शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३९ राजनीतिक नेताको ‘फिटनेस’ शैली

शुक्रबार, १६ कात्तिक २०७५, ११ : ५४
शुक्रबार, १६ कात्तिक २०७५

भनिन्छ, ‘स्वास्थ्यभन्दा ठूलो सम्पत्ति अरू हुनै सक्दैन ।’ यो भनाइसँग असहमत हुने सायदै भेटिएलान् । आफू स्वस्थ रहन जोकोहीले केही न केही गरिरहेका हुन्छन् । रोग लाग्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हुन्छ भन्ने उखान छ । रोग लाग्न नदिन र लागिसकेका नेताले आफूलाई स्वस्थ राख्ने के–के गरेका होलान् ? प्रस्तुत आलेखमा ३९ जना राजनीतिक नेताको ‘फिटनेस’ सम्बन्धी चर्चा गर्ने प्रयास गरिएको छ । 

मोहनविक्रम सिंह, मसाल महामन्त्री 
दैनिक डेढ घन्टा ध्यान, आसन र योगा गर्छु । मधुमेह भएकाले खाना बार्दै आएको छु । मन परे पनि मर्निङवाक निस्कन्न । मर्निङवाक निस्केपछि थकाइ लाग्छ । थकाइ लागेपछि लेखपढमा असर गर्छ । 

भरतमोहन अधिकारी, पूर्वउपप्रधानमन्त्री
बिहान–बिहान सामान्य शारीरिक अभ्यास गर्छु । धेरैजसो हिँड्छु । बाहिर नसके घरभित्रै हिँड्ने गर्छु । चिसोबाट बच्नुपर्ने भएकाले मर्निङवाक निस्कन्न । घरवरिपरि टहलिन्छु ।

नारायणमान बिजुक्छे, अध्यक्ष, नेमकिपा
पहिले शारीरिक अभ्यास गर्थें । हिजोआज छुटेको छ । ‘मर्निङवाक’ निस्कन छाडेको पनि वर्ष दिन भइसक्यो । घुँडामा समस्या देखिएपछि थेरापी गर्दै आएको छु । 

लीलामणि पोखरेल, पूर्वसांसद 
पहिले–पहिले बढी हिँड्थें । हिँड्नु नै ‘फिटनेस’ भइसकेको थियो । हिजोआज ‘मर्निङवाक’ निस्कने, शारीरिक अभ्यास गर्ने गर्छु । अलि अघि प्राणायाम गर्थें । ‘डाइट कन्ट्रोल’ गर्ने बानी छैन । घरमा आलोचना पनि यसमै हुन्छ । योगा गर्दिनँ । 

अशोक राई, वरिष्ठ नेता, ससफो
चिकित्सकले बिहान एक–डेढ घन्टा हिँड्न सुझाएका छन् । उमेर र रोगका कारण स्वतः ‘डाइटिङ’ गर्नुपर्ने अवस्था आउँदोरहेछ । उमेर भन्नाले रुचि कम हुने, पाचन शक्तिसमेत कमजोर हुँदै जाने र रोग देखिएपछि चिकित्सकले यो वा त्यो खान हुँदैन भन्ने गर्छन् । त्यसैले खानामा नियन्त्रण गर्नुपर्ने रहेछ । 

मैले अहिलेसम्म योगा गरेको छैन । पहिले गरे पनि अहिले मर्निङवाक छुटेको छ । अब केही न केही गर्नैपर्ने भएको छ । 

सीपी मैनाली, महासचिव, नेकपा माले 
घाम लागिसकेपछि ‘वाक’ मा निस्कन्छु । घाम लागिसकेपछि ‘वाक’ गर्दा थोरै हिँडे पनि पसिना आउँछ । ‘वाक’ गर्दा चंगा अनुभूति हुन्छ । एकताका ट्रेडमिलमा दौडन्थे । अहिले छैन ।

गिरिराजमणि पोखरेल, मन्त्री 
बिहान दुई घन्टा योगा गर्छु । ०६२ मा दुर्घटनामा परेर पुनर्जीवन पाएको व्यक्ति हुँ । २६ ठाउँमा चोट लागेको थियो । उठ्न ६ महिना लाग्यो । उठेपछि आन्दोलनमा हिँडें । म पहिल्यै योगा र विपश्यनासँग गाँसिएको थिएँ । साहित्यकार डीआर पोखरेलको सानिध्यतामा विपश्यनाबारे बुझ्ने मौका पाएँ । 

दुर्घटनामा पर्नुअघि योगा सिक्दै र सिकाउँदै आएको थिएँ । कम्युनिस्ट पार्टी संस्थापक नरबहादुर कर्माचार्य हाम्रो कोठामा आउँथे । उनलाई एक दिन खुट्टामा समस्या भयो । मैले योगाको एक–दुई तरिका सिकाएँ । त्यसले उनलाई राम्रो गरेछ । कमाचार्यले मेरो नामै ‘योगराज’ राखिदिएका थिए । 

दुर्घटनामा परेपछि पद्मासनमा समेत बस्न नसक्ने भएको थिएँ । ०६८–६९ पछि फेरि थेरापीका माध्यमबाट आएँ । दुर्घटनाका कारण बनेको शरीर, पेटका समस्या, मन्त्री भएपछि डाइबिटिज भयो । हिजोआज बिहान दुई र बेलुका एक घन्टा योगा गर्छु । खानेकुराप्रति सचेत छु । मधुमेह भएकाले डाइटिङ गर्नै मिल्दैन । पहिले तीनपटक खान्थें, अहिले ६ पटक खानुपर्छ । 
पहिले मर्निङवाक निस्कन्थें । म चढेको गाडीमाथि आक्रमण भएकाले सुरक्षाका साथीहरूले सुझाएपछि त्यसको विकल्प योगामा खोजेको छु । 

शेरधन राई, मुख्यमन्त्री 
मन्त्री हुनुअघि क्लब जान्थें । डेढदेखि दुई घन्टासम्म शारीरिक अभ्यास गर्थें । शरीर बनाउनुभन्दा ‘मेन्टेन’ मा ध्यान दिन्छु । त्यसैले होला, धेरैले मेरो ‘फिजिकल आउटलुक’ प्रति सकारात्मक टिप्पणी गर्ने गरेका छन् । मन्त्री भइसकेपछि क्लब जान पाएको छैन । शारीरिक अभ्यासका लागि चाहिने एक सेट सामान व्यवस्था गरेको छु । दैनिकजसो घरमै डेढ–दुई घन्टा शारीरिक अभ्यास गर्छु । 
खानेकुरामा त्यत्तिकै सचेत छु । चिल्लो, पिरो र अमिलो खानेकुरा खाँदै खान्न । मर्निङवाक गरेर क्लब जाने बानी थियो, त्यो छुटिरहेको छ । 

डा. मीनेन्द्र रिजाल, सांसद 
शारीरिक अभ्यास नियमित गर्न छुटेको तीन वर्ष भयो । शारीरिक अभ्यास नियमित नहुँदा पाँच किलो तौल बढेको छ । नयाँबानेश्वर बस्दा ‘हेल्थ क्लब’ जान्थें । टेनिस खेल्थें । बालुवाटार सरेपछि होटल र्याडिसन पुग्थें । हिजोआज छुटेको छ । नयाँ ठाउँ खोज्दै छु । 

ट्रेडमिलमा नियमितजसो दौडिइरहेको छु । 

अग्नि सापकोटा, पूर्वमन्त्री 
प्रत्येक बिहान कम्तीमा आधा घन्टा शारीरिक अभ्यास गर्छु । ट्रेडमिलमा हिँड्छु । मधुमेहले समातेकाले बेलुका पीठो खान्छु भने बिहान पनि निश्चितमात्रामा खाना खाने गर्छु । कहिलेकाहीं योगासमेत गर्छु । मर्निङवाक नियमित नभए पनि ट्रेडमिलमा दौडन कहिल्यै छुटाउँदिनँ ।

चक्रपाणि खनाल ‘बलदेव’, मन्त्री
तात्कालिक माओवादी पार्टी शान्तिप्रक्रियामा आइसकेपछि शारीरिक अभ्यास गर्ने बानी छुट्दै गएको छ । हिजोआज पनि मन लाग्दा गर्छु । मन लाग्दा आफ्नैखालका व्यायाम गर्छु । कहिलेकाहीं योगा पनि गरिटोपल्छु । मर्निङवाकले समेत निरन्तरता पाएको छैन । भएको बिग्रेपछि ट्रेडमिल किनेको छैन । 

प्रकाशशरण महत, पूर्वमन्त्री 
प्रतिनिधि–प्रदेशसभा निर्वाचनपछि शारीरिक अभ्यास नियमित गर्न सकेको छैन । पहिले जिमखाना जाने, ट्रेडमिलमा दौडिने र पौडी खेल्थें । योगा, प्राणायाम पनि गर्थें । ‘मर्निङवाक’ निस्कन्थें । अब निरन्तरता दिँदै छु । खानपान सामान्य भएकाले ‘डाइटिङ’ छैन । थोरै खान्छु, तर, खाइरन्छु । 

दिलनाथ गिरी, पूर्वमन्त्री 
बिहान चारदेखि ६ बजेसम्म योगा गर्छु । डाइटिङ पनि गर्छु । चिकित्सकको सल्लाहअनुसार अलि कम खान्छु । तर, चाँडो–चाँडो खान्छु । रक्तचाप र मधुमेहलाई दृष्टिगत गर्दै दुवै रोगलाई सन्तुलन गर्नेगरी खान्छु । एक घन्टा मर्निङवाक निस्कन्छु । 

महेन्द्रबहादुर शाही, मुख्यमन्त्री 
सशस्त्र युद्ध र शिविरमा रहँदा कडा शारीरिक अभ्यास गर्नुपथ्र्यो । सांसद भइसकेपछि बाहिर निस्कन नपाउँदा कोठमामै शिरदेखि खुट्टासम्मको शारीरिक अभ्यास गरेर पसिना निकाल्थें । निकाल्छु ।
डाइटिङ गर्दिनँ । पाउँदा खाइहाल्छु । दसवर्षे सशस्त्र युद्धमा पाँच वर्ष भोकै बिताएँ । त्यतिबेला अघिअघिका टोली पसलमा चाउचाउसम्म खान पाउँथे । पछि रहेकाले केही पाउँदैनथे । 

पूर्णाकुमारी सुवेदी, पूर्वउपसभामुख 
बिहान चाँडै उठ्छु । घरभित्रकै काममा टहलिन्छु । दिउँसो अलि बढी हिँड्ने गरेकी छु । कतै जाँदा दुईवटा गाडी चढ्नुपर्ने अवस्था आए अलिकति हिँडेर एउटै प्रयोग गर्ने गर्छु । डाइटिङ र योगा नगरे पनि कहिलेकाहीं मर्निङवाक निस्कने गर्छु ।

डा. डिला पन्त संग्रौला, सांसद 
योगाको विद्यार्थी हुँ । तसर्थ, योगा गर्छु । मर्निङवाक निस्कन्छु । राजनीतिकर्मी भएकाले  नियमित गर्न भ्याइरहेकी छैन । कहिले कहाँ पुग्नुपर्छ, कहिले कहाँ । शारीरिक अभ्यास स्वास्थ्यका लागि राम्रो मानिन्छ । कहिलेकाहीं त खानाको टुंगै हुँदैन । डाइटिङ गर्नै पर्दैन ।  

श्रीप्रसाद जबेगू, पूर्वमन्त्री 
पहिले जुम्बा जान्थें । छुट्यो । केही समयअघि स्वास्थ्य परीक्षण गर्दा चिकित्सकले तौल घटाउन सुझाएका छन् । पहिले नगरे पनि अब योगा गर्नुपर्छ होला भन्ने लागेको छ । मर्निङवाकले पनि निरन्तरता पाएन । कार्यक्षेत्र जाँदा महिनौं हिँड्नुपर्छ । मर्निङवाक नै गर्नुपर्दैन । 

सुदन किराती, सांसद 
शारीरिक अभ्यासका लागि औपचारिक रुटिन छैन । जनताको घरमा बास बसेको बेला कता शारीरिक अभ्यास गर्नु । साध्यै हुँदैन । तर, सात दिनभन्दा बढी एकैठाउँ बस्न परे कोठैभित्र झन्डै ४५ मिनेट शारीरिक अभ्यास गर्छु । त्यसका लागि कुनै सूत्र छैन । आफूले जे जानेको छु, त्यही गर्छु । डाइटिङ छैन । 

पुष्पा भुसाल, सांसद 
बिहान–बिहान हल्का शारीरिक अभ्यास गर्छु । ट्रेडमिलमा दौडिन्छु । समय हुँदा साइक्लिङ गर्छु । सुत्नेबेला थोरै समय हल्का ध्यान गर्छु । 

सुनील थापा, पूर्वमन्त्री 
काठमाडौंको नक्सालमा रहेको रेज जिमखाना जान्छु । एक घन्टा जिम गर्छु । डाइटिङ नगरे पनि खानामा सचेत छु । भोजमा जाँदा पनि घरमै खाएर जाने गर्छु । बाहिरफेर त्यति खान्न । 

सुरेशकुमार राई ‘हिमाल’, सांसद 
कहिले कहाँ, कहिले कहाँ पुगिरहने भएकाले शारीरिक अभ्यास नियमित छैन । एकैठाउँमा नियमित बस्दा बेलुका खाना खान्न । तर, बाहिरफेर निस्कँदा त्यो पनि सम्भव छैन । सकेसम्म थोरै खाने गर्छु । 

उषाकला राई, सांसद
बिहान–बिहान ध्यान, प्राणायाम गर्छु । डाइटिङ छैन । तर, माछा, मासु, चिल्लो, पिरोलगायत अन्य खानेकुरा धेरै खान्न । 

अनिता देवकोटा, पूर्वसांसद
कहिलेकाहीं मर्निङवाक निस्कनेबाहेक फिटनेससम्बन्धी केही गरेकी छैन । मनलाग्दा पेटभरि खाने नलाग्दामात्रै ‘डाइटिङ’ भन्ने गर्छु ।  

हीरा गुरुङ, सांसद
पहिले–पहिले दौडिन्थें । हिजोआज छुटेको छ । दौडन छुटे पनि कोठाभित्रै आधा घन्टाजस्तो शारीरिक अभ्यास गर्दै आएको छु । डाइटिङ छैन । अहिलेसम्म योगा गरेको छैन ।

अञ्जना बिशंखे, सांसद
राति अबेरसम्म बस्छु । त्यसैले शारीरिक अभ्यास गर्ने बानी छैन । खानेकुरा थोरै खाने गर्छु । 

जीवनबहादुर शाही, पूर्वमन्त्री
विद्यालय पढ्दादेखि नै जिम्न्यास्टिक, बक्सिङ, भलिबल, ब्याडमिन्टन, तेक्वान्दो खेल्थें । सांसद भएपछि पनि जिम जान्थें । हिजोआज पनि उठ्नसाथ १०÷१५–१०÷१५ पटक सिटअप र पुसअप गर्छु । 

सूर्य थापा, केन्द्रीय सदस्य, नेकपा 
अहिलेसम्म शारीरिक अभ्यास व्यायाम, योगा आदि केही गरेको छैन । हेल्थ क्लब जाने पनि गरेको छैन । मलाई स्वास्थ्य समस्याको कुनै अनुभव छैन । मैले चिकित्सकसँग स्वास्थ्यबारे परामर्शसमेत लिएको छैन । अर्थात्, आजका दिनसम्म स्वस्थ नै छु । न मोटाइ घटाउनुपरेको छ, न दुब्लाइ बढाउनुपरेको छ । म सकेसम्म कम खान रुचाउँछु । यसो भन्दैमा योजनाबद्ध ‘डाइटिङ’ गरेको पनि होइन । 

यज्ञराज सुनुवार, सांसद
फिटनेसमा ध्यान नदिए पनि पहाड (ओखलढुंगा) मा हिँडिरहनुपर्ने भएकाले स्वस्थ छु । डाइटिङको नाममा खाना मन लाग्दालाग्दै छाड्दिनँ तर रक्तचाप र युरिक एसिडलाई दृष्टिगत गर्दै चिल्लोपिरोप्रति सचेत छु । पहाडमा कहिलेकाहीं १५ दिनसम्म लगातार हिँड्नुपर्ने भएकाले योगा गरिरहनु पर्दैन । पहिले मर्निङवाक गरे पनि अहिले छुटेको छ । गाउँघरमा रहँदा मर्निङवाक गरिरहन पर्दैन । 

कृष्णकुमार राई, सांसद 
केही समयपहिले योगा गर्थें । व्यस्तताले छाडें । मर्निङवाकसमेत नियमित छैन । डाइटिङ गर्दिनँ । त्यति विश्वास पनि लाग्दैन । 

विशाल भट्टराई, सांसद 
समाचार सुन्दै मर्निङवाक निस्कने बानी छ । योगा गर्ने बानी छैन । डाइटिङ गर्दिनँ ।  

डोरप्रसाद उपाध्याय, पूर्वसांसद 
पहिले केही नगरे पनि हिजोआज मर्निङवाक गर्दै आएको छु । उच्च रक्तचाप र मधुमेहले समातेपछि मर्निङवाक गर्न थालेको हुँ । डाइटिङ नगरे पनि खानामा सचेत छु । योगा गर्दिनँ । 

विष्णु रिजाल, केन्द्रीय सदस्य, नेकपा
बिहान ‘हेल्थ क्लब’ जान्छु । घरमा रहँदा बेलुका दुई रोटी खाने गर्छु । योगा गर्ने बानी छैन । मर्निङवाक निस्कन्न । 

गुरु घिमिरे, केन्द्रीय सदस्य, काँग्रेस 
समयानुकूल हुँदा योगा गर्छु । काठमाडौंबाहिर (पहाड होस् वा तराई) रहँदा बिहान हिँड्ने कोसिस गर्छु । ‘डाइटिङ’ छैन । घरमा नभएकाले ट्रेडमिलमा दौडने बानी छैन । 

हेमकुमार राई ‘सुरवीर’, सांसद 
राजनीतिककर्मीको जीवनशैली अलि फरक हुन्छ । खाने, बस्ने र सुत्नेको टुंगो हुँदैन । त्यसले शारीरिक अभ्यासलाई असर पुर्याइरहेको हुन्छ । डाइटिङ छैन । जनयुद्धमा हुँदा दैनिक शारीरिक अभ्यास गरिन्थ्यो । हिजोआज छैन । घरमा रहँदा ‘मर्निङवाक’ निस्कन्छु ।

हितबहादुर तामाङ, सांसद 
पहिले–पहिले बिहान–बिहान ४० मिनेटजति दौडिन्थें । हिजोआज छुट्यो । शारीरिक अभ्यासका लागि समय व्यवस्थापन गर्न नसके पनि आवश्यकता अनुभूति गरेको छु । दुई÷चार वर्षयता बेलुकाको खाना सकेसम्म छिटो र हल्का खाँदै आएको छु । 

रामहरि खतिवडा, पूर्वसांसद
बिहान एक घन्टा मर्निङवाक जान्छु । त्यसपछि क्लब जान्छु  । त्यहाँ  नुहाइधुवाइ गरेर फर्कन्छु । अगाडि आएको खाना कुनै बाँकी राख्दिनँ । कहिलेकाहीं योगा पनि गर्ने गरेको छु । घरमा ट्रेडमिल राखेको छैन । 

डा. खिमलाल देवकोटा, नेता
एकताका ६ महिनासम्म निरन्तर योगा गरें । अहिले गर्दिनँ । डाइटिङ नै नभए पनि शरीर भारी हुन थाल्यो भने कम खान्छु । मर्निङवाक निस्कन्न । शारीरिक अभ्यास गर्ने बानी छैन । ट्रेडमिलमा दौडिने बानी छैन । 

नवीना लामा, सांसद
फुर्सद हुँदा क्लब जान्थें, पछिल्लो समय त्यो पनि छुटेको छ । समयमा खानसम्म फुर्सद नभएकाले ‘डाइटिङ’ गर्नै पर्दैन । दिनचर्या अस्तव्यस्त भएकाले योगा गर्न, मर्निङवाक निस्कन सम्भव छैन । 

कल्याण गुरुङ, केन्द्रीय सदस्य, काँग्रेस 
दैनिक एक घन्टाजस्तो मर्निङवाक गर्छु । डाइटिङ गर्दिनँ । कहिलेकाहीं योगा पनि गर्छु । जिम जाँदा ट्रेडमिलमा दौडिन्थें । हिजोआज दौडेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप