शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको एक्सन : मन्त्री र सचिवलाई प्रगति विवरण बनाउने चटारो

शुक्रबार, ०९ कात्तिक २०७५, १२ : ०१
शुक्रबार, ०९ कात्तिक २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विषयगत मन्त्रालयहरूले हालसम्म गरेका कार्यप्रगति विवरण झिकाएर अध्ययन गर्ने भएका छन् । 

प्रधानमन्त्री ओलीले आगामी दुई साताभित्रै मन्त्री र मन्त्रालयका सचिव भेला गरेर कार्यप्रगति प्रस्तुत गर्न लगाउने तयारी गरेका छन् । 

यसका लागि मन्त्रालयका सचिवहरू मन्त्रालयगत कार्यप्रगति विवरण तयार गर्ने चटारोमा छन् । 

सचिवहरू मन्त्रालयको प्रगति विवरण बनाउन लागिरहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले रातोपाटीलाई जानकारी दिए । 

गएको असार २५ र २६ गते प्रधानमन्त्री कार्यालयमा मन्त्रालयका सचिवहरूले आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । प्रधानमन्त्रीसामु प्रस्तुत गरेका योजना कार्यान्वयनको अवस्था बुझ्न सचिव भेला गर्न लागिएको हो ।

‘हिजो सचिवज्यूहरूले जेजे गर्छु भनेर वाचा गर्नुभएको थियो, मन्त्रीहरूको उपस्थितिमा उहाँहरूले अनलाइन प्रतिवेदन पेश गर्नुहुनेछ’, प्रवक्ता कुँवरले भने । 

मन्त्रालयहरूले गरेको काम हेर्न प्रधानमन्त्री कार्यालयले सफ्टवेयर निर्माणसमेत गरेको छ । अनलाइन प्रणालीमा आधारित उक्त सफ्टवेयरमा मन्त्रालयले गरेका कामको विवरण भर्नुपर्नेछ, जसलाई प्रधानमन्त्री कार्यालयबाट निगरानी गरिन्छ । प्रवक्ता कुँवरले भने– ‘हामीले अनुगमनको पनि अनुगमन गर्ने सफ्टवेयर बनाएका छौँ । साउन, भदौ र असोज महिनामा मन्त्रालयहरूले गरेका कार्यप्रगति सफ्टवेयरमा आइसकेको छ ।’

सफ्टवेयरमा मन्त्रालयले यसअघि बनाएको योजना र त्यसको प्रगति स्वयम् मूल्याङ्कन गर्ने व्यवस्थासमेत गरिएको छ । पूर्वनिर्धारित योजनामा भएको प्रगतिको आधारमा २० प्रतिशत सम्पन्न भए १ तारा, २० देखि ४० प्रतिशत काम भए २ तारा, ४० देखि ६० प्रतिशत काम भए ३ तारा, ६० देखि ८० प्रतिशत काम भए ४ तारा र योजना पूरा भए ५ तारा दिएर स्वमूल्याङ्न गर्न दिइएको छ । 

मन्त्रालयको काम प्रधानमन्त्रीले मोबाइल एपबाट हेर्ने

यसैबीच प्रधानमन्त्री कार्यालयले मन्त्रालयको कार्यप्रगति हेर्नका लागि मोबाइल एप्लिकेसन बनाउने जनाएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता कुँवरले भने– ‘प्रधानमन्त्रीज्यूले हातमै मोबाइलबाट कुन मन्त्रालयले के–के काम गरिहेको छ भन्ने हेर्नका लागि एप्लिकेसन निर्माणको चरणमा छौँ । यो तिहार अघिसम्म निर्माण भइसक्छ ।’

प्रधानमन्त्री कार्यालयलाई प्रविधिमैत्री बनाउनका लागि र मन्त्रालयले गरेका गतिविधिहरू प्रधानमन्त्रीले तुरुन्त थाहा पाउनका लागि यस्तो योजना अघिसारिएको उनले बताए । 

यस्तै नागरिकले आफ्ना गुनासा सरकारलाई सुनाउनका लागि पनि मोबाइल एप्स निर्माण गरिन लागेको उनले बताए ।

जनसरोकारका विषयमा जनताले भोगेका समस्या र गुनासा सम्बोधनका लागि एप्लिकेसन बनाउने र गुनासा माथि केकति प्रगति भयो त्यसबारे पनि एप्सबाटै जानकारी दिने लक्ष्य राखिएको छ । प्रधानमन्त्री कार्यालयमा रहेको हेलो सरकारलाई अझ परिस्कृत बनाएर जनताको समस्या गुनासो सम्बोधन गर्ने उनले बताए । 

प्रवक्ता कुँवरले भने– ‘सरकार कसरी आईटीमैत्री बन्ने भन्ने कुरामा केन्द्रित छ । मन्त्रालयका वार्षिक कार्ययोजना पूरा गर्न कहाँ समस्या छ, प्रधानमन्त्रीले त्यसलाई कसरी सम्बोधन गर्न सक्नुहुन्छ । त्यसबारेमा प्रविधिको प्रयोग गरेर सजिलो बनाउन लागिएको हो ।’

यस्तै मङ्सिरदेखि प्रधानमन्त्री ओलीले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको स्थलगत अवलोकन गर्ने भएका छन् । विकास निर्माणको कामले दु्रत गति लिन नसकेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री स्वयम्ले आयोजनास्थलको अवलोकन आवश्यक सहयोग तथा निर्देशन दिएर कामलाई प्रभावकारी बनाउने  प्रवक्ता कुँवरले बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप