शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा फूलको व्यापार बढ्यो

सोमबार, १९ कात्तिक २०७५, १७ : १०
सोमबार, १९ कात्तिक २०७५

पोखरा– तिहारसँगै पोखराका बजारमा यतिखेर फूलको व्यापार बढेको छ । बजारमा विगत लामो समयदेखि पुष्प व्यवसाय गर्दै आएका व्यवसायीले सजाएर बिक्रीका लागि माला राखेका छन् । सामान्य व्यापारीका पसलमा पनि ठाउँ ठाउँमा फूलका माला झुण्डिएका देखिन्छन् । 

तिहारको पहिलो दिन आज कागतिहार प्रारम्भ भएसँगै बिहानैदेखि फूलको व्यापार बढेको व्यापारीहरू बताउँछन् । तिहारलाई लक्षित गरी व्यापारीले विगतको मागलाई हेरेर फूल मगाइसकेको पोखराको नयाँ बजारस्थित ग्रीन पेटल्सका सञ्चालक कपन रोयले जानकारी दिए ।

रोयले तिहारका लागि धादिङ, काठमाडौँ र भारतबाट फूल मगाइसकेका छन् । पोखरामा पुष्प व्यवसायीले तिहारलाई लक्षित गरी तयार पारेका फूल पनि यस समयमा अत्यधिक खपत हुने गरेको छ । ‘तिहार भित्रिएसँगै घर सजाउन माला लैजाने क्रम हिजोदेखि नै शुरु भएको छ,’ उनले भने, ‘यस पर्वलाई लक्षित गरी मगाइएका फूल तथा माला भाइटिकाको बिहानसम्म बिक्री हुने गर्दछ ।’ 

घरसजावट लगायतको प्रयोजनमा अघि पछिसमेत फूलको व्यापार हुने गरे पनि त्यसको तुलनामा तिहारको समयमा अत्याधिक माग हुने पोखराको पुष्पराज फ्ल्वर डेकोरेशनका सञ्चालक रञ्जन घोडाइले जानकारी दिए ।

यस पर्वका लागि आफूँले काठमाडौँ र कोलकाताबाट फूल मगाएको बताउँदै उनले भने, ‘बजारमा आइतबारदेखि मालाको व्यापार हुन थालेको छ, लक्ष्मीपूजा र भाइटिकामा अझै धेरै माला बिक्री हुन्छ ।’ बजारमा सयपत्री रु ७० देखि ८० र मखमली लगभग रु ५० सम्ममा बिक्री हुने गरेको उनले जानकारी दिए । 

अधिकांश नर्सरी र बगैँचामा सयपत्रीलगायतका फूल एक साता अघि नै फूलिसकेका कारण केही कृषक समस्यामा परेका छन् । फूल लगाउन समयतालिकामा ध्यान नदिँदा कृषकलाई समस्या परेको हो । पोखरासहित भरतपोखरी, सिसुवा, लामाचौर, हेमजा, बाटुलेचौरलगायतका क्षेत्रमा व्यावसायिक रुपमा फूलखेती गरिँदै आएको छ । तिहारको समयमा पोखरामा लगभग एक करोड मूल्य बराबर फूलको कारोबार हुने फ्लोरीकल्चर एशोसिएसन नेपाल कास्कीका निवर्तमान अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए । 

जिल्लामा फूलखेतीतर्फ बढ्दै गएको आकर्षणसँगै एशोसिएसनमा हालसम्म ३६ व्यवसायी आवद्ध भइसकेको उनको भनाइ छ । यस पर्वमा कुकुर, गाई, गोरु जस्ता जनावरको पूजासाथै घर, आँगन, गोठ आदिमा माला एवं तोरणमा पनि फूलको प्रयोग हुने भएकोले यसको अत्याधिक खपत हुने गर्दछ । 

यहाँ तिहारमा ८० प्रतिशत फूल पोखरा र आसपासबाटै आउने गरेको र २० प्रतिशत भारतबाट आयात गर्ने गरिएको पुष्प व्यवसायी बताउँछन् । तिहारका लागि गाउँगाउँमा सयपत्री फूल लगाउने क्रम वर्षेनी बढिरहेको ओम बुद्ध नर्सरी पृथ्वी चोककी सञ्चालिका नरमाया प्रसाइले जानकारी दिए । उनका अनुसार यस वर्षको तिहारलाई लक्षित गरी ओम बुद्ध नर्सरीबाट सयपत्री फूलको मात्रै २२ हजार बिरुवा बिक्री भएको थियो । कास्कीमा व्यावसायिक फूल खेतीको बढ्दो आकर्षण सँगै २०६२ मा फ्लोरीकल्चर एशोसिएसन गठन गरी यसको दीगो विकासका लागि पहल थालिएको संस्थापक अध्यक्ष वसन्त बानियाँले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप