बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

'डेट जान उनले मान्लिन् जस्तो लाग्दैन'

शुक्रबार, १६ कात्तिक २०७५, १३ : ०६
शुक्रबार, १६ कात्तिक २०७५

काठमाडौं । स्ट्यान्डअप कमेडीमार्फत दर्शकको मन जित्न सफल टेलिभिजन कलाकार हुन् सन्दीप क्षेत्री । उनी पछिल्लो समय लगातार चलचित्रमा देखिँदै आएका छन् । रेडियोको आरजे हुँदै टेलिभिजनमा प्रवेश गरेका उनी टिभी सो ‘द फ्लप सो’मार्फत चिनिएका हुन् ।

उनको यो सो अहिले कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको छ । ‘सिग्नेचर’, ‘हाइवे’, ‘छ एकान छ’, ‘रेड मनसुन’, ‘उत्सव’, ‘भाले फाइट’, ‘अमेरिकन ब्वाइज’ अभिनय गरेका उनको पछिल्लो चलचत्रि ‘चङ्गा चेट’ आजबाट प्रदर्शनमा आएको छ । दीपेन्द्र के खनाल निर्देशित ‘चङ्गा चेट’को प्रदर्शनपछि आफ्नो अभिनय  जीवनमा कायापलट आउने उनी बताउँछन् । यिनै कलाकार सन्दीपसँग रातोपाटीको दश प्रश्न ।

‘चङ्गा चेट’ आजबाट प्रदर्शनमा आएको छ, कस्तो अनुभव भइरहेको छ ?
– एकदम एक्साइटेड छु । यो चलचित्रले ठूलो पर्दामा मलाई राम्रोसँग देखाउँछ । यो चलचित्र मेरो अभिनय जीवनकै ट्रनिङ प्वाइन्ट बन्छ भन्ने विश्वासमा छु ।

हिरो बन्ने रहर सानैदेखि थियो त ?
– थियो नि । सानोमा मिथुन चक्रवर्तीको फिल्म हेर्दा मिथुन पर्दामा नाच्ने, म साइडमा हलमा नाच्ने गर्दथेँ । म जहिले पनि बुबाआमालाई मेरो डान्स हेर्न बाध्य तुल्याउँथे । अभिनय गर्ने, खुलेर नाच्ने इच्छा अहिले ‘चङ्गा चेट’ चलचित्रले पुर्याएको छ । कलाकार बन्ने इच्छा सानैदेखि थियो ।

आफूलाई हिरो कसरी देखाउनु हुन्छ ?
– पहिले पहिले हिरो भन्ने बितिकै ६ फिट हाइट, अजङ्ग शरीर हुनुपर्छ जस्तो लाग्थ्यो । अहिले नेपाली चलचित्र हेर्ने दर्शक नै राम्रो छन् । चलचित्रको प्रस्तुति राम्रो हुने गरेका छन् ।
दर्शकले दयाहाङ र सौगात नाचेको मन पराइरहनु भएको छ । यस्तै भीडमा म पनि ठीकै छु । मेकअपको कुरा गर्ने हो भने फेसमा फेसवास कहिलेकाहीँ लगाउँछु । 

आफूलाई फिट कसरी राख्नु हुन्छ ?
– हो, यो मामलामा म अलि सजक छु । आफूलाई फिट राख्न बिहानको एक दुई घण्टा टेनिस र ब्याडमिन्टन खेल्छु ।

फेसनतिर रुचि होला नि ?
– आफूलाई सुहाउँदो पहिरन लगाउन रुचाउँछु । पहिरनमा यो भन्ने छैन । सबैथोक लगाउँछु । मैले नलगाएको भनेको हिपअप पहिरन होला । हिपअप लगाउन गाह्रो लाग्छ । 

पूरा नभएका सपना ?
–म पूरा नभएको सपना पाल्नेभन्दा पनि पूरा भएको सपनामा रमाउने मानिस हुँ । सन्तुष्ट हुनु पनि सफलताको मुख्य प्वाइन्ट हो भन्ने मलाई लाग्छ । सन्तुष्ट हुनु भनेको रोकिनु होइन । जे पाएको छ । त्यसमा खुसी भएर अरू चीजको लागि काम गर्नुपर्छ । म अहिले जे गरिरहेको छु, आफ्नै सपनामा बाँचिरहेको छु ।

तपाईंको कलाकारिता आमाबुबाको चाहना थियो त ?
आमाबुबाले जहिले पनि कलाकार बनोस् भनेर मलाई  आशीर्वाद दिनुहुन्थ्यो । अहिले कलाकार भइसकेपछि आमाले भन्नु हुन्छ । तँलाई कलाकार बन्न नदिएको भए हामीलाई ठुलो पाप लाग्थ्यो । मेरो कलाकार बन्छु भन्ने सपनाभन्दा पनि मेरा आमाबुबाको यो कलाकार बन्दियोस् भन्ने सपना थियो । 

कलाकारिताको पहिलो कमाइ के गर्नुभयो ?
अहिले पनि कलाकारिताबाट कमाएको पैसा सबै आमाबुबालाई लगेर दिने हो । चाहेको बेला फेरि माग्ने हो । पहिलो कमाइ पनि आमालाई दिए होला ।

मनपर्ने गीत सङ्गीत ?
हरेक किसिमको गीत सङ्गीत मनपर्छ । मन खुसी भएको बेलामा धुन सुन्छु । मन दुःखी भएको बेलामा शब्द सुन्छु । 

मनपर्ने युवती ?
आफ्नै श्रीमती समीक्षा पोखरेल सारै मनपर्छ । जीवन पनि उनीसँग नै बिताउने हो ।

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?
– बलिउडको अभिनेत्री दीपिका पादुकोण मनपर्छ । मानिन् भने उनीसँग जान चाहन्छु । डेट जान उनले मान्लिन् जस्तो लाग्दैन । हा हा हा..।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप