बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाका नेताको आश्चर्यजनक चीन ‘मोह’

शुक्रबार, ०९ कात्तिक २०७५, १० : ०६
शुक्रबार, ०९ कात्तिक २०७५

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूमा आश्चर्यजनक  चीन मोह देखिएको छ । नेकपाका नेताहरू एकपछि अर्को गर्दै चीन भ्रमण गरेका छन् । नेकपाका नेताहरू कहिले चिनियाँ कम्युनिस्ट पार्टीको निम्तामा, कहिले चिनियाँ सरकारको त कहिले निजी भ्रमणमा चीन गएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले तत्कालीन एमाले र माओवादीबीच चुनाव गठबन्धनदेखि पार्टी एकतासम्ममा चिनियाँ चासोले काम गरेको प्रचार गरिरहेका बेला एकीकृत पार्टीका नेताहरूको लगातारको चीन भ्रमण आश्चर्यजनक मानिएको हो । कुनै बेला नेपालका नेताहरूको दिल्लीमा बाक्लो भ्रमण हुने गथ्र्यो भने अहिले उत्तरी छिमेकको भ्रमण नेकपाका नेताहरूको प्राथमिकतामा परेको छ । 

पार्टी एकता पछिका पाँच महिनामा नेकपाका शीर्ष नेतृत्वदेखि अन्य नेताहरूले धेरै पटक चीन भ्रमण गरेका छन् । नेपालबाट चीनमा हुने उच्चस्तरीय भ्रमण पहिले सरकार–सरकारकाबीचमा मात्र हुने गरेकामा पछिल्लो पटक पार्टी–पार्टीहरूको बीचमा पनि भ्रमण हुन थालेको छ । पछिल्लो पटक हुने अधिकांश उच्च स्तरीय भ्रमण चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा हुने गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा असार ५ देखि छ दिवसीय चीन प्रस्थान भ्रमण गरेका थिए । प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल र केही सांसदहरूले चीन भ्रमण गरेका थिए । प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण भेटघाट र सम्झौता भएका थिए । 

अहिले पनि नेकपाका दुई नेता चीन भ्रमणमा छन् । उपप्रधान तथा रक्षामन्त्री बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन अहिले चीन भ्रमणमा छन् । उनको भ्रमणकै क्रममा नेपाली सेनाका लागि विपद् व्यवस्थापन परिचालनका लागि १५० मिलियय चिनियाँ युआन चीनले सहयोग गर्नेसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुनेछ । 

असन्तुष्टसँग अनुदार ओली र प्रचण्ड

 

त्यसै गरी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि अहिले चीन भ्रमणमा छन् । यसअघि उनले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा १५ सदस्यीय टोलीको नेतृत्व गर्दै भदौ २९ देखि असोज ५ सम्म चीन भ्रमण गरेका थिए । 

एक्कासि नेताहरूको चीन मोह बढ्नुले राजनीतिक वृत्तमा नयाँ बहस पनि सुरु गराएको छ । पछिल्लो समय नेपालमा भारतको स्थान चीनले लिन थालेको भन्ने बहस पनि सुरु भएका छन् । नेपालमा ‘किङ् मेकर’को भूमिकामा पछिल्लो समय चीन आएको कूटनीतिक मामलाका जानकार बताउँदै आएका छन् ।

पार्टी एकताका बेला चीन भ्रमणमा रहेका झलनाथ खनालले पनि दुई पटक चीन भ्रमण गरिसकेका छन् । यसबाहेक प्रचण्डले पनि भदौ अन्तिम सातामा चीन भ्रमण गरेका थिए । चिनियाँ राष्ट्रपति सी जिङपिङसँगको भेट तय नभएपछि प्रचण्ड बेइजिङ भने पुगेका थिएनन् । प्रचण्डले आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तार र दुई सरकारबीच भएका सम्झौता कार्यान्वयनमा केन्द्रित रहेको बताएका थिए । चारदिने चीन भ्रमण सम्पन्न स्वदेश फर्कने क्रममा उनले नेपाल र चीनबीच भएका यातायात तथा पारवहन सम्झौताको प्रोटोकलको कार्यान्वयका पक्षमा विभिन्न कोणबाट छलफल भएको जानकारी दिएका थिए । 

असारमा वरिष्ठ नेता माधवकुमार नेपाल चीन भ्रमणमा गएका थिए । त्यसलगत्तै असोज तेस्रो साता नेपाल दोस्रो पटक चीन भ्रमणमा गएका थिए । यसबाहेक नेकपाकै नेतासमेत रहेका सभामुख, कृष्णबहादुर महरा पनि भदौ तेस्रो साता चीन भ्रमणमा गएका थिए । नेकपाका नेता एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित असोज पहिलो साता चीन भ्रमण गएका थिए ।

यो बीचमा दुई जना मुख्यमन्त्रीले पनि चीन भ्रमण गरेका छन् । नेकपाका नेता एवम् कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही असोज पहिलो साता, नेकपाका नेता एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ असोज दोस्रो साता चीन भ्रमण गरेर फर्केका छन् । यी दुई मन्त्रीको पहिलो विदेश भ्रमण चीनबाट भएको छ । 

यसबाहेक नेकपाबाटै उपराष्ट्रपति बनेका नन्दबहादुर पुनले पनि असोज पहिलो साता चीन भ्रमण गरेका थिए । 

नेकपाका नेता मात्रै होइन धेरै कार्यकर्ताले पनि चीन भ्रमण गरिसकेका छन् । 

नयाँ बहस 
एक्कासि नेताहरूको चीन मोह बढ्नुले राजनीतिक वृत्तमा नयाँ बहस पनि सुरु गराएको छ । पछिल्लो समय नेपालमा भारतको स्थान चीनले लिन थालेको भन्ने बहस पनि सुरु भएका छन् । नेपालमा ‘किङ् मेकर’को भूमिकामा पछिल्लो समय चीन आएको कूटनीतिक मामलाका जानकार बताउँदै आएका छन् । कूटनीतिक क्षेत्रका जानकार पछिल्लो समय नेपालको उच्च तहको राजनीतिक चीनतर्फ बढ्नुका पछाडि नेपालको राजनीतिमा चिनियाँ प्रभाव मुख्य कारण बताउँछन् । 

आखिर किन नेकपाका नेताहरूमा चीन मोह बढ्दै गएको छ ? चीनका लागि नेपालका एक पूर्वराजदूत चीनले नेपालमा भारतको हस्तक्षेपकारी भूमिकालाई विस्तापित गर्न चाहेको कारण खासगरी नेकपाका नेताहरूलाई लगातार चीन भ्रमण गराइरहेको ठान्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप