केन्द्रीय संस्करण

स्नेहाको डाक्टर कुकुर : जहाँ सडकका कुकुरहरू संगीत सुन्दै आनन्दको जीवन बिताउँछन् (फोटो/भिडियो)

person access_timeकात्तिक २०, २०७५ chat_bubble_outline0

सानो कुकुरलाई मुटुरोग हेर्ने एकजना वरिष्ठ डाक्टरको गाडीले हिर्कायो । कुकुरका पछाडिका दुवै खुट्टा भाँचिए । २ जना विद्यार्थीको सहयोगमा डाक्टरले त्यो कुकुरलाई अस्पतालसम्म पुर्याए । ती दुईजना विद्यार्थीले स्नेहा श्रेष्ठलाई पनि खबर गरे । सडकका कुकुर हेरचाहका लागि स्नेहा केयर सञ्चालनमा ल्याएकी उनी अस्पताल गइन् । डाक्टरले नै घाइते बनाएको देखेपछि उनले भनिन्– ‘तपाईं डाक्टर हुनुहुँदो रहेछ, मान्छेको मात्र हैन पशुको पनि ज्यान बचाउनुस्’ । तर ती डाक्टरले उपचारका लागि धेरै खर्च लाग्ने देखेपछि बरु नगरपालिकामा लगेर फाल्दिनुस् भने ।

उनले डाक्टर भएर यस्तो कुरा गर्ने भनेर विवाद पनि गरिन् । तर डाक्टरले एक रुपैयाँ पनि नदिएर फर्किए । स्नेहा आफैले त्यो कुकुरको उपचार गरिन् र घाइते बनाउने डाक्टरलाई नर्बिसनका लागि कुकुरको नाम नै डाक्टर राखिन् । डाक्टर कुकुर उनको सेल्टरमा रहेका अन्य कुकुर जस्तै उनको प्यारो कुकुर हो । डाक्टर कुकुरको मिल्ने साथी छ, जेनी नाम गरेको अर्को कुकुर । जेनी कुकुरको पनि दुर्घटनामा परेर घाँटीको भाग वरिपरि ठूलो चोट लागेको थियो । 

डाक्टर कुकरको कथा जस्तै उनको सेल्टरमा रहेका प्रत्येक कुकुरको आफ्नै कथा रहेको उनले बताइन् । उनको सेल्टरमा पक्षघात भएका कुकुरहरू पनि छन् । उनीहरूका लागि हिँड्नका लागि ह्विल चियरको पनि व्यवस्था गरिएको छ । सडकमा गाडीले हिर्काएर पछाडिका दुईवटै खुट्टा नचल्ने सबै कुकुरहरू ह्विल चेयरको सहयोग दगुर्ने, खेल्ने गर्छन् । उनीहरूलाई बाहिर लगेको बेला अरू कुकुरभन्दा छिटो दगुर्ने गरेको उनले सुनाइन् । 

‘प्यारालाइसिस’ भएको कुकुरलाई किन राख्ने, पैसाको मात्र बढी खर्च पनि भने । तर उनले पक्षघात भएका कुकुरलाई झन् बढी मायाको आवश्यकता रहेको बताइन् । स्नेहाले आफ्नो विगत सम्झिँदै भनिन्– ‘मेरो बुबा १७ वर्ष प्यारालासिस् भएर २ वर्षअघि बित्नुभयो । उहाँलाई प्यारालासिस भएर पनि बाँच्न मन थियो । मेरो बुबाले त्यस्तो अवस्थामा पनि बाँच्न मन छ भन्नुहुन्थ्यो भने यिनीहरूलाई पनि त बाँच्न मन हुन्छ नि  । यिनीहरूलाई पनि बाँच्ने अवसर किन नदिने भनेर मैले यो काम गरेको हुँ । हामीसँग अहिले १७ वटा प्यारालासिज भएका कुकुर छन्, केही चाहिँ बल्ल हिँड्न थालेका छन् । बाटोमा गाडीले हानेपछि यिनीहरूलाई यहाँ ल्याइएको हो, फेरि बाटोमा लगेर छोडियो भने त यिनीहरू बाँच्न सक्दैनन् नि ।’

उनको सेल्टरमा ५ वटा रक्तदाता कुकुर पनि छन् । घरमा पालेको रगत अभाव भएको धेरै कुकुरलाई उनीहरूको रगत दिएर बचाइएको पनि छ । 

कुकुरका लागि बस्नका लागि सानो–सानो कोठा, खाट र ब्ल्याङ्केट राखिएको छ । सीसीक्यामेराबाट उनीहरूको निगरानी गरिन्छ । धेरै नभुकून् भनेर उनीहरूलाई सङ्गित सुनाउने गरेको स्नेहा केयरका प्रवन्ध निर्देशक कपिल काफ्लेले बताए । 

बिहान बेलुकाको समयमा कुकुरलाई भात खान दिने गरिएको छ । भातसँगै मासु, सोयाबिन, सागपातसहितको सन्तुलित आहारा खुवाउने गरिएको काफ्लेले बताए । उनीहरूलाई खाजाको रूपमा कुकुरको खाजा, बिस्कुटलगायत दिने गरिएको छ । सबै कुकुरलाई बाहिर घुमाउनसमेत लाने गरिएको छ । 

कसरी सुरु भयो स्नेहा केयर 
स्नेहा श्रेष्ठ पहिले–पहिले कुकुरलाई त्यस्तो माया गर्दैनथिइन् । उनको घरमा एकपटक महँगो कुकुर किनेर ल्याइयो । त्यो कुकुरलाई ग्यारेजमा राख्ने गरिएको थियो । ल्याएको १५ दिनपछि त्यो कुकुर मर्यो । कुकुर मरेपछि उनलाई ग्लानि महशुस भयो । आफूले न्यानो बनाएर राखिदिएको भए मर्दैनथ्यो होला भन्ने लाग्यो । अर्को कुकुर पनि मर्छ होला भनेर त्यसलाई भने घरभित्र लिएर गइन् । अफिस जानुपर्ने हुँदा घरमा कुकुर एक्लै हुन्छ भनेर अर्को कुकुर साथीको रूपमा किनेर ल्याइन् । त्यसपछि उनले कुकुरसँग धेरै समय बिताउन थालिन् । उनी अफिसबाट फर्किंदा गेटसम्म कुकुर लिन आउँथ्यो तर ८ महिनापछि लिन आएन् । त्यो कुकुर रगत लतपलिएर मरेको रहेछ । छिमेकीले विष खुवाएको रहेछ । कुकुरलाई अस्पताल लगिन, कुकुर बाँचोस् भनेर उनले व्रत पनि बसिन् तर कुकुर मर्यो । जारा नाम गरेको त्यो कुकुर मरेपछि आफूले १३ दिनसम्म नुन बारेको बताइन् । अहिले पनि उनले त्यो कुकुरको फोटो उनले सिरानी नजिक राखेकी छिन् । त्यो कुकुरले नै उनलाई अन्य सडकमा अलपत्र परेका कुकुरहरूको संरक्षणका लागि प्रेरणा दिइरहेको उनी बताउँछिन् । 

उनका छिमेकीले पनि कुकुर मन पराउँदैनथे । छिमेकीले नै विष खुवाएर कुकर मारिदिएपछि आफ्नो घरको कुकुर त सुरक्षित हुँदैन भने बाटोको कुकुर झन् के सुरक्षित होलान् भन्ने उनले महशुस गरिन् । सुरुमा उनले बाटोको कुकुरलाई बिस्कुट खुवाएर कुकुरको हेरचाह गर्न थालिन् । बाटोमा घाइते, घाउ भएर कीरा परेको कुुकुर भेट्न थालिन् । आफ्नै गाडीमा राखेर निजी क्लिनिकमा लगेर उपचार गराउन थालिन् ।

उनले भनिन्– ‘बाटोमा त्यस्तो धेरै कुकुर भेट्न थाले राख्ने ठाउँ भएन । त्यसपछि मैले एउटा केनल क्लबमा गरेर कुरा गरेँ, एक महिनामा धेरै कुकुर भए, केनल क्लब भरियो । म एक्लैले महिनामा चार पाँचवटा कुकुरलाई सहयोग गर्न सक्छु भने मैले एउटा टिम बनाएर काम गरेँ भने धेरैवटा कुकुरलाई सहयोग गर्न सक्छु भन्ने सोचेर टिम बनाएर स्नेहा केयर खोलेँ ।’

जग्गा भाडामा लिएर उनले भौतिक संरचना बनाइन् । पशु चिकित्सक, प्राविधिक, सरसफाई गर्ने, कुकुर समात्ने, ड्राइभर गरी १७ जना कर्मचारीले कुकुरको हेरचाह गरिरहेका छन् । 

ललितपुरको भञ्जाङस्थित जलबिहार मन्दिरको छेउमा साढे ४ रोपनी जग्गा भाडा लिएर स्नेहा केयर नाम रहेको कुकुर संरक्षण सेल्टर चलाइरहेकी छिन् । जग्गाको भाडा वार्षिक ६० हजार छ भने झन्डै डेढ सयभन्दा बढी कुकुरको उपचार तथा पालनका लागि ८ देखि १० लाख खर्च हुने स्नेहा केयरका प्रवन्ध निर्देशक कपिल काफ्लेले जानकारी दिए । स्नेहा केयरले सेल्टरमा कुुकुर संरक्षण गर्ने मात्र नभई स्थलगत रूपमा पनि घाइते रोगी कुकुरको उपचार गर्नुका साथै बन्ध्याकरणका कामहरू गर्ने जानकारी दिए । अहिले कुकुरको मात्र नभई सडकमा अलपत्र परेका गाईको पनि संरक्षण तथा उपचार सुरु गरिएको उनले बताए । सेल्टरमा सबै कुकुरलाई सम्भव नभएका कारण स्नेहा केयरले धेरैजसो कुकुरलाई जुन ठाउँमा घाइते वा रोगी अवस्थामा भेट्छ, त्यही ठाउँबाट सेल्टरमा ल्याई उपचार गरेर पुनः त्यही ठाउँमा लगेर छोडिदिने समेत गरेको छ । 

स्नेहाको आफ्नो टुर एजेन्सी पनि छ । हालसालैदेखि उनले तरकारी खेती पनि सुरु गरेकी छिन् । उनको कुकुर सेल्टरलाई विदेशी दाताभन्दा पनि स्वदेशीले नै सहयोग गरिरहेको उनले बताइन् । स्कुलका साना साना भाइबहिनीले खाजा खर्च जोगाएर पनि सहयोग गर्ने गरेका छन् । टुर एजेन्सीबाट भएको कमाइ पनि खर्च गरिहेको उनी बताउँछिन् । उनको घरमा पनि ९ वटा कुकुर छन् । कुुकुरको सेवा गर्दा आनन्द लाग्ने, आत्मसन्तुष्टी मिल्ने बताउने स्नेहा अहिले पशुअधिकारका लागि सरकारलाई झकझक्याउने काममा पनि लागिरहेकी छिन् । धेरैले उनलाई बाटोमा घाइते कुकुर भेटियो भनेर फोन गर्छन् तर सबै कुकुरलाई ल्याएर राख्ने ठाउँ छैन । अहिले उनको समस्या यही छ ।  

विशेषगरी आम रूपमा कुकुर तिहारका दिन सबैजसोले कुकुरलाई माला लगाएर, मीठो खाना खुवाएर माया गर्ने भए पनि स्नेहाले ३ सय ६५ दिन नै सडकका घाइते रोगी बिरामी कुकुरलाई स्नेह दिएर उनीहरूको संरक्षणका लागि काम गरिरहेकी छिन् । 

शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ