बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युनिमनी जापानमा, नेपाली बसेका ठाउँमा नगद काउन्टरसहितको शाखा खोल्दै

सोमबार, १९ कात्तिक २०७५, १८ : ५३
सोमबार, १९ कात्तिक २०७५

काठमाडौं । विश्वव्यापी एक्सचेन्ज तथा रेमिट्यान्स कम्पनी युनिमनीले नेपालीको बाक्लो उपस्थिति रहेका जापानका सबै ठाउँमा शाखा खोल्ने भएको छ । नेपालीको बाक्लो उपस्थिति रहेका ठाउँमा नगद काउन्टरसहितका शाखा खोल्ने योजना रहेको कम्पनीको नेपाल हेर्ने कर्मचारी जगदिश खनालले बताए ।

जापानका विभिन्न कलेजमा अध्ययनरत नेपाली विद्यार्थीलाई सहज होस् भनेर कम्पनीले नगद काउन्टरसहित शाखा खोल्न लागेको उनको भनाइ छ । कम्पनीले नयाँ ग्राहकको पहिलो कारोबार निःशुल्क गर्दै आएको छ । यो स्किम डिसेम्बरसम्म कायम रहने कम्पनीको भनाइ छ ।

ग्राहकलाई सुविधा होस् भनेर अनलाइनबाटै सदस्य बन्न सकिने व्यवस्था पनि कम्पनीले मिलाएको छ । युनिमनीले नेपालमा रेमिट्यान्स कारोबारमा ख्याति कमाएको आइएमई समूहद्वारा प्रवद्र्धित ग्लोबल आइएमई, हिमालयन, प्रभु, नेपाल इन्भेस्टमेन्ट जस्ता ठूला बैंक र रेमिट्यान्स कम्पनीहरुसँग साझेदारी गरी जापानमा कार्यरत नेपालीले कमाएको पैसा सुरक्षित रुपमा उनीहरुका आफन्तको हातमा पुर्याउँदै आएको छ ।

ग्लोबल आइएमई र हिमालयन बैंकमा खाता हुने ग्राहकको खातामा १ घन्टाभित्रै रकम जम्मा हुने कम्पनीको भनाइ छ । कम्पनीले नेपाली ग्राहकलाई पैसा होल्ड गर्ने सुविधा समेत दिएको छ । यो सुविधा अन्तर्गत ग्राहकले कम्पनीलाई बुझाएको रकम जुन दिनको विनिमय दर उच्च छ, सोही अनुसार हिसाब गरेर आफन्तलाई पठाउन सक्छन् ।

युनिमनी जापानबाट नेपाल पठाएको रकम एक्सप्रेस मनी, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र यी बैंकका एजेन्टमार्फत जुनसुकै ठाउँबाट भुक्तानी लिन सकिने बताइएको छ । ‘जापानबाट पठाएको रकम नेपालमा आफूले चाहेको जुनसुकै बैंक खातामा डिपोजिट गर्न पनि सकिन्छ,’ खनाल भन्छन्, ‘ग्लोबल आइएमई र हिमालयन बैंकमा खाता हुने ग्राहकको खातामा १ घन्टाभित्रै रकम जम्मा हुन्छ ।’

दुबईमा मुख्यालय रहेको युनिमनी भुक्तानी, विनिमय र रकम स्थानान्तरण सेवा (रेमिट्यान्स) दिने बहुराष्ट्रिय कम्पनी हो । संसारका २५ मुलुकमा युनिमनीको सञ्जाल छ । युनिमनीमा नौ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । युनिमनीको मातृसंस्था युएई एक्सचेन्ज हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप