केन्द्रीय संस्करण

काग कथा : कागको दादागिरी अलि चर्को छ

person access_timeकात्तिक १९, २०७५ chat_bubble_outline0

काग 

चरा प्रजातिमध्येका बाठो पन्छी ।

‘म सगरमाथा राष्ट्रिय निकुञ्ज जाँदै थिएँ । २५ वर्षअघिको कुरा हो । पाङ्बोचेबाट फेरिचे जाँदै थिएँ । मसँग प्याक लन्च थियो । विदेशी साथीहरू पनि सँगै थिए । दुई–तीनवटा कालो काग आए । मैले बिस्कुट फ्याँकिदिएँ,’ चराविद् डा. हेमसागर बरालले अतीत सम्झे, ‘कागभन्दा मैले बिस्कुट छिटो खानुपर्ने हो । तर, काग छिटो भइरहेको थियो । बिस्कुट दिएको क्षणभरमै काग मनजिक आउँथे । त्यसपछि कागलाई नियाल्न थालें । कागले बिस्कुट लगेर माटोमा गाड्दारहेछन् । मैले जतिपटक बिस्कुट दिएँ, उसले लगेर माटोमा गाडेको देखें । कालोकाग (वनकाग) ले खानेकुरा भण्डारण गर्दोरहेछ भनेर त्यसपछि थाहा भयो ।’ 
चराविद् डा. बराल सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जबाट काठमाडौं फर्के । वनकागले जस्तै घरकागले पनि खानेकुरा भण्डारण गर्ने उनले चाल पाए । ‘म शाकाहारी भएको छु,’ उनले उदाहरण पेस गरे, ‘तर, शाकाहारीको घर मासुका हड्डी भेटिन थाल्यो । घरकागले मेरो घरवरिपरि मासुका हड्डी लुकाउँदारहेछन् । आहारा जोहो गर्नेक्रममा उसले त्यसो गर्दोरहेछ ।’ 

कागले अभिनय पनि गर्छ । मानिससँग खानेकुरा माग्न उसले आफूलाई निर्बल भएको अभिनय गर्छ । खानै नपाएकोजस्तो गर्छ । कागले तपाईं कस्तो मानिस हो भनेर मूल्यांकनसमेत गर्न सक्छ । उसले मानिस चिन्छ ।

‘म ताइवान पुगेको थिएँ । उनीहरूले वनकागको वृत्तचित्र बनाएका रहेछन्,’ उनले थपे, 

‘ओखरको रूखको पार्क । पार्कनजिक सडक । पार्कनजिक सडकको जेब्राक्रसमा वनकागले ओखर खसाउँथे । गाडीले कुल्चेपछि ओखर फुट्थ्यो । जेब्राक्रसछेउमै ट्राफिक लाइट थियो । रेडलाइट बलेपछि गाडी रोकिन्थे । त्यही मौकामा कागले हतार–हतार ओखर खान्थे । हाडेओखर आफूले फुटाउन नसकेपछि वनकागले त्यस्तो उपाय लगाएको वृत्तचित्रमा देख्न पाएँ ।’ 

कागको कोर्भिडी भन्ने परिवार छ । परिवारभित्र धेरै प्रजातिका काग हुन्छन् । तर, काग भनेपछि हामीले कालो हुनुपर्छ भन्ने बुझेका छौं । काग पूरै कालो नभए पनि शरीरचाहिँ कालो हुनुपर्छ भन्ने मान्यता राख्छौं । नेपालको सन्दर्भमा कालो काग पनि पाँच प्रजातिका छन् । 

शनिवदेको वाहन भनेर चिनिएका कागलाई घरकाग, कालोकाग (वनकाग), टेमु, टुंगा र राजाकाग भनेर नामकरण गरिएका छन् । तराई र मध्यपहाडसम्म घरकाग (घाँटीमा फुस्रो–फुस्रो हुन्छ) सबैभन्दा बढी पाइन्छन् । घरकागले मानिसको सामिप्यबाट फाइदा लिन्छ । ऊ मानिससँग आश्रित हुन्छ । कसैको करेसाबारीमा निश्चित उचाइको रूख छ भने उसले गुँड लगाइहाल्छ । 

वनकाग पूरै कालो हुन्छ । यसको ठोंड ठूलो र मजबुत हुन्छ । ‘वनकाग दुई प्रजातिका हुन्छन्,’ उनले सुनाए, ‘पहेंलो ठोंड भएका टेमु र रातो ठोंड भएकालाई टुंगा भनिन्छ । टेमु ३५०० देखि ८२३५ मिटर उचाइसम्ममा भेटिन्छन् । संसारमै सबैभन्दा उचाइमा बाह्रैमास रैथाने भएर बस्ने चरा प्रजाति टेमु हुन् । टुंगाले ३५०० देखि ७२५० मिटरसम्मलाई वासस्थान बनाएका हुन्छन् ।’ 

त्योभन्दा माथि पुगेपछि राजाकाग पाइन्छ । यसको तौल घरकागभन्दा दोब्बर हुन्छ । राजाकागको तौल एक किलोग्रामजति हुन्छ । पाँच प्रजातिका कागको आ–आफ्नै विशेषता छन् । राजाकागबाहेक चार प्रजातिका काग बथानमा बस्छन् । बथानमै रमाउँछन् । तर, राजाकाग बथानमा बस्दैन । राजाकाग दुई वा तीनवटासम्म देख्न सकिन्छ । उनले भने, ‘मैले देखेअनुसार राजाकाग घ्याङ र गुम्बामा सुरक्षागार्डजस्तो भएर बस्छन् ।’ 

घरकाग निश्चित उचाइसम्म मात्रै पुग्न सक्छ । वनकाग त्योभन्दा माथि–माथि पुग्न सक्छ । नेपालमा घरकाग र वनकाग धेरै पाइन्छन् । टेमु र टुंगा निश्चित उचाइमा मात्रै भेटिने भएकाले संख्या अलि कम हुने नै भए । राजाकाग अझै कम पाइन्छ । राजाकाग विभिन्न धर्मसँग जोडिएका छन् । 

‘कागको नेचर एग्रेसिभ हुन्छ । मानिस उसको नजिक पुग्यो भने रिसाउँछ,’ कागको विशेषता प्रस्ट्याउँदै डा. बरालले जोडे, ‘उसले ठुङ्न खोजिहाल्छ । आफ्नो परिवारलाई बोलाएर जोडजोडले कराउँछ । मानिस वा शत्रु धपाउने प्रयास गर्छ । अन्य चराले त्यसो गर्दैनन् । उसको गुँड भनेको निवास हो । उसले आफ्नो क्षेत्र निर्धारण गरेकाले गुँड छेउछाउ पुग्दा ठुङ्न खोजेका हुन् ।’ काग धपाउन ढुंगा हानियो भने उसको बच्चाले समेत थाहा पाउँछन् भनिन्छ ।  

यमपञ्चकको पहिलो दिन । आज कागतिहार । ‘अलि भन्न नहुने हो कि,’ उनले अप्ठ्यारो माने, ‘कागको दादागिरी अलि चर्को छ । उसले स–साना चरालाई मान्दैन । सिकार नै नगरे पनि गुँड लगाएर बसेको समय आहार खोज्नेक्रममा ऊ निर्दयी हुन्छ । कागले टौदहपोखरीमा हाँसलाई आक्रमण गरेको मैले देखेको छु ।’

जलवायु परिवर्तनले समेत काग फाइदामै छ । काग बढिरहेका छन् । त्यसमा पनि घरकाग मानिसले बढाएका हुन् । काग बढ्नुलाई अप्राकृतिक मानिएको छ । ‘म तपाईंलाई वज्रवाराही जंगल लैजान्छु । जंगल सानो भए पनि त्यहाँ चराका अन्य प्रजाति पनि छन् । जंगलमा रहेका चरा सन्तुलनमा हुन्छन्,’ उनले उदाहरण पेस गरे, ‘तर, कागले गुँड लगाउन थालेपछि त्यहाँका साना चरा विस्थापित हुन्छन् । शक्तिशालीले दुर्बललाई दबाइहाल्छ ।’ बस्ती बाक्लिएपछि घरकाग बढ्दै गएका छन् भने वनकाग घट्दै गएको देखिन्छ । घरकागले बदलिँदो परिस्थितिसँग आफूलाई बदल्दै लगेको हो ।

कागले मासु, दाना, भात खान्छ । दूध र पानी पिउँछ । उसले नराम्रो चीज खाए पनि मानिसको नजिक छ । यमदूत भनेर पुजिने कागले पर्यावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । 

कागले मानिसलाई सुरक्षा दिन्छ । उसको ठाउँमा नचिनेको मानिस पुगे काग कराउँछ । काग कराएपछि मानिसले एकपटक बाहिरफेर हेर्ने गर्छन् । मानिस जंगल छेउछाउ, कोसीकिनारमा समेत बसोबास गर्छन् । जंगलछेउका पानीका मुहान वा कोसीकिनारमा जंगली जनावर पानी खान निस्कँदा काग कराउँछ । उसले मानिसलाई सुरक्षित रहन खतराको घन्टी बजाइदिन्छ । ‘जति नै गाली गरे पनि काग भएन भने हामी मिस गर्छौं,’ उनको बुझाइ छ, ‘त्यही भएर सूचनावाहक, सन्देशवाहक काग प्यारो भएका हुन् । मानिसका नजिकका साथी पनि हुन् ।’ त्यसैले हो कि कागको मासु कहिल्यै खाइँदैन । 

कागले ठुङ्यो भने अशुभ हुन्छ भन्ने भनाइ छ । ‘यो त कालान्तरमा भनिएको होला,’ उनले थपे, ‘कागले घरभित्र बाहिरका फोहोर खाइदिन्छ । उसलाई प्रकृतिका कुचीकार पनि भनिन्छ । हाम्रो शरीर ब्याक्टेरिया नै ब्याक्टेरियाको भण्डार हो । हामीले खकारेकोसमेत उसले खान्छ । त्यही फोहोर खानेले कागले ठुङ्दा अशुभ हुने भनिएको होला । तर, काग मानिसका नजिकका साथी हुन् ।’

मानिसका नजिकका साथी भएकाले सालिन्दा यमपञ्चकको पहिलो दिन कागतिहारमा कागको पूजा गरिन्छ । मीठो–मीठो खानेकुरा खान दिइन्छ । नेपालीमा काग भनेर सम्बोधन गरिने उसलाई संस्कृतमा ‘काक्’ र हिन्दीमा ‘कौवा’ भनिन्छ । 

कागतिहारको दिन सामाजिक सञ्जालमा ‘कागजस्तै बाठो हुनू’ भनेर शुभकामना दिनेको कमी छैन । कसैले ‘गीत गाउँदा कागजस्तै मीठो स्वरमा गीत गाउने सबै साथीलाई कागतिहारको शुभकामना’ भनेका छन् । कतिपयले सामाजिक सञ्जालमा ‘काग दाजै काग दाजै पीपल झारिदेऊ, कागिनी भाउजूलाई गुन्युचोलो देऊ’ शीर्षाकृत गीत लेखेर कागलाई सम्झेका छन् ।

देवताको पालामा अमृत चोरेर खाएकाले काग कहिल्यै मर्दैन भन्ने पौराणिक कथामा उल्लेख छ । पौराणिककथाले त्यसो भने पनि काग २० वर्षसम्म बाँच्ने चराविद् डा. हेमसागर बरालले जानकारी दिन । राजाकागचाहिँ अलि धेरै बाँच्छ । कागले एकपटकमा चारवटासम्म फुल पार्छ । 
 
 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ