मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मिथिलाञ्चलमा मधुश्रावणी पर्वको रौनक

आइतबार, ०८ साउन २०७४, १३ : ५८
आइतबार, ०८ साउन २०७४

अजयकुमार साह 
महेन्द्रनगर - जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा अहिले मधुश्रावणी पर्वको रौनक छाएको छ । 

प्रत्येक वर्ष साउन कृष्णपक्ष (मौना) पञ्चमी तिथिदेखि साउन शुक्ल तृतीयासम्म मधुश्रावणी पर्व मिथिलाञ्चल क्षेत्रमा धुमधामका साथ मनाइन्छ ।सामाजिक र सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि प्रत्येक वर्ष सो पर्वका अवसरमा कथा सुन्ने सुनाउने परम्परा छ । 

यस पर्वमा नवविवाहिता मैथिल पुत्री गीत गाउँदै श्रीमान्ले ल्याएको वा पठाएको फरिया, लेहंगा लगाएर खुशीसाथ फूलबारीमा फूल टिप्छिन, यसवखत उनलाई लोकाचारसामु रंगात्मक धरातलमा समेत उभ्याइने गरिन्छ । 

मधुमासका रूपमा मनाइने साउन महिनालाई धार्मिक पर्वका रुपमा पनि लिइन्छ नागनागिनी र प्रकृतिका प्रतीकका रुपमा यो पर्वमा मुख्यतः शिव, पार्वती तथा नागनागिनीको पूजामा केन्द्रित रही १३ दिनसम्म मनाउने चलन छ । 

साउन महिनाको मौना पञ्चमीदेखि शुरु भई तृतीया तिथिका दिन समापन हुने यो पर्व मैथिल समुदायका ब्राह्मण, कायस्थ, देव, सोनार जातिमा मनाइने गरिएको पाइन्छ । पर्वको अवधिभरि प्रत्येक दिन गौरी तथा नागनागिनीको पूजा गरी शिव पार्वती र नागसँगै सम्बन्धित कथा सुनाइने गरिन्छ । 

गौरीले दाम्पत्य जीवनलाई सुखी बनाउने मात्र होइन मनोकामना पूर्ण गर्ने देवी भएको कुरा गीतको माध्यमबाट व्यक्त गरिन्छ । मिथिलाकी राजकुमारी सीताद्वारा गौरी पूजन गरिएकाले नै भगवान् मर्यादा पुरुषोत्तम श्रीरामजस्ता पति पाइन् भन्ने उदाहरण दिइन्छ । 
विधिविधानका साथ पर्वकालभरि प्रत्येक दिन गौरी नागको पूजनपछि कथा सुन्ने विधानअनुसार पहिलो दिन मौनापञ्चमी एवं विसहराको जन्मका कथा भनिन्छ, जुन नाग उत्पत्तिको कथा हो । 

यस पर्वको अन्तिम दिनको कथा समापनपछि वितरण गरिने सुहाग (अंकरी, चना) सुहागका प्रतीकका रुपमा रहेको पाइन्छ । पूजनकालमा केंचुआ (धान, धूवो धनियाँ, बेसार, ल्वाङ, जाइफल, हर्रो, बर्रो र सुपारीको पोका) को प्रयोग यसै पर्वको मंगलागौरीको कथा प्रसंगबाट पे्ररित भएको पाइन्छ । । 

पर्वको अन्तिम विधि ‘टेमी’मा बेहुलीको आँखा छोपी घुँडा र खुट्टा डाम्ने गरिन्छ । यो विधि सामान्य अर्थमा अव्यवहारिक, अन्धविश्वासी, रुढिवादी परम्परामा आधारित देखिए पनि डाम्दा हुने पीडा जतिकै दाम्पत्य जीवनमा पर्नसक्ने दुःख, कष्ट, पीडा खप्ने हुनु पर्दछ भन्ने अर्थमा अथ्र्याइएको पाइन्छ । 

किशोरीमा मेहन्दी र हरियो चुराको आकर्षण 
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरकी मनिषा रौनियारले साउनको पहिलो दिन दुवै हातमा हरियो चुरा लगाउनुभएको छ । मिथिला नपा–४ ढल्केवरकी अनु खनाल र महेन्द्रनगरकी सुशीला कार्कीले चुरासँगै हातमा मेहन्दी लगाएर सजिनुभएको छ । 

साउन लागेलगत्तै विशेष उत्साह र उमङ्गका साथ हिन्दू महिलामा नाडीमा काँचका रङ्गीचङ्गी चुरा सजिएको देख्न पाइन्छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको चहलपहल मन्दिर र बाटोघाटोमा देखिन्छ । पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुराको आकर्षण बढेको देखिन्छ । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले चाहिँ फेसनका रूपमा । खासगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन भएकाले साउनका सबै दिनलाई उत्तिकै महत्वका रूपमा लिइन्छ । 

महेन्द्रनगरको एक चुरा पसलमा भेटिएकी मनिषाले हरियो चुरा लगाउँदा यही हुन्छ भन्ने थाहा नभएको बताउनुभयो । आफ्नो नाडीको चुरा खेलाउँदै उहाँले खै ! साउनमा हरियो चुरा लगाउँदा चिताएको पुग्छ भन्छन्, मैले पनि लगाएँ भन्नुभयो । उहाँले हरियो चुरा लगाउँदा जीवनमा हरियाली छाउने विश्वास रहेको बताउनुभयो । 

कतिपयले हरियो चुरा लगाइसकेपछि चुकाउनु या फुटाउनु हुँदैन भनेर यो महिनाभर होसियारी अपनाउने गर्दछन् । कहिल्यै हरियो चुरा नलगाउने युवतीलेसमेत चुरा लगाएर बजाउँदै हिँड्दा खुब सुहाएको र रमाइलो लागेको बताएका छन् । नारीमा यो महिना चुरा लगाउने सोख र होड चलेपछि चुरा पसले पनि मख्ख छन् । 

महेन्द्रनगरस्थित मीना शृङ्गार पसलका प्रोप्राइटर वीरेन्द्र साहले मध्य असारदेखि नै हरियो चुराको बिक्री बढेको बताउनुुहन्छ । 

साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई शौभाग्यको एवम् पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ । 

यसकारण पनि साउन महिनामा हरियो, पहेँलो र रातो रङ्ग सम्मिश्रण गरी लगाउने चलन बसेको संस्कृतिविद् रमापति चौधरी बताउनुहुन्छ । चुरापोते र कपडासँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रङ्ग राख्यो, उति नै बढी श्रीमान्को माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । मेहन्दी लगाउने चलन चाहिँ छिमेकी देश भारतबाट भित्रिएको बताइन्छ । 


महिलाले लगाउने हरियो रङ्ग प्रेम र वातावरणको प्रतीक मानिएकाले हरियो चुराको महत्व साउनमा बढिरहेको ढल्केबरकी पवित्रा शर्माको भनाइछ । विवाहिताले पतिको सुस्वास्थ्य एवं दीर्घायु र अविवाहितले सुयोग्य पतिको कामना गर्दै ब्रत बस्ने चलन छ । यस महिनामा विशेषगरी प्रत्येक सोमबार महिला ब्रत बस्छन् । 

साउनको पहिलो दिनदेखि नै बजारमा रहेका शृङ्गारका पसलमा चुरापोते अनि हरियो, राता र पहेँला बस्त्र खरिदकर्ताको भीडले व्यापार बढिरहेको देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप