शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘एउटा सिट्टीले प्रहरी, अनि प्रहरीले मलाई मान्छे बनायो’

आइतबार, १८ कात्तिक २०७५, ११ : ११
आइतबार, १८ कात्तिक २०७५

काठमाडौँ । ‘जहाँ जाम, त्यहाँ सीताराम’ कुनै बेला प्रहरी निरीक्षक सीताराम हाछेथुको परिचय थियो यो । अहिले त्यो परिचय फेरिएको छ । आजभोलि मानिसहरू भन्न थालेका छन्, ‘जहाँ सीताराम, त्यहाँ नयाँ ट्राफिक भवन’ ।

नभनुन् पनि कसरी ? अहिलेसम्म हाछेथुको अगुवाइमा काठमाडौँ उपत्यकाका चार स्थानमा ट्राफिक प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भइसकेको छ । गत असोज २४ गते मात्र सातदोबाटोस्थित नयाँ र भव्य ट्राफिक प्रहरी कार्यालय भवन उद्घाटन गरिएको छ । ललितपुर जिल्लाको ट्राफिक प्रहरी प्रमुख भएर आएपछि उनकै अगुवाइमा जनसहभागिताबाट उक्त भवन निर्माण गरिएको हो ।

यसअघि उनले २०५७ सालमा कालिमाटी, २०६१ सालमा कोटेश्वर र २०७० सालमा दरबारमार्गमा ट्राफिक कार्यालय भवन निर्माण गरिसकेका छन् ।

यसरी सुरु भयो भवन निर्माणको शृङ्खला

२०५४ सालतिर हाछेथु कालिमाटीमा ट्राफिक प्रहरी प्रमुख भएर पुगे ।

यो त्यतिबेलाको कुरा हो, जब नेपालमा ट्राफिक प्रहरीको खासै अस्तित्व थिएन । सवारीको सङ्ख्या कम, दुर्घटना पनि कम । त्यही भएर बग्गीखानाबाहेक अन्य ठाउँ ट्राफिक प्रहरीका कार्यालय नै थिएन ।

आफ्नो विगत सम्झँदै हाछेथु भन्छन्, ‘सई सा’बको अफिसका लागि भनेर ८ बाई ९ फिटको सानो कोठा लिइएको रहेछ । तर, छेउमै ढल बग्ने । ढुङढुङ गनाउने । कार्यालयमा मान्छे पनि आउन नमान्ने ।’

आफ्नो कार्यालय भवन नभएपछि कार्यसम्पादन गर्न पनि उत्तिकै अप्ठ्यारो थियो । कार्यालय भएको ठाउँमा सुत्ने ठाउँ थिएन । नजिकै डेरा लिएर बस्नुपर्ने बाध्यता थियो ।

‘डेरा मालिकले रात परेपछि ताल्चा लगाइहाल्ने,’ उनी भन्छन्, ‘राती दुर्घटना भयो भने कार्यालयमा छिर्नै पाउँदैन थियौँ ।’

‘एक दिन राति सोल्टीमोडमा दुर्घटना भयो । राति निस्कन खोजेको म बस्ने घरका घरबेटीले पनि गेटमा ताला लगाएर सुतेछन्, म निस्कनै पाइनँ,’ उनले कालिमाटी बस्दाका दिन सम्झिए, ‘त्यो दिन मलाई लाग्यो, हाम्रो पनि आफ्नै कार्यालय हुनुपर्छ ।’

त्यसमाथि खाना खान पनि जनपद प्रहरीको मेसमा जानुपथ्र्यो । अरूहरू ९ बजे नै खाना खान्थे भने ट्राफिक प्रहरीहरू पुग्दा कहिले ११ पनि बज्ने गथ्र्यो । 

‘खाना पनि कहिलेकाहीँ चिसै खानुपथ्र्यो । न बस्ने ठाउँ राम्रो छ । नसुत्ने ठाउँ छ न त काम गर्ने नै । लाजै मर्ने अवस्था थियो,’ उनी भन्छन् ।

अन्ततः नजिकै रहेको खाली सरकारी जग्गामा कार्यालय भवन निर्माण गर्ने निधो उनले गरे । कार्यालय भवन निर्माण गर्ने सोच बनाए पनि त्यसलाई कार्यान्वयन गर्न भने सहज थिएन । स्रोत कहाँबाट जुटाउने भन्ने समस्या भयो । 

समस्या समाधान गर्न हाछेथुले एउटा जुक्ति निकाले । ‘स्थानीयलाई उक्त भवनप्रति अपनत्व महसुस गराउन मैले स्थानीयको सहभागितासहितको भवन निर्माण समिति बनाए,’ उनी भन्छन्, ‘समितिमा म सचिव बने भने बाँकी पदाधिकारी सबै स्थानीय थिए । यसले स्थानीय स्तरमा स्रोत सङ्कलन गर्न सहज भयो ।’

कालिमाटीमा ट्राफिक व्यवस्थापनमा राम्रो काम गरेका कारण स्थानीयहरूले हाछेथुलाई पत्याउन थालिसकेका थिए । त्यसैले स्रोत सङ्कलनमा उनी आफै खटिन्थे । अन्ततः ६ महिनाभित्र २०५७ साल जेठ १९ गते कालिमाटीमा पहिलो ट्राफिक कार्यालय भवन निर्माण सम्पन्न भयो ।

कालिमाटीपछि कोटेश्वर आउँदा पनि अवस्था उस्तै दयनीय थियो । १५ जना जवान एउटा झ्याल भएको गोदाममा बस्न बाध्य थिए । दरबारमार्गमा त झनै डोरीले ढोका समाएर शौचालय जानुपर्ने अवस्था थियो । त्यही भएर उनले त्यहाँ पनि जनसहभागिताबाटै भवन निर्माण गरे ।

‘सातदोबाटोमा पनि जनपद प्रहरीसँग कार्यालय भवन बाँडेर बस्नुपर्ने अवस्था थियो । हामीलाई चोकमा बसेर निगरानी गर्नुपर्ने, हाम्रो कार्यालय भने चोकभन्दा टाढा,’ उनी भन्छन्, ‘त्यही भएर यहाँ पनि आएर भवन निर्माण सम्पन्न गर्यौँ ।’ ३ करोड ४४ लाख लागत अनुमान गरिएको भवन २ करोड १५ लाखमा तयार भएको छ ।

‘एउटा सिट्टीले प्रहरी, अनि प्रहरीले मलाई मान्छे बनायो’

सीताराम हाछेथु भक्तपुरका रैथाने नेवार हुन्, जग्गा जमिन पनि प्रशस्तै भएको । त्यसैले उनको सोच कहिल्यै पनि प्रहरी बन्ने थिएन । उनी व्यापार गर्न चाहन्थे ।

उनको रुचि अध्ययनमा कहिल्यै पनि भएन । एसएसएलसी जसोतसो पास गरे । आईएमा ब्याक लाग्यो । आफ्नो युवा अवस्था सम्झँदै उनले भन्छिन्, ‘म अल्लारे नै थिएँ ।’

तर मान्छेले सोचेजस्तो जीवन कहिले पो हुन्छ र ? व्यापारी बन्छु भनेका हाछेथुको जीवन एउटा घटनाले पूरै बदलिदियो ।

२०४५ सालमा नेपालमा भूकम्प गयो । भूकम्पको क्षतिबारे निरीक्षण गर्न राजा वीरेन्द्र भक्तपुर आउने भए । राजा आउने भएपछि स्थानीयको भीड लाग्यो । हाछेथु पनि अरू जस्तै त्यहाँ पुगे । 

तर भीड यति अनियन्त्रित थियो, तँछाडमछाड भइरहेको थियो । स्थानीय नेता र गन्नेमान्नेले भन्दा पनि भीड नियन्त्रित हुन सकिरहेको थिएन ।

त्यतिकैमा एक जना खाकी बर्दी लगाएको प्रहरी हातमा एउटा लठ्ठी र मुखमा सिट्टी लिएर आइपुगे । उनले भुइँमा लठ्ठी बजारे र दुई पटक सुइँइय... पारेर सिट्टी फुके । भीड एकाएक शान्त भयो । केही बेरअघिसम्म तछाँडमछाड गरिरहेका एकाएक मिलेर बसे ।

‘म दङ्ग परे । एउटा सिट्टीमा पनि त्यति धेरै शक्ति,’ उनले भने, ‘मलाई पनि त्यो सिट्टी बोक्न मन लाग्यो । मैले तुरुन्तै प्रहरीमा भर्ना हुने निर्णय गरे ।’

हाछेथु त्यसअघि कराँते पनि खेल्ने गर्थे । उनी ब्राउन बेल्ट थिए । यसले पनि उनलाई प्रहरीमा भर्ना हुँदा गर्नु पर्ने शारीरिक परीक्षणमा सहज भयो । अन्ततः उनी प्रहरीमा भर्ना पनि भए ।

तर, हाछेथुलाई हिंसा भने मन पर्दैन थियो । उनलाई बन्दुक बोक्ने कहिल्यै रहर भएन । त्यसमाथि ‘सिट्टी’को शक्तिको मोहमा परेका उनी ट्राफिक प्रहरीमा आए ।

२०४८ सालमा असईका रूपमा भक्तपुरमा खटिए । ट्राफिक प्रहरीका रूपमा पहिलो ड्युटी सल्लाघारीमा खटेको उनलाई हिजोजस्तो मात्रै लाग्छ । उनी सम्झन्छन्, ‘ट्राफिकको बर्दी लगाएर सडकमा बसेर सिट्टी के फुकेको थिएँ, बडेमानको ट्रक ठाउँको ठाउँ रोकियो । एक पटक मैले आफ्नो सिट्टीलाई हेरेँ । यसको शक्ति देखेर मनमनै मख्ख परेँ ।’

भक्तपुरमा अल्लारे भएर हिँड्ने केटो अब प्रहरी अधिकारी बनिसकेको थियो ।

प्रहरी सङ्गठनमा आएपछि उनले प्रहरीको शक्ति मात्र होइन, एउटा आफ्नो जिम्मेवारी, अनुशासन र कर्तव्य पनि बुझे । ‘प्रहरी सङ्गठनले मलाई एउटा असल मान्छे बनायो,’ उनी भन्छन्, ‘एउटा असल मान्छे नबनी राम्रो प्रहरी बन्न नसकिने रहेछ ।’

त्यही भएर आफू मातहतका प्रहरी कर्मचारीहरूलाई उनी कहिल्यै पनि ‘तँ’ भनेर सम्बोधन गर्दैैनन् । कहिल्यै पनि प्रहरी कर्मचारीहरूलाई लुगा धुन वा जुत्ता पालिस गर्न लगाउँदैनन् । खाना पनि प्रहरी जवानहरूसँगै मेसमा खाने गर्छन् ।

‘म मादक पदार्थ सेवन पनि घरमा मात्र गर्छु । त्यो पनि थोरै । घरबाहिर कहिल्यै पनि पिउँदिन ।’ उनी भन्छन्, ‘अहिलेसम्म डिस्को र दोहोरी पनि छिरेको छैन ।’

ड्युटी पहिले अनि मात्र परिवार

जागिरको सुरुवातदेखि अवकाश प्राप्त भएसम्म हाछेथुले ट्राफिक प्रहरीमा सेवा गरे । २४ जना विभिन्न ट्राफिक प्रहरी प्रमुखसँग बसेर काम गरे । काठमाडौँ उपत्यकामा मात्र उनले २७ वर्ष बिताए । 

पूर्व आईजीपी उपेन्द्रकान्त अर्याल तत्कालीन डीआईजीका रूपमा ट्राफिक प्रहरी प्रमुख भएर आउँदा ट्राफिकमा मात्र बस्ने हाछेथुलाई सरुवा गर्नुपर्छ भनेर आएका थिए । तर, पछि उनले नै ट्राफिकमा हाछेथु चाहिने रहेछ भनेर सरुवा नगरी राखेको प्रहरीको कार्यक्रममा नै स्वीकार गरेका थिए ।

यो हाछेथुले आफ्नो कार्यसम्पादनमा देखाएको इमानदारिताको प्रतिफल थियो । आफ्नो कार्यकालमा उनले सधैँ परिवारभन्दा आफ्नो ड्युटीलाई प्राथमिकतामा राखे ।

‘म सामान्यतय बिहान साढे ६ बजेदेखि राति ९ बजेसम्म ड्युटी गर्छु,’ उनी भन्छन्, ‘वर्षमा २ दिन मात्र बिदा लिन्छु । बिरामी पनि बिरलै भएको छु । पहिले मोटरसाइकल चलाउँदा दुई पटक सामान्य दुर्घटनामा परेको थिएँ । एउटा २०५४ सालमा कुलेश्वरमा र अर्को प्रधानमन्त्री गिरिजाप्रसाद कोराइलाको स्कर्टिङ गर्दा सीतापाइलामा ।’ एक पटक पत्थरीको अप्रेसन गर्दा मात्र उनी अस्पताल भर्ना भएका छन् ।

हाछेथु सिभिल लुगामा कमै देखिन्छन् । आफूसँग ५४ जोर युनिफर्म भइसकेको बताउने उनी दशैँमा ससुरालीमा टीका थाप्न जाँदा पनि युनिफर्ममा नै पुग्ने गरेका छन् ।

हाछेथुको चार जनाको परिवार छ । श्रीमती उपसचिव छिन् भने छोराछोरी दुवै इन्जिनियर छन् । आफ्नो जागीर अवधिभर श्रीमतीलाई लिएर उनी चार ठाउँ मात्र घुम्न गएको बताउँछन् । त्यसमा पोखरा मनकामना दुई दिन, तातोपानी एक दिन, सौराहा एक दिन र पलाञ्चोक भगवती एक दिन रहेको छ । ‘पूरै परिवारसँगै गएको ठाउँ भने पलाञ्चोक भगवती मात्र हो ।’

त्यस्तै उनले श्रीमतीसँग हलमा गएर अहिलेसम्म मात्र तीनवटा चलचित्र हेरेका छन्– छक्का पञ्जा, जब तक हे जान र सञ्जु ।

ड्युटीलाई पहिलो प्राथमिकतामा राख्दा उनले आफ्नो छोराछोरीलाई कहिल्यै स्कुल पुर्याउन जान पाएनन् भने होमवर्क पनि कहिल्यै सघाउन पाएनन् । घर १० मिनेट टाढा भए पनि उनी डेरा लिएर कोटेश्वरमा बसे ।

‘यस विषयमा परिवारले आपत्ति जनाउँदैनन् त ?’

उनी भन्छन्, ‘म बिरलै रिसाउँछु । श्रीमतीलाई विनम्र भएर सम्झाउँछु । सायद उनी पनि पढेलेखेको भएर होला, मेरो कुरा बुझ्छिन् । फेरि परिवारको आर्थिक स्थिति राम्रो भएर पनि होला परिवारबाट मैले सहयोग नै पाएँ । श्रीमतीसँग झगडा नै पर्दैन ।’

राम्रो काम, कामसँगै इनाम

आफ्नो कामप्रति इमानदार भएरै होला, हाछेथु ट्राफिक प्रहरीभित्र सेलिब्रेटीजस्तै छन् । पत्रपत्रिकामा प्रायः उनको नाम आइरहन्छ । सामाजिक सञ्जालमा उनको सुरुवात गरेको ‘डान्स’सहितको ट्राफिक व्यवस्थापनले एक पटक खुबै चर्चा पाएको थियो ।

ट्राफिक व्यवस्थापनमा उनी कुशल मानिन्छन् । धेरै ठाउँमा जाम कम गर्न उनले महत्वपूर्ण भूमिका खेलेका छन् । नागपोखरी–नक्शाल सडक एकतर्फी बनाउने होस् या मङ्गलबजार क्षेत्रलाई वानवे बनाउने होस् ।

ट्राफिक प्रहरी प्रमुखका रूपमा गणेश राई आएपछि उनकै सल्लाहमा नेपाल पहिलो पटक ‘मापसे कारवाही’ लागू भएको थियो । जापानमा प्रशिक्षणका लागि पुग्दा त्यहाँ मापसे कारवाहीबारे थाहा पाएका हाछेथुले नै राईलाई नेपालमा पनि सो कुरा लागू गर्ने सल्लाह दिएका थिए । 

बलुवा, गिट्टीजस्ता निर्माण सामग्री बोकेर हिँड्ने निर्माण सवारीलाई त्रिपालले छोप्नुपर्ने नियमको पनि उनले नै सुरुवात गरेका थिए । कोटेश्वरमा रहँदा निर्माण सामग्री बोक्ने ट्रिपरबाट उडेको बालुवा आँखामा परेर एउटा मोटरसाइकल दुर्घटनामा परेपछि उनले यसको सुरुवात गरेका थिए ।

हाछेथु प्रविधिप्रति पनि उत्तिकै सचेत छन् । ट्राफिक प्रहरीलाई अत्याधुनिक बनाउन उनी प्रयासरत छन् । २०४९ सालदेखि क्यामारा प्रयोग गरेर दुर्घटना र ट्राफिक गल्तीको फोटो खिच्न थालेका हाछेथुले २०५९ सालदेखि भिडियो, २०७३ देखि ड्रोनदेखि ३६० क्यामेरा र गोप्रो प्रयोग गर्न थालेका छन् । 

उनको गाडीमा पनि क्यामेरा छ भने ललितपुरका विभिन्न स्थानमा जाडन गरिएको सीसीटिभीको उनी कार्यालयमा बसेर तथा हातमा रहेको मोबाइलबाट निगरानी गर्ने गरेका छन् ।
उनले नै ट्राफिक एप्सको सुरुवात गरेका थिए ।

हालसम्म उनले ट्राफिकको जनचेतनासम्बन्धी ३ वटा भिडियो निर्माण गरेका छन् भने ७ वटा ट्राफिक जनचेतना श्रव्य दृश्यमा काम गरेका छन् ।

२७ वर्षमा विभिन्न ट्राफिक प्रहरी कार्यालयको इन्चार्ज भई काम गर्दा हाछेथु हालसम्म १२८ वटाभन्दा बढी पुरस्कारबाट सम्मानित भइसकेका छन् । जसमा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट युवा पुरस्कार, पूर्वयुवराज पारसबाट उत्कृष्ट ट्राफिक पुरस्कार, पूर्वराजा ज्ञानेन्द्र शाहबाट गोरखा दक्षिणबाहु, राष्ट्रपतिबाट प्रबल जनसेवा पदक आदि रहेका छन् ।

उनी प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेल, कुवेर सिंह राणा, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल र सर्वेन्द्र खनालबाट पनि पुरस्कृत भइसकेका छन् ।

तत्कालीन गृहमन्त्री जर्नादन शर्माले त उनलाई बाटोमा ड्युटी गरिरहेको बेला गाडी रोकेर भेट्दै बधाई दिएका थिए ।

आफ्नो कामप्रति इमानदार भएकै कारण नेताहरूबाट काम कारवाहीका लागि कहिल्यै दबाब आएन । ‘प्रहरी सङ्गठनले पनि मेरो कामको राम्रो मूल्याङ्कन गरेको छ । सरुवा बढुवाका लागि भनसुन गर्न म कहिल्यै कहीँ धाउन परेन । सङ्गठनले मलाई जहाँ खटायो त्यहाँ गएर इमानदारीपूर्वक काम गर्दै आएको छु,’ उनी भन्छन् ।

अहिलेसम्मकै अविस्मरणीय घटना

कुरा २०५५–५६ सालतिरको हो । बालाजुमा एक विवाह समारोहमा तत्कालीन राजा वीरेन्द्र शाहसहित उनको परिवार सरिक हुने कार्यक्रम थियो ।

माथिबाट आदेश आयो, ‘समारोह स्थलमा राजा वीरेन्द्रबाहेक अरूको सवारी प्रवेश गर्न नदिनू ।’

‘कार्यक्रममा ज्ञानेन्द्र सरकारसहित दीपेन्द्र सरकार पनि आउने कुरा थियो । शाहीकालमा उनीहरूको गाडी कसले रोक्ने ?,’ उनी सम्झन्छन्, ‘म कालिमाटीको इन्चार्ज थिएँ त्यतिबेला । यसको जिम्मा मलाई दिइयो ।’

माथिको आदेशअनुसार उनले राजा वीरेन्द्रको गाडीलाई समारोहस्थलमा प्रवेश गराए । पछिपछि थिए ज्ञानेन्द्र । उनले हात देखाएर गाडी राके । ज्ञानेन्द्रको गाडी उनीभन्दा केही मिटर अघि आएर रोकियो ।

यतिबेलासम्म उनीसँगै ड्युटीमा खटिएका तत्कालीन बालाजुका इन्चार्ज प्रहरी निरीक्षक त्यहाँबाट भागिसकेका थिए ।

ज्ञानेन्द्रले उनलाई बोलाए अनि सोधे, ‘किन गाडी रोकेको ?’

हाछेथुले जवाफ दिए, ‘सरकार, ठाउँको कमीले गर्दा माथिबाट वीरेन्द्र सरकारको मात्र गाडी छिराउन दिनुभन्ने आदेश छ ।’

ज्ञानेन्द्रले मात्र टाउको हल्लाए र हाछेथुले भने बमोजिम दाहिनेतर्फ पार्किङ गराए ।

पछिपछि दीपेन्द्र, भाइ निराजन र पारससहित कालो गाडीमा आए । उनीहरूको गाडी पनि रोकेर उनले देब्रेतर्फ पार्किङ गर्न लगाए ।

त्यसपछि मात्र इन्चार्ज प्रहरी निरीक्षक उनी भएको ठाउँमा पुनः देखापरे । ‘मैले त आज जागिर गयो भन्ने ठानेको,’ सुस्केरा काड्दै उनले भनेको कुरा हाछेथु आज पनि झलझली सम्झन्छन् ।

ललितपुर जिल्लाका ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुसँग गरिएको कुराकानीमा आधारित ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप