शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गौचनको हत्यारासम्म यसरी पुग्यो प्रहरी, अझै २ जना फरार

सोमबार, १२ कात्तिक २०७५, १८ : ३८
सोमबार, १२ कात्तिक २०७५

काठमाडौं । गत वर्षको असोज २३ गते बानेश्वरको प्रयाग चोकमा निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनमाथि गोली प्रहार भयो । 

मध्यदिनमा गोली प्रहार भएसँगै अध्यक्ष गौचनको मृत्यु भयो । गौचनको हत्यामा संलग्न रहेको भन्दै गुण्डा नाइके मनोज पुनले घटनाको जिम्मेवारी लिए र गोली हान्ने व्यक्ति लोप्साङ भन्ने सोम तामाङ रहेको बताइयो ।

त्यसलगत्तै प्रहरीले विशेष अपरेशन चलाएपनि तत्काल उपलब्धि हासिल गर्न भने सकेन । 

घटनाको झण्डै एक महिनापछि गौचन हत्यामा संलग्न भन्दै नुवाकोटका राजिव स्याङतानसहित ५ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गर्यो । तत्कालीन समयमा प्रहरीले गोली हान्ने सुटर राजिव नै रहेको भन्दै पत्रकार सम्मेलन गरी सिसिटिभीको फुटेजसहित सार्वजनिक गरेको थियो ।

मंसिर १६ गते चितवनबाट पक्राउ, २०७४ फागुन ९ मा इन्काउन्टर
त्यतिबेला प्रहरीले मुख्य योजनाकार मनोज पुन रहेको र पुनको छत्रछाँयामा रहेर समीरमानसिंह बस्नेत, लोप्साङ भन्ने सोम तामाङ, अम्बर बहादुर रानालगायतले घटना गराएको बताएको थियो । 

घटनाको झण्डै दुई महिनापछि मंसिर १६ गते योजनाकारमध्ये एक समीरमानसिंह बस्नेतलाई सिआइबीको टोलीले चितवनबाट पक्राउ गरी काठमाडौं ल्यायो । बस्नेतले घटनाको स्वीकार गरेपछि उनी अहिले जेलजीवन बिताइरहेका छन् । 

प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुन ।

समीरमानसिंह बस्नेत पक्राउ परेपछि पनि अन्य प्रहरीको खोजी जारी नै रह्यो । मुख्य योजनाकार भनिएका मनोज पुनलाई पक्राउ गर्न रुपन्देही पुगेको प्रहरी टोलीमाथि गोली प्रहार भएपछि जवाफी फायरमा गुण्डा नाइके मनोज पुन र सोम आले मारिए । २०७४ फागुन ९ गते गुण्डा नाइके मनोज पुनलाई प्रहरीले इन्काउण्टर गर्यो ।  

त्यसपछि पनि प्रहरीले फरार रहेका लोप्साङ, अम्बर राना, रोशनलगायतका अभियुक्तहरुको खोजीकार्य जारी नै राख्यो । 

र, कात्तिक १० गते झापाको काकडभित्ताबाट सार्प सुटर अम्बर बहादुर रानासहित लोप्साङ र रोशन बुढाथोकी पक्राउ परे । 

यसरी पुग्यो प्रहरी लोप्साङको समूहसम्म
लामो समयदेखि प्रहरीको खोजी सूचिमा रहेका लोप्साङ र अम्बर रानाको समूहको बारेमा प्रहरीले निगरानी राखिरहेको थियो । यद्यपि उनीहरु भारतको विभिन्न स्थानमा लुकेर बस्ने र इन्टरनेटका माध्यमबाट मात्रै सम्पर्कमा आउने भएकाले प्रहरी उनीहरुसम्म पुग्न सकेको थिएन । यद्यपि उनीहरुलाई पक्राउ गर्न नेपालबाट ३ पटकसम्म प्रहरीको टोली भारत पुगेको थियो । 

शरद गौचनको हत्यापछि यो समूहले व्यापारी र निर्माण व्यवसायीलाई धम्काउने र रकम असुल्ने धन्दालाई झनै बढावा दिइरहेका थिए । प्रहरीको टाउको दुखाईको पात्र बनेका लोप्साङ र अम्बर रानालाई जसरी पनि पक्राउ गर्ने प्रहरीको योजना थियो । तर उनीहरु हरेकपटक सुरक्षित भइरहेका थिए । 

अर्को हत्याको योजना बुन्दै थिए लोप्साङ
गौचनको हत्यापछि हौसिएको यो समूहले असुलीलाई बढावा दिइरहेका बेला एक निर्माण व्यवसायीलाई धम्काउँदै रकम माग गरे । केही दिनअगाडि मात्रै यो समूहले एक निर्माण व्यवसायीसँग ठूलो रकम माग गरेका थिए । तर ती व्यवसायीले त्यति ठूलो रकम दिन नसक्ने बताएपछि यो समूह ती व्यावसायीसँग रुष्ट बनेको थियो । 

पैसा नपाए हत्या गर्ने तयारी गरिरहेका उनीहरुले ‘गौचनकै हाल बनाइदिने’ धम्कीसमेत दिएका थिए । पैसा नपाएको खण्डमा यो समूहले कात्तिक महिनाभित्रै व्यवसायीको हत्या गर्ने योजना बनाएको थियो ।

यता प्रहरीले पनि यो समूह र निर्माण व्यावसायीको गोप्य निगरानी गरिरहेको थियो । व्यवसायीलाई धम्की दिएको सुइँको पाएपछि प्रहरी यो समूहलाई खोज्दै भारतको सिमाक्षेत्रमा पुग्यो । र, अर्को दुर्घटना हुन नपाउँदै प्रहरीले यो समूहलाई पक्राउ गर्न सफल भयो । 

अभियुक्तले स्वीकारे आरोप
प्रहरीले पक्राउ गरेलगत्तै अभियुक्तहरुले आफूमाथि लागेको आरोपको स्वीकार गरेका छन् । उनीहरुले रुपन्देही जिल्लाका तत्कालिन युवा संघ अध्यक्ष दुर्गा तिवारी हत्यामा लोप्साङले सुटरको काम गरेको तथा शरद गौचन हत्यामा अम्बर बहादुर रानाले सुटरको काम गरेको स्वीकार गरेका छन् । यसअघि दावा लामा हत्या प्रयासमा समेत अम्बर रानाले नै गोली चलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

अरु गुण्डालाई सिध्याउन चाहन्थे समीरमान
त्यसो त अन्य गुण्डा समूहलाई सिध्याउन सकिए आफ्नो एकछत्र राज हुने सपना समीरमानसिंह बस्नेतले देखेका थिए । त्यसैकारण पनि समीरमानले दावा लामा तथा गणेश लामा समूहमाथि गोली प्रहार गरेको थियो । 

पक्राउ परेका गुण्डा नाइके समिरमान बस्नेत सिंह ।

दावा लामा, गणेश लामालगायतका अन्य गुण्डा समूहलाई गोली हानेर तर्साउने वा सिध्याउने यो समूहको योजना थियो । तर काम पूरा हुन नपाउँदै समीरमानसिंह पक्राउ परे । 

समीरमान पक्राउ परेपछि पनि समीरमानकै छत्रछाँयामा रहेर लोप्साङ लगायतको समूहले अन्य गुण्डा समूहमाथि गोली हान्ने काम जारी नै राख्यो भने निर्माण व्यवसायीबाट असुली गर्ने काम पनि जारी नै राख्यो ।

जेलबाटै ‘धन्दा’ चलाउँछन् समीरमानसिंह बस्नेत

त्यसो त प्रहरीको अनुसन्धानले जेलमा भएपनि समीरमानको धन्दा नरोकिएको देखाएको छ । जेलभित्रैबाट सुरक्षित तबरले बस्नेतले गुण्डाहरु परिचालन गरी हत्याको योजना बनाइरहेको र असुली गरिरहेको प्रहरीको दाबी छ । 

जेलमा चोरी, डकैती तथा सामान्य अपराधमा जेल परेकाहरुलाई प्रयोग गर्दै बस्नेतले आफ्नो असुली धन्दा चलाइरहेको एक वरिष्ठ प्रहरी अधिकारी बताउँछन् । मुख्यतः धरौटीमा छुट्न सक्ने वा छुट्ने व्यक्तिहरुलाई सानो रकम लगानी गर्दै त्यही व्यक्ति प्रयोग गरेर व्यवसायीलाई धम्काउँदै बस्नेतले जेलभित्रैबाट धन्दा चलाइरहेका छन् । 

लोप्साङ, अम्बर बहादुर पुन र रोशन बुढाथोकी पक्राउ परेसँगै शरह गौचन हत्यामा संलग्नमध्ये ९ जना पक्राउ परिसकेका छन् । तर यो घटनामा संलग्न बोका भन्ने गंगा लिङ्देन र अजय थापा भने अझैँ पनि फरार नै छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप