केन्द्रीय संस्करण

बढे ‘डिर्भोस’ माग्ने पुरुष : श्रीमतीले दिनहुँ निहुँ खोज्ने, कुटपिट गर्नेसम्मका आरोप

person access_timeकात्तिक १६, २०७५ chat_bubble_outline0

काठमाडौँ । श्रीमतीले दिनहुँ झगडा गर्ने, माइतीमा गएर घर नफर्किने, बिदेशबाट पठाएको पैसा अरुसँग मिलेर मास्ने, परिवारको हेरबिचार नगर्ने जस्ता कारण देखाउँदै सम्बन्ध बिच्छेदका लागि अदालत जाने पुरुषहरुको संख्या बढिरहेको छ । 

गत भदौ महिनामा जिल्ला अदालतमा काठमाडौैंमा पुरुषबाट ९६ वटा र महिलाबाट ८७ वटा सम्बन्धबिच्छेदको मुद्दा दर्ता भएको थियो जसमा पुरुषको ९ वटा मुद्दा बढी थियो । 

मुलुकी ऐन संसोधन भएर गत भदौ १ गतेदेखि नयाँ संहिता कार्यान्यनमा आएसँगै सम्बन्धबिच्छेदका लागि मुद्दा दर्ता गर्नेमा पुरुष धेरै देखिएका हुन् । संहिता कार्यान्वयनमा आउनु पहिले श्रीमतीले जुनसुकै बेला सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गर्न सक्ने ब्यवस्था थियो भने पुरुषले निवेदन दिएर पनि १ वर्ष पर्खिनुपथ्र्यो । 

तर, नयाँ संहिताले सम्बन्धबिच्छेदका लागि महिला र पुरुषलाई एउटै प्रावधान राखेपछि जिल्ला अदालत काठमाडौंमा भदौंमा सबन्धबिच्छेदका लागि महिलाको तुलनामा पुरुषले बढी मुद्दा दर्ता गराएका थिए ।  

उदाहरण १ 

२०५७ सालमा हिन्दु ब्राह्मण केटा र मुस्लिम केटीबीच मुस्लिम परम्परा अनुसार अन्तरजातिय बिहे भएको थियो । यो बिचमा उनीहरुको एक छोरीको पनि जन्म भएको छ । गत असोज ११ गते उनीहरुको सम्बन्ध बिच्छेद भएको छ । 

सम्बन्ध बिच्छेदका लागि बादी रहेका केटाले श्रीमतीले माइतीको धाकधक्कु लगाउने, झैझगडा तथा कचिङ्गल गर्ने, छोरीलाई समेत लिई माइतीमा बस्ने आरोप लगाएका छन् । साथै अंश मुद्दा हाली छोरी र आफ्नो भागको सम्पतिसमेत लिई माइतीमा बस्ने गरेको र श्रीमतीबाट स्वतन्त्र भई जीवनयापन गर्न चाहेको भन्दै सम्बन्धबिच्छेदको मुद्दा दर्ता गराएका थिए । 

उदाहरण २  

अघिल्लो वर्ष साउनमा परम्परागत रुपमा बिहे गरेका एक जोडीले हालै सम्बन्ध बिच्छेद गरेका छन् । सम्बन्ध बिच्छेदका लागि विभिन्न कारण देखाउँदै केटाले मुद्दा दर्ता गरेका थिए । 

उनले श्रीमतीले घर परिवारप्रति दर्शाउनुपर्ने न्यूनतम संस्कार समेतलाई लत्याई रहने, स–सना कुरामा पनि झैझगडा, कुटपटि गर्ने, बाबुआमालाई गालीगलौज गर्ने, सम्पर्कविहीन भएर बस्ने बानीले आजित भएको, श्रीमतीले शारिरीक तथा मानसिक रुपमा पीडित बनाएको, पति–पत्नी काजगमा मात्रै सिमित रहेको भन्दै सम्बन्धबिच्छेदको लागि निवेदन मुद्दा दर्ता गरेका थिए । 

उदाहरण ३ :

यस्तै २०६२ सालमा बिहे गरेका एक जोडीले पनि हालै सम्बन्ध बिच्छेद गरेका छन् । सम्बन्ध बिच्छेदका लागि निवेदन दर्ता गराएका पुरुषले छोरीको जन्म भएपछि आफू बैदेशिक रोजगारीमा गएको, विदेशबाट फर्केर आएपछि माइतबाट फर्केर नआएको, माइतीमा लिन जाँदा पनि कुनै हालतमा घर जान्न, छोरी पनि तिमीसँगै राख, तिम्रो घर आउँदिन तिमी जे मन लाग्छ त्यही गर्नु मलाई मतलब छैन भन्दै झगडा गर्ने गरेको, मानसिक रुपमा तनाव दिने, मेलमिलाप हुने सम्भावना अत्यन्त कम भएको, छोरीको शिक्षा, स्वास्थ्य, सुरक्षा र लालनपालन गर्नु पाउँ भन्दै श्रीमतीसँग सम्बन्धबिच्छेदका लागि निवेदन दर्ता गराएका थिए । 

उदाहरण ४ :

२०६७ सालमा बिहे गरेका अर्का जोडीको पनि गत असोज ७ गते जिल्ला अदालत काठमाडौंमा सम्बन्धबिच्छेद भएको छ । श्रीमतीसँग सम्बन्ध बिच्छेदका लागि निवेदन दिएका ती पुरुषले छोरीको जन्म भएपछि श्रीमतीको व्यवहारमा अचानक परिवर्तन आएको, दिनुहुँ निहुँ खोज्ने गरेको राम्रोसँग नबोल्ने, झै झगडा मात्र गर्ने गरेकोमा पछि आफूखुसी डेरा लिई एक्लै बसेको, विवाहित श्रीमतीले श्रीमानप्रति पूरा गर्नुपर्ने दायित्व पूरा नगरेको, जीवनमा थप जटिलता आएको भन्दै श्रीमतीसँग अलग रहन चाहेको भन्दै सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएका थिए । 

सम्बन्धबिच्छेदका लागि पुरुषले दिएको निवेदनमाथि काठमाडौं जिल्ला अदालतबाट फैसला भएका माथिका घटना केही प्रतिनिधी उदाहारणहरु मात्र हुन् । नयाँ संहिता लागू भएपछि काठमाडौं जिल्ला अदालतमा गएको भदौ महिनामा महिलाको निवेदनको तुलनामा पुरुषको ९ वटा निवेदन बढी थियो । साथै अदालतले दिएको आँकडा अनुसार अघिल्लो वर्षको तुलनामा श्रीमान श्रीमतीबिच सम्बन्धबिच्छेदको घटना दर बढिरहेको छ । 

काठमाडौंमा कतिले गरे सम्बन्ध बिच्छेद ? 

गएको बर्ष काठमाडौं जिल्ला अदालतमा ३ हजार ५ सय २ सम्बन्ध बिच्छेदको मुद्दा दर्ता भएको थियो भने २८ सय ७३ फछ्र्यौट भएको र ६ सय २९ फैसला हुन् बाँकी रहेको अदालतको आँकडाले देखाएको छ । अघिल्लो वर्षको तुलनमा सो आँकडा ८ सय बढेको हो । अघिल्लो वर्ष भने २८ सय ९५ सम्बन्ध बिच्छेदको उजुरी परेको थियो । 

यस्तै आर्थिक बर्ष २०७२/७३ मा २४ सय ५१ उजुरी परेको थियो भने २०७१/७२ मा २२ सय ५६ उजुरी परेको थियो । 

यस्तै यसबर्षको साउनमा ४ सय ६३ वटा सम्बन्धबिच्छेदको मुद्दा दर्ता भएको थियो । 

भदौ १ गतेदेखि नयाँ मुलुकी संहिता जारी भएपछि नयाँ प्रावधानका कारण काठमाडौंमा सम्बन्ध बिच्छेदको घटनामा भने कमी आएको छ । यसअघि जुनसुकै स्थानमा बसोबास गर्नेले जुनसुकै अदालतबाट पनि सम्बन्ध बिच्छेद गर्न पाउने व्यवस्थाका कारण काठमाडौंमा मुद्दाको चाप धेरै थियो । अहिले काठमाडौंमा स्थायी बसोबास गर्ने वा स्थायी बसोबास गरेको प्रमाणका आधारमा मात्र मुद्दा दर्ता हुन्छ । 

नयाँ संहिता लागू भएपछि श्रीमानले पनि सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गर्न पाउने भएपछि काठमाडौंमा पनि सम्बन्धबिच्छेदका लागि मुद्दा दर्ता गराउने पुरुष धेरै रहेका छन् । काठमाडौैँमा भदौमा केटाबाट ९६ वटा सम्बन्धबिच्छेदको निवेदन दर्ता भएको र केटीबाट ८७ वटा मुद्दा दर्ता भएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता मदन भट्टराईले रातोपाटीलाई जानकारी दिए । यस्तै असोज १५ गतेसम्म केटाबाट २४ र केटीबाट ४५ मुद्दा दर्ता भएको अदालतको आंकडा छ । 

सम्बन्धबिच्छेदपछि अंश लिने महिला घटे
श्रीमान श्रीमतीबिच सम्बन्ध बिच्छेद हुँदा महिलाले श्रीमानको अंश वा सम्पतिमाथि दावी छोड्दै गएका छन् । अंश लिएर सम्बन्ध बिच्छेद गर्ने थोरै मात्र रहेको अदालतका कर्मचारी बताउँछन् । पछिल्लो समय शिक्षित महिला बढ्दै गएको, आर्थिक रुपमा महिला सक्षम तथा आत्मनिर्भर भएका कारण महिलाले पुरुषको सम्पत्तिमाथिको दावी छोड्दै गएको समाजशास्त्री गुमानसिंह खत्री बताउँछन् । सम्बन्धबिच्छेदका क्रममा पुरुषलाई पहिले आर्थिक भार पर्ने गरेपनि अहिले महिलाहरु सक्षम बन्दै गएपछि अधिकांश सम्बन्ध बिच्छेदका मुद्दामा पुरुषले आफ्नो सम्पत्ति गुमाउनुपर्ने स्थिति हटेको हो । अदालतमा भएको श्रीमान श्रीमतीबीचको सम्बन्ध बिच्छेदको मिलापत्रमा पनि अधिकांश महिलाले अंश नलिई सम्बन्ध बिच्छेद गरेका छन् ।   

किन हुन्छ सम्बन्धबिच्छेद ? 
सम्बन्धबिच्छेदको साझा कारण घरायसी पारिवारिक मनमुटाव रहेको छ । एक अर्कासँग मन नमिल्नु, बिचार नमिल्नु, अन्तरजातिय विवाह, बैदेशिक रोजगारी जस्ता कारणहरु हुन् । 

सम्बन्ध बिच्छेदको घटना बढ्नुलाई नेपाली समाजमा आएको अन्र्तराष्ट्रिय परिवर्तनको प्रभावका रुपमा समाजशास्त्रीहरुले लिएका छन् । पूराना मूल्य मान्यता परिवर्तन भई समाजमा आएको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक परिवर्तनको प्रभाव भएको समाजशास्त्री गुमानसिंह खत्री बताँउछन् ।

समाजशास्त्री खत्रीकै शब्दमा सम्बन्धबिच्छेदको सामाजिक कारण :

पहिले विवाह भनेको बलियो र स्थायी संस्थाको रुपमा बुझिन्थ्यो । बाउ आमाले राजेको केटा वा केटीसँग विहे गर्ने, आफ्नो अनुसार जात मिलाउनुपर्ने, थर मिलाउनुपर्ने, पारिवारिक हैसियत मिलाँउनुपर्ने र यसरी गरिएको बिहे थोरै अवधीका लागि मात्र हैन सात जुनीसम्म संगै बाँच्ने, सँगै मर्ने कसम खाएर अग्निकुण्डलाई साक्षी राखेर गरिन्थ्यो । अहिले त्यो मूल्य मान्यतामा परिवर्तन आयो । 

अहिले बिहे भनेको आफूलाई मन पर्ने व्यक्तिसँग गर्ने, आफ्नो चाहना मिल्ने, आफ्नो उद्देश्य मिल्नेसँग बिहे गर्ने हो । पहिला बिचमा समाज हुन्थ्यो, पहिले बिहे गर्न समाजको स्वीकृती, त्यो जातको स्वीकृति आवश्यक थियो । त्यो विवाह कसरी अगाडि बढिरहेको छ भनेर पनि समाजले हेथ्र्यो र त्यस्तो बिहे बलियो पनि हुन्थ्यो । 

अहिले आफूले मन परेको बिहे गर्ने, परिवारले के सोच्छ भन्ने कुरा पनि गौण हुँदै गयो । आफ्नो चाहनाका आधारमा केटा वा केटीले छिनोफानो गर्ने चलन शुरु भयो । पहिले परिवारले के भन्ला, समाजले के भन्ला भन्ने डर मान्नुपथ्र्यो, अहिले डर मान्नु परेन । कहिलेसम्म दुई जनासँगै बस्ने भन्ने कुरा जबसम्म मन मिल्छ, जहिलेसम्म भावना मिल्छ त्यो बेलासम्म बस्ने हुन्छ । 

नेपाली समाज अहिले कता गइरहेको छ भने पहिला सामुहिकताको बारेमा सोच्ने, अहिले आफूलाई के ठिक लाग्छ त्यही गर्ने, विचार मिल्दासम्म सँगै बस्ने विचार मिल्न छोडेपछि छुट्टिने तरिकाले समाज अघि बढेकोले सम्बन्ध बिच्छेदको घटना पनि बढिरहेको छ । 

पहिला महिलाहरु आर्थिक हिसाबले पुरुषमाथि निर्भर हुनुपथ्र्यो । पुरुषहरु कमाएर ल्याउने महिलाहरु घरमा बस्ने हुँदा महिलाहरु आर्थिक रुपमा कमजोर थिए । अहिले महिलाहरु अलि बढि शिक्षित भएको, आर्थिक रुपमा पनि अलि बढी सशक्त भएको, विभिन्न खालका आर्थिक गतिविधी गरेर आयआर्जनको काम गरी आफ्नै खुट्टामा उभिन सफल भएका छन् । विभिन्न महिला आन्दोलन र शिक्षाका कारण महिलामा चेतनास्तर बढ्दै गएको छ जसका कारण पुरुषबिना पनि म बाँच्न सक्छु भन्ने महिलामा आत्मबल बढ्दै गएको छ । त्यसकारण पनि पहिला जस्तो हेपिएर, दबिएर नबसेर बैवाहिक सम्बन्धमा बसिरहनुपर्छ भन्ने महिलाहरुलाई छैन । यसकारण पनि महिलाहरुले सम्बन्ध बिच्छेदको बाटो रोजिरहेको देखिन्छ । 

अर्को महत्वपूर्ण कुरा के देखिन्छ भने अत्यन्तै कम उमेरमा गरेको बिहेमा सबन्धबिच्छेद भएको देखिन्छ । यसको कारण कम उमेरमा प्रेम विवाह गर्दा भावना हो कि प्रेम हो नबुझी बिहे गर्ने, पछि बिहे पछिको दायित्व बहन गर्न नसक्ने, उमेर बढ्दै गएपछि व्यक्तिको चाहना, भावना फरक हुँदै जान्छ त्यस्तो अवस्थामा पनि सम्बन्ध बिच्छेद हुँदो रहेछ । 

यस्तै सम्बन्ध बिच्छेदका लागि पुरुषहरु धेरै हुनुको पछाडि अहिले आएको कानुनको प्रभावको रुपमा बुझ्नुपर्छ । पहिला पुरुषहरुलाई सम्बन्ध बिच्छेदका लागि महिलालाई भन्दा तुलनात्मक रुपमा गाह्रो थियो । पहिले महिलाले सिधै अदालत गएर सम्बन्ध बिच्छेद गर्न सक्ने व्यवस्था थियो भने पुरुषले समाजमा छलफल गर्नुपर्ने, गाविस कार्यालयमा जानुपर्ने, गाविसमा पनि नभएपछि धेरै समय लगाएर अदालतमा पठाँउथ्यो । गाबिसको सिफारिस पछि मात्र अदालतमा गएर सम्बन्ध बिच्छेदको प्रस्ताव मात्र गर्न सक्थ्यो । सम्बन्ध बिच्छेद गर्दा उसलाई आर्थिक भार पनि पथ्र्यो । 

महिलालाई जीवनभर बाँच्नका लागि मानाचामल भर्नुपथ्र्यो । त्यतिबेलाको समाज र कानुनले पुरुषलाई सम्बन्ध बिच्छेद गर्नबाट निरुत्साहित गरेको थियो । अहिलेको कानुनले बाटो खुला गरेपछि श्रीमतीसँग बेमेल भई बसेका पुरुषहरु पनि सम्बन्ध बिच्छेदका लागि अदालत गएपछि यसको संख्यामा बढोत्तरी आएको छ । 

समाजमा कस्तो प्रभाव पर्छ ?

सबैभन्दा महत्वपूर्ण कुरा पारिवारिक संरचना र सम्बन्धमा विखण्डन आँउछ । पारिपारिक सम्बन्ध टुक्रिने भयो । पहिला जे भएपनि मिलेर बस्नुपर्छ, एकजुट भएर बस्नुपर्छ भन्ने हुन्थ्यो अब त्यो नरहने भयो । 
अर्को चाहीँ विवाहको मान्यता भत्किने भयो । पहिला जसरी बिहे सात जन्मका लागि भनिन्थ्यो त्यो नरहने भयो । त्यो मान्यतामा परिवर्तन आउने भयो । यस्तै सामुहिकता भन्दा पनि ब्यक्तिवादिता बढेर जाने भयो । 
यसको प्रभाव बालबालिकामा पनि देखिने भयो । महिलाहरु पनि आत्मनिर्भर बन्दै गएकोले यसको असर उनीहरुमा पनि त्यति पर्दैन तर आर्थिक अवस्था कमजोर भएका महिलाहरु भोलि आर्थिक चपेटा, गरिबीमा पर्न सक्छन् । 

बाबुआमाबीचमा सम्बन्ध बिच्छेद भएपछि बालबालिकाको समग्र विकासमा असर पर्छ । उनीहरुको शिक्षामा, भावानात्मक विकासमा, बाबुआमा छुट्टाछुट्टै बसेपछि उनीहरुको व्यक्तित्व विकासमा, उनीहरुको प्रगतिमा यसले बाधा उत्पन्न गर्छ । पछि गएर मानसिक समस्या आँउने, डिप्रेशनमा पर्ने समस्या पर्छ ।  


 
 
 

शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ