केन्द्रीय संस्करण

मदन भण्डारीभन्दा स्पष्ट थिए चक्र बाँस्तोला !

person access_timeकात्तिक १४, २०७५ chat_bubble_outline0

काँग्रेस नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएको अब महिना बित्न लाग्यो । करिब पाँच वर्ष कोमामा रहेका बाँस्तोलाको असोज २७ गते भएको निधन भयो । यसले जति ठूलो हलचल हुनुपथ्र्यो त्यति भएन । 
बनारसमा अध्ययन गर्दै काँग्रेस बनेका बाँस्तोलाको पञ्चायत कालमै पनि निकै चर्चा हुने गथ्र्यो । निर्भिक, साहसी, बौद्धिक व्यक्तित्व भनेर बहुप्रचारित चक्र बाँस्तोला काँग्रेसका युवा पुस्ताका लागि आकर्षणका केन्द्र नै थिए । बीपी कोइरालाको सान्निध्यमा हुर्किएका बाँस्तोला राजदूत र मन्त्रीसमेत भए । 

राजनीतिमा लाग्नेको सफलता असफलताको मापदण्ड उसले प्राप्त गर्ने जिम्मेवारी होइन ।  पद र अवसर त उसलाई जाँच्ने आधार मात्र हो । महात्मा गान्धीले राष्ट्रपति, प्रधानमन्त्रीको जिम्मेवारी बोकेनन् ।

जयप्रकाश नारायणले आफू प्रधानमन्त्री नबनेर मोरारीजी देसाईंलाई बनाए । माओत्सेतुङ पार्टी अध्यक्ष बनेर चाउएनलाईलाई प्रधानमन्त्री बनाए, राष्ट्रपति पनि अरूलाई नै बनाए । २०४६ सालको आन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहले आफूले पाएको प्रधानमन्त्रीको पद कृष्णप्रसाद भट्टराईलाई दिए । तर पद त्याग गर्नेहरूको लोकप्रियता, महत्व र नेतृत्व क्षमतामा कमी आएन, बरु बढ्यो नै । राष्ट्रपति, प्रधानमन्त्री वा अरू कुनै महत्वपूर्ण पदमा रहेर जिम्मेवारी पूरा गर्न नसक्नु असफल हुनु र बद्नाम हुनुभन्दा जिम्मेवारीबाट टाढै बस्नु श्रेयकर हुन्छ ।

बाँस्तोलाले नेपालको राजनीतिमा सफल असफल भनेर मूल्याङ्कन गरिहाल्नुपर्ने त्यस्तो कुनै महत्वपूर्ण जिम्मेवारी पाएनन् । केही समय राजदूत र मन्त्री पद सम्हाल्दैमा कुनै व्यक्तिको क्षमता मापनको आधार बनिहाल्दैन । उनलाई राजनीतिमा आएदेखि नै कुनै पनि क्षेत्रको मुख्य नेतृत्व सम्हाल्ने अवसर प्राप्त भएन । २०३० साल जेठ २८ गतेको विमान अपहरणकाण्डमा पनि उनी मुख्य नेता थिएनन् । काँग्रेस केन्द्रीय सदस्य र मन्त्री हुँदा पनि उनी मुख्य भूमिकामा रहेनन् । उनलाई टिमभित्रको एउटा सदस्यको हैसियतले पाएको जिम्मेवारी पूरा गर्नेबाहेक मूल नेतृत्वमा रहेर पार्टी, आन्दोलन हाँक्ने वा राज्य सञ्चालन गर्ने अवसर कहिल्यै जुटेन । 

जिम्मेवारी जेजति पाए पनि उनी निर्भिक, स्पष्टवक्ता, माझिएको र सुल्झिएको विचारक, दृढ अडान राख्ने नेताको रूपमा भने पहिचान बनाउन सफल भए । पञ्चायतकालदेखि नै चक्र बाँस्तोला बीपीले पत्याएको बुद्धिजीवी भन्ने चर्चा भइरहन्थ्यो । उनको बौद्धिक क्षमता के हो, कस्ता बुद्धिजीवी हुन त्यसको परीक्षा भने भएको थिएन र हुनु आवश्यक पनि थिएन । 

यो पङ्क्तिकार पनि पञ्चायत विरोधी आन्दोलनको अग्रपङ्क्तिको कार्यकर्तामध्येको एक हो । त्यसैले स्वाभाविक रूपले जिज्ञासा पैदा हुने, जान्न खोज्ने हुन्थ्यो नै । चर्चा पाएका र घटनाक्रमले आफ्नो चर्चा अनुसारको भूमिका नपाएका वा क्षमता प्रदर्शन गर्न नसकेका थुप्रै नेता नेपालमा जन्मिए । चक्र बाँस्तोला प्रवासमा बसेर, बीपीको सङ्गठनमा रहेर गरेको कामले उहाँको पार्टी नेपाली काँग्रेसमा स्थापित हुन सहज भए पनि नेपाली समाज र समग्र राजनीतिमा त्यतिले मात्र स्थापित हुन सम्भव थिएन । 

बहुदल आएपछिको २०४८ मा भएको पहिलो आम निर्वाचनमा आफ्नो जिल्ला झापाबाट प्रत्यासी बनेका बाँस्तोला एमालेद्वारा पराजित भए । संसदीय व्यवस्थामा चुनाव हारेको व्यक्तिलाई नेता नै मानिँदैन भने पनि हुन्छ । उसको भूमिका न संसदमा न त पार्टीमा नै प्रभावकारी हुन सक्छ । बाँस्तोला पनि त्यो समय लगभग भूमिकाविहीन नै थिए । 

त्यो बेला एमाले महासचिव मदन भण्डारी चर्चामा थिए । चुनाव प्रचारका क्रममा चावहिलमा उनले राजालाई श्रीपेच खोलेर आफूसँग चुनाव लड्न आऊ भनेर भाषण गरेका थिए । भण्डारीले काँग्रेस सभापति र प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई चुनाव हराए । त्यसपछि उनको चर्चा चरमचुलीमा पुग्यो । उनको असलियत के थियो, क्षमता कति थियो, कस्तो सुझबुझ राख्थे, सोची बिचारी निर्णय गर्ने नेता थिए कि कुनै कुराको जानकारी विनै प्वाक्क बोलीहाल्ने स्वभाव थियो, त्यो भने लामो भूमिगतबाट भर्खर बाहिर निष्किएकाले राजनीतिक क्षेत्रमा कमैलाई जानकारी थियो । 

काँग्रेस र वामपन्थीका यी दुई हस्तीको यहाँ तुलना गर्न खोजिएको होइन । बाँस्तोलाको व्यक्तित्वको सामु भण्डारी तुच्छ भन्न खोजिएको पनि होइन । यहाँ दुई नेताको प्रसङ्ग उठाएर राजनीतिमा स्पष्टताको स्थानको चर्चा गर्न खोजिएको हो । चावहिलमा राजालाई लल्कारे भनेर प्रचार गरिएका भण्डारी एक साँझ गुपचुप दरबार छिरे । दरबार गएर राजाको ‘दर्शन गरेर’ आएपछि उनले राजा पनि एउटा शक्ति भएको र उनलाई ‘पावरसेयरिङ’मा सामेल गराउनुपर्ने अभिमत राखे । 

भण्डारीको क्रान्तिकारिताबाट रोमाञ्चित हुने बुद्धिजीवी त्यस घटनाबाट स्तब्ध भए । भण्डारीले उठाएको राजा, काँग्रेस र वाममोर्चा अकाट्य शक्ति हुन् र यी तीनै शक्तिबीच शक्तिको समुचित बाँडफाँड हुनुपर्छ भन्ने भनाइको अन्तर्य पत्ता लगाउन सकेनन् । त्यसो भन्नुमा भण्डारीको नासमजीपन थियो वा नियत नै खराब त्यो बुझ्न  सकिने कुरा थिएन । तर उनको अभिव्यक्तिपछि साँच्चै राजा पनि एउटा शक्ति नै हुन कि भन्ने अन्योलको तुवाँलो नेपाली राजनीतिमा व्याप्त भयो । मै हुँ भन्ने बुद्धिजीवीहरू बिलखबन्धमा परे ।  

त्यही सेरोफेरोमा कम चर्चामा रहेका बौद्धिक भनेर एउटा तप्काले स्वीकार गरेका काँग्रेस नेता चक्र बाँस्तोलाको टेलिभिजनमा एउटा सनसनीदार अन्तरवार्ता प्रसारण भयो । अन्तरवार्तामा वार्ताकारले भण्डारीको राजा पनि एउटा शक्ति भएकाले उनलाई पनि शक्ति सन्तुलनको सिद्धान्त अनुसार भागबण्डामा सामेल गराउनु पर्छ भन्ने प्रसङ्ग उठाए । त्यो प्रसङ्गलाई बाँस्तोलाले यति राम्रोसँग स्पष्ट पारे कि सारा बुद्धिजीवीहरू उहाँप्रति कृतकृत्य भए ।

उनले भण्डारीको भनाइको बडो स्पष्टसँग प्रतिवाद गरे र भने– २०४६ सालको आन्दोलनताका र आन्दोलनको अन्त्यको लागि सहमति गर्दा आन्दोलनकारी काँग्रेस–वाममोर्चा एउटा शक्ति र राजा–पञ्चायत एउटा शक्ति भएको सत्य हो । तर अब संविधान निर्माण भइसकेको छ, त्यो संविधान अनुसार निर्वाचन भइसकेको छ । एउटा पार्टीको सरकार र अर्को प्रमुख विपक्षी बनिसकेको यस्तो अवस्थामा संविधानले कुन दल, कुन शक्तिलाई कुन स्थान किटान गरिदिएको छ, त्यो मात्र शक्ति हुन्छ । आन्दोलनअघिको शक्तिलाई उत्खनन् गर्नु नहुने र संविधानको व्यवस्थाअनुसार चल्नुपर्ने उहाँको तर्क एकदम बलियो थियो । 

२००७ सालको क्रान्तिअघि राजा, काँग्रेस र दिल्लीको भूमिका थियो होला तर त्यसलाई सधैं जीवित राख्दा अन्योल, अराजकता र बेथितिको अन्त्यहीन शृङ्खला चल्ने अवस्था आउन सक्थ्यो । एउटा कालखण्डमा भएको शक्ति सन्तुलन कालक्रमसँगै परिवर्तन हुँदै जान्छ । त्यो कुरा नेता बाँस्तोलाले बडो स्पष्टसँग बुझेका थिए र उनले नेपाली समाजमा त्यसको सन्देश पनि प्रवाह गराए । यसरी बाँस्तोला आफू मुद्दाहरूमा, विषयवस्तुमा स्पष्ट थिए ।

अहिले ठूलठूला नेताहरू जटिल एवम् गम्भीर सवालमा त के सामान्य विषयमा पनि आफै स्पष्ट छैनन् । आफै अन्योलमा रहेका नेताले जनतालाई कसरी बाटो देखाउलान् ? बाँस्तोलाजस्ता स्पष्टता भएका नेताको भूमिका जे भए पनि बेला मौकामा तिनको खाँचो परिरहन्छ । उनको निधनले त्यो खाँचो पूर्ति गर्न सक्ने व्यक्तिको अभाव प्रष्ट रूपले खड्किएको छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ