शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तान र बङ्गलादेश फाइनलमा

बिहीबार, १५ कात्तिक २०७५, १९ : १६
बिहीबार, १५ कात्तिक २०७५

–कुमार चौलागाईँ र मुना कार्की 

काठमाडौँ– बङ्गलादेश र पाकिस्तान साफ यू–१५ फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा आज भएको पहिलो सेमिफाइनलमा अघिल्लो संस्करणको विजेता भारतलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै बङ्गलादेश फाइनल पुगेको हो ।

पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा भारत पराजित भएको हो । खेलको १७ औँ मिनेटमा पट्रेहर्स हैलेसले गोल गर्दै भारतलाई अग्रता दिलाए पनि खेलको अतिरिक्त समयमा भारतका खेलाडीले बङ्गलादेशका खेलाडीलाई लडाएपछि बङ्गलादेशले पेनाल्टी पाएको थियो । 

उक्त पेनाल्टीमा आशिकुर रहमानले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलमा थप गोल हुन सकेन र खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा बङ्गलादेशले भारतलाई ४–२ ले हराएर फाइनल पुग्यो । 

आजै भएको दोस्रो सेमिफाइलमा नेपाललाई ४–० गोलले पराजित गर्दै पाकिस्तान फाइनलमा पुगेको छ । सोही मैदानमा भएको खेलमा पहिलो हाफमा पाकिस्तानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खाएको थियो । दोस्रो हाफमा १० खेलाडीमा सीमित बनेको नेपालले खेलको ५३ औँ मिनेटमा पहिलो गोल खाएको थियो । इफ्तिखर अहमेदले गोल गर्दै पाकिस्तानलाई शुरुआती अग्रता दिलाएका थिए । 

त्यसपछि पाकिस्तानले लगातार दुई पेनाल्टी पायो । खेलको ५९औँ मिनेटमा नेपालका जान लिम्बूले पाकिस्तानीलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा मोबिह उल्हाले गोल गर्दै पाकिस्तानलाई २–० को अग्रता दिलाए । यस्तै जानले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सीमित भयो । 

खेलको ६९ मिनेटमा पाकिस्तानले पुनःपेनाल्टी पायो । नेपालका निवास फुयाँलले लडाएपछि पाएको पेनाल्टीमा पाकिस्तानका उल्हाले गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए । खेलको ७८औँ मिनेटमा मोइन अहमेदले थप एक गोल गर्दै पाकिस्तानलाई ४–० को जित दिलाए । 

नेपालले अब तेस्रो स्थानका लागि भारतसँग आगामी शनिबार प्रतिस्पर्धा गर्नेछ । सोही दिन उपाधिका लागि बङ्गलादेश र पाकिस्तान भिड्नेछन् । सन् २०१३ देखि आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टोली अहिलेसम्म उपविजेतामै सीमित हुँदै आएको थियो । सन् २०१७ मा नेपालमै भएको प्रतियोगितामा नेपाल उपविजेतामा सीमित बनेको थियो ।

प्रतियोगिताका चारै संस्करण खेलेको नेपाल दुई पटक फाइनलमा हारेको थियो । यसअघि भएका तीन संस्करणमध्ये भारतले सन् २०१३ र १७ तथा बङ्गलादेशले सन् २०१५ मा उपाधि जितेको थियो । 

मार्शल आर्ट्स टोली इण्डोनेसिया 

एशियाली मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली आज इण्डोनेसियाको बाली प्रस्थान गरेको छ । 

यही कात्तिक १६ देखि २० गतेसम्म हुने प्रतियोगिताको पुरुष ६० केजीमुनि पुकार हुमागाईं तथा ६५ केजीमुनि अजय बुढाथोकीले प्रतिस्पर्धा गर्नेछन् । टोली प्रशिक्षकमा सीताराम हुमागाईं तथा व्यवस्थापकमा राजेश तामाङ छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आज बिदाइ गरे । 

यु–१९ महिला फुटबल टोली सम्मानित 

इङ्लिस प्रिपरेटरी स्कुल (इपिएस)ले यु–१९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई आज सम्मान गरेको छ ।  पहिलो सहभागितामै एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणमा पुगेर इतिहास रचेको भन्दै सो टोलीलाई सम्मान गरिएको हो ।

अघिल्लो साता थाइल्याण्डमा भएको छनोट प्रतियोगितामा नेपाल समूह उपविजेता बनेर अर्को चरणमा प्रवेश गरेको थियो । कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष वृmष्ण थापाले थाइल्याण्डमा उपलब्धि हासिल गरेको टोलीका खेलाडीलाई जनही रु ५० हजार दिइने जानकारी दिए । 

एन्फाका अर्का उपाध्यक्ष उपेन्द्रमान सिंहले एन्फाले अहिले दीर्घकालीन योजनासहित तल्लो तहसम्म फुटबलमा केन्द्रित भएर काम गरिरहेको बताए  । इपिएस स्कुलका प्रिन्सिपल प्रमिला सिंहले महिला फुटबलमा चुनौती र अवसर दुवै रहेको धारणा व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप