बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

समुद्री आँधीका कारण हवाईको एउटा टापुनै गायब

शुक्रबार, ०९ कात्तिक २०७५, १२ : ०५
शुक्रबार, ०९ कात्तिक २०७५

एजेन्सी । हवाईको पूर्वी टापु अब नक्सामा छैन ।

होनोलुलुबाट ५५० माइल उत्तरपश्चिममा रहेको उक्त टापु पापाहानाउमोकुइकेया मरिन नेसनल मनुमेन्टमा टापुको शृङ्खलाको अंश थियो ।

केही समयअघि वालाका नामक समुद्री आँधीका कारण उक्त टापु समुद्रमा डुबेको हो ।

टापुमा मानव वस्ती नभए पनि लोपन्मुख हवाइन ग्रिन सि टर्टल र हवाइन मङ्क सीलको आश्रयस्थल भएको कारण वैज्ञानिकहरु चिन्तित बनेका छन् ।

हवाइन ग्रिन टर्टलका ९६ प्रतिशत जनसंख्या प्रजननको बेला फ्रेन्च फ्रिगेट सोल्स नामक उक्त टापुहरुको शृङ्खलामा पुग्ने गरेका थिए । 

मानोआमा रहेको हवाई विश्वविद्यालयका प्राध्यापक चिप फ्लेचर भन्छन्, ‘गत जुलाईमा हामी त्यहाँ पुग्दा निकै सावधानीपूर्वक कदम चाल्नुपर्थ्यो । किनभने त्यहाँ ती कछुवाहरुको गुँड थियो । धन्न समुद्री आँधी आउने

समयसम्ममा प्रायः अण्डाहरुबाट बच्चाहरु निस्किसकेको हुनुपर्छ ।’

विश्वमा मात्र १४ सयको संख्यामा रहेका हवाइन मङ्क सिल ती टापुमा घाम तापेर आराम गर्ने गरेका छन् ।

फ्लेचरका अनुसार समुद्री आँधीका बीच पनि उनीहरुले आफ्नो पूरानो बासस्थान पत्ता लगाउन सक्छन् ।

‘त्यही भएर हामी आशावादी छौँ । यसले ठूलो क्षति पुर्याएको छैन,’ उनले भने ।

किन समुद्रमा डुब्यो टापु ?
 

ती टापुहरु पूरानो ज्वालामुखीको माथि रहेका बालुवाका थुप्रोहरु हुन् ।

‘हाम्रो बुझाईमा ती टापुहरु समुद्र सतहमा आएको कमीका कारण बनेका थिए,’ फ्लेचरले भने, ‘अहिले समुद्री सतह बृद्धि भइरहेको छ । त्यही भएर टापु समुद्रमा डुबेको हो ।’

उनका अनुसार जलवायु परिवर्तनका कारण अहिले टापुहरु डुब्न थालेका हुन् ।

वालाका समुद्री आँधी क्याटागोरी ५ को शक्तिशाली समुद्री आँधी थियो । यो वर्ष प्रशान्त सागरमा आएका थुप्रै शक्तिशाली आँधी मध्ये एक थियो । 

जलवायु परिवर्तनका कारण समुद्री आँधीहरु पहिलेभन्दा शक्तिशाली बन्न थालेका छन् । ‘अब अन्य टापुहरु पनि विस्तारै समुद्रमा डुब्नेछन्,’ उनले भने ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप