शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गौतमबुद्ध विमानस्थल निर्माणमा तीव्रता : रनवे धमाधम कालोपत्रे

मङ्गलबार, १३ कात्तिक २०७५, १३ : ०३
मङ्गलबार, १३ कात्तिक २०७५

बुटवल । पटक–पटक म्याद थपिएको रूपन्देहीस्थित गौतमबुद्ध विमानस्थलको कामले पछिल्लो समय तीव्रता पाएको छ । कात्तिक १३ गते अर्थात् आजबाट विमानस्थलको रनवे कालोपत्रे गर्न थालिएको छ । जसले गर्दा विमानस्थल छिट्टै  बन्नेमा प्रदेशका बासिन्दा आसावादी बनेका छन् । 

सन् २०१९ को जुन २८ सम्ममा निर्माण सम्पन्न गरी गौतमबुद्ध विमानस्थल भैरहवामा उडान भर्ने तयारीका साथ निर्माण भइरहेको आयोजनको निमित्त प्रमुख प्रवेश अधिकारीले जनाए ।  

निर्माणको मुख्य ठेक्का पाएको चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल कन्स्ट्रक्सन ग्रुप लिमिटेड चाइनाले चिनियाँ कामदारमार्फत धमाधम काम गरिरहेको छ । 

कन्सल्ट्यान्टको जिम्मा पाएको युसिन कोरियन कन्सल्ट्यान्ट  र आयोजना क्यानले संयुक्त रूपमा मूल्याङ्कन गर्दा हालसम्म कार्यप्रगति ५५ प्रतिशत देखिएको आयोजनाका निमित्त प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । 

मङ्गलबारबाट सुरु भएको कालोपत्रेकोे काम पनि ४ महिनाभित्र सकिने आयोजनाले जनाएको छ । 

विमानस्थलमा धावनमार्गको बेस कोर्सको काम सम्पन्न भइसकेको छ । टर्मिनल बिल्डिङको अराइभल पार्ट अन्तिम तलाको ढलान सम्पन्न भएर फिनिसिङ हुँदैछ । डिपार्टर पार्टको अन्तिम तलाको ढलान सम्पन्न भएको छ ।  

त्यस्तै प्रशासकीय भवन निर्माण सकिएको छ । कन्ट्रोल टावरको ८ तलामध्ये ६ तल्लासम्म काम सकिएको छ । पार्किङस्थलको काम सम्पन्न भएको छ । नाला, ट्याक्सी वेका काम भइरहेका छन् । लिङ्क वेका काम पनि भइरहेका छन् । 

आयोजनाको अनुसार बाँकी ५५ प्रतिशत काममध्ये २५ प्रतिशत विद्युतीय काम र २० प्रतिशत अन्य सिभिल काम हुन् । कुल ६ अर्ब २२ करोड ५१ लाख ३० हजार २ सय २७ रुपियाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी चिनियाँ सरकारी कम्पनी नर्थ वेस्टले ठेक्का पाएको हो । अहिलेसम्म ५५ प्रतिशत काम सम्पन्न गरिरहँदा ठेकेदार पक्षले ३५ प्रतिशत रकम लगिसकको छ । 

०२३ सालदेखि नियमित उडान भर्दै आएको भैरहवास्थित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा प्रयाप्त जग्गा छ । ०६१ सालअघिसम्म ८४ बिघा ३ कठ्ठा रहेकोमा ०६३ सालमा २ सय १३ बिघा ४ कठ्ठा १५ दशमलब ७५ धुर थप भएको थियो । हाल थप ५ सय बिघाको मुआब्जा वितरण भइरहेको छ । 

अब निर्माणाधीन गौतमबुद्ध विमानस्थल जग्गाको स्वामित्व ७ सय ८७ बिघा ७ कठ्ठा १५ दशमलब ७५ धुर हुनेछ । अहिलेसम्म पोखरामा ३ हजार ७ सय रोपनी, काठमाडौंमा ७ हजार रोपनीमा अन्तराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालन भइरहँदा भैरहवामा बन्ने विमानस्थल १० हजार रोपनीमा बन्ने भएको हो । थपिएको जग्गामा राडर, सुरक्षा, ह्याङ्गर, कार्गो, आयल निगमको डिपो, अध्यागमन, मर्मतसम्भार क्षेत्र, क्याटरिङ, अर्को पार्किङस्थल र अझै एउटा टर्मिनल बिल्डिङ बन्नेछ । 

यो क्षेत्रफलले आगमी ५० वर्षसम्म अन्तर्राष्ट्रिय स्तरको उडान भर्ने क्षमता राख्ने विमानस्थल आयोजनाको दाबी छ । दैनिक ८, ९ वटा नियमित उडान भरिरहेको गौतमबुद्ध विमानस्थलमा अहिलेसम्म सबैभन्दा ठूलो फोकर हन्ड्रेड १ सय ५ सिटे कस्मिक एअरको जहाजले उडान भरेको देखिन्छ । 

निर्माणको ठेक्का पाएको नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्सट्रक्सन ग्रुपले ठेक्का लिई  सब कन्ट्रयाक्टरको रूपमा नेपाली ठेकेदार कम्पनी  नर्थवेस्ट नेपाल इन्फा प्रालिलाई २०७२ साउनबाट दिएको थियो । तर उनीहरूबीच लेनदेनको विवाद हुँदा धेरै समय कामसमेत रोकियो । जसका कारण काममा ढिलाइ भयो । नेपाल सरकारले समेत यस विषयमा धेरै चासो दिएपछि अहिले चिनियाँ कम्पनीले चाइनाबाटै मजदुर लिएर धमाधम काम गराइरहेको छ । 

विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने कार्यमा एडीबीले ४० दशमलब ५ प्रतिशत, साउदी अरबको साउदी फन्डबाट (ओएफआईडी)  ३० दशमलब ५ प्रतिशत, एडीबीको अनुदान १८ प्रतिशत र नेपाल सरकारको  ११ प्रतिशत तथा करसमेत गरी  लागत बेहोेर्ने गरी निर्माण कार्य सुरु भएको हो । 

नेपाल–भारत सीमा नजिक भएकाले गोरखपुर लखनउसम्मका भारतीयहरूले पनि गौतमबुद्ध विमानस्थलाई प्रयोग गर्ने अपेक्षा गरिएको छ । यसरी हेर्दा गौतमबुद्ध विमानस्थलका प्रयोगकर्ता भारतीय र नेपाली गरी कम्तीमा ३३ करोड स्थानीय मात्रै हुने देखिन्छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्यन प्राधिकरण आइकाओको कोड फोर ईका अनुसार ३ हजार मिटर धावनमार्ग भएको विमानस्थलमा  बोइङ ७७७ सम्मका जहाजहरू अर्थात  चौडाइ ५२ मिटरदेखि ६४.९९ मिटरसम्मका जहाजहरूले उडान र अवतरण गर्न सक्छन्  । 

छिटै अन्तराष्ट्रिय उडान हुन्छ : मन्त्री अधिकारी  

पर्यटन मन्त्री रविन्द्र अधिकारीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाको निमाण कार्य छिट्टै सकिने बताएका छन् । 

मङ्गलबार विमानस्थलको रनवेको कालोपत्रे गर्ने कामको उद्घाटन गर्दै उनले अबको छ महिनाभित्र सबै काम सम्पन्न भएर उडान सुरु गरिने बताए । 

मन्त्री अधिकारीले पछिल्लो चरणमा भइरहेको काम सन्तोषजनक भएको पनि जनाए ।

विमानस्थल निरीक्षणमा मन्त्री अधिकारीसँगै गएका प्रदेश ५ का सांसद सन्तोष पाण्डेले विमानस्थल निर्माण पूरा हुने क्रममा रहेकाले स्थानीयबासी र आफू अत्यन्तै खुसी भएको प्रतिकृया दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप