मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

लेख्दै गएपछि किन लेख्दैछु जस्तो लाग्छ !

शनिबार, १० कात्तिक २०७५, १६ : ४०
शनिबार, १० कात्तिक २०७५

वर्षौंअघिको कुरा हो । एक सफा सुन्दर बसन्त बिहानीमा म आफ्ना गाउँका एक लब्धप्रतिष्ठ कथावाचक पण्डितकोमा थिएँ । मत्स्यपुराणमा वर्णित हिमाल र अथर्वपरिशिष्टमा उल्लिखित नेपालबारे विमर्श चलिरहेको थियो । 

अरुणेदयको आभासहितको शान्त बिहानीमा उज्यालो फलैँचामा बसेर देशदुनियाँको कुरा गर्न पाउँदा रमाइलो लागिरहेको थियो । 

अकस्मात् एक जना पसले आइपुगे । त्यस भेकमा तिनको पसल ठूलै थियो । उधारो पनि दिन्थे । यसैले पनि यी पसले सर्वपरिचित जस्तै थिए । पण्डितलाई प्रणाम गर्दै पसले फलैँचाका छेउमा बसे । हर्कत हेर्दा उनी अलि अशान्त स्थितिमा देखिन्थे ।

    “साहूजी यति बिहानै कताबाट हो ? सप्ताह लगाउन कस्सिएको त हैन ?” पण्डितले मुस्कुराउँदै सोधे । 

“हैन पण्डितबाजे, म अहिले सप्ताह लगाउन आँटेर यहाँ आएको हैन । म त रातको सपनाको फल सोध्न आएको । आज राति मैले राजा भएको सपना देखेँ । टाउकामा झलमल्ल श्रीपेच । शरीरमा राजाको पहिरन । सिंहासनमा बसेर म त दुनियाँमाथि शासन गरिरहेको । एक एक प्रजाहरु मलाई झुकेर नमन गरिरहेका । गद्गद् भएर चारैतिर नजर दौडाउँदै थिएँ । एकजना सैनिक दगुर्दै आयो र मलाई सलाम गर्दै भन्यो ‘मौसुफ सरकारलाई रानीसाहेबले खोपीमा सवारी हुन मर्जी भएको छ ।’  ‘किन ? के भयो र ?’ प्रश्न गरेको मात्र थिएँ झल्यास्स बिउझिए । के होला पण्डित बाजे ? यो सपनाले म राजा हुन पाउँला त ?”
    “साहूजीलाई राजा हुन रहर छ ?” पण्डितले हाँसेर सोधे । “राजा हुन कसलाई रहर हुँदैन ? पण्डित बाजे पनि  राजा हुन पाए सात दिन पट्टल कसेर सप्ताह भन्नतिर किन लाग्नुहुँदो हो र हैन ?” पसलेले जवाफ फर्कायो । 

पण्डितले आङ् मर्काउँदै भने, “म त राजा हुन बोलाए पनि जान्न । मलाई चौकीमा बसेर कथा भन्नुमै मजा छ । म राजा भएर के गर्न सक्छु र ? म शासन चलाउन जान्दिनँ ।” 

    “मेरो के हुन्छ त पण्डित बाजे ?” पसलेले विशेष जिज्ञासा राखेर फेरि सोध्यो । सपनामा राजा भएको स्वाद बिर्सनै नसकेर बिपनामा पनि यथाशीघ्र राजा हुन रहर जागेको पसलेको अनुहार देख्दा म रनभूल्ल थिएँ  । पण्डितले भने “यस्तो सपनाले त पिर्छ । यो भयङ्कर खतराको सङ्केत हो । यस्तो सपना देखेपछि तुरन्त शान्ति स्वस्ति गराउनु पर्छ ।”

    पण्डितको प्रतिक्रियाले साहूजी फलैँचामा बस्दाबस्दै छागाबाट खस्यो । उसको अनुहारले नै यो जनायो । कति मिनेटसम्म त बोल्नै सकेन ।
 

   युगानुकूल ज्ञानविज्ञानको आलोकबाट वन्चित रहँदै सामन्ती संस्कार संस्कृतिका बीच हुर्केबढेको बिचरो गाउँले पसले साहूजीमा सपनामा चढेको सिंहासनले बिपनामा पनि हुटहुटी जगाउनु सर्वथा स्वाभाविक थियो । 

    यसपाली टीकाका दिन सम्माननीय राष्ट्रपतिको महारानीपोज देख्दा पीडाबोध गर्दै वर्षौंअगाडिको त्यस पसले साहूजीको दुःखान्त घटना झलक्क सम्भेmँ र सोचेँ मानिसमा आफ्नो पदानुकूल संस्कार संस्कृतिको ज्ञानको आवश्यकता कति टड्कारो हुँदोरहेछ । 

सांस्कृतिक रूपान्तरणको आवश्यकता कति अनिवार्य हुँदो रहेछ । हाम्रा ‘कामरेड’हरुको संस्कार संस्कृतिमा क्रान्तिकारी रूपान्तरण त भएन–भएन । सामान्य पूँजीवादी रूपान्तरणसम्म पनि भएको देखिएन । 
 यसैले यस्तो स्थिति प्रकट देखिनुमा दोष राष्ट्रपतिको होइन । कत्ति पनि होइन । यो त नेकपाका ‘महामहिम कामरेड’हरुमा कायम रहेको संस्कार संस्कृति र तज्जन्य मानसिकताको दोष हो । 
जबसम्म मानिसको मानसिकतामा सामन्तवाद कायम रहन्छ महाराजा वा महारानी बन्ने सपना पनि कायमै रहन्छ ।

    राजधानीभित्र दशैंजस्तो चाडबाढमा पनि हामी ‘सार्वभौम’ जनताले सवारीको कुस्त पीडा भोग्यौं । सहज आवागमनमा अवरोध खडा गर्दै जनतालाई अनावश्यक पीडा दिएर सवारीमा गरिने लाखौंलाख सरकारी बजेटको यो यस्तो खर्च देश र जनताका लागि कति उत्पादक छ ? हामीले अनुमान गर्न सकेनौँ । 

यस्तै संस्कार संस्कृतिबाट यसरी नै ‘समाजवाद’का लागि  ‘जग’ खनिने होे ? ‘बाटो बनिने हो ? जनता हामी प्रश्नमय छौं । उत्तर कसले दिने ?

    हामीले राजधानीकै सडकमा पनि सेतो लौरोलाई आँखा बनाएर अगाडि हिँडिरहेका प्रज्ञाचक्षुहरु देखेका छौं । अन्यत्र गाउँबस्ती र शहरमा पनि देखेका छौं ।

 तीमध्ये कति प्रज्ञाचक्षुहरु चिन्तन र व्यवहारमा पर्याप्त अग्रगामी छन् । कतिले सम्यक् अध्ययन र सही तर्कद्वारा आजको कथित वाम दक्षिण बौद्धिक वृत्त थर्काएका पनि छन् । 

हामीले यिनै सडकमा आँखामा पट्टी बाँधेर अथवा नबाँधेरै पछाडिबाट हिँडिरहेका बुद्धिमान् तथा नेत्रबहादुर राजनीतिज्ञहरुलाई मनमनै देखेका छौं । 

यद्यपि तिनीहरुको पश्चगमन त्यसरी सडकमै टड्कारो देखेका छैनौं । राजनीतिक आर्थिक संस्कार संस्कृतिका व्यवहारहरुमा भने हामी तिनीहरुका पश्चगमनको जात्रा गाईजात्रा सबै देखिरहेका छौं । जात्रा हेर्ने बानी परेका हामी नेपालीहरुलाई दुख्ने गरी आपैmलाई नघोचेसम्म जे पनि रमाइलै छ ।

    भागवत् कथामा आफ्नोे पर्यटन प्रसङ्गमा पर्यटक ऋषि नारदले भनेका छन्, “संसार घुम्दा मैले असह्य दुःखहरु सहन, वहन गरिरहेका अनेकौं मानिस देखेँ  तर आफूलाई होच्याएको, गिज्याएको, हेपेको सहने, पचाउने मान्छे एउटै भेटिनँ ।” 

मलाई लाग्छ नारदले नेपाल भ्रमण छुटाएछन् । नेपालमा हेप्दा शान ठान्ने र हेपिँदा गौरव मान्ने मान्छे  पनि भेटिन सक्छन् । घुँडा टेकाएर टीका लगाउने र घुँडा टेकेर टीका थाप्ने दुबै किसिमका मान्छेहरु नेपालमा भेटिन सक्छन् । पश्चगमनमा पनि मनग्ये रस लिन सक्ने नेपालका नवागत सत्तासीनहरुको ‘समाजवादी सौन्दर्य’ यसैमा समेटिएको छ ।

    एउटा समय थियो, शासनमा राणाहरु भएको समय । गाउँबस्तीमा राणाका प्रतिनिधिका रूपमा थरी, मुखिया र जिम्वालहरु हुने गरेको समय । दशैँको टीकाका दिन केन्द्रमा राणाशासकहरु चाकरीमा उपस्थित ठूलाबडा जागिरदारहरुलाई टीका लाउँथे । अर्थात् टीका बक्स गर्थे । 

त्यो दिन कति जागिरदारहरुको जागिर थमौती र कतिको पजनीको दिन पनि हुन्थ्यो । कतिको जागिर बहालीको दिन हुन्थ्यो । गाउँबस्तीमा तमाम रैतीहरु कोसेलीका रुपमा खसीबोकाका गर्धन, टाउको आदि इत्यादि बोकेर आफ्ना थरी,मुखिया र जिम्वालकोमा पालैपालो निधार थाप्न पुग्थे । 

जो पुग्दैन त्यसको खेतबारीमा ढुङ्गा झुण्ड्याइन सक्थ्यो । जिम्वाल मुखियाले ढुङ्गा झुण्ड्याएपछि मनोवान्छित कोशेली चढाएर बहाली अनुमति नपाएसम्म आफ्नो जग्गामा आफैं कमाइ गर्न पनि रैतीले सक्ने अवस्था बन्थेन । 

यसरी राणाकालमा जनताका घरघरसम्म राणाशासन पुगेको थियो । अहिले स्थानीय सरकारका रुपमा जनताका घरघरसम्म सिंहदरबार पुगेको छ । सिंहदरबार पुगेपछि त्यससँगै, शीतलनिवास र बालुवाटारदरबारको संस्कृति पनि पुग्नु स्वाभाविकै हुन्छ । 

केन्द्रमा राष्ट्रपति र प्रधानमन्त्रीले मानिस जुटाएर टीका लगाएजस्तै गाउँबस्तीमा वडाअध्यक्षले आफ्ना वडाका जनता जुटाएर टीका किन नलगाउने ? आशा गरौँ आगामी दशैबाट हामी परम्परात संस्कृतिको यो समृद्ध रुप  शहरदेखि गाउँबस्तीसम्म चरितार्थ भएका दृश्यहरु पनि देख्न पाउनेछौँ ।

    आज गाउँबस्तीमा थरी मुखिया र जिम्वाल छैनन् । वडाअध्यक्षहरु छन् । विगतका सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने काम केन्द्रमा सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीले गरेर मात्र कसरी पुग्ला र ? आर्थिक एवम् न्यायिक क्षेत्रमा जस्तै सांस्कृतिक क्षेत्रमा पनि समृद्ध नेपालको निर्माणमा माथिदेखि तलसम्म सत्तासीन सवैको सहयोग त अपेक्षित रहन्छ नै ।

    अहिले मुलुकमा जे भएको छ सम्भावित नै भएको छ । शब्दान्तरमा भन्नुपर्दा कटुसको वागबानी गर्ने जनताले कटुसका बोटमा पेस्ता फलेन भनेर गुनासो गर्न त मिल्दैमिल्दैन । 

संसदीय राज्यव्यवस्था हो, यसमा संसदीय विशेषताहरु नफलेर अरु के फल्छ ? संसदीय व्यवस्थामा यसो पनि हुन्छ, त्यसो पनि हुन्छ । अग्रगमनका कुरा पनि हुन्छन्, पश्चगमनका काम पनि हुन्छन् । नयाँ संस्कृतिका गफ पनि हुन्छन्, पुरानो संस्कृतिको अनुशरण पनि हुन्छ । समृद्धिका भाषण पनि चल्छन् गरीवीको खेती पनि चलिरहन्छ । चलिइरहेको छ । हामी गुनासो गर्छौं किन भने हामी व्यवस्था र त्यसका बाहकहरुलाई नचिनी नबुझीकन तिनीहरुबाट विज्ञानसम्मत उच्चस्तरीय संस्कृतिको अपेक्षा गर्छौं । शान्ति समृद्धि र न्यायको अपेक्षा गर्छौं ।
 

   यसै भएर होला, लेख्दै गएपछि मलाई किन लेख्दैछु जस्तो पनि लाग्छ ।  
         
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुक्तिबन्धु
मुक्तिबन्धु
लेखकबाट थप