शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महासमिति बैठक र हिन्दुराष्ट्र

शुक्रबार, १६ कात्तिक २०७५, १३ : २२
शुक्रबार, १६ कात्तिक २०७५

लामो समयको अन्तरालपछि काङ्ग्रेस महासमिति बैठक मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । अहिले काङ्ग्रेस पार्टी महासमिति बैठकको तयारीमा जुटिसकेको छ । विभिन्न प्रतिवेदन, दस्तावेज बनाउन जिम्मेवारी पाएका नेताहरू दस्तावेज लेखनमा व्यस्त छन् । 

७० सालको निर्वाचन पूर्वनवलपरासीको त्रिवेणीमा आयोजना भएको महासमिति बैठकपछिको यो अर्को बैठक हो । हुन त काङ्ग्रेसको विधानमा प्रत्येक वर्ष महासमिति बैठकको आयोजना हुने भनिएको छ तर यो काम नेपाली उखान ‘जुन जोगी आए नि कानै चिरिएको’ भनेजस्तै भइरहेको छ अर्थात् जुन नेतृत्व आए पनि वर्षैपिच्छे कसैले पनि विधान अनुसार महासमिति बैठक आयोजना गरेको छैनन् । काङ्ग्रेसको सङ्गठन कमजोर हुनु वा गत सम्पन्न निर्वाचनमा दोस्रो पार्टीका रूपमा खुम्चिनु पनि विधानतः काम नहुनु नै हो । विधान अनुसार काम हुने भए कार्यकर्ता बेरोजगार हुँदैन थिए । सङ्गठन पनि तन्दुरुस्त हुन्थ्यो । अहिले सङ्घीय ढाँचाअनुसार काङ्ग्रेसको सङ्गठन विस्तारका निम्ति विधानको समेत पुनर्लेखन भइरहेको छ । 

महासमितिलाई काङ्ग्रेसको संसद्का रूपमा लिइन्छ, यहाँबाट अर्थात् महासमितिबाट पारित भएको हरेक दस्तावेज विधान कार्यान्वयनमा आउँछ । व्यवस्थापिका संसद्को जस्तै काङ्ग्रेसको महासमिति बैठकले नेतृत्व चयन बाहेकका अधिकांश काम गर्न पाउँछ । काङ्ग्रेस महासमितिमा महासमितिका सदस्यहरूले विभिन्न मुद्दाको उठान गर्ने गर्छन । पार्टीको तर्फबाट प्रस्तुत मस्यौदा, धारणा आदिको छलफल गरेर त्यसको निक्र्यौल निकाल्छन् । महासमिति सदस्यहरूले पनि यहाँ आफ्ना मुद्दाको उठान गर्छन् र निर्णयार्थ प्रस्तुत गर्छन् । काङ्ग्रेस महासमिति बैठकको चर्चासँगै महासमिति बैठकभित्र उठ्ने सम्भावित मुद्दामध्ये एक हो हिन्दु राष्ट्र नेपाल ।
 
हिन्दुराष्ट्र नेपाल
गौरवमय इतिहास रहेको मुलुक हो नेपाल । धार्मिक अखण्डता, भौगोलिक अखण्डता, धार्मिक सहिष्णुता, आपसी मेलमिलाप नेपालको पहिचान हो । अझ यो पहिचानलाई गोलबद्धरूपमा राख्न नेपालको ऐतिहासिकतालाई जोगाउन वैदिक सनातन हिन्दुराष्ट्र नेपाल आजको आवश्यकता हो । सत्य, त्रेता, द्वापर र कलियुगको तपोभूमि हो नेपाल । वैदिक कालमा ऋषिमहर्षिको तपोभूमि हो नेपाल । वैदिक धर्मको अखण्ड प्रचारक भूमि हो नेपाल । वेद, पुराण, उपनिषद्, गीता, आदि दर्शनले भरिपूर्ण भूमि हो– नेपाल ।

विश्वका विकसित राष्ट्रहरूले समेत आफ्नो पहिचान र राष्ट्रिय एकता र अखण्डताको प्रमुख आधारका रूपमा स्वीकारेको मौलिक धर्मको सम्मानपूर्वक संरक्षण गरिरहेका छन् ।

आज पनि हामीले हाम्रो पहिचानको रक्षा गर्न सकेनौँ भने भावि पुस्तालाई हामी के दिने ? के हस्तान्तरण गर्ने गम्भीर विषयको उठान भएको छ ।

आफ्नो जनसङ्ख्याको ७५ प्रतिशत जनता यहुदी भएको इजरायलले आफूलाई यहुदी राष्ट्र घोषणा गरेको छ । विश्वमा प्रजातन्त्रको जननी मानिएको देश बेलायतको २०११ को जनगणनाअनुसार त्यहाँ क्रिस्चियनहरूको जनसङ्ख्या ५९ प्रतिशत मात्र भए पनि हरेक हिसाबले त्यो देशलाई क्रिस्चियन राष्ट्र मानिन्छ । त्यहाँका प्रमुख दलका नेता र  प्रधानमन्त्रीले बेलायत इसाई राष्ट्र हो भन्ने कुरालाई सगौरव प्रस्तुत गर्छन् ।

विश्वमा आज पनि ७१ देश क्रिस्चियन, ५४ देश इस्लाम, ९ देश बुद्धिष्ठ र एक यहुदी धर्मलाई राष्ट्रिय धर्मका रूपमा स्वीकारेका गरेका मुलुकहरू छन् । 

यसबाट नेपालले पनि पाठ सिक्न जरुरी छ । ९४ प्रतिशत जनसङ्ख्या ॐ कार परिवारका रहेका छन् । विश्वका माथिका उदाहरण हेरेर भए पनि नेपाल हिन्दुराष्ट्रको पथमा उभिन आवश्यक छ । विश्वको एक मात्र हिन्दुराष्ट्र भनेर विश्वसामु परिचय दिन आवश्यक छ । आफ्नो धर्म, संस्कार र संस्कृतिको रक्षा सबैको दायित्व हो ।

काङ्ग्रेस महासमितिमा हिन्दुराष्ट्र
महासमिति बैठकमा उठ्ने मुद्दाहरूमध्ये एक हिन्दुराष्ट्र गम्भीर मुद्दा हो । सम्भवतः महासमिति बैठकमा हिन्दुराष्ट्रको मुद्दा प्रस्तुत भएर पारित हुन्छ । त्यही बैठकमा राज्यको धर्म हुँदैन भनेर तथानाम भन्नेहरू पनि हुन्छन् । काङ्ग्रेसको वर्तमान समयमा सङ्ठन निकै धरासही रहेको छ । यस्तो अवस्थामा काङ्ग्रेसले आफ्नो सङ्गठन बलियो बनाउने समयमा गुटगत लडाइँमा रुमलिरहेको छ । यो बैठक मार्फत काङ्ग्रेसको आन्तरिक लडाइँ समाप्त गरेर सुदृढ काङ्ग्रेस बनाउने बाटोमा अग्रसर हुनुपर्छ । काङ्ग्रेस भित्र पनि हिन्दुराष्ट्रको मुद्दा बारमबार उठिरहने गर्छ । स्वर्गीय खुमबहादुर खड्काले लिखित रूपमै केन्द्रीय समितिमा पेश गरेका थिए । महामन्त्री सशांक कोइरालाले हिन्दुराष्ट्रको मुद्दा र बीपी पुत्र भएकै कारण महामन्त्री पद हात पार्न सफल भएका हुन् । खुमबहादुर खड्काको निधनपश्चात डा. शेखर कोइरालाले शोकसभामा खुमबहादुरको मुद्दा म ग्रहण गर्छु भन्नुलाई अर्थपूर्ण रूपमा हिन्दुत्वको मुद्दालाई लिनुपर्छ । 

काङ्ग्रेस महामन्त्रीले एक कार्यक्रममा अब हिन्दुराष्ट्रको मुद्दा उठान गर्ने समय भएको बताउनुले पनि आगामी महासमितिमा ठूलो भूमिका निर्वाह हुनेछ । तर महामन्त्री जतिको मान्छेले बाहिर भन्नुभन्दा पनि खुमबहादुर खड्काले जस्तै केन्द्रीय समितिमा लगेर पारित गर्नतर्फ लाग्नु पर्छ । अहिले कम्युनिस्ट बलमा सत्तामा पुगेकाहरू पनि शक्तिपीठको दर्शनमा लागिरहेका छन् । तर धर्म र संस्कृतिका सबै पक्षलाई सौहार्द व्यवहार प्रदर्शन गर्ने काङ्ग्रेस पनि कम्युनिस्टको पथमा उभिनु निकै दुखद् विषय हो । काङ्ग्रेसको मत कहिले राप्रपाले त कहिले विवेकशील साझाले मत काटिरहेको अवस्थामा काङ्ग्रेसले आफ्नो मत जोगाउन र जनताको मनमनमा पुग्न हिन्दुराष्ट्रको मुद्दा आधिकारिक रूपमा उठान गर्न आवश्यक छ । नेपालको अखण्डता र सार्वभौमिकतालाई अक्षुण्ण राख्न हिन्दुराष्ट्रको मुद्दा आवश्यक छ । काङ्ग्रेसभित्र शक्ति केन्द्रलाई रिजाउन र तराई मूलबाट प्रतिनिधित्व गर्ने सदस्यहरूलाई आफ्नो पक्षमा पार्न मात्र यो मुद्दाको उठान नहोस् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशान्त आचार्य
सुशान्त आचार्य
लेखकबाट थप