शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ बजार अझै खुला गर्ने राष्ट्रपति सीको प्रतिबद्धता

सोमबार, १९ कात्तिक २०७५, १५ : ४०
सोमबार, १९ कात्तिक २०७५

साङ्घाइ– राष्ट्रपति सी जिनपिङले चिनियाँ बजारको पहुँचलाई खुला गर्ने सोमबार प्रतिबद्धता व्यक्त गरेका छन् । ठूला अर्थतन्त्र भएका विदेशी सरकारहरुले चीनले प्रतिबद्धता व्यक्त गरेबमोजिम सुधारका कदमहरु नचालेको आरोप लागिरहेको समयमा राष्ट्रपति सीको यस्तो प्रतिबद्धता आएको हो । 

राष्ट्रपति सीले चीनले आयातित वस्तुको घरेलु उपभोगमा मद्दत गर्ने, करलाई न्यूनीकरण गर्ने, भन्सार जाँचपास कार्यविधिलाई सहज बनाउने तथा बौद्धिक सम्पत्तिको उल्लङ्घन गर्नेविरुद्ध कडा कारबाही गर्ने बताए । 

‘हामी विश्वस्तरीय व्यावसायिक वातावरण निर्माण गर्नेछौं,’ साङ्घाइमा आयोजित आयात मेलामा सम्बोधन गर्दै राष्ट्रपति सीले उक्त भनाइ राखेका हुन् । 

उनले विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई मुलुक चीन र अमेरिकाबीचको व्यापार युद्धले विश्व अर्थव्यवस्थामा समस्या निम्त्याउने खतरा रहेको समेत औंल्याए । राष्ट्रपति सीले अमेरिकी राष्ट्रपतिको नाम नलिई राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण विश्व खुला व्यापारमा समस्या आइरहेको बताए । 

राष्ट्रपति सीले अमेरिकी संरक्षणवाद, पृथकतावाद, र झगडालू प्रवृत्तिको आलोचना गर्दै अरुको घरमा आक्रमण गर्नुअघि आफ्नै घरभित्रका समस्या सुल्झाउनुपर्नेमा जोड दिए । ‘आफ्ना समस्या ढाकछोप गर्न अरुमाथि औंला ठड्याउनु ठीक होइन,’ राष्ट्रपति सीले भने । 

बेइजिङले पहिलो वार्षिक चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई खुला बजारप्रतिको प्रतिबद्धताको एक सङ्केतका रुपमा लिएको छ । दुवै देशले एकअर्का मुलुकका उत्पादनमाथि करवृद्धि गरेका कारण व्यापारिक तनाव शिखरमा पुगेको छ । 

साङ्घाइ एक्स्पोमा जेनेरल मोटर्स, फोर्ड, माइक्रोसफ्ट, सामसुङ, वाल्मार्ट र टेस्ला समेतका कम्पनीहरुले भाग लिएका छन् । आयोजकहरुले संयुक्तराज्य अमेरिका, युरोप र एसियाली क्षेत्र समेतका १३० मुलुकका तीन हजारभन्दा बढी विदेशी कम्पनीका सामग्री प्रदर्शनीमा राखिएको बताएका छन् । 

प्रदर्शनीमा रसियाका प्रधानमन्त्री दिमित्री मेडभेडेभ र पाकिस्तानका प्रधानमन्त्री इमरान खान समेतका विभिन्न देशका सरकार प्रमुखहरु पनि सहभागी हुँदैछन् । –एएफपी
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप