शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पको बोली र नीति विश्वका अन्य नेताहरूले पनि पछ्याउन थाले

मङ्गलबार, २० कात्तिक २०७५, १३ : २३
मङ्गलबार, २० कात्तिक २०७५

अमेरिकाका राष्ट्रपति ट्रम्पले आफ्नो पदको शक्तिलाई आफ्नो ‘पपुलिस्ट’ सन्देश फैलाउनको लागि प्रयोग गरिरहेका छन् । यसका लागि उनी रूखो र विपक्षीहरूप्रति अपमानजनक भाषा प्रयोग गर्छन् । 

अहिले आएर उनको भाषाशैलीको अन्य देशका कैयौँ नेताहरूले पनि सिको गर्न थालेका छन् । तिनले आफ्ना काम र समान खालको नीतिहरूको प्रतिरक्षा गर्नका लागि ट्रम्पको भाषाशैली प्रयोग गर्न थालेका देखिएको छ ।  

केही नेता र विभिन्न देशका महत्वपूर्ण संस्थानका प्रमुखहरूले आफ्ना विरोधीहरू विरुद्ध र आफ्ना ‘पपुलिस्ट’ एजेन्डाको प्रचारमा उस्तै भाषा प्रयोग गर्न थालेका छन् । साथै उनीहरू आफूहरूमाथि लागेको मानव अधिकार हनन तथा लोकतान्त्रिक मूल्यहरूको क्षयीकरणको आरोपको प्रतिरक्षा गर्नका लागि पनि ट्रम्पकै सिको गरिरहेको देखिन्छ ।  

यसको पछिल्लो उदाहरण शुक्रबार तब देखियो जब नाइजेरियाको सेनाले आफ्नो हिंसात्मक कार्यको प्रतिरक्षा गर्नका लागि ट्रम्पको भनाइ उद्धृत ग¥यो । 

नाइजेरियाको सेनाले ट्रम्पको भाषणको क्लिपको प्रयोग गरेर गोलाबारीलाई उचित पुष्टि गर्न खोज्यो ।

त्यहाँको सेनाले निहत्था प्रदर्शनकारीहरूमाथि गोलाबारी गर्दा कैयौँको ज्यान गएको कार्यको प्रतिरक्षा गर्नका लागि ट्रम्पको एक भिडियो नै ट्वीट गरेको थियो । 

ट्रम्पले अमेरिकाको दक्षिणी सिमाना पार गर्न खोज्ने गैरकानुनी अप्रवासीहरूविरुद्ध कारबाही गर्ने घोषणाले उनका समर्थकहरूलाई उत्साहित पारेको छ । बिहीबार भएको पत्रकार सम्मेलनमा उनले अमेरिकी सेनाले ढुङ्गा हान्ने अप्रवासीहरूमाथि गोली वर्षाउने बताएका थिए ।  

उनको उक्त टिप्पणीको २४ घण्टाभित्रै उनको उक्त टिप्पणीको भिडियो क्लिप्स नाइजेरियाको सेनाले ट्वीटरमा पोस्ट गरेको छ । उक्त पोस्ट अघिल्लो हप्ता नाइजेरियामा प्रदर्शनकर्ताहरूमाथि सेनाले गरेको गोलीबारीलाई सही ठहर्याउन प्रयोग गरिएको थियो ।  

हुन त सेनाले पछि उक्त ट्वीट मेट्यो तर सेनाका प्रवक्ताले यसको प्रयोगको प्रतिरक्षा गरिरहेका छन् ।  

सरकारले सोमबार राजधानी अबुजामा भएको मुडभेडमा तीन प्रदर्शनकारीको हत्या भएको बताएको छ । तर मानव अधिकार समूहहरूले उक्त प्रकरणमा ४० भन्दा बढीको ज्यान गएको बताइएको छ । 

सेनाले राजधानीको बाहिरी भागमा यातायात रोकिरहेका लगभग हजार जनाको सिया अभियानकर्मीहरू र्यालीमा गोली हानेको थियो । सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजमा प्रदर्शनकारीहरूले सेनामाथि ढुङ्गा हानिरहेको देखिएको छ । सोही फुटेजमा भागिरहेका प्रदर्शनकारीहरूमाथि सेनाले गोली हानेको देखिन्छ । 

विश्वभरीका अधिनायकवादीहरूले समाचार संस्थालाई ‘फेक न्युज’ भन्न थालेका छन् 

सन् २०१६ को राष्ट्रपतीय चुनावी प्रचारदेखि, ट्रम्पले आफूमाथिको हुने गरेको आलोचनाहरूलाई ‘फेक न्युज’ भनेर पञ्छाउने गरेका छन् । 

स्थापित सामाचार माध्यमहरूप्रति अविश्वास फैलाउन र मतदाताहरूलाई केमा विश्वास गर्न सकिन्छ वा केमा सकिँदैन भन्नेबारे नै आशङ्का सिर्जना गराउनका लागि ट्रम्पले यो पदावली प्रयोग गर्ने गरेका छन् । 

उनको यो ट्याक्टिस अन्य नेताहरूले धेरै अनुसरण गरेका कार्यमध्यमा पर्छ । ट्रम्पकै जस्तो प्रभावको सिर्जना गर्नका लागि अन्य नेताले आफ्ना भाषणा र अन्तरवार्ताहरूमा ‘फेक न्युज’को प्रसङ्ग उठाउन थालेका छन् ।  

यसको एक उदाहरण बसार अल–असद हुन् । उनको सरकारले गोप्य रूपमा कैयौँ विरोधीहरूको हत्या गरेको भन्ने सन् २०१७ फेब्रुअरीको एम्नेस्टी इन्टरनेसनल रिपोर्टको बारेमा प्रतिक्रिया दिने क्रममा राष्ट्रपति बसार अल–असदले याहु न्युजलाई भने, “आजकल जे भनिदिए पनि हुने भएको छ । जमाना नै फेक न्युजको आएको छ ।”

त्यस्तै अर्को प्रसङ्गमा अघिल्लो वर्ष डिसेम्बरमा न्यु योर्क टाइम्ससँगको वार्ताका क्रममा म्यानमारका एक सुरक्षा अधिकारीले आफ्नो देशमा रोहिङ्ग्या अल्पसङ्ख्यकको अस्तित्व नै नरहेको बताए ।  

“रोहिङ्ग्या भन्ने कुनै चीज छैन,” ऊ क्या सना ल्हा नामका अधिकारीले भने । उनले यो कुरालाई ‘फेक न्युज’ भने । 

म्यानमारको सेनाले आफ्नो देशमा रहेका अल्पसङ्ख्यक रोहिङ्ग्याहरूमाथि योजनाबद्ध र बर्बर आक्रमण गरे । तर उसले आफ्नो उक्त कार्यमाथि माग गरिने अनुसन्धानलाई ‘फेक न्युज’ भनेर पन्छाउने गरेको छ । 

ट्रम्पका नजिकका मित्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहुले नियमित रूपमा आफ्ना आलोचकहरूको भत्साना गर्न ‘फेक न्युज’को कुरा उठाउने गर्छन् । 

त्यस्तै ट्रम्पसँग नजिक हुन खोजेको पोल्यान्डको दक्षिणपन्थी सरकारले यो शब्दावलीलाई बारम्बार प्रयोग गर्ने गरेको छ । 

पोल्यान्डका राष्ट्रपति एन्ड्रेज दुदाले त्यहाँको सरकारलाई देशका समाचार मिडियामाथि नियन्त्रण प्रदान दिने एक विधयकमा हस्ताक्षर गरेर त्यहाँको प्रेस स्वतन्त्रता नै नियन्त्रण गरेका छन् । उनी पनि ट्रम्पका अन्धभक्त समर्थक हुन् ।

युरोपमा उग्र दक्षिणपन्थीहरू अप्रवासन विषयमा ट्रम्पलाई उद्धृत गर्ने गर्छन् 

सन् २०१५ मा लाखौं आप्रवासीहरू शरण खोज्दै युरोपेली युनियन आएदेखि आप्रवासन यो महादेशमा सबैभन्दा ध्रुवीकृत मुद्दामध्ये एक बनेको छ । 

यस विषयमा कुरा गर्नका लागि युरोपका ‘पपुलिस्ट’ र दक्षिणपन्थी राजनीतिज्ञहरूले ट्रम्पमा आफ्नो आवाज भेटेका छन् । 

ट्रम्प आफैले पनि युरापेली दक्षिणपन्थी नेताहरूलाई उद्धृत गर्ने गर्छन् । ट्रम्पको समर्थन र भाषालाई यता उनका युरोपेली समकक्षीहरूले आफ्नो अवस्था मजबुद बनाउन प्रयोग गर्ने गरेका छन् । 

बेल्जियमका आप्रवासन मन्त्री थियो फ्रान्केनले ट्रम्पको अमेरिकी जमिनमा जन्मिएकाले स्वत अमेरिकी नागरिकता पाउनुपर्ने कानुन बदल्नुपर्ने घोषणालाई अरूले पनि अनुसरण गर्नुपर्ने कदम बताए । फ्रान्केन समाजिक सञ्जालमा ट्रम्पलाई उत्साहका साथ समर्थन गर्छन् । 

“उनले प्रस्तुत गरेको विचारको पक्षमा धेरै कुरा भन्न सकिन्छ,” उनले बताए । फ्रान्केनले हालसालै युरोपबारे एक पुस्तक लेखेका छन्, ‘कन्टिनेन्ट विथआउट बोडर्स’, जसमा उनले युरोपी युनियनको सीमा बन्द गर्नुपर्ने बताएका छन् । 

इटालीको दक्षिणपन्थी पार्टी लिग पार्टीका नेता माटियो साल्भिनीले पनि अमेरिकी राष्ट्रपतिबाट प्रेरणा लिएका छन् । 

इटालीको वर्तमान सरकारमा गृहमन्त्री र उपप्रधानमन्त्री पद सम्हालेका यी प्रभावशाली नेताले अप्रवासनको विरोध गरेरै सत्तामा आएका हुन् । उनले यो वर्ष भएको आफ्नो निर्वाचन अभियानमा ‘इटाली फस्ट’ नारा दिएका थिए जुन ट्रम्पको ‘अमेरिका फस्ट’ नारासँग मेल खान्छ ।

ब्राजिलका नयाँ राष्ट्रपतिले ट्रम्पको इजराली दूतावास सार्ने निणर्य पछ्याए

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको रूखो भाषाको प्रयोगले विश्वको ध्यान ताने यता उनको जस्तै भड्किलो शैली भएका थुप्रै ‘पपुलिस्ट’ नेताहरू सत्तामा आइसकेका छन् । 

ब्राजिलका नवनिर्वाचित राष्ट्रपति जेर बोल्सोनारोले ‘ब्राजिललाई महान बनाउँ’ भन्ने नारामा मत जुटाएका थिए । यो नाराले ट्रम्पको चुनावी अभियानको एक नाराको झझल्को दिन्छ । हालसालै भएको ब्राजिलको निर्वाचनमा बोल्सोनारोको विजयले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमध्य एक ब्राजिल दक्षिणपन्थतर्फको गएको स्पष्ट गरेको छ । 

जनवरीबाट शासन सम्हाल्ने बोल्सोनारोले यो हप्ता आफूले ट्रम्पको सबैभन्दा विवादित एक परराष्ट्र नीति पछ्याउने बताए । उनले तेल अभिभमा रहेको इजरायलस्थित ब्राजिलियन दूतावास प्यालेटाइनको समेत दाबी रहेको जेरुसेलममा सार्ने बताए । 

अघिल्लो वर्ष ट्रम्पले अमेरिकाको लगभग ७० वर्षको पराराष्ट्र नीति बदल्दै अमेरिकी दूतावास जेरुसेलम सारेका थिए । उनको सो कार्यले प्यालेस्टाइनी जनतामा ठूलो आक्रोस सिर्जना गरेको छ । 

ट्रम्पजस्तै बोल्सोनारोले पनि संयुक्त राष्ट्रको चर्को आलोचना गर्ने गरेका छन् । उनले उक्त अन्तर्राष्ट्रिय निकायले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गर्ने भन्दै विरोध गर्ने गरेका छन् । 

न्युयोर्क टाइम्स
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप