शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सहसचिव दामोदर पुडासैनीको जीवन : गल्ती नगरी सजाय पाएको छु

शनिबार, १० कात्तिक २०७५, १० : ४७
शनिबार, १० कात्तिक २०७५

‘प्राकृतिक स्रोत, साधनको सही सदुपयोग गर्न सके नेपाल संसारकै शक्तिशाली र सम्पन्न मुलुक बन्न सक्छ,’ नेपाल सरकारका सहसचिव दामोदर पुडासैनीले सुनाए, ‘पर्यटन प्रवद्र्धनमात्रै गर्न सके मुलुक समृद्ध बनाउन त्यत्तिकै सजिलो छ । पर्यटकलाई घुमाउने, देखाउने र चिनाउने व्यवस्थाचाहिँ राम्रो हुनुपर्छ ।’ 
 

जंगल र जडीबुटीको सदुपयोग गर्न सके नेपालमा पैसा थुपार्ने ठाउँ हुँदैन । बाह्रै महिना हिउँ जम्ने ठाउँमा हिउँको होटल खोल्ने हो भने अथाह आम्दानी हुन्छ भन्ने साहित्यकारसमेत रहेका सहसचिव दामोदर पुडासैनीसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी : 

मेरो खाना
सामान्यतया दालभात, तरकारी खाने गर्छु । यो वा त्यो खानेकुरा चाहिन्छ भन्ने छैन । दूध, दही, फलफूल र सागपात असाध्यै मन पर्छ । शाकाहारी भएकाले माछा, मासु मन पर्दैन । योजनाबद्ध ढंगले खानकै लागि रेष्टुरेन्ट कमै पुग्छु । पुगिहाल्दा पनिरका परिकार र सलाद माग्न बिर्सन्न । फुर्सद हुँदा भान्छामा पस्ने गर्छु । म मीठै पकाउँछु ।  

मेरो पोसाक
जागिरका कारणले धेरैजसो औपचारिक कपडा नै लगाउनुपर्छ । कपडामा धेरै खर्च हुँदैन । दुई जोर ‘अफिसियल ड्रेस’ भए वर्षभरिका लागि पुग्छ । बाँकी दुई–चार जोर कपडा भए धानिहाल्छ । वर्षमा ५० देखि ६० हजार रुपैयाँ कपडामा खर्चन्छु । 
कालो र नीलो रङका कपडा रोजाइमा पर्छन् । हिजोआज रेडिमेड कपडा बढी लगाउने गरेको छु । सकेसम्म ब्रान्डेड कपडा लगाऊँ भन्ने लाग्छ । जीवनमा ह्याट कमै लगाएँ । केटाकेटीमा क्याप लगाएँ । हिजोआज पनि औपचारिक कार्यक्रममा ढाकाटोपी लगाउँछु । 

मेरो फिटनेस
बिहान बेलुका ट्रेडमिलमा दौडन्छु । योगा गर्छु । पहिले–पहिले मर्निङवाकमा निस्के पनि सुरक्षाका कारण छाडें । डाइटिङ छैन । 

मेरो अध्ययन
हिजोआज ‘मस्ट पपुलर ट्राभलर अफ वल्र्ड’ र ‘मस्ट पपुलर ट्राभलर अफ अमेरिका’ एकसाथ पढिरहेको छु । मानवतावादी सोच भएका किताब पढ्न जाँगर चल्छ । दर्शन पढ्न पनि अल्छी लाग्दैन । एन्टोन चेखब, निकोलाई अस्त्रोभस्की, टीएस इलियट पढ्न असाध्यै मन पर्छ । त्यसबाहेक भूपी शेरचनका कविता, लक्ष्मीप्रसाद देवकोटका निबन्ध, बालकृष्ण समका नाटक र दर्शन पक्ष मन पर्छ । 
मेरो घरको निजी पुस्तकालय सानो छ । आफैंलाई सधैं चाहिने महत्वपूर्ण किताबमात्रै पुस्तकालयमा राख्ने गरेको छु । त्यसबाहेक पुस्तकालयलाई दिन्छु । किताब सजाएरमात्रै राख्नुको अर्थ हुँदैन, अरूलाई दिए त पढ्छन् नि भन्ने मान्यता छ । 

मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । नियात्रा लेख्ने भएकाले पनि घुमफिरमा रुचि भएको हो । नघुमी नियात्रा लेख्न सकिँदैन । नियात्रा हुनका लागि लेखक नै हुनुपर्यो । नेपालका ७७ मध्ये ७५ जिल्ला घुमेको छ । ३६ भन्दा बढी देश पुगेको छु । टेकेको छु । 
नेपालका कित्ताकित्तामा नयाँ–नयाँ कुरा पाइुन्छन् । विश्वमा त्यस्ता ठाउँ कमै पाइन्छन् । नेपालका हिमाली क्षेत्र सुन्दरताको अपूर्व खानी हुन् । तर, सांस्कृतिक र मानव सभ्यताका हिसाबले फ्रान्स असाध्यै मन पर्यो । उत्तर कोरिया र अफ्रिकाको अनकन्टार ठाउँ जाने रहर छ । 

मेरो फुर्सद
फुर्सद कसैलाई हुँदैन । मिलाउनुपर्छ । म नेपाल सरकारको सहसचिव हुँ । महालेख परीक्षक कार्यालयअन्तर्गत नायव महालेखा परीक्षकको भूमिकामा छु । जति व्यस्त रहे पनि सरकारी कामबाहेकका मेरो अन्य काम पनि छन् । त्यसमध्ये लेखन पनि एक हो । फुर्सद पाइहालेमा अध्ययन र लेखनमा रमाउँछु । संवत् २०७० सालयता सालिन्दा दुई किताब प्रकाशित गर्दै आएको छु । त्यसले निरन्तरता पाइरहेको छ । 
कार्यालयीय काम र लेखनकार्यसँगै घरपरिवारलाई समय दिन सकेकै छु । समय–समयमा परिवारसहित हलसम्म पुगेर चलचित्र हेर्ने, रेष्टुरेन्ट पुगेर खान भ्याएकै छौं । 

मेरो खेलकुद
मलाई फुटबल, भलिबल मन पर्छ । विद्यालय तहमा हाइजम्प, लङजम्प पनि गरें । क्याम्पस लेभलसम्म फुटबल, भलिबल खेलेको थिएँ । नियम नबुझेर होला हकीचाहिँ मन पर्दैन । 

मेरो मोबाइल
आइफोन सिक्स प्रयोग गर्दै आएको छु । अमेरिकामा रहेका छोराबुहारीले उपहार पठाइदिएका हुन् । मोबाइलका एप्लिकेसनमध्ये सामाजिक सञ्जाल प्रयोग गर्दै आएको छु ।

मेरो टीभी
टेलिभिजनमा समाचार र ‘टक शो’ प्राथमिकतासाथ हेर्छु । विदेशी ‘टक शो’ असाध्यै मन पर्छ । विदेशीको प्रश्न सोध्ने कला र उत्तर दिने तरिका कलात्मक लाग्छ । त्यसबाहेक साहसिक खेल र नेसनल जोग्राफी पनि हेरेकै हुन्छु । टीभी हेर्ने समय राति जुर्छ । घरमा भएका दुईमध्ये एक सोनी र अर्कोको १४ इन्चे टीभीको ब्रान्ड थाहा भएन । 

मेरो चलचित्र
पछिल्लोपटक हलसम्म पुगेर चलचित्र छक्कापन्जा–३ हेरेको थिएँ । पहिले टीभी र भिसिडीमा समेत चलचित्र हेर्ने गर्थें, पछिल्लो समय हेरेको छैन । हेरेकामध्ये नेपालीमा सिन्दुर, जीवनधारा र लैलामजनु (भारतीय चलचित्र) मन परेको थियो । 
सरोज खनाल, सनी रौनियार, सर्मिला मल्लहरूको अभिनय जीवन्त लाग्छ ।  

मेरो रोग
पछिल्लो समय उच्च रक्तचापले समातेको छ । त्यसबाहेक स्वस्थ छु । अहिलेसम्म २२ पटकभन्दा बढी ‘होलबडी चेकअप’ गराएको छु । उच्च रक्तचापबाहेक स्वस्थ रहनु भनेको सकारात्मक सोच नै हो । त्यसबाहेक व्यायामलाई पनि समय छुट्ट्याएको छु । 

मेरो भाषणशैली
भाषण गर्दा भन्न खोजेको विषय प्रस्ट पार्न सक्छु । भाषण गर्दा थेगो प्रयोग गर्दिनँ । मैले गर्ने भाषण बौद्धिक हुन्छन् । भाषण गरेकै आधारमा आजसम्म विवादमा तानिएको छैन । 

मेरो मापसे
मादक पदार्थ खान्न तर स्वादचाहिँ थाहा छ । 

मेरो संगीत
सबै किसिमका गीत–संगीत सुन्छु । आफूलाई मन परेको गीत गाउँछु । 

मेरो भूल
जीवनयात्रामा यहाँसम्म आइपुग्दा गल्ती धेरै भए होलान् । तर, पश्चाताप लाग्नेगरी गल्ती गरेजस्तो लाग्दैन । गल्ती नगरी सजायचाहिँ पाएको छु ।  

मेरो घर
म बस्दै आएको घर संवत् २०४६ मा बुवाले बनाउनुभएको हो । पुख्र्यौली सम्पत्तिले घर बनाइएको थियो । त्यतिबेला भर्खर जागिर सुरु गरेको थिएँ । गोरखा भूकम्पले समेत केही नभएको घर ‘वाल सिष्टम’ को भएकाले पुरानै डिजाइनको हो । त्यतिबेला घर बनाउँदा २५ लाखसम्म खर्च भएको हुनुपर्छ ।

मेरो सौन्दर्यचेत
कपालमा कहिलेकाहीं नरिवलको तेल लगाउने गर्छु । फेसियल गर्ने बानी छैन । अनुहारमा कहिलेकाहीं क्रिम लगाउँछु । घ्युकुमारी पनि प्रयोग गर्छु । साउनाबाथ मन पर्छ । विदेश जाँदा बडिमसाज गराएको थिएँ ।

मेरो प्रेम
हामीले मागीबिहे गरेका हौं । 

मेरो सपना


यहाँका प्राकृतिक स्रोत, साधनको सही सदुपयोग गर्न सके नेपाल संसारकै शक्तिशाली र सम्पन्न मुलुक बन्न सक्छ । पर्यटन प्रवद्र्धनमात्रै गर्न सके मुलुक समृद्ध बनाउन सकिन्छ । हिमालदेखि तराईसम्मै ठाउँ–ठाउँमा सुविधायुक्त होटल खोल्नुपर्छ । पर्यटकलाई घुमाउने, देखाउने र चिनाउने व्यवस्था राम्रो हुनुपर्छ । 

त्यतिमात्रै होइन, जंगल र जडीबुटीको सदुपयोग गर्न सकेमा पैसा थुपार्ने ठाउँ हुँदैन । त्यतातिर ध्यान दिन सकेका छैनौं । स्तरीय मेडिकल कलेज स्थापना गर्ने हो भने संसारभरिका विद्यार्थी पढ्न नेपाल आउन सक्छन् । 

रूसमा हिउँभित्र निर्मित होटलमा बस्ने मौका पाएको थिएँ । हाम्रामा बाह्रै महिना हिउँ जम्ने ठाउँमा छन् । त्यस्ता ठाउँमा हिउँको होटल खोल्ने हो भने अथाह आम्दानी गर्न सकिन्छ ।

म जुन भूमिकामा छु, त्यो लोकसेवा आयोगबाट प्रतिस्पर्धा गरेरै आएको हुँ । अहिलेको भूमिका मैले क्षमताका आधारले पाएको हुँ । अबको यात्रा मेरो वशमा छैन । त्यसका लागि कुनै न कुनै राजनीतिक दलसम्बद्ध नेताको फेरो समात्नैपर्छ । त्यस मामिलामा म कमजोर छु । तर, राज्यले भोलि जुन कुनै भूमिका दिए पनि जिम्मेवारी वहन गर्न सक्छु । 

मेरो मृत्यु
जन्म सबैभन्दा ठूलो अवसर र मृत्यु सबैभन्दा ठूलो दुर्घटना हो । मानिस जन्मेपछि मर्नुपर्छ । यो स्वाभाविक हो । त्यसैले मृत्युदेखि डर लाग्दैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप