शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योतिषशास्त्रलाई विज्ञानको दृष्टिले हेर्नुपर्छ ः बिजुक्छे

आइतबार, ०८ साउन २०७४, ११ : ३३
आइतबार, ०८ साउन २०७४

नगरकोट -नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ज्योतिषशास्त्रलाई धर्म र संस्कृतिभन्दा पनि विज्ञानको दृष्टिले हेर्नुपर्ने धारणा राख्नुभएको छ । 
ज्योतिषाचार्य डा वीरेन्द्रप्रसाद कायष्ठद्वारा लिखित ‘ज्योतिष र रोग’ नामक पुस्तकको शनिबार विमोचन गर्दै उहाँले विज्ञानले नै ग्रह र नक्षत्रको प्रभाव हुने पुष्टि गर्दै आएको बताउँदै उहाँले ज्योतिषशास्त्रलाई पनि विज्ञानसम्मत बनाउनुपर्ने र सरकारले ज्योतिषशास्त्रबारे अध्ययनअनुसन्धान गर्ने बन्दोबस्त गर्नुपर्ने सुझाव दिनुभयो । ज्योतिषशास्त्रलाई भाग्यवाद र नियमित आकस्मिकताको पर्याय बन्नबाट रोक्न उहाँले ज्योतिषाचार्यलगायतलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डे र विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेलले सरकारबाट ज्योतिषशास्त्र उपेक्षित बन्दै आएको भनी दुःख व्यक्त गर्नुभयो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा ड रामचन्द्र गौतमले यस वर्ष जनै पूर्णिमाका दिन ग्रहण परेकाले नागपञ्चमीका दिन रक्षाबन्धन गर्ने पञ्चाङ्ग समितिले निर्णय गरेको जानकारी दिनुभयो । कार्यक्रममा वास्तुविद् डा माधवमंगल जोशी र राजुमृग्रेन्द्र जोशी, नेपाल ज्योतिष परिषद् उपत्यका समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद जोशी, उपाध्यक्ष केदारप्रसाद जोशीलगायतले ज्योतिष शिक्षाबारे जान्न चाहनेका लागि पुस्तकले आधारभूत ज्ञान दिने बताउनुभयो । लेखक डा कायष्ठले पुस्तकलाई दुई खण्डमा बाँडेर २३ लेखलाई कृतिमा संग्रह गर्नुभएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप