शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तिहार मसला मूल्य केजीमै सात सयसम्मले वृद्धि, कुन मसलाको मूल्य कति ?

बुधबार, १४ कात्तिक २०७५, १२ : ३६
बुधबार, १४ कात्तिक २०७५

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु हुन एक साता मात्र बाँकी छ । बजारमा तिहारको रौनक सुरु भइसकेको छ । तिहारको मसला किन्नेको भीड लाग्न थालिसकेको छ । तिहारको मसला विशेषगरी भाइटीकामा प्रयोग हुन्छ । अहिले अत्यधिक महँगोमा व्यवसायीहरूले तिहारको मसला बेचिरहेका छन् ।

व्यवसायीहरू आफूले नै महँगो मूल्यमा ल्याएकाले उपभोक्तालाई पनि महँगो पर्न गएको बताउँछन् । एउटै मसलामा केजीमा सात सय रुपैयाँसम्मले बढेको छ । अधिकांश मसलाका आइटमहरूमा तिहारको समयमा मूल्य बढेको हो । 

ओखर, खुर्पानी र मखनामा प्रतिकेजी २ सय रुपैयाँले बढेको छ भने सुकुमेल प्रतिकेजी सात सय रुपैयाँसम्म बढेको छ । अन्जिर प्रतिकेजी पाँच सय रुपैयाँले बढेको खुद्रा ब्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । 

काजु प्रतिकेजी १७ सय रुपैयाँसम्ममा उपभोक्ताले खरिद गर्न पाउँनेछन् । यस्तै किसमिस प्रतिकेजी ६ सय रुपैयाँमा बिक्री भइरहेको खुद्रा ब्यापार सङ्घका अध्यक्ष श्रेष्ठले जनाए । यस्तै पहिला ४ सय ५० रुपैयाँ प्रतिकेजीमा पाइने ओखर अहिले ६ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । केजीको ३ सय ७५ रुपैयाँ पर्ने नरिवलको मूल्य पनि बढेर ५ सय ५० रुपैयाँ पुगेको छ । 

पेस्तामा पनि चार सय रुपैयाँसम्म बढेको छ । प्रतिकेजी १९ सय रुपैयाँमा पेस्ता उपभोक्ताले किनिरहेका छन् । यसअघि १५ प्रतिकेजीको मूल्य थियो । यता बदाम साढे १४ सय प्रतिकेजी, छोकडा २ सय २५ रुपैयाँ प्रतिकेजी, खुर्पानी प्रतिकेजी १५ सय, अन्जिर प्रतिकेजी २ हजार रहेको छ । यस्तै अलैँची प्रतिकेजी १२ सय रुपैयाँ रहेको छ । यसअघि हजार रुपैयाँसम्ममा पाइन्थ्यो । ल्वाङ प्रतिकेजी १५ सय रुपैयाँसम्म लिएर व्यवसायीहरूले बिक्री गरिरहेका छन् ।  

दालचिनी  प्रतिकेजी १ सय २५ रुपैयाँले बढेर ५ सय रुपैयाँ पुगेको छ । सुपारी सात सय ५० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ । सरकारले प्रभावकारी अनुथमन गर्न नसक्दा पनि व्यवसायीले मनलाग्दी मूल्य बढाउने गर्छन् । 

यी सामाना आयात गर्नुपर्ने र डलरको मूल्यमा भएको वृद्धिका कारण उपभोक्तालाई महँगो परेको व्यवसायीहरू बताउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप