगी बिरामी कुकुर देख्दा उनको मन पोल्छ । त्यस्तो बेला उनले आफ्नै खर्चमा पनि औषधी उपचार गराउने गरेकी छिन् । उनले भनिन्–‘एउटा व्यक्ति अथवा एउटा संस्थाले मात्र यस्तो काम गर्न सक्दैन, सबैको सहयोग भयो भने हामीले दुःख पीडामा रहेका कुकुर तथा अन्य प्राणीको घाउमा मल्हम लगाउन सक्छौँ ।’

 

शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ