शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सर्लाही गोलीकाण्ड : कसरी हुन पुग्यो घटना ? यस्तो छ 'ग्राउण्ड रियालिटी'

शनिबार, १७ कात्तिक २०७५, १३ : २८
शनिबार, १७ कात्तिक २०७५

मलंगवा (सर्लाही)– दुई साताअघि रामनगर गाउँपालिका वडा नम्बर ४ स्थित बहुअर्वाका अध्यक्ष रामनरेश महतोले नागरिकताको सिफारिस नगरिदिएर हैरानी दिएको भन्दै तत्कालिन माओवादी केन्द्रका नेता शिवपुजन रायलगायतका नेताहरु जिल्ला प्रशासन कार्यालय सर्लाहीमा डेलिगेन नै गए । 

उनीहरुको गुनासो थियो–फरक पार्टी भएकै करण काँग्रेसबाट निर्वाचित वडाध्यक्ष यादवले नागरिकताको सिफारिस समेत गरिदिएनन् । 

हुन त रामनगर यस्तो ठाउँ हो, त्यहाँ स्थानीयबीच केही न केही विवाद भइरहन्छ । यस्तो ठाउँमा वडाध्यक्षले नागरिकताको सिफारिसदेखि अन्य आवश्यक कामसमेत नगरिदिएपछि विवाद निम्तनु स्वाभाविक थियो । 

यही विवादका बीच रामनगरको बहुअर्वा गाउँमा साताअघि काँग्रेस नेता अमरेशस कुमार सिंह पुगे । त्यहाँ उनले विवाद मिलाउनुको साटो उल्टै अवस्थालाई थप उत्तेजित बनाउने अभिव्यक्ति दिए ।  उनले नेकपालाई ‘तह लगाउनु पर्ने’ आशयको अभिव्यक्ति दिएर अवस्थालाई उत्तेजित बनाउने काम भएको स्थानीयहरु बताउँछन् ।  

अमरेश कुमारको अभिव्यक्तिले नेकपा निकटकाहरु उत्तेजित त भएनै नागरिकताको सिफारिस समेत नदिएको झोकमा स्थानीय युवाहरुले वडाध्यक्ष यादवमाथि हातपात नै गरे । 

कात्तिक १२ गते वडाध्यक्षमाथि नै भएको हातपातपछि १३ गते दुई पक्षीय झडपका क्रममा गोली नै चल्न पुग्यो र वडाध्यक्षका काका रामविलास महतोको मृत्यु भयो । 


घटनापछि भागाभाग
जिल्ला सदरमुकाम मलंगलाबाट करीब ३० किलोमिटर दूरीमा पर्छ, रामनगर गाउँ । घटनापछि सो स्थानमा अहिले स्थानीयको भागाभाग छ । 

रातोपाटीकर्मी ‘ग्राउण्ड जिरो’ (बहुअर्वागाउँ) पुग्दा अधिकांश घर तोडफोड देखिए । 

गाउँमा सशस्त्र र जनपथ प्रहरीको बाक्लो उपस्थिती थियो । जति जति साँझ पर्दै थियो । प्रहरीको गाडीको पेट्रोलिंग र प्रहरीहरुको गस्ती पनि त्यत्तित्यत्ति बढ्दै गइरहेको थियो । गाउँ एक प्रकारले सुनसान नै थियो । 

केही यूवाहरु वडाध्यक्ष  महतोको घर भन्दा करिब २ सय मिटरको दूरीमा जम्मा थिए । तर प्रहरीको गस्ती देखेर ४/५ जनाको समूहमा रहेका यूवाहरु छेउ लागे । घटनाबारे कोही पनि खुलेर बोल्न चाहेनन् । 
 उनीहरुले तोडफोड भएको घरको खाना देखाउदै भने, ‘घरमा अहिले कोही बसेका छैनन् । अन्यत्र गइसकेका छन् ।’

यहाँका प्रायः घरको छाना टाली वा खपडाले छाइएको  छ भने केहि घरहरु खरले पनि छाइएको पाइयो । रिपोर्टिङको क्रममा बहुअर्वा गाउँमा वडाध्यक्ष महतोको घर वरिपरि र उनको घर भन्दा ५ सय मिटरमा पर्ने एक दर्जन भन्दा बढी घरहरुमा तोडफोड भएको देखियो । तोडफोड भएका घरमा केहि पनि थिएनन् ।

वडाध्यक्ष महतो कात्तिक १२ मै घाइते भएका थिए । यस्तै त्यसको भोलिपल्ट भएको झडपका क्रममा चलाइएको गोली लागि ७ जना घाइते भएका थिए । उनीहरु सबैको सर्लाही स्थित अस्पतालमा उपचार भइरहेको छ। जुन गोली काण्डमा वडाध्यक्षका काका रामविलाश महतोको मृत्यु भएको थियो । 

विवाद हिंसात्मक मोडसम्म लिन पुगेपछि स्थितिलाई साम्य बनाउन बहुअर्वा गाउँमा सुरक्षाका लागि व्यापक प्रहरी परिचालन जिल्ला प्रहरी कार्यालय सर्लाहीले गरेको छ ।

महतोको अन्त्येष्टि भएन
कांग्रेसले अहिलेसम्म रामविलाश महतोको शवको अन्त्येष्टि गरेको छैन । उनको मलंगवास्थित जिल्ला अस्पतालमै शव राखिएको छ ।

 दोषीलाई पक्राउ, मृतकको शहिद घोषणा र क्षतिपूर्तीको माग गर्दै शव नबुझिएको हो । काँग्रेस सांसद अमरेश कुमार सिंहले मृतकलाई शहिद घोषणा र घाइतेको उपचार नभएसम्म अन्तिम संस्कार नगर्ने बताए । उनले दोषीलाई पक्राउ गरी कडा कारबाही गर्न पनि माग गरे । 

यता नेकपाका नेता राजकुमार यादवले दोषीलाई कारवाही हुनुपर्ने पक्षमा आफूहरु रहेपनि राशमाथि अनावश्यक राजनीति गर्न खोजिएको बताए ।

स्थानीय भने कांग्रेस र नेकपाबीचको यो प्रकरणमा भएको राजनीतिको चपेटमा परेका छन् । उनीहरु यस घटनाबारे केही बोल्न चाहँदैनन् ।

एक स्थानीयले नाम उल्लेख नगर्न आग्रह गर्दै यो जातीगत राजनीतिको परिणाम भएको आरोप लगाए ।  

के भन्छन् काँग्रेस सांसद अमरेशकुमार सिंह ?
रामनगर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामनरेश महतो कात्तिक १२ गते साढे ११ देखि १२ बजेको बीचमा वडा कार्यालय जाँदै थिए । सोहि क्रममा त्यही बेला ५÷७ वटा मोटरसाइकलमा सवार रहेकाहरुले एकाएक कुटपिट गर्न थाले । ‘मनोमानी गर्दैछस्’ भन्दै कुटपिट गर्दा खुट्टा फ्याक्चर भयो । घटनास्थलबाट १०० मिटर दूरीमा नेपाली कांग्रेस रामनगर वडा नम्बर ४ का वडा सभापति रामएकवाल साहको घर छ । 

उहाँले फोन गर्नुभयो । त्यतिबेला म विद्यालय निरीक्षण गरिरहेको थिएँ ।  लगत्तै मैले सिडिओ र एसपीलाई फोन गरे । प्रदेश पार्टीको नेता तथा इन्चार्ज र निमित्त एआईजी पुष्कर कार्कीलाई पनि फोन गरेँ । घटना घटेको १ घण्टा पछि प्रहरी घटनास्थलमा पुग्यो । तर प्रहरीले भने घटनाको अनुसन्धान गर्नु भन्दा पनि डाईभर्ट गर्दै पीडितलाई उपचार गराउ भन्न थाल्यो । 

घटनामा संलग्नलाई न त पक्राउ नै गरियो  न त घटनाको अनुसन्धान नै गरियो । हाम्रो मागपछि बल्ल मुचुल्का उठाउने कुरा भयो । त्यसमा पनि प्रहरीले आलटाल गर्न थाल्यो । १२ बजेको घटनामा प्रहरीले मुचुल्का उठाउनमा साँझ पारिदियो । कसैलाई पनि प्रहरीले पक्राउ गरेन । जनप्रतिनिधिमाथि यसरी आक्रमण हुँदा पनि आलटाल हुनु दुर्भाग्य हो । र, यसले सत्तापक्षले नै यो घटना घटाएको प्रष्ट हुन्छ।

रामनगर गाउँपालिकामा खैरवा प्रहरी चौकी छ । त्यहाँका असईको भूमिकामाथि प्रश्न उठाउने ठाउँ छ । राति ८ बजेर १ मिनेटमा मलाई फोन आयो, गोली चलेको र ढुंगामुढा भइरहेको भन्दै रामविलाशजीले नै फोन गर्नुभयो । केहीबेरमा उहाँको स्पोर्ट डेथ हुनपुग्यो । उहाँको मृत्यू ८ः३० बजेनै भइसकेको थियो ।

यता प्रहरीले सबैलाई अल्मलाएर राखेको थियो । अर्को दिन ११ बजेसम्म प्रहरीले अलमलाउन खोज्यो ।
घटना घटिसकेपछि मानिसमा आक्रोश हुन्छ, त्यो आक्रोशलाई प्रहरीले जसरी एक्सन लिनु पर्ने थियो, लिएन । बरु प्रहरीले अपराधीहरुकै संरक्षण गर्न थाल्यो ।

घटनास्थलमा मलाई जानुथ्यो । एउटा जनप्रतिनिधीको घरमा घटना घट्दा पनि मलाई घटनास्थलमा जानबाट रोक्न खोजियो । धेरै जोडबलमा म घटनास्थलतर्फ अगाडी बढेँ । म अगाडी बढेपछि प्रहरी पनि पछिपछि आयो ।

घटनास्थलमा कुनैपनि किसिमको दुईतर्फी आक्रमण भएको छैन । दोहोरो झडप, दोहोरो आक्रमण भन्ने जुन हल्ला छ, त्यो केही मिडियाले गलत ढंगले फिजाएको हल्लामात्रै हो । 

घटनास्थलमा त एकपक्षीयरुपमा दर्जनौ घर तोडफोड गरिएको छ ।  बन्दुक चलाइएको छ । गाउँ तहसनहस पारिएको छ । वडाध्यक्ष रामनरेश महतोको काका रामविलाश महतोजी मारिनु भाछ । त्यसको पनि प्रहरीले अनुसन्धान गरेको छैन । यदी प्रहरीले समयमै सुरक्षा दिएको भए गाउँमा यसरी तत्कालिन माओवादी र अहिलेका नेपाल कम्यूनिष्ट पार्टी नेकपाका कार्यकर्ताहरुले आक्रमण गर्ने थिएनन् ।

 यदी झडप भएको भए गाउँमा रहेका नेकपाका कार्यकर्ताहरु पनि त घाइते हुन्थे । उनीहरुको घरमा पनि आक्रमण हुन्थे । त्यो त भएको छैन नि । बरु कांग्रेसकै निर्वाचित वडाध्यक्ष रामनरेश महतोजी घाइते हुनुभएको छ । प्रहरीको लापरवाहीले शान्ति सुरक्षा खलबलिएको छ । गाउँ पुरै आक्रान्त बनेको छ ।

गोली चलाउन हतियार कहाँबाट आयो ? जबकी घटनास्थलमा ४ वटा हतियार प्रयोग भएको छ । 

मैले यहाँ माओवादीलाई आरोप लगाएको होइन, प्रत्यक्षदर्शी नै छन् । घटनास्थलमा १ जनाको मृत्यू भएको छ भने ७ जना घाइते भएका छन् । घाइतेहरुलाई पनि गोलीको छर्रा लागेको छ । उहाँहरुलाई कसले आक्रमण गरेको छ भन्ने कुरा सबै थाहा छ ।

यहाँ नेपाली कांग्रेसले स्थानीय तहको वडाध्यक्ष देखि, प्रदेश सभा र केन्द्रीय सांसदसम्म जितेको छ । हर चिज कांग्रसले जितेको छ । कांग्रेसको पक्कड क्षेत्रमा माओवादीले आक्रमण गरेको हो ।
नेकपाका नेता कार्यकर्ताहरु श्रीनारायण राय, शुभनारायण राय, धर्मेन्द्र साह, नागेन्द्र राय र गजेन्द्र राय लगायतकाले घटना घटाएका हुन् । 
अब हामी वैठकबाट विभिन्न तहका आन्दोलनको घोषणा गर्ने छौँ । 

सरकारले मृतकलाई शहिद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार तथा अपराधीलाई तत्काल पक्राउ नगरे कडा संघर्ष गर्न बाध्य हुन्छौं ।

तत्कालिन माओवादी केन्द्रका जिल्ला सचिव राजकुमार यादव भन्छन्–


 


योजनाबद्ध ढंगले नेकपाले घटना घटाएको जुन आरोप लगाइएको छ त्यो सरासर झुट हो । रामनगर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष महतोले विगत केही महिनादेखि नै केही यूवाहरुको नागरिकताका लागि सिफारिस नदिदाँ सामान्य विवाद भएकै हो । करिब ४ महिनादेखि केहि यूवाहरुले नागरिकताको सिफरिसका लागि हारगुहार र आग्रह गर्दै आएका थिए । यूवाहरु आक्रोशित थिए ।

यूवाहरुले नागरिकता खोज्दा नदिने, तिनीहरुलाई बेवास्ता गर्दै जाने अनि माओवादी वा नेकपाका कार्यकर्ताले हत्या गर्यो भन्ने निराधार आरोप लगाउन पाइँदैन ।

 केही यूवाहरुको नागरिकताको सिफारिस नपाएको आक्रोशमा वडाध्यक्षमाथि पटक पटक दवाव बढाएकै हुन् । त्यसपछि बरु वडाध्यक्ष लगायतकाले आफ्नो शक्ति प्रदर्शन गर्दै विभिन्न यूवाहरुको घरमा पसेर धाकधम्की दिने काम गरेका हुन् । जसले गर्दा भिडन्तको अवस्था आयो । तर कसले हत्या गर्यो भन्ने कुराको खोजी त हुनुपर्छ । 

कांग्रेसले आफ्नो दम्भ देखाउँदै शक्तिको दुरुपयो गर्न थालेपछि हामीले सिडिओलाई पनि भन्यौं कि यसरी यूवाहरुले नागरिकताको लागि सिफारिस मागिरहँदा वडाध्यक्षले नदिएको अवस्था छ । तसर्थ तपाइँले नै पहल गर्नु पर्यो । होइन भने यसले पछि गम्भीर घटना पनि निम्त्याउन सक्छ भनेर भनेका थियौं । 

घटनामा दुबैतर्फबाट फायरिङ भएको थियो ।  कांग्रेसकै कार्यकर्ताले चलाएको बन्दुकको गोलीबाट रामविलाशको मृत्यु भएको हुनसक्छ । यसको पनि छानविन हुनुपर्छ । कसको गोलीबाट उहाँ मारिनु भयो त्यसको छानविन होस् । अनुसन्धान होस् ।

रामनगर गाउँपालिकाका स्थानीय रविन्द्र कुमार महतो (दीपक) भन्छन् (प्रत्यक्षदर्शी)

५ दिन पहिला कार्यालय जाने क्रममा स्थानीय उपेन्द्र यादव लगायत केहि व्यक्तिले दरबज्जा (दलान) मा वडा अध्यक्ष महतोलाई घेरे । सो क्रममा उनीहरु आक्रमणमा उत्रिँदा महतो घाइते हुनुभएको हो  ।

त्यसपछि उहाँ बेहोस भएपछि उनीहरुले मरिसक्यो भनेर त्यहाँबाट भागे ।

घटनाको अनुसन्धान भएन । अनि फेरि घटना घटेको २ दिनपछि विवादले उग्र रुप लियो । घरमा पनि आक्रमण भयो । एक दर्जन भन्दा बढी घरको छानो खपडा, टाली लगायतका तोडफोड भएको छ । 

ढुंगामुढा हानाहान पछि नेकपाका कार्यकर्ताले बन्दुक पड्काउन थाले । बन्दुक पड्किन थालेपछि घटनास्थलमै रामविलाश महतोको मृत्यू भयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप