शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई चिकित्सकको सुझाव : अब स्ट्रेस कम, रेस्ट ज्यादा

मङ्गलबार, १३ कात्तिक २०७५, १३ : ०८
मङ्गलबार, १३ कात्तिक २०७५

काठमाडौँ– प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार आएको छ । अस्पताल भर्ना गरेको आज दोस्रो दिनको रिपोर्ट सामान्य रहेको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन कार्डियोथोरापी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । 

आज बिहान गरिएको प्रधानमन्त्री ओलीको रगत परीक्षण तथा छातीको एक्स–रेलगायतको रिपोर्टहरू सकारात्मक रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् । 
प्राडा अरुण सायमीको संयोजकत्वमा प्राडा दिव्या सिंह शाह तथा डा. सन्तकुमार दास सम्मिलित समूह प्रधानमन्त्रीको उपचारमा खटिएको छ  ।  

डाक्टर सायमीले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे झण्डै २५ वर्षदेखि फलोअप गर्दै आइरहेका छन् ।   

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उनले भने– ‘सोमबार छातीमा सङ्क्रमण देखिएका कारण प्रधानमन्त्रीलाई हामीले अस्पताल भर्ना गरेका हौं । सोमबार बिहानपख उहाँ अस्पताल आउनुभएको हो । अहिलेसम्म उहाँको स्वास्थ्यमा ज्वरो छैन । खोकी कम भएको छ । सुगर र प्रेसर पनि नियन्त्रणमा आएको छ  । उहाँले आज सामान्य ब्रेकफास्ट खानुभयो । आजै दाह्री पनि काट्नु भयो । अहिले फ्रेस मुद्रामा हुनुहुन्छ ।’ 

के–के समस्या छ प्रधानमन्त्रीलाई ? 
किड्नी ट्रान्सप्लान्ट गरिएको प्रधानमन्त्री ओलीको छातीमा समस्या देखिएको छ । तर सबै समस्या नियन्त्रणमा आउने क्रम रहेको चिकित्सकहरूले बताएका छन् । 

 ‘अहिले हामीले प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरेको छातीको इन्फेक्सनको उपचारका लागि हो । छातीको इन्फेक्सनले गर्दा सुगर पनि अलि बढ्ने भएको हुँदा अस्पताल भर्ना गरिएको हो र अहिले कन्ट्रोलमा आएको छ’, डाक्टर सायमीले भने, ‘अब एन्टिबायोटिक कम्तीमा एक हप्ता चलाउनुपर्ने हुन्छ । अबको २ देखि ३ दिनसम्म अस्पताल बस्नुपर्ने हुन्छ । तर प्रधानमन्त्रीको चाहना भने पर्सि नै जाने छ ।’

किन बिरामी परिरहन्छन् नेताहरू ?
डाक्टर सायमी भन्छन्– सबैभन्दा ठूलो कुरा आफू हो । आफैले स्वास्थ्यको बढी ख्याल गरेमा मात्रै रोगबाट बच्न सकिन्छ । 

नेपालका नेताको कुरा गर्ने हो भने व्यस्त जीवन, स्वास्थ्यको खासै ख्याल नगर्ने हुँदा यस्तो समस्या देखिएको हो । 

नेताहरूले आफ्नो स्वास्थ्यभन्दा पनि देशको स्वास्थ्यमा बढी ध्यान दिने भएको हुँदा स्वास्थ्यमा समस्या देखिएको हो । 

यसका लागि नियमित स्वास्थ्य परीक्षण, नियमित औषधि खाने  र खानपिनमा पनि ध्यान दिनुपर्ने हुन्छ तर यो हुनसकेको छैन । 

प्रधानमन्त्रीको कुरा गर्ने हो भने उहाँ रातको २ बजेसम्म पनि काममै व्यस्त हुनुहुन्छ । त्यसैले प्रधानमन्त्रीलाई मेरो अनुरोध छ–  ‘स्ट्रेस कम, रेस्ट ज्यादा’ गर्नुपर्ने बेला भएको छ ।

 उहाँ दशैँको टीका, पार्टीको बैठक, क्याबिनेट धेरै कुरामा व्यस्त हुनुभएका कारणले पनि बिरामी पर्नु भएको हो । मौसम पनि परिवर्तन भइरहेको  छ । यो बेलामा ज्वरो आउनु, रुघाखोकी लाग्नु सामान्य हो । तर प्रधामन्त्रीले त किड्नी ट्रान्सप्लान्ट गर्नुभएको छ, यस्तो समयमा उहाँको ख्याल गर्नुपर्ने हुन्छ  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप