शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहमा कर तिर्दै हुनुहुन्छ ? : ठग्लान् कर्मचारीले !

मङ्गलबार, १३ कात्तिक २०७५, १२ : १६
मङ्गलबार, १३ कात्तिक २०७५

बुटवल– तपाईं सचेत नागरिक हो र स्थानीय तहमा कर तिर्दै हुनुहुन्छ ? हो भने आफूले तिरेको करको रसिद लिएर मात्रै ढुक्क नहुनुहोस् । तपाईंले लिएको रसिदको अर्धकट्टीमा कर्मचारीले कति रकम लेखेका छन् भन्ने हेरेर मात्र पैसा तिर्नुहोस् । 

गुल्मीको एक स्थानीय तहमा कर्मचारीबाट  कर असुलीमा हुँदै आएको ब्रह्मलुटले देशैभरका स्थानीय तह र नागरिकलाई यही कुरामा सचेत गराएको छ ।

रेसुङ्गा नगरपालिकाको कर अशुलीमा कर्मचारीले राज्य र नागरिकलाई ठग्दै आएको तथ्य फेला परेको छ । नगरपालिकामा करारमा रहेका कर्मचारीले बद्मासीको सूचना लुकाएर भित्रभित्रै मिलाइएको घटनालाई रहस्यमय रूपमा लिइएको छ । 

के गरे कर्मचारीले ? 

नागरिकबाट १० हजार रकम कर लिए । सोही अनुरूपको रसिद पनि दिए । तर पछि अर्धकट्टीमा जम्मा १ हजार लेखेर ९ हजार आफैले झ्वाम पारे । यस्तो बद्मासी कुनै एक जना करदाताबाट मात्र गरिएको थिएन । धेरै जनाबाट बढी पैसा लिँदै राज्य र नागरिकलाई ठगी गरेका बेला कर्मचारी रङ्गेहात पक्राउ परेपछि घटना बाहिर आएको हो  । त्यस्तो गर्ने कर्मचारी हुन् रेसुङ्गा नगरपालिका खरिदार तहका सहायक कम्युटर अपरेटर पिताम्बर पन्थी । जसलाई ठगेको रकम असुली गरेर जनप्रतिनिधिहरूले नै उन्मुक्ति दिएको पाइएको छ । भ्रष्टचारजस्तो विषयलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग वा स्थानीय सरकारको सम्बन्धित पक्षले कारवाही गर्नुपर्नेमा नगरपालिकाले भने गत साता भ्रष्टाचारमा संग्लग्न पन्थीबाट ठगी गरेको रकम असुली गरेर जागिरबाट बर्खास्त गरी उन्मुक्ति दिएको हो । 

मेयरका छोराबाटै समातिए पन्थी

नगरपालिकाका मेयर डिल्लीराज भुसालका छोरा वीरेन्द्र भुसालको वीरेन्द्र कन्ट्रक्सन निर्माण सेवा प्रालिको कर बुझाउँदा १० हजार रुपैयाँ लिएर सोही बराबरको रसिद पन्थीले दिए । 

पछि अर्धकट्टीमा जम्मा १ हजार मात्रै लेखेको त्यस नगरपालिकाका राजस्व विभाग प्रमुख शङ्करप्रसाद गौतमले पत्तो पाए । त्यति मात्र होइन उनले एक जना करदाताबाट २५ सय रुपैयाँ असुलेर अर्धकट्टीमा जम्मा ५ रुपैयाँ मात्रै  लेखेको समेत भेटे । उनका ठगी धन्दालाई नियाल्दै आएका गौतमले एक दिन पन्थीलाई रङ्गेहात  नै समात्न सफल भए  । लगत्तै शाखा अधिकृत सुरेश पन्थीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरियो । पन्थीले अन्य धेरै जना करदाताबाट त्यसरी नै ठगी गर्दै आएको पत्तो लाग्यो  ।

आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ भित्रमा पन्थीले राज्यलाई ठगी गरी २ लाख ९४ हजार ७ सय २२ रुपैयाँ कुम्ल्याएको तथ्य फेला पार्यो । उक्त प्रतिवेदन मेयर डिल्लीराज भुसाल र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी समक्ष पेश गरियो । मेयर भुसाल भन्छन्– ‘त्यसपछि उनलाई कारबाहीस्वरूप जागिरबाट बर्खास्त गरिएको हो ।’

 पन्थीले करदाताबाट धेरै पैसा लिएर अर्धकट्टीमा थोरै पैसा देखाउँदै ठग्दै आएको मेयर भुसालले बताए । उनले भने, ‘त्यस्तालाई अयोग्य ठहर गरी छानविन समितिको सिफारिसमा बर्खास्त गरियो, त्योभन्दा ठूलो कारबाही के हुन सक्छ ?’

प्रमुख प्रशासकीय अधिकृत मरासिनीले पनि जाखिरबाटै बर्खास्त गरिएपछि त्यही नै ठूलो कारवाही भएको प्रतिकृया दिए । ‘राजस्व विभाग प्रमुख मरासनीले रङ्गेहात पन्थीलाई समातेर हामीलाई बुझाउनु भयो । ठग्दै आएका पन्थीलाई समातेर बर्खास्त गर्न सफल भएका छौं’ मरासनीले  बर्खास्त गर्नु नै ठूलो कारबाही भएको दाबी गरे ।

‘ठगी रकम बुझाएर मात्रै उन्मुक्ति दिन पाइन्छ ?’

 यस घटनालाई नगरपालिका भित्रै गुपचुप पारेर मिलाइएकोप्रति राजनीतिक दल र नागरिक समाजले आपत्ति जनाएका छन् । गुल्मीका काँग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले गुपचुप पारिएको घटनाप्रति आपत्ति जनाए । उनले ठगी गरेको तथ्य फेला परेपछि उनलाई कानुनअनुसार कारवाही गरिनुपर्ने भन्दै श्रेष्ठले प्रश्न गरे । उनले भने, ‘पैसा बुझाएर मात्रै उन्मुक्ति दिन पाइन्छ ?’ 

सरकारले शून्य सहनशीलताको कुरा गर्ने तर भ्रष्टचारी फेला पर्दा पनि कानुनी कारवाहीको बाटो नरोज्नुले कतै सेटिङमा त त्यसो गरिएन भन्ने आशङ्का बढेकाले पन्थी मात्र नभई जनप्रतिनिधि र कर्मचारीमाथि समेत छनविन गर्नुपर्ने सरोकारवालाहरूको भनाइ छ ।

नागरिक समाजका अध्यक्ष पदम पाण्डेले सार्वजानिक संस्थामा भएको यस्तो भ्रष्टचारको घटना बाहिर ल्याएर नागरिकलाई सु–सुचित नगरिएकोप्रति गम्भीर आपत्ति जनाए । ‘भ्रष्टचारमा संग्लग्न कर्मचारीलाई कानुनी दायरामा ल्याई कारवाही गरिनुपथ्र्यो । त्यसमा पनि आम नागरिकलाई थाहा नै नदिई खुसुक्क मिलाएको घटना आम नागरिकलाई मान्य हुन सक्दैन’ पाण्डेले भने । 

यसबारे बुझ्छु : सीडीओ 

घटनाका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले आफूले आजै बुझ्ने बताए । ‘जानकारी आएको थियो, मैले स्थानीय सरकार भइसकेपछि आफैले छानबिन गरेर कारवाही गर्नुहोस् भनेको हुँ, उनले भने, ‘के कस्तो कारवाही गरियो भन्नेबारे म आजै बुझ्नेछु ।’

को हुन् पन्थी ? 

रेसुङ्गा नगरपालिका वडा नम्बर ७ बुट्टाखुरी घर भएका पन्थी र उनको परिवार नेपाली काँग्रेसप्रति आस्था राख्ने परिवार हो । साविक तम्घास गाविसमा काँग्रेसको पकड भएकाले उनलाई २०७० सालदेखि करारमा नियुक्ति गरियो । नगरपालिका भएपछि उनी सहायक कम्युटर अपरेटरका रूपमा सरे । गएको स्थानीय चुनावमा उनले वडानम्बर ७ मा पूर्वएमालेबाट वडाध्यक्षमा उठेका मोहनप्रसाद पाण्डेलाई सहयोग गरेका थिए । 

पन्थी  भन्छन्– ‘हो,  हाम्रो परिवार काँग्रेस भनेर चिनिए पनि मोहन दाइलाई चुनावमा सहयोग गरेकाले मलाई यतिबेला काँग्रेस पार्टीबाट पनि सहयोग भएन । मैले गल्ती गरेकै हुँ तर सो रकम तिरेपछि म हाजिर भएर काम गर्न चाहन्थे । तर भक्ति सर (प्रमुख प्रशासकीय अधिकृत) ले हाजिर गराउनै मान्नु भएन । यतिबेला मलाई दुवै पार्टीले सहयोग गरेनन् ।’  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप