बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिटीको गोल वर्षा, चेल्सी दोस्रो स्थानमा

सोमबार, १९ कात्तिक २०७५, ०९ : ३४
सोमबार, १९ कात्तिक २०७५

एजेन्सी । साउथह्याम्पटनबिरुद्ध गोलको वर्षा गर्दै साबिक विजेता म्यान्चेस्टर सिटीले इंग्लिस प्रियिमर लिगको शीर्ष स्थानमा पुनः कब्जा जमाएको छ ।

आइतबार राती भएको खेलमा सिटीले साउथह्याम्पटनको पोष्टमा आधा दर्जन गोल वर्षाएको हो ।

वेस्ले होएड्टको आत्मघाती गोलको मद्दतले सिटीले खेलको छैटौँ मिनेटमा नै अग्रता लिएको थियो ।

त्यसपछि सर्जियो अगुएरो र डेभिड सिल्भाले सिटीको अग्रता फराकिलो बनाए ।

योसँगै सर्जियो अगुएरोले प्रिमियर लिगमा २१७ खेलमा १५० गोल पूरा गरे ।

ड्यानी इङ्गसले पेनाल्टीबाट सिटीको अग्रता कम गराए पनि पहिलो हाफको इन्जुरी समयमा राहिम स्टर्लिङले गोल गर्दै सिटीलाई ४–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा स्टर्लिङले अर्को गोल थपे भने इन्जुरी समयमा लेरोय सानेले गोल गर्दै सिटीलाई सहज जित दिलाए ।

११ खेलपछि सिटीको २९ अंक रहेको छ । ३ बजे शुरु हुने खेलमा सिटी पछिल्ला ४३ प्रिमियर लिग खेलमा अपराजित रहेको छ । यो लिगको इतिहासमा नै सबैभन्दा बढी हो ।

अन्य खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३–१ गोलअन्तरले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

लिभरपुल र आर्सनल बराबरी भएपछि गोलअन्तरको आधारमा चेल्सीले लिभरपुललाई उछिनेको हो ।

चेल्सीलाई जीत दिलाउन अल्भारो मोराटाले दुई तथा पेड्रोले एक गोल गरे ।

मोराटाले चेल्सीलाई अग्रता दिलाए पनि दोस्रो हाफको शुरुवातमा एन्ड्रोस टाउनसेन्डले खेल बराबरी गरेका थिए ।

त्यसपछि मोराटाले पुनः चेल्सीलाई अग्रता दिलाए भने पेड्रोले जीत सुनिश्चित गरे ।

हालसम्म अपराजित रहेको चेल्सीको ११ खेलबाट २७ अंक रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप